कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यामेरा जोगाउने कि ज्यान ?

काठमाडौं — क्यामेरा जोगाउने कि ज्यान ? केहीले भने, ‘ज्यान जोगाउनुपर्छ’ । अर्को थरीको मत थियो, ‘फोटो पनि त खिच्नुपर्‍यो ।’

क्यामेरा जोगाउने कि ज्यान ?

पत्रकारितामा चासो राख्ने एक हुल मानिस यसैगरी ग्यालरीमा प्रदर्शित फोटो नियाल्दै तर्क–वितर्क गरिरहेका थिए, शुक्रबार दिउँसो । बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा उनीहरूले ठोस निष्र्कष भने निकाल्न सकेनन् । धेरैजसोको चाहिँ समान मत थियो, ‘फोटो पत्रकारितामा आत्मसुरक्षा एक चुनौती हो ।’ 

ग्यालरीमा फोटो जोर्नालिस्ट क्लब (पीजे क्लब) ले यसै विषयमा ध्यानाकर्षित गराउन फोटो प्रदर्शनी गरेको हो । खासगरी फोटोपत्रकारले काम गर्दा भोग्नुपर्ने जोखिम फोटोमा देख्न सकिन्छ । सभामुख ओनसारी घर्तीमगरले प्रदर्शनी उद्घाटन गर्ने क्रममा फोटो पत्रकारको वास्तविकता आफूले संवेदनशील भएर महसुस गरेको बताइन् । फोटोपत्रकारले ज्यान जोखिममा राखेर क्यामेराको सुरक्षा गरेका दृश्यसँग आफूहरूले जनयुद्धका बेला हतियारको माया गरेको जस्तै रहेको अनुभव उनले सुनाइन् । भनिन, ‘लडाकुलाई हतियारको जति माया हुन्छ, त्योभन्दा बढी माया फोटोपत्रकारलाई क्यामेराको हुन्छ ।’

फोटो पत्रकारकै फोटो खिचेर सभामुख घर्तीमगरले प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । मिडिया इन्टरनेसनलसँग मिलेर गरिएको प्रदर्शनीमा फोटो पत्रकारका मन छुने र चुनौतीपूर्ण सिर्जनाहरू हेर्न सकिन्छ । फोटो पत्रकारले रोजगारीकै लागि महँगो क्यामेरा किन्नुपर्ने बाध्यता एकातिर छ । त्यसमा पनि मिडिया हाउसले संरक्षण र मर्मतका लागि पहल गर्ने व्यवस्था नगर्नु दु:खदायी रहेको केही फोटो पत्रकारहरूको गुनासो थियो । 

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले अबदेखि क्यामेरा किन्न चाहनेलाई ग्लोबल आईएमई बैंकले लोन दिने व्यवस्था मिलाउने बताए । 
प्रदर्शनीमा राखिएका तस्बिरमा जनयुद्ध, लोकतान्त्रिक आन्दोलनलगायतका संघर्षपूर्ण परिस्थितिमा फोटो पत्रकारले ज्यान जोखिममा राखेर गरेका कामहरू झल्किन्छन् । विकास रौनियारले आन्दोलनको बेला घाइते फोटोपत्रकारलाई सुरक्षित ठाउँमा लाँदै गरेको तस्बिरतिर धेरैको ध्यान थियो । विकास कार्कीले खिचेको यो तस्बिरले पत्रकारको वास्तविक सुरक्षाको स्थितिलाई उजागर गर्छ । त्यस्तै, जनयुद्ध र आन्दोलनका बेला फोटो पत्रकारहरू प्रहरी झडपकै बीच पनि तस्बिर खिच्न आँट गरेको दृश्यहरू प्रदर्शनीमा देखिन्छन् । 

संसदीय रिपोर्टिङका क्रममा संसद् बाहिरै भुइँमा क्यामेरा राखेर रात बिताएका क्षण फोटो पत्रकार अंगद ढकालले कैद गरेका छन् । पत्रकार सुरक्षाका लागि गरिएको विभिन्न गतिविधिसमेत फोटो प्रदर्शनीमा समेटिएका छन् । पीजे क्लबका अध्यक्ष चन्द्रशेखर कार्कीले फोटो पत्रकारको आर्थिक र सामाजिक सुरक्षा गर्न आवश्यक रहेको बताए । प्रदर्शनीको अन्तिम दिन शनिबार भने पत्रकार र सुरक्षा विषयमा छलफल चलाइएको थियो ।

प्रकाशित : श्रावण १, २०७४ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?