कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रंगमञ्चमा आशा

कान्तिपुर संवाददाता

केही वर्षयता नेपाली रंगमञ्चको क्षेत्र फराकिलो बन्दै गएको छ  । फरक धार र विषयवस्तुलाई प्रस्तुत गरिएकाले नाटकमा दर्शकको जमात बढ्दो छ  ।

रंगमञ्चमा आशा

रंगमञ्च खुल्ने क्रम बढेको छ । नाटकमा जीवन्त अभिनय गरेर खारिएकाहरू ठूलो पर्दाका फिल्ममा छाइरहेका छन् । यो क्षेत्रमा पुराना कलाकार मात्र होइनन्, नयाँ पुस्ताको पनि क्रेज बढ्दो छ । पढाइसँगै युवाहरू नाटकमा भविष्य खोज्दै अभिनय गर्न तल्लीन छन् । विभिन्न जिल्लादेखि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका युवाहरू पढाइसँगै नाटकमा अभिनय गरिरहेका छन् । नाटकमा भविष्य बनाइरहेका पाँच रंगकर्मीबारे विमल खतिवडा लेख्छन् :


मोडलिङबाट रंगमञ्च


गोदावरी, ललितपुरकी २० वर्षीया निकिता आचार्यले अभिनय गरेको पहिलो नाटक ‘मैन दानी’ हो । यो नाटकबाट उनले राम्रो प्रतिक्रिया पाइन् र थप अभिनय गर्ने हौसला मिल्यो । उनको पढाइको क्षेत्र भने रंगमञ्च थिएन । उनी नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीबाट कम्प्युटर एप्लिकेसनमा स्नातक गर्दैछिन् । दुई वर्ष अघि भएको ‘लिरिल फ्रेस फेस’ को शीर्ष पाँचमा परेकी उनले दुई वटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।‘अभिनय गर्ने क्षेत्रमा आउँछु भन्ने लागेको थिएन,’ निकिता भन्छिन््, ‘मोडलिङमा लागेपछि अभिनय पनि जान्नुपर्छ भन्ने भयो । त्यसैले सबैको सल्लाहमा यो रंगमञ्चमा आएँ ।’ उनले नाटकमा लाग्दै गर्दा बीबीए पढ्नका लागि दिल्ली विश्वविद्यालयमा पाएको छात्रवृत्ति पनि नाटकमा अभिनय गर्नकै लागि छाडेको बताइन् ।


हाल उनी अनुप बरालको एक्ट्रेस स्टुडियोमा अभिनयको कक्षा लिइरहेकी छन् । उनले छोटो फिल्ममा पनि अभिनय गरेकी छन् । ‘ठूला
अवसर त्यागेर यो क्षेत्रमा लागेको छु,’ उनी भन्छिन्, ‘अब यसैमा भविष्य बनाउनुको विकल्प छैन ।’ उनी आफूले रोजेको क्षेत्रबाट निराश नरहेको सुनाउँछिन् । चिन्ने दर्शक बढेका छन् । ‘नाटक गर्नुअघि सामान्य थिए,’ उनी भन्छिन्, ‘नाटक खेल्न थालेपछि सकारात्मक माहोल आउँदो रहेछ ।’

राजेश हमालको प्रभाव


मैलुङ, दोलखाका अनुप न्यौपाने काठमाडौं कोटेश्वरस्थित रत्न शिक्षा पब्लिक क्याम्पसबाट साहित्यमा स्नातक हुन् । २८ वर्षीय उनी महानायक राजेश हमालका ‘फ्यान’ हुन् । पहिलो पटक थिएटर भिलेजमा उनले हमाल अभिनीत ‘कोर्ट मार्सल’ नाटक हेरेका थिए । त्यस बेला उनलाई फिल्मभन्दा नाटक राम्रो लाग्यो । ‘मलाई पहिला पनि राजेश हमाल मन पर्थ्यो, अहिले पनि मन पर्छ,’ उनी भन्छन्, ‘त्यही भएर उहाँले अभिनय
गरेको नाटक हेरेर चकित भए । नाटक हेर्दा लाग्यो, कलाकारले के खाएर अभिनय गर्छन् ?’


पछि उनी नाटकका नियमित दर्शक बन्न पुगे । उनलाई फिल्ममा अभिनय गर्ने जोस पनि आयो । ‘गल्छेडो’ फिल्ममा देखिए पनि । अभिनयमा परिपक्व नहुँदा सोचेजस्तो भएन । अनि मण्डलामा नाट्य अभिनयको कक्षा लिन थाले । कक्षा लिइरहेकै बेला करिब सात
मिनेटको नाटक ‘बाह्रै टक्का’ मा अभिनय गरे । ‘ख्यालख्यालैमा गरेको अभिनयले राम्रै चर्चा पायो,’ उनी भन्छन्, ‘१३ वटा जति नाटकमा अभिनय गरिसके । सबैमा प्रतिक्रिया राम्रै पाएँ ।’


अनुपले ‘बैतरनी क्याफे,’ ‘सिरुमारानी,’ ‘शकुन्तलाको औंठी’ लगायत चर्चित नाटकमा अभिनय गरिसकेका छन् । ‘सहर पढ्न पठाएको छोरालाई नाटक नगर पनि भन्नु हुन्न, गर पनि भन्नु हुन्न,’ पारिवारिक साथबारे उनी भन्छन्, ‘दुःख सुख चलेकै छ ।’ उनले नाटकमा अभिनय मात्र गरेका छैनन्, ‘मैनदानी’ को सहलेखन र सहायक निर्देशकको काम पनि गरेका छन् । उनी कविता पनि लेख्छन् । ‘यो क्षेत्रमा आउँदा सोचेर आउनुस्,’ उनी भन्छन्, ‘आएपछि मिहिनेत गर्नुस् ।’


इन्जिनियरको अभिनय


दोलखाका उमेश पोखरेल क्याथफोर्ड इन्टरनेसनल कलेजबाट बीई उत्तीर्ण गरेका छन् । इन्जिनियरिङ पढे पनि उनी अचेल थिएटरमै सक्रिय छन् । २६ वर्षीय उनले गार्डेन थिएटरबाट ‘इलुजन’ नाटकमा अभिनय गर्दै रंगमन्च यात्रा सुरु गरेका हुन् । ‘स्कुल पढ्दा सरले सधैं तिम्रो भ्वाइस नाटकमा बोल्ने जस्तो छ भन्नु हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले सडक नाटकमा अभिनय गर्दै पढाइलाई पनि अघि बढाएँ ।’ उनलाई नाटकमा लाग्दा पढाइ बिग्रेला भन्ने डर थियो । उनी नाट्य उत्सवहरूमा पनि सहभागी भए । अचेल उनी इन्जिनियरिङ कन्सल्टेन्सीमा काम गर्दै नाटकलाई समय मिलाउन गाह्रो भएको गुनासो गर्छन् ।


उमेशले नाटकमा सहायक निर्देशकका रूपमा समेत काम गरिसकेका छन् । उनले निर्माण र अभिनय गरेका नाटक ६ वटा पुगिसक्यो । ‘थिएटरका किताब पढ्थे । पढेर केही गरौं भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले आफैं सिक्दै अभिनय गर्दै यो क्षेत्रमा लागेको हो ।’ रुचि छोटो फिल्म लेखन, निर्देशनमा रहेको उनले सुनाए ।


‘नाटकका लागि समय धेरै दिनुपर्ने हुन्छ, मेहनत निकै गर्नुपर्ने हुन्छ,’ उनले सुनाए, ‘अचेल समय मिलाउन सकिरहेको छैन । तर, केही गर्ने सोच बनाइरहेको छु ।’ उनले थपे, ‘फिल्म जस्तो नाटकको क्षेत्र ठूलो हुँदैन । सीमित क्षेत्र भए पनि नाटकले अभिनयमा परिपक्वता ल्याउँछ ।’

नाचगानपछि अभिनय


चितवनस्थित भरतपुर ११ का सुदीप खतिवडा काठमाडौं आएको चार वर्ष भयो । उनी जिल्लामै छँदा नारायणी कला मन्दिरमा नाच्थे । गीत गाउँथे । राजधानी छिरेपछि बाटो फेरियो । २६ वर्षीय उनको रंगमञ्चप्रति लगाव बढ्दै गयो । उच्च शिक्षा अध्ययनका लागि आएका उनी अभिनयको प्यास मेटाउन पनि लागे । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसबाट मानविकी संकायतर्फ स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका उनी नयाँ नाटक गर्ने पर्खार्इमा छन् । मण्डला थिएटरमा अभिनयसम्बन्धी प्रशिक्षण लिएका उनी आठ वटा नाटकमा देखिइसकेका छन् ।


राजन खतिवडाले निर्देशन गरेको ‘एन्टिगोनी’ मा सुदीपको पनि थिए, जुन भारतको असम, गुवाहाटीमा पनि देखाइएको थियो । उनको पछिल्लो नाटक हो, ‘क्लेसा’ । जसको निर्देशन विजया कार्कीले गरेकी हुन् । ‘रंगमञ्चको क्षेत्र अहिले व्यवस्थित बन्दै गएको छ,’ सुदीप भन्छन्, ‘त्यसैले यही क्षेत्रमा भविष्य खोज्दै छु ।’


परिवारबाट समेत साथ पाएका उनी नाटकको दर्शक सीमित हुने बताउँछन् । ‘अभिनयमा लागेपछि सहज रूपमा सबैसँग बोल्न सक्ने भएको छु,’ उनी भन्छन्, ‘अभिनय गर्न थालेपछि पकेट खर्च आइरहेको छ ।’ उनले आफ्नो रुचिको क्षेत्र अभिनय नै भएकाले सोच परिवर्तन नगर्ने सुनाए । ‘पढाइ सक्छु,’ उनी भन्छन्, ‘अभिनयलाई पनि अघि बढाउँदै लग्छु ।’


नायिका बन्ने सपना


कालिकोटमा जन्मिएकी २२ वर्षीया रेनु योगी बुद्धनगर, काठमाडौं बस्छिन् । भारतमा हुर्किएकी उनले पद्मकन्या कलेज, डिल्लीबजारबाट पत्रकारितामा स्नातक गरिन् । उनले कौशी थिएटरमा १५ दिनसम्म प्रस्तुत गरिएको नाटक ‘तीनकुने’ मा अभिनय गरेर राम्रै चर्चा बटुलिन् । उनले अभिनय गरेको नाटकको संख्या एक दर्जन पुगिसक्यो । उनलाई आफूले अभिनय गरेको नाटकमध्ये ‘माथापन्चर’ बढी मन पर्‍यो । राजन खतिवडाद्वारा निर्देशित नाटकबारे उनले भनिन्, ‘माथापन्चरमा तराईको कथा थियो । मलाई मधेसबारे राम्रोसँग थाहा थिएन । नाटकले धेरै कुरा सिकायो ।’


उनले भारतमा बस्दा त्यहाँ ‘राम लीला’ नाटक हेर्थिन् । ‘राम लीला नाटकले पनि निकै प्रभावित बनायो,’ उनी भन्छिन्, ‘त्यसैको प्रभावले यो क्षेत्रमा सक्रिय छु ।’ उनको परिवारमा प्रायः सबै जागिरे छन् । जागिर खान उनलाई पनि दबाब नआएको होइन । उनले आफ्नो रुचिको क्षेत्र रंगमञ्च भएकोबारे परिवारलाई स्पष्ट पारिन् । त्यसैले जागिरको दबाब कम भएको थियो । ‘बाल्यकालदेखिको सपना नायिका बन्ने थियो,’ उनी भन्छिन्, ‘तर रंगमञ्चमा आएको छु । एक दिन अवश्य ठूलो पर्दामा देखिनेछु ।’

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?