१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

च्याम्पियन चमक

क्रिकेटको जन्मदाता भएर पनि इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्न ४४ वर्ष प्रतीक्षा गर्नुपर्‍यो । लर्ड्समा आइतबार भएको सनसनीपूर्ण फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै विश्व विजेता भएको इंग्लिस टिम कसरी बन्यो त ?
कुशल तिमल्सिना

 
न्युजिल्यान्डलाई ‘असाधारण’ फाइनलमा हराएपछि क्रिकेटको जन्मदाता इंग्ल्यान्डको ४४ वर्षको प्रतीक्षाको समय सकियो  ।

च्याम्पियन चमक

क्रिकेटको घर मानिने प्रतिष्ठित लर्ड्स मैदानमा नियमित ५० ओभरमा र सुपर ओभरमा समेत बराबरी भएपछि बाउन्ड्रीका आधारमा इंग्ल्यान्ड विश्वकप च्याम्पियन बनेको हो ।


अघिल्लो संस्करणमा समूह चरणबाटै आउट भएको इंग्लिस टिमले चार वर्षपछि विश्वकपको उपाधि नै उचाल्ने अनुमान कमैले गरेका थिए । इंग्लिस टोलीको यो सफलता त्यत्तिकै मिलेको चाहिँ होइन । तीनपल्ट फाइनलमा पुगेर उपाधि विमुख भएको विगतबाट माथि उठेर विश्वकपकै उपाधि जित्ने टिम बनाउनका लागि इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले निकै नै कसरत गरेको थियो । त्यसका मुख्य डिजाइनर मानिन्छन्, इंग्लिस टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान एन्ड्र्यु स्ट्रस ।


‘यो हाम्रो चारवर्षे यात्राको प्रतिफल हो । यसबीचमा हामीले धेरै विकास गरेका छौं । हामीले असहज विकेटमा सहज प्रदर्शन गर्न सक्ने शैलीलाई आत्मसात् गरेका छौं । फाइनल भने ती सबै सीमाभन्दा बाहिरको थियो,’ फाइनलमा न्युजिल्यान्डलाई पराजित गरेपछि इंग्लिस कप्तान इयोन मोर्गनको यो प्रतिक्रियाले विश्वकपका लागि इंग्ल्यान्डको भोक र उसले लामो तयारीलाई चित्रित गर्छ ।


चार वर्षमा सेतो बलको प्रतियोगिताका लागि इंग्ल्यान्डले ३६० डिग्रीको फड्को मारेको छ । स्ट्राउससँगै पहिलोपल्ट इंग्ल्यान्डले आफ्नो टिमको प्रशिक्षकमा अस्ट्रेलियाली नागरिक ट्रेभर बेलिसलाई नियुक्त गरेको थियो । यिनैले इंग्ल्यान्डलाई विश्वकपको मुख्य दावेदारका रूपमा खडा गरेका थिए । उनीहरूको आगमनसँगै इंग्लिस टोली आक्रामक ब्याटिङ र अनुशासित बलिङमा केन्द्रित रह्यो । त्यसको परिणाम विश्वकपको ११ खेलमा देखियो । सन् २०१८ मेमा भारतलाई पछि पार्दै इंग्ल्यान्ड एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लियो । जुन विश्वकपको अन्त्यसम्म पनि कायम रह्यो । र, यस सिजन आफ्नो सफलतालाई निरन्तरता दिँदै विस्तारका रूपमा इंग्ल्यान्डले अस्ट्रेलियासँगको एसेज शृंखला पनि कब्जा गर्ने प्रयास गर्नेछ ।


इंग्लिस टिममा यसपल्ट आप्रवासी खेलाडीको जमघट थियो । बेलायतबाहिर जन्मे–हुर्केका प्रतिभावान् खेलाडीहरूलाई टिममा समावेश गर्न इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले कुनै कन्जुस्याइँ गरेन । बेलायती बाबु र क्यारेवियन आमाबाट बारबाडोसमा जन्मिएका मात्रै होइन, वेस्ट इन्डिजको टोलीबाट यू–१९ अन्तर्राष्ट्रिय खेलिसकेका तीव्र गतिका बलर जोफ्रा आर्चरको हकमा नियम नै परिवर्तन गरिदियो । इंग्ल्यान्ड त्यस्तो टिम रह्यो जसको कप्तान इयोन मोर्गन आयरल्यान्डको राजधानी डब्लिनको बाहिरी इलाकामा जन्मेका हुन्, हुर्केका हुन् । फाइनलमा म्यान अफ द म्याच चुनिएका बेन स्टोक्सको क्राइस्टचर्च, न्युजिल्यान्डमा भएको थियो, बाल्यकाल त्यहीं बितेको थियो ।


लडर््सको असाधारण फाइनलमा निर्णायक ओभरको जिम्मा पाएका आर्चर पनि जन्मजात इंग्लिस होइनन् । एकदिवसीय विश्वकपको सम्भवतः सबैभन्दा नाटकीय खेलमा निर्णायक रन आउट गर्ने खेलाडी विकेटकिपर जस बटलरको जन्म दक्षिण अफ्रिकामा भएको थियो । विश्व विजेता बनेपछि सहकर्मीसँग खुसी मनाइरहेका अरू दुई खेलाडी पाकिस्तानी मूलका थिए, अदिल रसिद र मोइन अली । इंग्ल्यान्डको विश्व विजेता टोलीमा केवल क्षमतावान् क्रिकेटरमात्र छैनन्, सांस्कृतिक विविधता पनि छ । यो यस्तो समयमा देखियो कि युरोपेली महासंघ छाड्ने प्रयासपछि पूरै बेलायत सामाजिक, राजनीतिक चुनौतीको सामना गरिरहेको छ ।


त्यो समय यस्तो थियो कि आइरिस कप्तान इयोन मोर्गनले क्रिकेटको सबैभन्दा प्रतिष्ठित ट्रफी उठाउँदै गर्दा टिमले पहिलोपल्ट विश्वकपको उपाधि जित्नुका कारणबारे चर्चा भइरहेको थियो । लडर््समा इंग्ल्यान्डले न्युजिल्यान्डलाई पराजित गरी ऐतिहासिक उपाधि जित्नुमा कथित ‘आइरिसको भाग्य’ को भूमिका कति छ भनेर सोधिएको प्रश्नमा मोर्गनले भनेका थिए, ‘हामीसँग अल्लाह पनि थिए ।’ इंग्ल्यान्डका लेगस्पिन बलर अदिल रसिद पनि उपस्थित कुराकानीका क्रममा मोर्गनले त्यसो भनेका थिए । ‘मैले अदिलसँग कुरा गरेको थिएँ । उनले भनेका थिए कि अल्लाह हाम्रै साथमा छन्,’ मोर्गनले भने, ‘यो वास्तवमा हाम्रो टिमको प्रतीक हो । विविध पृष्ठभूमि र संस्कृतिका साथमा विभिन्न देशमा हुर्किएका खेलाडी ।’


पाकिस्तानी मूलका अर्का स्पिनर मोइन अलीले पनि इंग्लिस टिम एक परिवारका रूपमा ‘समायोजन’ गरिएको भन्दै खुसी व्यक्त गरे । ‘यसले कुनै फरक पर्दैन कि तपाईं कहाँबाट आउनुभएको हो वा कसलाई विश्वास गर्नुहुन्छ,’ अलीले गार्जियनसँगको कुराकानीमा भनेका थिए, ‘तपाईं यहाँ हुनु नै ठूलो कुरा हो । हामी समान उद्देश्यका लागि जम्मा भएका छौं र त्यो पूरा गरेका छौं । यहाँ हामी सबैले साहस, एकता र सम्मान देखाएका छौं ।’


विश्वकप फाइनलका लागि इंग्ल्यान्डका सबै टेलिभिजनलाई निःशुल्क सिग्नल उपलब्ध गराइएको थियो । त्रियासी लाख मानिसले फाइनल प्रतिस्पर्धाको प्रत्यक्ष प्रसारण हेरिएको अनुमान छ । सोमबार बेलायतबाट प्रकाशित भएका सबै अखबारले प्रथम पृष्ठमा विश्वकपको उपलब्धिलाई स्थान दिएका थिए । महारानी एलिजावेथ द्वितीयले पनि टिमलाई बधाई सन्देश पठाएकी थिइन् ।
–एजेन्सीको सहयोगमा

[email protected]

प्रकाशित : श्रावण ३, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?