कठपुतली विवाह !

प्रकाश अधिकारी

राजनीतिमा कठपुतली शब्द खुबै प्रयोग हुन्छ । अरू कसैको इसारामा चल्नु अर्थात् वास्तविक अर्कै तर देखिने रूप एउटा छ भने त्यसलाई कठपुतली भन्ने गरिन्छ । नेपाली राजनीति सधैंजसो उच्चारण भइरहने कठपुतली शब्द विवाहजस्तो विशुद्ध सामाजिक संस्कारमा प्रयोग नहुनुपर्ने हो । किनकि, विवाह एउटालाई देखाएर अर्कैसँग गरिन्न ।

पश्चिम सुर्खेतमा एउटा अनौठो संस्कार जीवित छ । जहाँ बाल उमेरका केटी–केटीबीच बिहे हुने गर्छ । समलिंगी भने होइन । एक दिन तामझामका साथ विधिपूर्वक बालिकालाई नै वर–वधू बनाएर बिहे गरिन्छ । बिहे सम्पन्न भएकै रात वर–वधूलाई आ–आफ्नै घरमा पठाइन्छ । यसैलाई कठपुतली विवाह भन्ने गरिन्छ । 

बालिकालाई नै दुलहाको भेषमा सजाउने चलन छ । गुटु–४ भाप्रका रामलाल बयकको घरमा केहीअघि ठूलै चटारो थियो । घरआँगनमा मानिसहरूको बाक्लो जमघट । पञ्चेबाजा घन्किरहेको थियो । ११ वर्षीया छोरी दीक्षालाई दुलहा बनाएर जन्तीको लावालस्करसहित डोली लिएर बयक परिवार दुलही लिन नजिकको अर्को गाउँ जाँदै थियो । सोही ठाउँ डाबकी १३ वर्षीया किरण देवकोटा दीक्षाकी दुलही अर्थात् बयक परिवारकी बुहारी थिइन् । जन्तीलाई स्वागत गर्न र दुलही अन्माउन डाब टोलमा पनि उस्तै चटारो थियो । गाउँभरिका मान्छे दुलहा–दुलही हेर्न भेला भए । दुलही लिएर गएपछि रामलालको घरमा दीक्षा र किरणको औपचारिक बिहे भयो । गत माघमा गुटु बजारकै मिलनचोकमा पनि विवाहको भव्य उत्सव थियो । मिलनचोककी १० वर्षीया पार्वती बीसी दुलहा थिइन् । उनका घरपरिवारसहित छरछिमेकीहरू दुलही लिन सोही ठाउँकै मोतीसेरा टोल पुगेका थिए । मोतीसेराकी सम्झना बयकलाई दुलहीका रूपमा पार्वतीको घरमा अन्माइयो ।

यो बिहेमा कोसेलीका रूपमा माल्टाटा (मालुको रूखमा फल्ने बोक्राभित्रको एक प्रकारको फल) लिने गरिन्छ । ‘बिहेपछि राति नै दुलहीलाई ससम्मान फर्काउँछौं,’ रामलाल भन्छन्, ‘अन्य बिहेजस्तो यसमा पनि सबै विधि पूरा गर्छौं ।’ यो चलन पुर्खौंदेखि चलिआएको उनी बताउँछन् । ८४ वर्षीय लक्ष्मीप्रसाद उपाध्यायका अनुसार हिउँद याममा भुवाको ठूलो जात्रा लाग्दो रहेछ । आगोको मुढा ताप्ने क्रममा बिहे गर्ने उमेरका (पहिले–पहिले निकै कलिलो उमेरमा बिहे गर्ने चलन थियो) दुई बालिकाको जलेर मृत्यु भएछ । घटनापछि छोरीको बिहे गर्ने सपना अधुरै भएछ । अनि, घटनाको एक वर्षपछि तिनै बालिकाको सम्झनामा उनका परिवार, इस्टमित्रले उनीहरूकै प्रतिरूप बनाएर विवाह गरेछन् । त्यसयताका हरेक वर्ष गुटु र आसपासका गाउँमा बाल उमेरका केटी–केटीबीच विवाह हुने गर्दोरहेछ । 

प्रत्येक साल दुलहा–दुलही पक्ष साटासाट हुन्छन् । ‘यो साल दुलहा हुने गाउँमा अर्को साल दुलही बनाउँछौं । दुई गाउँबीच यस्तो क्रम चलिरहन्छ,’ विष्णुप्रसाद भन्छन्, ‘रजस्वला नभएकालाई वर–वधू बनाउने चलन छ ।’ 

