सुपर ऋत्विक

ऋत्विक रोशनसँगै एकै वर्ष बलिउड प्रवेश गरेका अभिषेक बच्चनलाई सुरुमा धेरैले ठूलो स्टार हुने अपेक्षा गरेका थिए । तर, अभिषेकको करिअर धर्मराइरहेका बेला ऋत्विक भने विभिन्न किसिमका भूमिकामा देखिइरहेका छन् ।
हेलो शुक्रबार

हालै बलिउड सुपरस्टार सलमान खानले बलिउडमा कतिजना सुपरस्टार छन् भन्ने भनिदिए  ।

सुपर ऋत्विक

कुनै जमानामा एउटा अमिताभ बच्चन वा राजेश खन्नालाई मात्र सुपरस्टार मान्ने गरिएकामा अचेल बलिउडमा धेरै सुपरस्टार छन् । दुइटा फिल्म हिट भएपछि मिडियाले सुपरस्टार ट्याग भिराइदिने गरेकाले हालै सलमानले तोकेरै भने– बलिउडमा जम्मा ५ जना सुपरस्टार छन् । र, ती हुन्– सलमान, शाहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगन ।


अनि, सुन्नेलाई लाग्यो– यसमा खोइ त ऋत्विक रोशनको नाम ? के ऋत्विक रोशन सुपरस्टार होइनन् । कि सुपरस्टार हुनलाई ५० वर्ष कट्नै पर्छ ? ४५ वर्षका ऋत्विक हुन सक्दैनन् ? सन् २००० को ब्लकबस्टर ‘कहो ना प्यार है’ बाट डेब्यु गरेका ऋत्विकले यसबीचको १९ वर्षमा ६ वटा फिल्मफेयर अवार्ड जितेका छन् । तिनमा ४ वटा त उत्कृष्ट अभिनेताका छन् । जबकि सलमान, अजय र अक्षय कुमारले उत्कृष्ट अभिनेतामा एउटा पनि फिल्मफेयर पाएका छैनन् । बक्स अफिसकै कुरा गर्ने हो भने अक्षय कुमारका एउटा पनि फिल्मले अहिलेसम्म दुई सय करोड कमाएका छैनन्, ऋत्विकका फिल्मले कमाएका छन् । ‘क्रिस’ जस्तो लोकप्रिय बलिउडको एकमात्र हिट सुपरहिरो फिल्म सिरिज पनि ऋत्विककै हो ।


गत साता आएको फिल्म ‘सुपर ३०’ ले ऋत्विक कति राम्रो कलाकार हुन् भन्ने देखाइदिन्छ । ‘ग्रिक गड’ को उपनाम पाएका बलिउडका सबभन्दा ह्यान्डसम मानिने हिरो ऋत्विकले अति सामान्य विहारी मानिसको चरित्रमा राम्रो अभिनय गरेको समीक्षकहरूले बताइरहेका छन् । यो फिल्ममा न त उनको सिक्स प्याक देखिन्छ, न एब्स । ती सबैलाई लुकाएर एउटा गरिब शिक्षकको भूमिकामा उनले दर्शकको मन जितिरहेका छन् । फिल्मले चार दिनमा ६० करोड छेउछाउको व्यापार पनि गरेको छ ।

तर, मंगलबार नै दर्शकले ऋत्विकको अर्को रूप देखे । मंगलबार यशराज फिल्मले आफ्नो नयाँ फिल्म ‘वार’ को टिजर रिलिज गर्‍यो । र, यसमा देखियो ऋत्विकको फौजी लुक । कालो गगल्स, कसरती जिउ र गजबको आत्मविश्वास । फिल्ममा उनीसँग अर्का एक्सन हिरो टाइगर श्रोफले टक्कर लिएको देखिन्छ । यसको टिजर आउनासाथ ऋत्विकको भर्सटाइलिटीलाई लिएर दर्शकहरूले प्रशंसा गरिरहेका छन् । यसअघि पनि उनले ‘कोइ मिल गया’ मा मेन्टल्ली च्यालेन्ज्ड युवाको भूमिकामा अभिनय गरेर तारिफ कमाएका थिए । साथै, ‘धुम २’ मा नकारात्मक भूमिकामा पनि उनलाई मन पराइएको थियो । ऋत्विकसँगै एकै वर्ष बलिउड प्रवेश गरेका अभिषेक बच्चनलाई सुरुमा धेरैले ठूलो स्टार हुने अपेक्षा गरेका थिए । तर, अभिषेकको करिअर धर्मराइरहेका बेला ऋत्विक भने विभिन्न किसिमका भूमिकामा देखिइरहेका छन् ।


