१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नासामा जागिर खान ९ वर्षीयको आवेदन

सीएनएन

वासिङ्टन — अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीको चिठीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहरूबाट अन्य ग्रहलाई जोगाउन सक्ने क्षमता भएको व्यक्तिलाई ‘ग्रह संरक्षण अधिकृत’ पदमा आवेदन माग गरेको थियो । उक्त पदमा न्युजर्सीको विद्यालयमा अध्ययनरत ९ वर्षीय ज्याक डेभिसले आवेदन दिएपछि नासाका अधिकारीहरू अचम्ममा परे ।

नासामा जागिर खान ९ वर्षीयको आवेदन

डेभिसले आफू ग्रहको ‘वास्तविक अभिभावक’ भएको दाबीसहित हातैले आवेदनपत्र लेखेका थिए । उनले पत्रमा लेखेका छन्, ‘म नौ वर्षको मात्र हुँला, तर मलाई लाग्छ, म यो पदका लागि योग्य छु ।’

उनले अमेरिकी टेलिभिजन सिरियल ‘मार्भेल एजेन्टस् अफ सिल्ड’ हेरेको र ’म्यान इन ब्ल्याक’ चलचित्र हेर्ने आशा राखेको बताए । ‘मैले अन्तरिक्ष र एलियनसम्बन्धी सबैजसो सिनेमा हेरेको छु ।’ उनले पत्रमा लेखेका छन्, ‘मेरी दिदीले त एलियनजस्तै छस् भन्नुभएको छ, म युवा छु त्यसैले एलियनले जस्तै सबै कुरा चाँडै सिक्न सक्छु, त्यसकारण म यो जागिरका लागि ठीक छु ।’ अमेरिकी टेलिभिजन अन्तरवार्तामा डेभिसले नासामा काम गर्न ‘वास्तवमै मजा’ हुन्छ भन्ने लागेकाले पत्र लेखेको बताए । उनले भने, ‘म मात्रै एक हो जसले वास्तवमै नासामा काम गर्न चाहन्छ ।’ नासाको ग्रह विज्ञान विभागका निर्देशक जेम्स एल ग्रिनले डेभिसको पत्रको जवाफ दिँदै उक्त पद निकै महत्त्वपूर्ण भएको बताए ।

उनले ‘ग्रह संरक्षण अधिकृत’ ले मुख्यत: पृथ्वीलगायत अन्य ग्रहलाई स–साना जीवाणुहरूबाट बचाउनुपर्ने भएकाले त्यसका लागि आफूलाई योग्य बनाउन सुझाव दिए । उनले भने, ‘कुनै दिन तिमीलाई नासामा जागिरेको रूपमा देख्ने आशा छ ।’ नासाले विज्ञापन गरेको ‘ग्रह संरक्षण अधिकृत’ पदको तलब वार्षिक १ लाख २४ हजारदेखि १ लाख ८७ हजार डलर दिने बताएको छ ।

प्रकाशित : श्रावण २२, २०७४ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?