सगरमाथामा ट्राफिक जाम

सोलुखुम्बु — सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ ।

सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए ।

सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ ।

विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भन्नुभयो “तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ ।

आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसक्नुभएका फोर्चेका सोनाम शेर्पा भन्छन्, “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ ।” रासस

प्रकाशित : वैशाख २, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कामदारका छोरा अर्बपति

दिनेश यादव

धेरै पुरानो एउटा भनाइ– ‘पैसाले पैसालाई तान्छ’ सबैले कुनै न कुनै बेला सुनैकै हुनुपर्छ । तर, सधैं यो भनाइ लागू नहुन सक्छ । हरेक धनाढ्य व्यक्ति सुरुदेखि नै धनी हुन्छ भन्ने पनि छैन । विश्वमा यस्ता धेरै उदाहरण छन्, पहिले गरिबीको रेखाभन्दा निकै तल रहेका व्यक्ति आज विश्वकै नामुद अर्बपति बनेका छन् ।

अथक परिश्रम र लगनशीलता तथा केही गर्ने चाहनाका साथ अघि बढ्दा मानिस सफल भएकै छन् । त्यसरी सफल भएका आदर्श व्यक्तित्व विश्वमा धेरै छन् । तीमध्येका केन्नी ट्राउट पनि एक हुन् । एउटा भोजनगृहमा नोकरी गर्थे केन्नी ट्राउटका पिता । परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय थियो ।

परिवारका सदस्यलाई दुई छाक टार्नसमेत धौधौ थियो । खानैलाई नपुग्ने अवस्थामा महँगो पढाइ त उनका लागि एकादेशको कथा जस्तै थियो । प्रारम्भिक शिक्षा जसोतसो हासिल गरेपछि बाँकी पढाइका लागि रकम जुटाउन उनले एउटा जुक्ति निकाले । उनी कलेजको शुल्क तिर्नका लागि एउटा इन्स्योरेन्स कम्पनीमा बिमा बेच्ने काम थाले । त्यसबाट आर्जन गरेको रकम मितव्ययी भई खर्च गर्थे ट्राउट । त्यही रकमबाट अमेरिकाको दक्षिणी इलिनाइस विश्वविद्यालयमा आफ्नो शुल्क तिर्थे । बचेको रकम अनापसनापमा खर्च गर्नुको साटो सञ्चित गरेर राख्थे । तिनै ट्राउट आज ‘एक्सेल कम्युनिकेसन्स’ कम्पनीका मालिक बनेका छन् । सन् १९८८ मा खोलिएको यो कम्पनी लामो दूरीमा फोन सम्पर्क गर्ने सहयोग पुर्‍याउने गर्छ । सन् १९९६ मा उनले कम्पनीको विस्तारको प्रयास थाले । दुई वर्षपछि उनले टेलिग्लोबसँग ३ दशमलव ५ अर्ब डलरको सम्झौता गर्दै कम्पनीलाई विलय गराए । उनले आफ्नो आम्दानी सेयर बजार, बन्धकी र घोडाहरूमा लगानी गरे । उनले आफ्ना दुई छोरालाई संलग्न गराउँदै राष्ट्रियस्तरको शक्तिशाली युवा बास्केटल टिमको प्रायोजन गरे । उक्त टिमले प्रतियोगिता जितेपछि प्राप्त रकम पहुँच नभएका परिवारको सहयोगमा खर्च गर्ने गर्छ । भर्साइलीमा उनको आफ्नै घोडाको तबेला छ, जहाँ ३ सयदेखि ५ सयसम्म घोडा छन् । घोडा दौडमा उनको औधि रुचि भएकाले यसको प्रतियोगिताको समेत आयोजना गर्ने गर्छन् । अमेरिकी अखबार ‘फोब्र्स’ का अनुसार ट्राउटको कुल १ दशमलव ४१ अर्ब (रियल टाइम १४ अप्रिल २०१७) रहेको छ । इलिनोइस राज्यको माउन्ट भर्नोनमा जन्मेका ६९ वर्षीय अमेरिकी उद्यमी केन्नी ट्राउटको कम्पनीको मुख्यालय टक्सासमा छ । 