सलमानले भनेका ५ सुपरस्टारपछि छैटौं ऋत्विकलाई मान्ने धेरै छन् । यी ६ जनाको फिल्मले सारा बलिउडको व्यापारमध्ये आधा धान्ने गरेको ट्रेड गाइडहरू बताउँछन् । सञ्जय दत्त, शाहिद कपुर, सैफअली खान, रणवीर सिंह, रनवीर कपुर, वरुण धवन, सिद्धार्थ मल्होत्रा, विवेक ओवेराय, राजकुमार राव, मनोज वाजपेयी, आयुष्मान खुराना, विक्की कौशलजस्ता अरू कलाकार पनि चलिरहेकै छन् । यिनका फिल्मले पनि राम्रो व्यापार गरिरहेका छन् । तर, ऋत्विक यीभन्दा अगाडि मानिन्छन् । ‘पद्मावत’ र ‘गल्ली ब्वाई’ पछि रणवीर सिंह र ‘कवीर सिंह’ पछि शाहिद कपुरको पनि चर्चा बढेको छ । ऋत्विकलाई ‘सुपर ३०’ र ‘वार’ ले फेरि चर्चामा ल्याइदिएको छ । उनको ‘क्रिस ४’ पनि आउँदै छ ।


ऋत्विक पछिल्लो समय कंगना रनावत काण्ड र पत्नी सुजेनसँगको अचानकको सम्बन्ध विच्छेदले पनि चर्चामा आए । कंगनासँग त उनको कानुनीदेखि मिडियासम्ममा झगडा पर्‍यो । कंगनाले उनलाई आफ्नो पूर्वप्रेमी भन्दै अन्तर्वार्ता दिएपछि ऋत्विकले त्यसको प्रतिवाद गर्दै आफ्नो उनीसँग कुनै सम्बन्ध नभएको बताएका थिए । यो प्रकरण फेक इमेलसम्ममा पुगेपछि कानुनी लडाइँमा प्रवेश गर्‍यो । यो पूरै प्रकरणले आफूलाई बेक्कारमा धेरै थकाएको र दुःख लागेको ऋत्विकले अन्तर्वार्ताहरूमा बताएका थिए । त्यसो त करिब १८ वर्ष पहिले नै उनले नेपालीका विषयमा गरेको भनिएको एउटा टिप्पणीलाई लिएर काठमाडौंमा हिंसा भड्किँदा ज्यानैसमेत गएको थियो । त्यसलाई नेपालमा ‘ऋत्विक रोशन काण्ड’ का नामले अहिले पनि सम्झना गरिन्छ । लगत्तै सरकारले उनका फिल्म नेपालका हलमा चलाउन प्रतिबन्धसमेत लगाएको थियो ।


अहिले भने उनले आफ्नो पूरै ध्यान करिअरको दोस्रो फेजमा लगाएको देखिन्छ । ऋत्विकले पहिलेदेखि नै फिल्म छान्ने कुरामा सावधानी अपनाएको देखिन्छ । यसमा उनका पिता निर्देशक राकेश रोशनले पनि मद्दत गर्ने गरेको बताइन्छ । हिरो हुनुअघि पिताको सहायक निर्देशकका रूपमा काम गरेका ऋत्विक आफैं पनि फिल्म बुझ्ने कलाकारमा गणना हुन्छन् ।


दुई एक्सन हिरोको टक्करका रूपमा आएको यशराजको ‘वार’ ले ऋत्विकको करिअरलाई कत्तिको उठाउँछ, हेर्न बाँकी छ । ‘बागी’ शृंखलाबाट सफल एक्सन स्टारका रूपमा उदाएका टाइगरले ऋत्विकलाई यो फिल्ममा मात्र होइन, करिअरमै पनि चुनौती दिन सक्छन् । किनभने, ऋत्विकजस्तै टाइगर पनि कसरती ज्यान, एक्सन र डान्सका कारण हिट भइरहेका छन् । बलिउडमा सबभन्दा राम्रो डान्स गर्ने हिरोमा पनि ऋत्विक र शाहिदसँगै टाइगरको नाम लिने गरिन्छ ।

[email protected]

प्रकाशित : श्रावण ३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?