३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अन्तरिक्ष सपना

गोविन्द पोखरेल

 
भक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्‍याउने अभियानमा छन्  ।

अन्तरिक्ष सपना

बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् । स्याटेलाइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्विट्जरल्यान्डको ज्युरिचमा अन्तरिक्ष र बायो मेडिकलसम्बन्धी काम गरिरहेका बनेपाका राकेशचन्द्र प्रजापतिको प्रत्यक्ष निगरानीमा उनीहरूले स्याटेलाइट बनाइरहेका छन् । प्रजापतिले स्थापना गरेको ओरियन स्पेस कम्पनीमार्फत इलेक्ट्रिकल इन्जिनियरिङ सकेका यी युवाहरू ‘पिको स्याटेलाइट’ निर्माणमा लागेका हुन् । राकेश सन् २००९ मा स्विट्जरल्यान्डले लन्च गरेको पहिलो नानो स्याटेलाइट निर्माणमा संलग्न थिए ।


‘स्याटेलाइट भन्नेबित्तिकै मान्छेले ठूलो सम्झन्छन् । यथार्थमा भने त्यो हैन । हाम्रो जस्तो देशका लागि पिको स्याटेलाइट नौलो लागे पनि विदेशी विश्वविद्यालयहरूमा यो सामान्य हो,’ सौरभ भन्छन्, ‘पिको स्याटेलाइट क्युब स्याटभन्दा सानो हुन्छ । यसको लम्बाइ, चौडाइ र उचाइ ५ सेन्टिमिटरको हुन्छ । कम खर्च र थोरै समयमा बनाउन सकिने भएकाले यसबाट अन्तरिक्षमा कुनै नयाँ प्रयोग गर्न सकिन्छ । अन्तरिक्षको पहिलो खुड्किला यस्तै साना स्याटेलाइटहरूबाट सुरु हुन्छन् । अन्तरिक्षसम्म पिको
स्याटेलाइट पुर्‍याउन करिब ४० लाख रुपैयाँ लाग्ने उनले सुनाए । उनीहरूले ‘क्यान स्याट’ निर्माणसम्बन्धी आफ्नो इन्जिनियरिङको प्रोजेक्ट गरेका थिए । ‘क्यान स्याट एउटा क्यानभित्र अट्न सक्ने स्याटेलाइट हो जो स्पेसमा लन्च गर्न मिल्दैन । स्याटेलाइट निर्माणको पहिलो खुड्किलो यही हो,’ जितेनले भने । राकेशको संकल्प अनि यी युवाहरूको ज्ञानलाई स्याटेलाइट निर्माणमा लगाइयो । कम खर्च, समय लगाएर प्रशंसनीय काम गर्नु उनीहरूको लक्ष्य हो । ‘शैक्षिक हिसाबले काम गरिएको हो,’ प्रजापतिले फोनमार्फत भने, ‘यो नेपालको पहिलो पिको स्याट हुनेछ ।’


यो स्याटेलाइटले स्पेसको रेडिएसनसम्बन्धी जानकारी दिन्छ । स्याटेलाइट बसेको क्षेत्रमा आउने अल्फा, बिटा र गामा रेडिएसन यसले मापन गर्ने सौरभले बताए । स्याटेलाइटको कुन–कुन भाग र कम्पोनेन्टहरूलाई रेडिएसनले खत्तम गर्छ भन्ने जानकारी लिनु यसको उद्देश्य हो । प्राप्त नतिजाले अर्बिटमा रेडिएसनबाट स्याटेलाइटलाई बचाउने विकल्प थाहा हुन्छ । ‘पिको स्याटेलाइट प्रोजेक्ट’ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीको ‘ड्रिम प्रोजेक्ट’ हो । स्याटेलाइट डिजाइन र कम्पोनेन्ट छनोट, पावर चेन्ज र युटिलाइजेसन, कम्युनिकेसन, थर्मल एनालाइसिस, अर्बिटल पारामिटर, डीके टाइमको कामहरूमा ती विद्यार्थीले सघाएका हुन् । अन्तरिक्षमा पुगेको ५ देखि ७ महिनासम्म मात्र यो स्याटेलाइटले काम गर्ने सौरभले बताए । ‘हामीले दिएको सेन्सरी डाटाले देशलाई धेरै फाइदा पुर्‍याउँछ,’ राकेशले भने, ‘सन् २०२० भित्र यूकेको एक कम्पनीमार्फत हाम्रो पिको स्याटेलाइट अन्तरिक्षमा पुग्छ ।’


स्याटेलाइटको ‘प्रोटोटाइप’ बनिसकेको छ । ‘फ्रिक्वेन्सी एलोकेसन’ को काम बाँकी छ । फ्रिक्वेन्सीसम्बन्धी काम गर्ने कुनै पनि स्याटेलाइट लन्च गरेर अपरेट गर्नुअघि इन्टरनेसनल टेलिकम्युनिकेसन युनिटबाट अनुमति लिनुपर्छ । जुन धेरै स्याटेलाइटहरूको फ्रिक्वेन्सी एकअर्कासँग नजुधोस् भनेर गरिन्छ । त्यसको समन्वय नेपाल सरकारले गर्छ । स्वीकृति पाउनेबित्तिकै लन्चको तयारी गरिने राजेशले बताए ।

ग्राउन्ड स्टेसन
नेपाली स्याट–१ लन्च भएको १ घण्टामा नेपाली आकाशमा आएको थियो । नेपाली स्याटलाई ‘डिकोड’ गरेर उनीहरूले त्यसको अवस्थाबारे जानकारी दिए । नास्टले हालसम्म नेपाली स्याटबारे आधिकारिक जानकारी दिन सकेको छैन । तर यी युवाहरूले नेपाली स्याट कहाँ कुन अवस्थामा छ, कस्तो छ, नेपालमा कति बजे आउँछ, जान्छ सबै जानकारी दिन्छन् । हुन त कुन स्याटेलाइट कहाँ छ भनेर अनलाइनबाट पनि हेर्न सकिन्छ । तर त्यसको विस्तृत विवरण थाहा पाउन कठिन हुन्छ । उनीहरूको आफ्नै ग्राउन्ड स्टेसन छ । जसबाट उनीहरू ढुक्कसँग काम गरिरहेका छन् । उनीहरूले ‘पिको स्याटेलाइट’ का लागि भनेरै एक वर्षअघि ग्राउन्ड स्टेसनको निर्माण गरेका थिए । यो स्टेसनबाट स्याटेलाइट ट्र्याक गर्न सकिने राजेशले जानकारी दिए । जितेन भन्छन्, ‘नेपालमा केही छैन भनेर नबसौं । सामान किन्नका लागि केही समस्या भए पनि अर्डर गर्दा पाइहालिन्छ । स्टेसनले हाम्रो कन्फिडेन्स लेबल बढाएको छ ।’


तीनै युवाले सन् २०१८ मा इलेक्ट्रोनिक इन्जिनियरिङको पढाइ पूरा गरे । उमेरले २५ वर्ष पनि पुगेका छैनन् । तर काम भने ठूलै गरेका छन् । जितेन ग्राउन्ड स्टेसन बनाउने र डाटा रिसिभ गर्नेसम्बन्धी दक्षता राख्छन् भने सौरभ कम्युनिकेसन हेर्छन् । राकेश शैक्षिक (स्याटेलाइट निर्माण) र व्यावहारिक ज्ञान प्रदान गर्छन् । ग्राउन्ड स्टेसनको डिजाइन जितेनले गरेका हुन् । ‘ग्राउन्ड स्टेसनले ट्र्याक गर्ने र नगर्ने मेकानिजम हुन्छ,’ जितेन भन्छन्, ‘लाइन अफ साइड कम्युनिकेसन हुन्छ स्टेसन र स्याटेलाइटको । हाम्रोमाथि स्याटेलाइट आउँदा हामी ट्र्याक गर्छौं ।’


स्याटेलाइटले पठाउने डाटा रिसिभका लागि स्टेसन चाहिन्छ । उनीहरूले निर्माण गरेको स्टेसनले ‘लो ब्यान्डविथ’ मात्र रिसिभ गर्ने हो । ‘हामीलाई ठूलो स्टेसन चाहिँदैन । हाम्रो स्टेसनको एन्टिनाले जता स्याटेलाइट घुम्छ, त्यतै ट्र्याक गर्छ,’ जितेनले भने, ‘हाम्रो स्टेसनमा एन्टिना, रोट्रेटर र क्लाइन्ट कम्प्युटरको एउटा सिस्टम हो ।’ नेपाल सरकारले स्टेसन निर्माणमा धेरै लगानी गरिरहेको उनीहरूले बताए । नास्टले बनाउन लागेको स्टेसन ठूलो ब्याडविथ रिसिभ गर्ने उच्च किसिमको हो ।


उनीहरू विद्यार्थी र सुरक्षाकर्मीहरूलाई अन्तरिक्ष, प्रविधि, ग्राउन्ड स्टेसनसँगै स्याटेलाइट निर्माणसम्बन्धी जानकारी पनि दिइरहेका छन् । जितेनले स्याटेलाइटको पावर सिस्टममा काम गर्छन् । उनले हालै युवा वैज्ञानिक अवार्ड पनि जिते । खुमलटारमा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनका पिको स्याटेलाइटसम्बन्धीको प्रस्तुतिले उनीलगायत टिमले युवा वैज्ञानिक पुरस्कार पाएका थिए । उनको समूहले विभिन्न देशमा गएर आइडिया र अनुभव बाँडिसकेका छन् ।

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?