प्रकाशित : चैत्र २७, २०७३ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

आधा मोलमा अलैंची बेचिँदै

टीकाप्रसाद भट्ट

रामेछाप — भट्टीबाट निकालेको सात महिनासम्म उचित भाउ पर्खंदा पनि मोल नबढ्ने संकेत देखेपछि यहाँका किसान आधा भाउमा अलैंची बिक्री गर्न थालेका छन । भाउ आउला अनि बेचौंला भनेर पर्खेका किसान अहिले जति आउँछ त्यतिमै भए पनि अलैंची बिक्री गर्न बाध्य छन् ।

गत वर्ष प्रतिकेजि २ हजार २ सयसम्म बिक्री भएको अलैंचीको भाउ यो वर्ष लगातार ओरालो लागेकाले किसानहरूले उत्पादित अलैंची गोदाम गरेका थिए ।

गुम्देल, वाम्ती र कुभुकास्थलीका किसानले धान फल्ने जग्गा मासेर अलैंची लगाएका छन् । त्यसै पनि यो वर्ष उक्त क्षेत्रमा अलैंची कम उत्पादन भएको थियो । वाम्तीका सूर्य बस्नेतका अनुसार गत वर्ष रामेछापको उच्च क्षेत्रमा फैलिएको काउसोका कारण किसानहरूले अलैंची गोडमेल र उचित सिंचाइ गर्न नसक्दा विगतको तुलनामा झन्डै आधा मात्र उत्पादन हात पारेका थिए । ‘उत्पादन घट्यो अनि भाउ पनि’ बस्नेतले भने, ‘यो वर्ष ढाडै सेकियो ।’

उनका अनुसार यो वर्ष प्रतिकेजि १ हजार ५० रुपैयाँदेखि १ हजार १ सय रुपैयाँमा अलैंची बिक्री गर्न किसानहरूलाइ धौ–धौ छ । कोही किसान अलैंची बोकेर काठमाडौं र विर्तामोड पुगेका छन् । काठमाडौंमा पनि भनेको जति भाउ नपाएको उनले दुखेसो पोख । बस्नेत भन्छन्, ‘थोरै व्यवसायी भेटिएका छन्, अब जति आउँछ त्यतिमा दिने विचारमा पुगेको छु ।’ उनले यो पटक झन्डै ४ सय केजी अलैंचीका दाना बनाएका थिए ।

विगतका वर्षहरूमा उत्पादित क्षेत्रमै व्यवसायीहरू पुगेर अलैंची खरिद गर्ने चलन थियो । यो वर्ष व्यवसायी त पुगे तर भाउमा उतारचढाव आयो । उत्पादक किसानहरू धेरै भाउ खोज्ने तर अन्तर्राष्ट्रिय बजारमा नै अलैंचीको भाउ झरेकाले व्यवसायीले किसानले चाहेको जति भाउ दिन नसक्दा अलैंची गोदामा नै बस्यो । धेरै पैसा आउने लोभमा धान मासेर अलैंची रोपेका किसानहरू लगातार भाउ झरेपछि निराश हुन थालेका छन् । दुई वर्षअघि अलैंची भट्टीमा नै २ हजार ६ सय केजीमा बिकेको थियो । रामेछापको उत्तरी भेगमा कलिलै अलैंची टिप्ने गरिन्छ । कलिलै टिप्दा चाँडो सड्ने डर भएकाले अहिले किसानहरू छटपटिन थालेका हुन् । छिप्पिएर टिपेको भए २ वर्षसम्म पनि अलैंची गोदाम गर्दा बिग्रिँदैन ।

मौसम अनुकूल भएकाले वाम्ती, कुभु र गुम्देलका बासिन्दाले धान खेतदेखि धाराको डिलसम्म पनि जग्गा बाँकी राखेका छैनन् । जिल्लामा अलैंचीको राम्रो उत्पादन हुन थालेपछि गएको आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयले उक्त क्षेत्रका किसानलाई बिरुवा अनुदानमा उपलब्ध गराएको थियो । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लका अनुसार कृषिले गत वर्ष ५० प्रतिशत छुटमा १ लाख रुपैयाँ वितरण गरेको थियो । यो वर्ष पनि सोही बराबरको सहयोग गर्ने योजना उक्त कार्यालयको छ ।

सरकारसँग मिलेर एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरेको उद्योग वाणिज्य संघले यो आर्थिक वर्षदेखि अलैंची खेतीका लागि सघाउने कार्यक्रम अघि सारेको छ । रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीनकुमार केसीका अुनसार संघले किसानलाई अलैंची सुकाउनका लागि भट्टी हस्तान्तरण गरेको छ । अलैंची किसान अर्जुन कार्कीका अनुसार यो वर्ष वर्षायाम राम्रो भएकाले उत्तरी रामेछापमा अलैंचीको उत्पादन राम्रो हुने अनुमान छ । काउसोको प्रकोप नभएको, समयमै वर्षा भएको र उचित गोडमेल भएकाले अलैंचीमा राम्रो फूल लागेकोउनले बताए ।

प्रकाशित : चैत्र २७, २०७३ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT