होली खेलेर शिक्षकलाई तलब

वसन्तप्रताप सिंह

बझाङ — केही बालबालिका घोक्रो सुक्ने गरी गीत गाइरहेका थिए । मुखमा देवीदेवताको चित्र अंकित मस्कट लगाएका ससाना बाबुनानीहरू नाचिरहेका थिए । शिक्षक र शिक्षिका मादल बजाउँदै थिए । थकाइले लखतरान भएजस्ता देखिने उनीहरू शिक्षकको कुरा काट्न नसकेर सकिनसकी नाचिरहन्छन् । उनीहरूको नाच देखेर दर्शकहरू गच्छेअनुसारको रकम दिँदै थिए । एक शिक्षक संकलन भएको रकम र दाताको नाम कापीमा टिप्दै छन् ।

‘सम्झनाले हुन्छ मन छिया,
आफू घाटा हुने काम नगर पापी आँखा लाउँछ दुनियाँ’

यो दृश्य बिहीबार स्थानीय बागथला बजारमा देखिएको हो । नाच्ने बालबालिका कालिका प्रावि पिपलकोटका हुन् । उनीहरू ४ दिनदेखि पैदल हिँडेर शिक्षकका लागि तलब जुटाउन गाउँगाउँ डुलेका हुन् । होली पर्व अवसर पारेर सुरु गरिएको यो अभियान फागुन मसान्तसम्म चल्ने विद्यालयका प्रधानाअध्यापक दुर्गादेवी जोशीले बताइन् ।

‘चार दिनदेखि हामी यसरी नै गाउँ डुलेर रकम संकलन गरिरहेका छौं । अहिलेसम्म १६ हजार जम्मा भइसक्यो,’ उनले भनिन्, ‘चैत १ गतेसम्म १ लाखजति पुर्‍याएर विद्यालय फर्किने हाम्रो लक्ष्य छ ।’ यसरी संकलित रकमले निजी स्रोतमा कार्यरत २ शिक्षकको वर्षभरिको तलब जुटाउने योजना उनले सुनाइन् ।
उक्त विद्यालयले चैत ४ बाट वार्षिक परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ । परीक्षा मुखमा तयारी गर्नुको साटो गाउँगाउँमा नाच्दै गाउँदै शिक्षकको तलब जुटाउनु आफूहरूको रहर नभएको विद्यार्थी बताउँछन् । कक्षा ५ मा अध्ययनरत विनिता जैसीले भनिन्, ‘परीक्षा तयारी गर्ने मन त थियो नि । सरहरूले होली खेल्न नगए कारबाही हुन्छ भनेपछि सबै यता आयौं ।’

परीक्षाको मुखैमा आएर तयारी गर्न नपाउँदा अर्का विद्यार्थी गोविन्द बोहरालाई फेल भइन्छ कि भन्ने चिन्ताले सता उन थालेको छ । उनले भने, ‘४ गतेबाट परीक्षा छ किताब हेर्न नपाएकै एक साता भयो । हिँडदाहिँडदा पिडांैला दुख्न थालेका छन् । फेल हुन्छु कि भन्ने चिन्ता लाग्छ ।’

परीक्षा मुखमै विद्यालय बन्द गरेर होली खेल्न जानु आफूहरूको रहर नभएर बाध्यता भएको अर्का शिक्षक कमल खड्काले बताए । ‘होलीका बेला चन्दा नउठाए वर्षभरि शिक्षकलाई तलब दिन सकिँदैन । शिक्षक नै भएन भने पढाइ कसरी हुन्छ ? यसो गर्नु हाम्रो बाध्यता हो सबैले बुझिदिनुपर्छ ।’ 

यस्तो खालको बाध्यता भएको विद्यालय कालिका प्राविमात्र होइन । जयपृथ्वी राजमार्गमा यात्रा गर्ने क्रममा विद्यालयको ब्यानरसहित केटाकेटीले होली खेल्दै रकम संकलन गरिरहेका दृश्य यत्रतत्र देखिन थालेका छन् । होली पर्व सुरु हुन साता दिनअघि नै बझाङ क्षेत्र नं २ का ५० भन्दा बढी विद्यालय बन्द गरेर यसैगरी चन्दा संकलन गरिरहेको बाँझ गाविसका वीरेन्द्र मल्लले बताए ।

‘सबै विद्यालयको चैत पहिलो साता नै वार्षिक परीक्षा छ,’ उनले भने, ‘धेरैजसो प्राथमिक विद्यालयमा निजी शिक्षक छन् । उनीहरूको तलब जुटाउने उचित समय नै यही भएकाले हरेक वर्ष विद्यार्थीले जाँचभन्दा पनि होलीको तयारी गर्नुपर्ने हुन्छ ।’ ससाना बालबालिकाले धेरै लामो पैदल यात्रा तय गर्नुपर्ने हुँदा कतिपय बाटोमै बिरामी परेको उनले बताए । 

जिल्लाभरि झन्डै ८ सय हाराहारीमा निजी स्रोतबाट कार्यरत शिक्षक रहेको शिक्षा कार्यालयको तथ्यांकमा छ । विद्यालय सञ्चालन स्वीकृति दिएका तर शिक्षकको व्यवस्था सरकारी तवरबाट नगरिएका सयभन्दा बढी विद्यालय पूर्ण रूपमा निजी शिक्षककै भरमा सञ्चालन भएको जिल्ला शिक्षा अधिकारीले स्विकारे ।

