कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रकिङ 'रक' “हब्स एन्ड श”

साता ड्वेन जोन्सन अभिनीत नयाँ फिल्म ॅहब्स एन्ड श’ संसारभर रिलिज भएको छ । फास्ट एन्ड फ्युरियस शृंखलाको प्रस्तुतिका रूपमा रहेको यो फिल्म अघि यस शृंखलाका ८ वटा फिल्म आइसकेका छन् । यो भने त्यही शृंखलाका पात्रलाई लिएर बनाइएको अलग फिल्म हो ।
हेलो शुक्रबार

 
नाम ड्वेन जोन्सन  । उपनाम ‘द रक’  ।

रकिङ 'रक' “हब्स एन्ड श”

ज्यान पनि चट्टानजस्तै । रेस्लिङको दुनियाँका सम्भवतः सर्वाधिक लोकप्रिय स्टार । बुबा र आमाको बाटो पछ्याउँदै रेस्लिङ रिङमा उत्रिएका । टलक्क टल्किने तालु र गठिलो बदन । ज्यान ठूलो तर गति छरितो । आँखामा चमक, मनमा साहस । यसैले त ८ पटक डब्लूडब्लूई वर्ल्ड हेभिवेट च्याम्पियन । सुपरस्टार । यिनै सुपरस्टारले रेस्लिङबाट हालै संन्यास लिए । धेरैलाई थाहा नहुनसक्छ, रकका आमा र बुबा दुवै व्यावसायिक रेस्लर थिए । आमा अटा जोन्सनले थोरै खेल खेले पनि बाबु रकी जोन्सनका खेल बालक रकले हेरेका थिए । उनले सुरुमा बाबुकै नामबाट आफ्नो रेस्लिङ उपनाम रकी राखेका थिए । पछि त्यसैबाट ‘द रक’ मा रूपान्तरित भए ।


रेस्लिङको रिङमा रक सुपरस्टार भएजस्तै हलिउडको पर्दामा ड्वेन जोन्सन अर्को सुपरस्टार हुन् । रिङबाट संन्यास लिएपछि अब उनको पूरै ध्यान फिल्ममा हुनेछ । सन् २००१ को फिल्म ‘ममी रिटर्न्स’बाट पर्दामा देखिन थालेका जोन्सन पछिल्लो समय हलिउडको सर्वाधिक कमाइ गर्ने स्टार हुन् । मार्वलका सुपरहिरो फिल्मले विश्व बजार पिटिरहेका बेला पनि भिन डिजल र जोन्सनजस्ता स्टारहरूले एक्सन फिल्मलाई जीवित राखिरहेका छन् । जोन्सन न लियोनार्डो डिक्याप्रिया वा ब्रड पिटजस्तो ओस्कर र फेस्टिभलका फेवरेट न त रोबर्ट ड्राउनी जुनियर र क्रिस्टियन बेलजस्तो सुपरहिरो । हलिउडका प्रतिष्ठित निर्देशकहरूका फिल्ममा पनि उनी खासै देखिँदैनन् । र पनि, जोन्सन ‘द रक’को लोकप्रियता भयंकर छ ।


फास्ट एन्ड फ्युरियस शृंखला, जुमानजी, बेवाच, हर्क्युलस, स्करपियन किङजस्ता फिल्मले जोन्सनलाई सुपरस्टार बनाइदिए । त्यसमाथि ‘मोना’ जस्तो एनिमेसन फिल्म पनि उनको क्रेडिटमा छ । २०१७ को फिल्म ‘जुमानजी’मा उनको पारिश्रमिक २० करोड डलर थियो । यसै साता उनी अभिनीत नयाँ फिल्म ‘हब्स एन्ड श’ संसारभर रिलिज भएको छ । फास्ट एन्ड फ्युरियस शृंखलाको प्रस्तुतिका रूपमा रहेको यो फिल्म अघि यस शृंखलाका ८ वटा फिल्म आइसकेका छन् । यो भने त्यही शृंखलाका पात्रलाई लिएर बनाइएको अलग फिल्म हो । त्यसैले यसलाई फास्ट एन्ड फ्युरियस ९ भनिएन । त्यसका तीनमध्ये दुई मुख्य पात्र लुक हब्स (ड्वेन जोन्सन) र डेकार्ड श (जेसन स्टाथम) यसमा भए पनि यसको मुख्य पात्र ‘डम’ टोरेटो (भिन डिजल) यसमा छैनन् । ‘फास्ट एन्ड फ्युरियस’को नवौं भागमा भने जोन्सन हुने छैनन् । यसलाई ‘रक–फ्रि फ्युरियस’ भनिएको छ । यसमा उनको स्थानमा अर्का रेस्लर जोन सिना देखिने छन् ।


प्रायः हलिउड एक्सन फिल्ममा जस्तै यसमा पनि दुई एजेन्टहरू लुक हब्स र डकार्ड श पृथ्वी बचाउने मिसनमा खटिन्छन् । अमेरिकी र ब्रिटिस एजेन्टहरू एक खतरनाक भाइरसलाई भिलेनको हातमा पर्नबाट जोगाउनका लागि रातदिन लड्छन् । यिनका साथमा छिन् डेकार्डकी बहिनी तथा एम आई सिक्स एजेन्ट हेटी श (भानेसा किर्बी) । साइबर जेनेटिक टेक्नोलोजीले अत्यन्त शक्तिशाली बनेको पूर्वएमआइसिक्स एजेन्ट ब्रिक्स्टन लोर (इद्रिस अल्बा) बाट यो भाइरसलाई जोगाउने मिसनको कथा हो– हब्स एन्ड श । जोन्सन र जेसनका अलावा यसमा भिलेनको भूमिकामा देखिएका इद्रिस अल्बा पनि स्टार हुन् । नेल्सन मण्डेलाको अटोबायोग्राफी ‘लङ वाक टु फ्रिडम’ माथि बनेको २०१३ को फिल्म ‘मण्डेला ः लङ वाक टु फ्रिडम’ मा उनले मण्डेलाको भूमिकामा अभिनय गरेका छन् । उनी थोर र एभेन्जर शृंखलाका पनि कलाकार हुन् ।


‘हब्स एन्ड श’ ले संसारैभरि निकै राम्रो व्यापार गरिरहेको छ । डिज्नेको ‘लायन किङ’ र मार्वलको ‘स्पाइडर म्यान ः फार फर्म होम’ ले तताएको हलिउड बक्स अफिसको आगोमा हब्स... ले झन् घिउ थप्ने काम गरेको छ । भेराइटीका अनुसार यसले पहिलो विकेन्डमा १ सय ८० मिलियन डलरको व्यापार गरेको छ । ६३ देशमा रिलिज भएको यो फिल्मले १ सय २० मिलियन डलर अमेरिकाबाहिरबाट कमाएको छ । यसमा सबभन्दा बढी कमाइ रुसबाट छ भने त्यसपछि आइरल्यान्ड, इन्डोनेसिया र भारत छन् । चीनमा भने यो अगस्ट २३ मामात्र रिलिज हुँदैछ । दुई साताअघिको ‘लाइन किङ’ को ग्लोबल बक्स अफिस कमाइ १.१९ बिलियन डलर पुगेको छ ।

र, वरुण धवन
बलिउड हिरो वरुण धवन ड्वेन जोन्सनका फ्यान हुन् । उनी प्रायः यिनका फिल्म आउँदा ट्वीटरमा लेख्छन् । र, जोन्सनले पनि वरुणलाई धन्यवाद दिने गरेका छन् । यसपालि पनि वरुणले ‘हब्स एन्ड श’ को तारिफमा ट्वीट गरे । जसै उनले ट्वीट गरे, राष्ट्रवादी भारतीय दर्शकको तारो बने । उनलाई बलिउडको फिल्म छोडेर विदेशी फिल्मको प्रचार गरेको भन्दै ट्वीटरमा निकै गाली गलौज गरियो । उनले यस्ता केहीलाई जवाफ पनि दिए । तर, कतिलाई जवाफ दिएर सकुन् ?


बलिउड दर्शक सायद किन पनि भड्किएका थिए भने जोन्सनको ‘हब्स एन्ड श’ले गत शुक्रबार रिलिज भएको सोनाक्षी सिन्हाको फिल्म ‘खानदानी सफाखाना’लाई छपक्कै छोपिदियो । ‘हब्स एन्ड श’ले विकेन्डमा करिब २८ करोडको व्यापार गर्दा ‘खानदानी सफाखाना’ले २ करोड पनि कमाउन सकेन । सायद, यसको रिस पनि वरुणमाथि नै पोखियो !

[email protected]

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?