दंग दुर्गेस

विमल खतिवडा

 
बागलुङ गल्कोटस्थित मल्माका दुर्गेस थापा भारतबाट नफर्किएका भए आज उनलाई चिन्ने कम हुन्थे  । परिचय घरपरिवारमा मात्र सीमित बन्थ्यो  ।

दंग दुर्गेस

भारतको कुनै क्षेत्रमा उनी अहिले जागिरे जीवन बिताइरहेका हुन्थे । बुबा यमबहादुर भारतीय आर्मीमा भएकाले उनलाई आर्मी नै बन्नुपर्ने पारिवारिक दबाब थियो । भर्ती हुनका लागि उनी भारत नपुगेका होइनन् । भर्तीका लागि छनोट भए । आर्मी बन्न दुःख खेप्नुपर्ने देखेपछि परिवारको सपना भताभुंग पारेर हुन लागेको जागिर छाडिदिए । परिवार रिसाए । साथमा खर्च थिएन । दाइ संगीतकार एवं गायक वसन्त थापाले काठमाडौं आउन हिम्मत दिए । उनी गायक बन्ने सपना बोकेर भारतबाट सिधै काठमाडौं उत्रिए । तर सोचे जस्तो काठमाडौं सहज थिएन । सुरुमा झन्डै ६० वटा गीतमा कोरस नाचे । ठमेलका डान्स बार चहारे । जीविका चलाउन डान्सबारमा राति अबेरसम्म काम गरे । तर पनि सोचेअनुरूप जीवन धान्न मुस्किल थियो ।


‘सुरुको अवस्थामा निकै दुःख खेपे,’ उनी भन्छन्, ‘बसपार्कका पेटीमा पनि सुते, पहिला गरेको स्ट्रगलले अहिले जीवन सहज बन्दै गएको छ ।’ बुबाआमा रिसाएकाले उनलाई खर्च पठाउँदैन थिए । पहिलोपटक गायक रामचन्द्र काफ्लेको ‘माया लाएर के भो...’ गीतमा मोडलका रूपमा देखा परे । जुन गीतमा मोडल बन्न ४० हजार तिरेको उनले सुनाए । त्यसपछि निरन्तर मोडलिङ क्षेत्रमा सक्रिय बनी रहे । दोहोरी/आधुनिक गरी २ हजार बढी गीतमा मोडलिङ गरिसकेको दुर्गेसको दाबी छ । ‘काठमाडौंमा संघर्ष गर्न थालेको १० वर्ष बढी भयो,’ उनी भन्छन्, ‘अहिले मोडलिङ र गायनमा उत्तिकै सक्रिय छु ।’ लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको स्वर रहेको ‘हाँस्न सिकायौं...’ गीतमा अभिनय गरेसँगै उनलाई पछि फर्कनुपरेन । अहिले गाउन र मोडलिङ गर्न भ्याइनभ्याई छ । गायक रमेशराज भट्टराईको ‘बहुला बनाएर गई...’ गीतमा उनले जीवन्त अभिनय गरेका छन् । उनको अभिनयको दर्शक/श्रोताले निकै प्रशंसा गरे । यो गीतले उनलाई सांगीतिक क्षेत्र, त्यसमा पनि युवा पुस्ता माझ थप लोकप्रिय बनायो । अहिले चर्चा अझै चुलिएको छ । करिब महिना दिनअघि उनको स्वर रहेको ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा...’ गीत युट्युबमा रिलिज भयो । छोटो समयमै गीतले चर्चा बटुल्यो । सामाजिक सञ्जाल टिकटकमा गीतमा अभिनय गरेर छोटो भिडियो अपलोड गर्नेको प्रतिस्पर्धा नै छ । गीत सबै उमेर समूहका व्यक्तिको जनजिब्रोमा झुन्डिन सफल छ ।


‘थोरै नराम्रा तर धेरै राम्रो प्रतिक्रिया आइरहेका छन्,’ उनी भन्छन्, ‘प्रायः तीजमा पुरुष दर्शक बन्ने, महिला दिदीबहिनीहरू नाच्ने हुन्छ, तर मैले युवा पुस्तालाई टार्गेट गर्दै हामी पनि नाच्नुपर्छ बीचबीचमा भन्ने गीत ल्याएको हो ।’ उनी जता पुग्छन्, उनका प्रशंसकले यही गाउँदै उनीसँग फोटो खिच्न झुम्मिन्छन् । ‘भारतका चर्चित नायक सलमान खानलाई पनि यो गीतमा नाचेको देखाउँदै टिकटक बनाएको देखें,’ उनी ठट्यौली गर्दै भन्छन्, ‘धन्न उहाँलाई नाचेबापत मैले पैसा दिनुपरेन ।’ गीत गाउन थालेको तीन वर्ष मात्र भयो । अहिले उनी नेपालका विभिन्न ठाउँमा आयोजना हुने स्टेज कार्यक्रममा सहभागिता जनाउन सक्रिय छन् ।


यसअघि उनले गाएका ‘रातो–रातो खुर्सानी पिरो छ...’, ‘यो दुर्गेस थापा...’ गीत हिट छन् । ‘बीचबीचमा गीत युवा पुस्तालाई टार्गेट गरेर बनाएको हो,’ उनी भन्छन्, ‘हिट होला भन्ने थियो, तर यति धेरै चर्चा पाउला भन्ने लागेको थिएन ।’ यो गीतमा ७ जनाले अभिनय गरेका छन् । मुख्य रूपमा उनी नै देखा परेका छन् । गीत १० मिनेटको छ । मंगलबार साँझसम्म युट्युबमा गीतको भ्युअर्स २२ लाख ९८ हजार पुगिसकेको छ । उनी लगाउने कुरामा चुजी छन् । उनी क्रेटा गाडी चढ्छन् । काठमाडौंमा घर बनाउने तयारीमा छन् । भिडियोमा उनको लुक्स अन्य मोडलहरूको भन्दा फरक हुन्छ । ‘मलाई कोरियन पोसाक मन पर्छ,’ उनी भन्छन्, ‘त्यसैले प्रायः फरक–फरक गेटअपमा भिडियोमा देखिने गरेको छु ।’ उनी वनस्थली बस्छन् ।
‘भर्ती हुन लागेको छोरो भागेर हिँड्यो भन्दै बुबा ३ वर्षसम्म बोल्नुभएन,’ उनी पुराना कुरा सझँदै भन्छन्, ‘बुबाको अगाडि आफ्नै मिहिनेतले आफूले रोजेको क्षेत्रमा स्थापित हुनु थियो, त्यसैले दुःख गर्न छाडिनँ, अहिले गाउँघरमा दुर्गेसको बुबाआमा भनेर चिन्ने धेरै छन्, परिवारमा प्रगति देखेर सबै दंग हुनुहुन्छ ।’ दुर्गेसका भाइ, एक दिदी र बहिनी छन् ।


पहिला नेपाल टेलिभिजनमा गीतको प्रोमो खुब बज्थ्यो । अहिले जमाना युट्युबको भयो । ‘पहिला टीभीमा ३० मिनेटको गीतको प्रोमो बज्थ्यो, त्यसमा २० मिनेट त मैले अभिनय गरेका गीत मात्र हुन्थे,’ उनी भन्छन्, ‘अहिले युट्युबमा पनि गीतको भ्युअर्स राम्रो छ ।’ उनी आफू गायक/मोडलभन्दा पनि एक ‘स्टेज पफर्मर’ भएको सुनाउँछन् ।

twitter:@BimalGmail

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?