निजी स्रोतबाट शिक्षकको तलब व्यहोर्नु पर्दा कतिपय अभिभावकले ऋण काढ्नु परेको र विद्यार्थीले विभिन्न कार्यक्रम गरी शिक्षकको तलब जुटाउनमै समय खर्चिनु परेकाले पढाइ बिग्रने गरेको जिशिअ सूर्यबहादुर सिंह बताउँछन् । ‘यो समस्यामा राज्यलाई अवगत गराउने काम भइरहेको छ,’ उनले बताए । विद्यालयको स्वीकृति लिँदा अन्य स्रोत नभएकाको हकमा आफैं शिक्षकको तलब व्यवस्था गर्ने कबुलियतनामा अभिभावकले गर्ने गरेकाले सञ्चालन अनुमति दिने गरेको उनले बताए । 

प्रकाशित : फाल्गुन २८, २०७३ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खोलामा फोहोर फाल्दा स्थानीय आन्दोलित

‘फोहोर व्यवस्थापन हाम्रो पनि जिम्मेवारी हो तर खोलामा जथाभावी फाल्नु सह्य होइन’
अर्जुन राजवंशी

दमक — नगरपालिकाले अव्यवस्थित रूपमा खोलामा फोहोर फालेको भन्दै मोरङ उर्लाबारीवासीले विरोध गरेका छन् । खोला किनारमा जथाभावी फोहोर नफाल्न पटक–पटक आग्रह गर्दा पनि नमानेपछि स्थानीयले नगरपालिकाको गाडी तोडफोड गरे ।

उर्लाबारी ३ काले ढुंगा हान्दा नगरपालिकाको को१ग ९५ नम्बरको गाडीमा क्षति पुगेको छ । नगर क्षेत्रको फोहोर व्यवस्थापन जिम्मा लिएको मेची–महाकाली इन्भारोमेन्ट केयर प्रालिले अव्यवस्थित रूपमा उर्लाबारी ३ स्थित मावा खोलामा फोहोर फ्याँक्दै आएको थियो ।

खोला किनारमा फोहोर फाल्दा गाउँमा दुर्गन्ध फैलिएर बसिसक्नु छैन, झिंगा भन्किएको छ, हावा चल्दा सबै फोहोर घरभित्रै पस्नै नसक्ने भएको स्थानीय बताउँछन् । ‘हामीले धेरैपटक भन्दा पनि फोहोर फाल्न नरोकिएपछि बाध्य भएर आन्दोलित हुनुपरेको हो,’ स्थानीय दुर्गाप्रसाद खतिवडाले भने, ‘नगरभित्रको फोहोर व्यवस्थापन हाम्रो पनि जिम्मेवारी हो । तर गाउँनजिकैको खोलामा जथाभावी फाल्नु सह्य होइन ।’
फोहोर व्यवस्थापनका लागि उर्लाबारी ६ स्थित बक्राहा खोला किनारमा एक बिघा ७ कठ्ठा ११ धुर जग्गा खरिद गरिएको छ । आवश्यक पूर्वाधारबिना नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको थियो ।

गत असारमा आएको बाढीले उक्त स्थान कटान गरेपछि नगरपालिकाले अव्यवस्थित रूपमा मावा खोलामा फोहोर फाल्न अनुमति दिएको थियो । उर्लाबारीमा मात्रै दैनिक ६ टयाक्टर फोहोर उत्पादन हुन्छ । नगरपालिकाले फोहोर उठाएबापत नगरवासीबाट मासिक न्यूनतम ५० देखि ५ सय रुपैयाँसम्म शुल्क लिन्छ । ‘व्यवस्थित रूपमा फोहोर फाल्दा हाम्रो आपत्ति होइन । गाउँनजिकैको खोलामा जथाभावी फोहोर फाल्दा भने पाइन्न,’ स्थानीय गणेश दाहालले भने, ‘कुकुरले फोहोर टिपेर आँगनमा ल्याउँछ, हावा चल्दा घरमा खाना खानै सकिँदैन ।’

अव्यवस्थित फोहोर विसर्जनले मानव स्वास्थ्यमा मात्र होइन, पशुपन्छीमा पनि असर गरेको छ । यही कारण स्थानीय तितामाया तामाङको १६ वटा हाँस, ६ वटा कुखुरा, विनोद धिमालको एउटा बाख्रा र एउटा सुंगुर मरेको दुर्गाप्रसादले बताए । ‘मान्छे पनि उत्तिकै बिरामी पर्न थालेका छन्,’ स्थानीय खगेन्द्र कार्कीले भने । फोहोर फाल्दै आएको स्थानको ५० मिटर नजिकै टोलीबासीको पहलमा सिद्धेश्वर शिव बाबा मन्दिर निर्माण गरिएको छ । 

स्थानीयले विरोध जनाउँदै गाडी तोडफोड गरेपछि तीन दिनदेखि नगर क्षेत्रको फोहोर उठ्न सकेको छैन । ‘हामीले फोहोर उठाउने जिम्मामात्र लिएका हौं, कहाँ लगेर फाल्ने हो त्यो नगरपालिकाले देखाइदिनुपर्‍यो,’ इन्भारोमन्ट केयरका प्रमुख नेत्र घिमिरेले बताए । फाल्ने ठाउँको व्यवस्था नभएसम्म नगर क्षेत्रको फोहोर उठाउने अवस्था नभएको उनले बताए । 

उर्लाबारी नगरपालिकाका वातावरण शाखा प्रमुख बालकुमार बरालले भने, स्थानीयकै सहमतिमा मावा खोलामा फोहोर फालेको हो ।

प्रकाशित : फाल्गुन २८, २०७३ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT