कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

विद्यार्थी बोलाउन घरै पुग्छन् शिक्षक

पर्वत पोर्तेल

ग्वालबस्ती (झापा) — मेचीनगर–१५ मेचीपारिको ग्वालबस्तीका विद्यार्थी आफैं स्कुल आउँदैनन्, बोलाएर ल्याउनुपर्छ । भारतसँग सीमा जोडिएको यो गाउँका विद्यार्थीको शैक्षिक स्तर उकास्न सरकारले २०५७ सालबाट विद्यालय सञ्चालन गरेको हो ।

विद्यार्थी बोलाउन घरै पुग्छन् शिक्षक

२ कक्षासम्म पढाइ हुने मेची प्राविमा जम्मा ३१ विद्यार्थी छन् । कक्षामा दैनिक उपस्थित भने ७/८ जनाभन्दा हुँदैनन् । 

विराटनगर घर भएका शिक्षक भुवनकुमार देव भद्रपुरमा डेरा गरी बस्छन् । हरेक दिन करिब १० किमि यात्रापछि मेची तरेर स्कुल पुग्छन् । अनि विद्यार्थी खोज्दै घरदैलो चहार्छन् । ‘बोलाउन जाँदा अलि बढी विद्यार्थी आउँछन्,’ उनले भने, ‘नत्र सधैं कम्ती नै हुन्छन् ।’ अभिभावक पनि बालबच्चालाई स्कुल पठाउनु जरुरी ठान्दैनन् । खास गरी आदिवासी र श्रमिकका सन्तान पढ्छन् उक्त विद्यालयमा । कतिपय विद्यार्थी बोलाउन नगइकन स्कुल आउनै मान्दैनन् । ‘चाडपर्वको बिदापछि लामो समय स्कुल विद्यार्थीविहीन हुने गर्छ,’ भुवनकुमारले सुनाए, ‘स्कुल जानुपर्छ भन्ने नै बिर्सन्छन् । त्यसैले नबोलाएसम्म आउनै मान्दैनन् ।’ 

सिंगो स्कुलको जिम्मेवारी भुवनकै काँधमा छ । पहिले दुई शिक्षक थिए । प्रधानाध्यापक चम्पा भट्टराई काज सरुवा मिलाएर अन्यत्रै गएपछि सम्पूर्ण भार भुवनलाई थपिएको हो । ‘सबै आफैं हेर्नुपर्छ,’ उनले भने, ‘एउटा मान्छेले सबैतिर भ्याउनुपर्ने बाध्यता छ ।’ विद्यार्थीलाई सरकारले दिने छात्रवृत्ति नियमित उपलब्ध गराइएको छ । यस पटकदेखि पोसाक पनि उपलब्ध गराउने स्कुलको योजना छ । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई आकर्षित गर्न दिवाभोजन व्यवस्था गर्ने तयारी भइरहेको पनि भुवनले बताए । अभिभावक भने पढाइ गुणस्तरीय नभएकाले छोराछोरीलाई स्कुल नपठाएको बताउँछन् । त्यहाँभन्दा नजिकैको भारतीय स्कुलमा आफ्ना नानीहरू पढून् भन्ने उनीहरूको चाहना छ । ‘मेरो नातिले एक वर्षमा पनि कखरा सिकेन,’ सिरौडाँगीका गाउँबूढा शुभल वास्के भन्छन्, ‘त्यस्तो स्कुलमा किन पठाउने ?’ 

उनका अनुसार नेपालतिर पठनपाठन राम्रो नभएकाले गाउँका अधिकांश बालबालिका भारतीय स्कुल जान्छन् । ‘उताको स्कुल पढ्न थालेपछि नातिले २ महिनामै अंग्रेजीबाट नाम लेख्न जान्यो,’ वास्केले भने, ‘यताभन्दा धेरै सुविधा पनि दिएको छ विद्यार्थीलाई ।’ 

प्रकाशित : असार ३०, २०७४ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?