‘बाइकको इन्जिनले हेलिकप्टर’

रुकुम महोत्सवमा विक र उनले बनाएको हेलिकप्टर हेर्नेको भीड
हरि गौतम

रुकुम — छिवाङ–४ का ३३ वर्षीय मञ्जित विक हेलिकप्टर बनाएपछि अहिले चर्चामा छन् । उनी पेसाले होटल व्यवसायी हुन् । मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा खाना, नास्ता बेच्ने विक अहिले फरक भूमिकामा देखिएका छन् । विक मोडलजस्तै बनेका छन् । उनी रुकुम महोत्सवमा आफूले निर्माण गरेको हेलिकप्टरसहित पुगेका थिए ।

महोत्सवको मुख्य आकर्षण नै विक र उनले निर्माण गरेको हेलिकप्टर बनेको छ । सदरमुकाम खलंगास्थित बह्राटाकुरामा जारी महोत्सवको एउटा स्टलमा विकले निर्माण गरेको हेलिकप्टरलाई राखिएको छ । सोलाबाङवासीले २ क्विन्टल १५ किलो तौल रहेको हेलिकप्टरसहित विकलाई बाजागाजासहित महोत्सव स्थल पुर्‍याएका थिए ।
कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् ।

होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए । ‘जिल्लामै ठूलो महोत्सव हुने भएपछि के गरेर देखाउने भन्ने भयो,’ विकले भने, ‘जिल्ला भित्र र बाहिरकालाई पनि अचम्म लाग्ने हेलिकप्टर नै होला भन्ने ठानेर यो बनाएको हुँ ।’ होन्डा साइन मोटरसाइलको इन्जिन राखेर उनले हेलिकप्टर तयार पारेका हुन् । हेलिकप्टर निर्माणमा १ लाख ८५ हजार रुपैयाँ खर्च भएको विकले बताए ।

स्थानीय गोविन्द बुढाले हेलिकप्टर निर्माण गर्दा लागेको सबै खर्च बेहोरिदिएका हुन् । हेलिकप्टर पेट्रोलको सहायताले उड्ने दाबी विकको छ । ‘मैले ५ फिटसम्म उडाएको हुँ,’ विकले दाबी गरे, ‘सुरक्षाकर्मीले त्यसरी अनुमतिबिना उडाउन नपाउने भनेपछि उडाएको छैन ।’

टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ ।’ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले नै राम्रो भनेपछि थप उत्साहित बनेको उनी बताउँछन् ।

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कलिलैमा बिहे, वर्षैपिच्छे सन्तान

मागीभन्दा भागेर बिहे गर्ने धेरै
विमल खतिवडा

काउले (चितवन) — काउले ३ स्थित तार्सेलिङकी सुनकुमारीले १४ वर्षकै उमेरमा सन्तबहादुर चेपाङसँग भागेर बिहे गरिन् । अहिले उनको उमेर २४ पुग्यो । ४ सन्तान जन्माइसकिन् । पछिल्लो सन्तान वर्ष दिन नपुग्दै उनी पुन: गर्भवती भएकी छन् ।

पहिलो सन्तानको उमेर ८ वर्ष मात्र छ । जेठोपछि जन्मिएका छोरा बाँचेनन् । त्यसपछि ३ वर्ष र १ वर्षका छोरी छन् । घरमा खाने अन्न छैन । मकै र कोदोले ६ महिना पुग्दैन । वर्ष दिनकी छोरी रेखदेख गर्न समस्या भोगिरहेका बेला उनी गर्भवती बन्न पुगिन् । ‘महिनावारी नभई बच्चा बसेछ,’ लजाउँदै भनिन्, ‘कति महिना भयो, थाहा छैन ।’

पेटभरि खाने अन्न छैन । शरीर ढाक्ने राम्रो लुगा छैन । सबै सन्तान साना छन् । कान्छी छोरीले पोसिलो खानेकुरा नपाउँदा हातखुट्टा सुक्दै गएको छ । सन्तानले राम्रो स्याहार पाएका छैनन् । तर, उनी फेरि आमा बन्ने तयारीमा छिन् । ‘पढ्न पाएन, चाँडै बिहे गरियो,’ उनले भनिन्, ‘पेटभरि खान नपाए पनि बच्चा पाउन सकिँदोरैछ, त्यही भएर फेरि बच्चा बसेछ ।’

यो समस्या उनको मात्र होइन । गाउँमा अझै बालविवाह हट्न सकेको छैन । कलिलो उमेरमा बिहे गर्ने क्रम पहिलाको जस्तै छ । ‘मैले १२ वर्षको उमेरमा बिहे गरें, अहिले २४ वर्ष पुगें,’ नीरमाया चेपाङले भनिन्, ‘यो उमेरसम्म ४ छोराछोरी जन्माइसकें ।’ उनका ९, ७ र ३ वर्षका ३ छोरी र २ वर्षका एक छोरा छन् । उनी बिहे गरेको ३ वर्षमा आमा बनिन् । ‘३ कक्षाभन्दा माथि पढ्न सकिएन,’ उनले भनिन्, ‘आफूले नपढे पनि छोराछोरीलाई दु:ख–सुख पढाएका छौं ।’ गाउँमा मागी विवाहभन्दा भागेर बिहे गर्ने परम्पराजस्तै बनेको छ । युवायुवती आपसमा मन परापर भए उमेरको हिसाब हुँदैन । उमेर पुगेर बिहे गर्नेको संख्या कमै छ ।

‘तरुनी भए आँखा लाग्छ भनेर होला, कम उमेरमै बिहे गर्ने चलन छ,’ गाउँकै अगुवा नक्कलीमाया चेपाङले भनिन्, ‘तर सानै उमेरमा बिहे गर्दा दु:ख बढी हुन्छ ।’ उनले गरिबी र अशिक्षाले गर्दा यस्तो समस्या रहेको बताइन् । नजिकमा विद्यालय हुँदैनन् । घण्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । त्यही भएर दु:ख गरेर पढ्न जानेको संख्या कम हुन्छ । पढ्दापढ्दै भागेर बिहे गरी पढाइ छाड्नेको जमात बाक्लो छ । ‘१४ वर्षको उमेरमा बिहे भयो,’ सीता चेपाङले भनिन्, ‘कम उमेरमा बिहे गर्दा जिम्मेवारीको काम गर्न समस्या हुँदोरैछ ।’

उनले गाउँमा कम उमेरमा बिहे नगर्न सल्लाहसुझाव दिने गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइन् । कलिलैमा आमा बन्दा कमजोर हुने, टाउको दुख्ने, पेट दुख्ने समस्या भोग्नुपर्छ । ‘यो गाउँमा १२/१३ वर्षकै उमेरमा अहिले पनि बिहे हुने गरेको छ,’ राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रअ रमेश रसाइलीले भने, ‘यो क्रम कक्षा ६ भन्दा माथि पढ्दै गर्नेमा बढी छ, जसले गर्दा माथिल्लो कक्षामा विद्यार्थीको संख्या कम छ ।’ उनका अनुसार विद्यालयमा ८० प्रतिशत चेपाङ विद्यार्थी छन् । पढ्दापढ्दै बिहे गर्ने र पढाइ छाड्नेको संख्यासमेत बर्सेनि बढ्दो छ ।

समस्यै समस्या
भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. सुनीलमणि पोखरेलका अनुसार कम उमेरमा गर्भ रहँदा शरीर सन्तान पाउनका लागि विकास भइसकेको हुँदैन । आमालाई रक्तअल्पता हुने खतरा हुन्छ । महिना नपुग्दै बच्चा जन्मिने र कम तौलको हुने जोखिम उत्तिकै रहन्छ । ‘कम उमेरमा बिहे गर्दा गर्भपतन गराउने बढी हुन्छन्,’ उनले भने, ‘शिशु मृत्युदरसमेत बढ्छ ।’ सानै उमेरमा बिहे गर्दा पाठेघरको पूर्ण विकास भइसकेको हुँदैन । त्यस्तो बेला पाठेघर फुट्ने र आमाको ज्यान जाने खतरा हुन्छ । यस्तो समस्या मध्यम र न्यून आयस्तर भएका समुदायमा बढी हुन्छ । जसले गर्दा गर्भवती भएपछि आमाले पोसिलो खाना खान पाउँदैनन् ।

आमा र बच्चा दुवैलाई कुपोषण हुने खतरा रहन्छ । ‘कम उमेरमा बिहे गर्दा स्वास्थ्य समस्या धेरै आइपर्छ,’ उनले भने, ‘कम उमेरबाटै यौन सम्पर्क गर्दा पछि पाठेघरको मुखको क्यान्सर हुने, आङ खस्ने समस्या आइपर्छ ।’ यो सबै बालविवाहले निम्ताएको समस्या हो । गरिबी र अशिक्षा यसका मुख्य कारक हुन् । ‘कम उमेरमै बिहे गर्ने क्रम गाउँघरमा बढी छ, त्यो पनि न्यून आयस्तर भएका समुदायको परिवारमा छ,’ उनले भने, ‘यसको सिकार विकट गाउँ/ठाउँ बनेका छन्, त्यही भएर बालविवाह अझै रोकिन सकेको छैन ।’

प्रकाशित : फाल्गुन १५, २०७३ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT