‘बधाई पाँच वर्षपछि’

जितेन्द्र साह

विराटनगर — ‘आज म कसैलाई बधाई दिन्नँ, अबको पाँच वर्षपछि बिदा गर्दा मात्र दिनेछु, जति बेला लाखौं जनता बिदा गर्न फूलमाला लिएर तयार हुनेछन् ।’ नगर प्रमुख पदमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएपछि मोरङ लेटाङ नगरपालिकाकी एमाले नेत्री एवं शिक्षिका शान्ति पाख्रिनले लेखेको फेसबुक पोस्ट हो यो ।

प्रतिक्रियामा इन्दिरा पौडेलले लेखेकी छन्, ‘जिताउन खट्ने कार्यकर्ता र भोट दिने जनतालाई बधाई दिने हो, जितेकालाई पाँच वर्षपछि काम हेरेर ।’ नागरिकको मनको भावना झल्काउने यी दुवै पोस्टले जनतासमक्ष स्वयंलाई प्रमाणित गरेर देखाउने जनप्रतिनिधिलाई चुनौती दिइरहेको छ ।

शिक्षा र चेतनामा अगाडि मोरङमा चुनावी परिणामको सेरोफेरोमा लेखिएका पोस्टहरूले यतिखेर सामाजिक सञ्जाल भरिभराउ छ । जनताले हाम्रा वा राम्रा जसलाई जिताए पनि अन्तिम मूल्यांकन उनीहरूको योगदानबाटै हुने ती पोस्टहरूको आशय छ ।

अहिले नै जितेकाको जयजयकार गर्नेभन्दा जनहितमा उनीहरूले चाल्ने गतिविधिलाई हेरेर प्रशंसा वा आलोचना गरिनुपर्नेमा अधिकांशले जोड दिएका छन् । घरदैलोमा गएर भोट माग्नै नपर्ने गरी विकास गर्न सबैले जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

विजयी उम्मेदवारले पनि जनभावनालाई बुझेर बोलिरहेका छन् । ‘आफ्नो कार्यकालमा गाउँघरमा कहीं पनि कच्ची बाटो रहन दिन्नँ, कम्तीमा सबैतिर ग्राभेल सडक बनाउँछु,’ कटहरी गाउँपालिकाका नवनिर्वाचित प्रमुख रामकुमार कामत भन्छन् । उनी मधेसी समुदायमा पिछडा वर्गका हुन् ।
उनी अन्य कुनै ठूलो कुरा नगरी अभिभावकलाई निजी विद्यालयमा जानै नपर्ने गरी सरकारी विद्यालयको स्तर सुधार्नेमा जोड दिन्छन् । गणना सुरु भएको दिनदेखि अग्रता लिएका विराटनगरमा कांग्रेसबाट महानगर प्रमुख पदका उम्मेदवार भीम पराजुली र उपप्रमुख पदकी उम्मेदवार इन्दिरा कार्कीले पनि जनताकै लयमा बोलिरहेका छन् । ‘जितेमा बिजुली, पानी, सडक र स्वास्थ्य सेवालगायतका क्षेत्रमा जनताले अनुभूति गर्ने खाले परिवर्तन नै मेरो पहिलो प्राथमिकता हुनेछ,’ पराजुली भन्छन् । कार्कीले आफ्नो उमेरअनुरूपकै पाको अभिव्यक्ति दिइरहेकी छन् । ‘भीमजस्ता युवाको जोस र मेरो होसले मिलेर काम गरेमा महानगर बनिहाल्छ नि,’ कार्की भन्छिन् ।

जनप्रतिनिधि र उम्मेदवारपछि सामाजिक सञ्जालमा सबैभन्दा बढी सुस्त मतगणनाकै चर्चा छ । हुन त राजधानीबाट एकपछि अर्को गर्दै दक्ष जनशक्ति आएर सघाउन थालेपछि गणनाले गति लिएको देखिन्छ । आदर्श विद्यालयका शिक्षक–शिक्षिकाले समेत उक्त टोलीलाई सहयोग गरिरहेको हुनाले चाँडो गणना सम्पन्न हुने आशा जागेको छ । विद्यालयका प्राचार्य दुर्गाप्रसाद चुडालले चाँडो गणनाका लागि सम्पूर्ण स्रोत, साधन र जनशक्ति उपलब्ध गराएको बताउँछन् ।

नियमित कक्षा सञ्चालन गर्न यताउति छरिएका फर्निचरलाई मिलाएर राख्नुपर्ने र सरसफाइ पनि गर्नुपर्ने भएकाले ३१ असारभित्र आफूलाई विद्यालय खाली चाहिने उनी बताउँछन् । २ साउनबाट पठनपाठन सुरु गर्ने उक्त विद्यालयले सूचना जारी गरेको छ ।

‘मतपत्र हेर्दा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा निकै विचार गरी मतदाताले स्वस्तिक चिह्न लगाएको देखिन्छ,’ एक गणक भन्छन्, ‘पूरै मतपत्रलाई नियालेर गणना गर्दा समय लाग्नु स्वाभाविक हो ।’ उम्मेदवारलाई विचार पुर्‍याएर छानीछानी भोट खसालिनुले जनतामा चेतनास्तर निकै बढेको पाइएको उनी बताउँछन् ।

राजधानीबाट आएका महिला पुरुष सम्मिलित अधिकृतको टोलीले समेत सघाइरहेको हुनाले छिट्टै महानगरले प्रमुख एवं उपप्रमुख पाउने सरोकारवालाहरू बताउँछन् । अहिले ९ टोलीले गणना गरिरहेका छन् । ‘प्रहरी, मुख्य निर्वाचन अधिकृत र कर्मचारीबीच तालमेल मिलेमा धेरै समय लाग्दैन,’ सञ्चारकर्मी महाप्रसाद खतिवडा भन्छन् ।

प्रकाशित : असार २५, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?