१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जंगलको सन्तुलन

राजगद्दी दाजुका सन्तानले पाउने कि भाइका सन्तानले भन्नेमा पूरै महाभारत युद्धको कथा लुकेको छ । त्यस्तै कथालाई ॅलायन किङ’ मा जंगली जनावरको कथा बनाएर आकर्षक रूपमा पेस गरिएको छ ।
हेलो शुक्रबार

 
मानिसले सोच–विचार र कल्पना गर्छ  । यो कुनै नयाँ भएन  ।

जंगलको सन्तुलन

नयाँ कुरा तब हुन्छ, जब मानिसले अरू जनावर बनेर पनि सोच्छ । अरूका लागि पनि सोच्छ । र, अरूले कसरी सोच्लान् भनेर पनि सोच्छ । यस्तै सोचले जन्माउँछन्– लायन किङ, कुङ्फु पान्डा र फाइन्डिङ निमोजस्ता फिल्म ।


एनिमेसन र लाइभ एक्सन एनिमेसनको दुनियाँमा तपाईंलाई स्वागत छ । मुफासा र सिम्बाको दुनियाँमा तपाईंलाई स्वागत छ । सिंह राजाको राज्यमा तपाईंलाई स्वागत छ । संसारबाट राजतन्त्रको आयु छोटिँदै गएका बेला यो ‘द लायन किङ’ ले भने एउटा जंगलको राजाको कथा भन्छ । उसको राज्य, हाँसीखुसी परिवार र सुन्दर भविष्यको कथा भन्छ । र, कसरी आफ्नै भाइ कुलंघार भइदिँदा राज्य नै खतरामा पर्छ, परिवारको भविष्य बर्बाद हुन्छ भन्ने कथा भन्छ । अनि भन्छ कथा यी सबैलाई चिर्दै जन्मिने हिरोको ।


केही फिल्म यस्ता हुन्छन्– जसको ५–७ मिनेटसम्म मात्र यी पात्र जनावर हुन् भन्ने लाग्छ । जब दर्शकले तिनका भावनासँग एकाकार गर्छन्, तब त्यो भेद पनि मेटिन्छ । हुन त, मान्छेले जनावरको भेषमा पनि कथा त आफ्नै दिमागको भन्ने हो । यसैले मुफासा र सिम्बा, स्कार र नाला मानिसजस्तै लाग्छन् । राज्यका नाममा एउटा ठूलो घाँसे मैदान छ । जहाँ छन्– मृग, खरायो, जरायोजस्ता प्राणी । प्रकृतिको चक्रअनुसार यिनले घाँसपातलाई आहार बनाउँछन्, सिंह, बाघ र हाइनाजस्ता प्राणीले यिनलाई । यो कथा सिंह र हाइनाको हो । घाँसे मैदानका स्वादे जनावरको पहिलो सिकार कसले गर्न पाउने भन्ने द्वन्द्वको यो कथा हो । सिंहको शासन छउन्जेल हाइनाले नदीदेखि पारि ओसिलो गुफामा बस्नुपर्नेछ । र, सिंहले सिकार गरिसकेपछि बचेखुचेका चीजमात्र यिनको भागमा पर्नेछ । यदि सत्ता पल्ट्याएर हाइना शासनमा हावी भएको खण्डमा सिकारमा पहिलो पञ्जा, जंगलको राजा सिंहको होइन, कहिल्यै पेट नभरिने हाइनाको हुनेछ । बस, यहींबाट सुरु हुन्छ, षड्यन्त्रको जञ्जाल ।


फिल्मको एउटा संवादमा बाबुले छोरालाई सिकाउँछ– ‘यो संसार प्रकृतिको एउटा कमजोर सन्तुलनमा टिकेको छ । जीवन चक्र त्यही सन्तुलन कायम राख्ने प्रक्रिया हो ।’ फुच्चे सिम्बाका हर्कतदेखि हाइनाको डरलाग्दो आक्रमणसम्मका दृश्यले यो फिल्मलाई जीवन्त बनाइदिएको छ । मुफासालाई खोंचमा लगेर हत्या गर्ने दृश्य साह्रै मार्मिक लाग्छ । आफ्नो राजा पिताको हत्यापछि फुच्चे सिम्बाको बिलौना सुन्दा यो खुंखार सिंहको कथा हो भन्ने बिर्सिइन्छ । डरलाग्दो प्राणीको पनि यस किसिमको जीवन्त करुण कथा निर्माण गर्न सक्नु सिनेमाको खुबी हो । सिम्बा र नालाको प्रेमको अर्को ट्र्याक पनि सँगै छ । साथै, सिम्बाको गुप्तवास र त्यो अर्कै दुनियाँको कथा पनि रोचक छ ।
राजाको हत्या गरी उसकै छोरालाई यसको आरोप लगाएर देशनिकाला गरिएको वा सत्ताबाट च्युत गरिएको कथा कतै सुनेजस्तो लाग्न सक्छ । राजगद्दी दाजुका सन्तानले पाउने कि भाइका सन्तानले भन्नेमा पूरै महाभारत युद्धको कथा लुकेको छ । वास्तविक जीवनमा धेरै देश र राजकुलले यस्तो अवस्थाको सामना गरेका छन् । त्यही कथालाई जंगली जनावरको कथा बनाएर पेस गरिएको ‘लायन किङ’ साँच्चिकै गजब छ ।


हलिउडको एनिमेसन किङ डिज्नेले सन् १९९४ मा पहिलोपटक ‘द लायन किङ’ एनिमेसन बनाएको थियो । यसपालि त्यसलाई डिज्नेले नै लाइभ एक्सनका रूपमा नयाँ तहमा ल्याएको छ । यसलाई ‘फोटो रियालिस्टिक भिज्युअल इफेक्ट’ को शानदार प्रदर्शन भनेर समीक्षकहरूले प्रशंसा गरिरहेका छन् । निर्देशन गरेका छन् यसअघि ‘द जंगल बुक’ बनाएका जोन फेवर्युले ।


सीएनएन बिजनेसका अनुसार यो फिल्मले रिलिजको १० दिनमा मात्रै ५ सय ३१ मिलियन अमेरिकी डलरको व्यापार गर्‍यो । यस अवधिमा फिल्मले अमेरिकाको घरेलु बजारमा १ सय ५० मिलियन डलर कमायो भने दोस्रो ठूलो फिल्म बजार चीनमा करिब १ सय मिलियन डलर । भारतमा हिन्दीमा समेत डब गरेर प्रदर्शन गरिएको यो फिल्मले चार दिनमा भारु ६० करोडको व्यापार गर्‍यो । फिल्मको हिन्दी भर्सनमा सुपरस्टार शाहरूख खानले सिंह राजा मुफासाको र उनका छोरा आर्यनले सिम्बाका लागि आवाज दिएका छन् ।

[email protected]

प्रकाशित : श्रावण १०, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?