यसैगरी अर्का आदर्श व्यक्तित्व हुन्, होवार्ड स्कुल्टज । अमेरिकाको न्युयोर्क राज्यको न्युयोर्क सिटीमा अत्यन्तै गरिब परिवारमा जन्मेका होवार्डको बाल्यकालदेखि नै धनाढ्य बन्ने चाहना थियो । किनभने उनले बालक छँदै परिवारको दयनीय आर्थिक अवस्था देखे भोगेका थिए । ब्रुकलिन हाउजिङ प्रोजेक्टमा उनका पिता कपडा बेच्ने काम गर्थे । तलब, बिमा र नोकरीको कुनै ग्यारेन्टी नभए पनि परिवारको दुई छाक टार्नकै लागि उनका पिताले त्यहाँ काम गरेका थिए । होवार्ड स्कुल्टजले जसोतसो प्राराम्भिक शिक्षा ग्रहण गरे । त्यसपछि उच्च शिक्षा कसरी हासिल गर्ने भन्ने चिन्तामा थिए, उनी । ‘भाग्यमानीको भुतै कमारो’ भन्ने नेपाली उखान ठ्याक्कै उनीमा चरितार्थ भयो । चिन्तामै रहेका बेला उनले फुटबल छात्रवृत्तिमा उत्तरी मिचिकन विश्वविद्यालयमा पढ्ने मौका पाए । त्यो मौका गुमाउन चाहेनन्, उनी । किनभने पढाइसँगै परिवारमा पहिलो स्नातक गर्ने सदस्यसमेत बन्ने अवसर पनि थियो, त्यो । आफ्नो पढाइ पूरा गरेपछि उनले ‘स्टारबक्स’ नामक एउटा कफी पसलमा जागिर थाले । थोरै रकममा उनले त्यहाँ काम गरे । बेरोजगार बस्नुभन्दा केही रकम भए पनि आफ्नो हातमा परोस् भनेर उननले उक्त पसलमा काम सुरु गरेका हुन् ।

जुन बेला उनले ‘स्टाबक्स’ मा जागिर थालेका थिए, त्यसताका उक्त कम्पनीको ६० वटा मात्रै शाखा थियो । आफ्नो परिश्रमकै बलमा होवार्ड ‘स्टाबक्स’ का सीईओ बन्न सफल भए । यति मात्रै होइन, सन् १९८७ मा उनी कम्पनी खरिद गर्ने हैसियतमै पुगे । हाल उनी उक्त कम्पनीका अध्यक्ष हुन । विश्वभरि यो कम्पनीको झन्डै १६०० शाखा फैलिएको छ । होवार्ड आफ्नो कम्पनीलाई विभेदरहित अर्थात ‘रेस रिलेसन’ र युवाहरूका लागि राम्रो कार्यस्थल बनाउने प्रयासमा सधै छन् । कलेज पढ्न चाहने आफ्ना कर्मचारीलाई मौकासमेत दिन्छन् । उनी सामाजिक परिवर्तनका पृष्ठपोषकका रूपमा आफूलाई उभ्याउन चाहन्छन् । समाजमा कुनै पनि खाले विभेद रहनु हुन्न भन्ने सोच उनमा छ । परिश्रमलाई आफ्नो प्रगतिको मूलमन्त्र ठान्दै अघि बढेकाले उनको कम्पनी हाल पाँच गुणाले धनार्जन गरिसकेको छ । फोब्र्सका अनुसार ६३ वर्षीय होबार्डको कुल सम्पत्ति ३ अर्ब डलर (रियल टाइम, १४ अप्रिल २०१७) रहेको छ । अझै पनि उनी एउटा ‘लक्का जवान’ झैं सक्रिय र क्रियाशील छन् । 

स्रोत : एजेन्सी

प्रकाशित : वैशाख २, २०७४ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT