हुवावेको हार्मनी

गुगलले आफ्नो सेवा प्रयोगमा लगाएको प्रतिबन्धको म्याद नजिकिँदै जाँदा हुवावेले आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । कम्पनीको नयाँ अपरेटिङ सिस्टमले एन्ड्रोइडलाई विस्थापित गर्न सक्ला त ?
हेलो शुक्रबार

 
घोषणा गरेअनुसार नै चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टम गत साता सार्वजनिक गरेको छ  । उसले यसको नाम हार्मनी दिएको छ  ।

हुवावेको हार्मनी

अमेरिकी कम्पनी गुगलले आफ्नो सरकारको नीति पछ्याउँदै हुवावेलाई आफ्नो सेवा प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । गुगलले हुवावेलाई दिएको तीन महिने म्याद आगामी साता सकिँदै छ । यो प्रतिबन्ध निरन्तर भए हुवावेले आगामी दिनमा उत्पादन गर्ने स्मार्टफोनमा गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडसहित एन्ड्रोइडमा आधारित गुगलका सेवाहरू चल्ने छैनन् । यसअघि उत्पादन भएका स्मार्टफोनमा पनि यस्तै हुनेछ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेमाथि लगाइएको प्रतिबन्धमा केही खुकुलो पार्ने घोषणा गरे पनि यो कस्तो खालको हो भन्ने सार्वजनिक भइसकेको छैन । अहिले हुवावेको लागि अन्योलग्रस्त समय हो ।
गुगलले आफ्नो सेवा प्रयोग गर्न नदिने घोषणा गरेलगत्तै हुवावेले आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गर्ने घोषणा गरेको थियो । यही प्रतिबद्धताअनुसार हुवावेले गत शुक्रबार आफ्नो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।


हुवावेको अपरेटिङ सिस्टम एन्ड्रोइडको विकल्प हुने आकलन गरिएको भए पनि उसले यो सुरुमा स्मार्टफोनका लागि नभएर अन्य डिभाइसका लागि मात्रै भएको टिप्पणी गरेको छ । तर आवश्यक परे यसलाई स्मार्टफोनमा प्रयोग गर्न सकिने हुवावेको भनाइ छ । हुवावेले सार्वजनिक गरेको अपरेटिङ सिस्टम सुरुमा टीभी, स्मार्ट स्पिकरजस्ता डिभाइसमा प्रयोग हुनेछ ।गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिए यही अपरेटिङ सिस्टमलाई स्मार्टफोनमा निरन्तरता दिने हुवावेको योजना छ । यो एन्ड्रोइडभन्दा पनि बढी फास्ट हुनेछ । तर यसका जानकारहरू हुवावेलाई नयाँ अपरेटिङ सिस्टम स्थापित गरी एन्ड्रोइडलाई विस्थापित गर्नु चुनौतीपूर्ण हुने टिप्पणी गर्छन् ।


एन्ड्रोइड अपरेटिङ सिस्टम मात्र नभएर इकोसिस्टम पनि हो । हरेक डेभलपरहरूले एप बनाउँदा एन्ड्रोइड र आईओएसका लागि तयार पार्छन् । हुवावेले त्यस्ता डेभलपरहरूलाई अब आफ्नो अपरेटिङ सिस्टमका लागि पनि एप विकास गर्न अरूलाई मनाउनुपर्ने हुन्छ । साथै, एन्ड्रोइडमा लोकप्रिय एपमध्ये अधिकांश गुगलकै एप पनि छ । जस्तो गुगलको जिमेल, सर्च, असिस्टेन्ड, म्यापजस्ता एपहरू एन्ड्रोइड प्रयोगकर्तामाझ लोकप्रिय र बढी प्रयोगमा रहने एपहरू हुन् ।


एन्ड्रोइड र आईओएसको वर्चस्वबीच नयाँ अपरेटिङ सिस्टम लोकप्रिय बनाउन चुनौतीपूर्ण हुने ब्ल्याकबेरी र सामसङको उदाहरणबाट पुष्टि हुन्छ । ब्ल्याकबेरीले तयार पारेको आफ्नो अपरेटिङ सिस्टम ब्ल्याकबेरी टेनमा इन्स्टाग्राम जस्तो लोकप्रिय एप पनि सपोर्ट गर्दैन । चल्तीका एप नै उपलब्ध नभएपछि कसरी डिभाइसहरू प्रयोगकर्ताले किन्छन् ? हुवावेभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङको पनि आफ्नै अपरेटिङ सिस्टम छ । सामसङले तयार पारेको टिजेन नामक अपरेटिङ सिस्टम उसले आफ्नो स्मार्टफोनमा प्रयोग गर्दैन । बरु आफ्नो स्मार्ट डिभाइसहरूमा मात्रै प्रयोग गर्छ । उसका सबै स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएका छन् ।


यी उदाहरणहरू हेर्दा गुगलले आफ्नो सेवा प्रयोग गर्न नदिने नीतिलाई निरन्तरता दिए हुवावेको सामु दुई चुनौती हुनेछन् । एउटा एप निर्माताहरूलाई आफ्नो अपरेटिङ सिस्टमका लागि पनि एप तयार गर्न प्रोत्साहित गर्नु र अर्को प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन एन्ड्रोइडमा आधारित स्मार्टफोन जत्तिकै उपयोगी छ भनेर विश्वस्त तुल्याउनु । गुगलले आफ्नो सेवा प्रयोग गर्न दिने निर्णय गरेमा विश्वको नम्बर १ स्मार्टफोन निर्माता बन्ने लक्ष्यको नजिक पुगेको हुवावेका लागि ठूलो राहत हुनेछ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?