३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

स्लिम र स्वस्थ

हिजो टाइगर श्राफ फ्यान थिए, ऋतिक रोशनको । आज टाइगरको फ्यान भएका छन्, ऋतिक । उनको प्रशंसा गरेर थाक्दै थाक्दैनन् ।
अमृता अनमोल

 
घरमा गृहिणीको काम धेरै हुन्छ  । तर भान्छा र घरभित्र मात्रै  ।

स्लिम र स्वस्थ

यस्तो काममा शारीरिक परिश्रम अलि कम हुन्छ । जसले शरीरलाई मोटाहउन सघाउँछ । पेट बढ्छ र भद्दा देखिन थाल्छ । यस्तो हुन नदिन बुटवलका गृहिणी फिटनेस सेन्टर धाउन थालेका छन् ।


फिटनेस सेन्टर धाउन थालेकामध्ये विवाहित र आमा गृहिणी धेरै छन् । सुक्खानगरकी मोनालिसा छेत्री बिहान ५ बजे बुटवल फिटनेस सेन्टर पुग्छिन् । झन्डै एक घण्टा त्यहाँ बिताउँछिन् । कहिले शारीरिक सुगठनका अभ्यास गर्छिन् । कहिले एरोविक गर्छिन् । उनी फिटनेस सेन्टर धाउन थालेको झन्डै एक वर्ष भयो । उनले एक वर्षमा १२ किलो वजन घटाएकी छन् ।


मोनालिसा शिक्षिका थिइन् । दोस्रो सन्तान जन्माएपछि उनले जागिर छाडिन् । डेढ वर्षयता घरमै बस्न थालिन् । यसपछि उनको शरीर मोटायो । ‘स्लिम हुन मात्रै होइन शरीर बलियो र स्वस्थ राख्न पनि व्यायाम चाहिँदो रहेछ,’ ३५ वर्षीया उनले भनिन्, ‘फिटनेस सेन्टरमा शारीरिक अभ्यास गरेपछि शरीर फूर्तिलो राख्न निकै सहज भएको छ ।’ शारीरिक व्यायाम घरमै पनि गर्न सकिन्छ । तर बालबच्चाको स्याहारसुसार, घरपरिवारको रेखदेख, पाहुनाको सत्कार, घरधन्दा लगायतका काम र स्थान अभावले धेरै महिलालाई घरमै अभ्यास गर्न सम्भव छैन । यस्ता सहरी क्षेत्रका धेरै महिलाले फिटनेस सेन्टरको सहारा लिइरहेका छन् । मिलन चोककी ३५ वर्षीया गोमा शर्मा ६ महिनायता फिटनेस सेन्टर धाइरहेकी छन् । उनी पहिले घरमै दैनिक एक घण्टा व्यायाम गर्थिन् । घरमा निरन्तरता दिन नसकेपछि उनी फिटनेस सेन्टर जान थालेकी हुन् ।


‘सानी छोरी जन्मिएको केही दिनमै कोलस्टोर बढी छ भन्ने थाहा पाएँ । डाक्टरले व्यायाम गरेर शरीर घटाउन सल्लाह दिए,’ गोमाले भनिन्, ‘त्यसपछि त तीन महिने सुत्केरीबाटै फिटनेस सेन्टर जान थालें ।’ उनी सी इनर्जी लेडिज फिटनेस सेन्टरमा शारीरिक व्यायाम गर्छिन् । साँझको डेढ घण्टा त्यहाँ बिताउँछिन् । योगा, एरोबिक, मोडर्न जिमलगायतका शारीरिक व्यायाम गर्छिन् । दैनिक रूपमा व्यायाम गर्न थालेपछि कोलस्टोर घट्दै गएको उनले बताइन् । ‘शरीर पनि कसिलो तर पातलो भएको छ,’ उनले भनिन्् ।


बुटवलमा १३ वटा फिटनेस सेन्टर छन् । यसमध्येका सात वटामा महिलासमेत जान थालेका छन् । शरीर आकर्षक, फूर्तिलो र स्वस्थ राख्न बाहिरी सौन्दर्यभन्दा शारीरिक तन्दुरुस्तीका लागि गरिने व्यायाम आवश्यक हुन्छ । यसैलाई बुझेका महिला फिटनेस सेन्टर धाइरहेका छन् । ‘डाइटिङ र मेकअपले मात्रै शरीर राम्रो, सुन्दर र स्वस्थ नहुँदोरहेछ,’ स्वास्थ्यकर्मी राधिका गौतमले भनिन्, ‘शरीरलाई आकर्षक, सन्तुलित र स्वस्थ राख्न शारीरिक व्यायामतिर लागेकी हुँ ।’ उनी दुई वर्षयता नियमित फिटनेस सेन्टर जान थालेकी हुन् ।


धेरैको आमा बनेपछि महिलाको आहारविहार र जीवनशैली फेरिन्छ । त्यसैमाथि गृहिणी महिला शारीरिक रूपमा धेरै मोटाउँछन् । त्यस्ता महिलालाई कोलस्टोर, प्रेसर, ग्यास्ट्रिक, अल्सर र पाचन प्रक्रियामा समस्या धेरै देखिने चिकित्सकहरू बताउँछन् । त्यस्ता धेरै महिला तौल घटाउने र स्वस्थ बन्ने दुवै चाहना बोकेर फिटनेस सेन्टर धाउँछन् । दैनिक रूपमा गरिने व्यायामले शरीर घटाउन, पाचन शक्ति बढाउन र स्वस्थ रहन सहयोग गर्दछ ।


सी इनर्जी लेडिज फिटनेस सेन्टर सञ्चालक रञ्जु गौचनले घरमा सबै प्रकारका व्यायाम गर्न नमिल्ने भएकाले फिटनेस सेन्टर धाउनु आवश्यक रहेको बताइन् । ‘शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि हरेक मान्छेलाई व्यायाम आवश्यक हुन्छ,’ उनले भनिन्, ‘काममा व्यस्त भइरहने तर शारीरिक अभ्यास कम हुने गृहिणीका लागि फिटनेस केन्द्रले आवश्यकता पूरा गरेका छन् ।’ नियमित खानामा कुनै घटबढ नगरी शरीरलाई पातलो र तन्दुरुस्त बनाउन सकिने भएकाले पनि गृहिणी धेरै आकर्षित भएको उनले बताइन् ।

[email protected]

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?