२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

ताप्लेजुङ — दुर्लभ वन्यजन्तु रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण थालिएको छ । रेडपान्डा नेटवर्क र जिल्ला पशु सेवा कार्यालयको संयुक्त पहलमा भालुगौंडे र पाथीभरा क्षेत्रमा यस्तो अभियान चलाइएको हो ।

कुकुरका कारण संरक्षणमा चुनौती रहेको र भुस्याहा कुकुरको बिगबिगी बढेपछि शिविर चलाइएको नेटवर्कका कार्यक्रम संयोजक पेमा लामाले बताइन् । समुदायस्तरमै निर्णय गरेर यस्तो अभियान चलाइएको हो । भुस्याहा कुकुरले लखेट्ने र मार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्ने विषयमा शिविर सञ्चालनपूर्व छलफल भएको थियो । लजालु स्वभावको रेडपान्डालाई बच्चा हुर्काउने समयमा कुकुरले निकै दु:ख दिन्छ ।

‘भुस्याहा कुकुर मार्ने विषय पनि उठाए, तर मार्नु राम्रो नभएकाले सबैको सहमतिमा बन्ध्याकरणको विकल्प खोजिएको हो,’ पेमाले भनिन् । संख्या यकिन नभए पनि पाथीभरा रेडपान्डाको राम्रो बासस्थान मानिन्छ । नेटवर्कले यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गृहकार्य गरिरहेको छ । भ्यु टावरलगायतको योजना रहेको नेटवर्कले जनायो । फुङलिङ नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा रेडपान्डा क्षेत्र बनाउने उल्लेख गरेको छ ।

सदरमुकाममा कुकुर छोड्न नपाइने
फुङलिङ नगरपालिकाले भदौ १५ पछि छाडा कुकुर नियन्त्रणमा लिने भएको छ । घरधनीलाई आफ्नो कुकुर बाँधेर पाल्न भनेको हो । छाडा छोडिएका कुकुरका कारण सवारी दुर्घटना बढ्ने र मानिसलाई हिँडडुल गर्नसमेत समस्या भएकाले नियन्त्रण अभियान चलाइएको कार्यकारी अधिकृत युवराज ढकालले बताए । नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबैलाई सहयोगको आग्रह गरेको छ ।

प्रकाशित : भाद्र १४, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?