१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

८४ वर्षे उमेरमा पनि कटुवाल

कान्तिपुर संवाददाता

दोर्दी (लमजुङ) — शिरमा थोत्रिएको ढाका टोपी । सेतो मैलो हाफ–सर्टमाथि थोत्रै आस्कोट, कम्मरमा नीलो पटुका, मुनि कछाड । थोत्रा चप्पल । चाउरिएको अनुहार । निगालोको लौरो लिएर एक वृद्ध हस्याङफस्याङ गर्दै गाउँ चहार्छन् ।

८४ वर्षे उमेरमा पनि कटुवाल

सामाजिक कामका खबर करिब ७० जनाका घरघरै पुगेर भन्छन् । दोर्दी गाउँपालिका ८, दुवारगाउँका अमरध्वज मगरको आँखा र कानले पहिलेभन्दा भेउ पाउन छाडिसकेको छ । गाउँ चहार्दै घरघरै खबर पुर्‍याउने काम गरेको ४४ वर्ष पुग्नै आँट्यो उनले । ८४ वर्षको उमेरसम्म पनि उनले कटुवालको काम छाडेका छैनन् । 

२ वर्षअघि पत्नी र ४ मध्येका जेठा छोरा बितिसके । कान्छा भारतमा छन् । २ छोरा छुट्टिएर बसेका छन् । कहिलेकाहीं खाना बनाएर खान पनि भ्याउँदैनन् । ‘गाउँलेले पत्याएर राखेपछि नाइँ भन्न सकिनँ । बस्दिनँ त भनेकै थिएँ,’ उनले भने, ‘विश्वासिलो तिमी बूढा छौ । तिमीले नै घरघर खबर राम्रोसँग पुर्‍याउँछौ भन्छन् । अनि बस्नै पर्‍यो ।’

उनीसँगै ४९ वर्षीय सुकबहादुर उपरकोटी पनि घरघरै खबर गर्ने र निम्त्याउने काम गर्छन् । उनी १५ वर्षयता उक्त काम गर्दै आएका छन् । त्यसअघि २ वर्ष उनले काम छोडेका थिए । सुरुमा ५ वर्ष कटुवाल काम गरेका थिए । ‘मैले छाडेपछि अरूलाई राखियो । खबर राम्रोसँग नपुग्ने भयो रे । अनि गाउँसमाजले मलाई नै राखेका,’ उनले भने । २ छोरा तनहुँ कालीमाटी बस्छन् । २ छोरीको बिहे भइसकेको छ । घरमा पत्नी छिन् । ‘कहिलेकाहीं त रातदिन भन्नै पाउँदैनँ । अपर्झट काम रातिराति पनि गर्नैपर्‍यो,’ उनले भने । मगर र उपरकोटी एउटै गाउँका कटुवाल हुन् । साबिकको बन्सार गाविस दुवारगाउँको १ नम्बर वडामा मगर र २ मा उपरकोटीले कटुवाल गर्छन् । ‘करिब ९० घरमा खबर पुर्‍याउँदा कहिलेकाहीं त खत्रक्कै गल्छु,’ उपरकोटीले भने । मगरले पनि ७५ घर चहार्नुपर्छ ।

गाउँमा हुने विकास निर्माणदेखि सामुदायिक, सामाजिक कार्यका लागि तोकिएको ठाउँमा स्थानीयलाई बोलाउनुपर्छ । बाटोघाटो, पँधेरो, चौतारो निर्माणमर्मत, गाउँले बैठक, मर्दापर्दा, गाउँबार, पाहुनाको स्वागत, विवाह, पुटपुटेलगायत कामका लागि उनीहरू घरघरै पुग्नुपर्छ । मगर ४ दशकअघि हरेक घरको ४ माना कोदो लिने गरी नियुक्त भएका हुन् । उनीपछि करिब २ दशकअघि उपरकोटी पनि त्यही ४ माना कोदोमै नियुक्त भए । अहिले भने हरेक घरले वार्षिक ५ माना कोदो दिने गरेको दुवैले सुनाए । ‘पहिले त ४ माना नै थियो । २ वर्षयता ५ माना दिने गरेका छन्,’ उपरकोटीले भने, ‘अझै एक माना थपिदिनु भनेको छु, गाउँलेले के गर्छ, थाहा छैन ।’

गाउँमा मोबाइल फोनको नेटवर्क राम्रोसँग टिप्छ । फाट्टफुट्ट ठाउँका घरमा मोबाइल उपयुक्त हुने भए पनि उनीहरूले मोबाइल प्रयोग गर्दैनन् । मोबाइलभन्दा मान्छे नै गएर भनेको विश्वासिलो हुने उपरकोटी बताउँछन् । पाका उमेरका मगर मोबाइल चलाउन सक्दैनन् । ‘मोबाइलमा फोन गर्दा कहिले नउठ्न सक्छ । कसैसँग फोन नहुन पनि सक्छ । भन्नुपर्ने घरमूलीलाई, फोन बोक्दैनन् । छोराछोरी पनि घरमा छैनन् । भएकाले पनि भन्ने हुन् कि हैनन्,’ उपरकोटीले भने, ‘निम्तो वा जानकारी घरमूलीलाई नै गर्नुपर्ने भएकाले घरघरै गएर भन्नुको उपाय छैन ।’ घर टाढा–टाढा भएकाले धेरैले नसुनेको गुनासो गरेपछि घरघरै पुग्न थालिएको उनले बताए । 

गुरुङ बाहुल्य भए पनि स्थानीयले कटुवाल गैरगुरुङ राखेका छन् । ८६ वर्षीय दलबहादुर गुरुङका अनुसार गाउँमा कटुवालबिना कुनै सामाजिक काम हुँदैन । सुरुमा हरेक घरबाट ४/४ माना कोदो उठाएर दिने निर्णय भएको बताए । ‘गाउँमा सम्बन्धित व्यक्ति वा समूहले भनेपछि कटुवालले गाउँलेलाई बोलाउने काम गर्नुपर्छ । कटुवाल भएन भने हाम्रो कुनै काम सफल हुँदैन,’ उनले भने, ‘समुदायले जसलाई पत्याउने हो, उसैलाई दिने हो ।’ घरघरै बोलाउने वा डाँडामा गएर कराउने कटुवाल आफैंले गर्ने उनले बताए । 
उनले दुई टोलमा रहेको दुवार गाउँलाई जोड्ने विभिन्न क्रियाकलाप र कार्यक्रमका लागि कटुवालले भूमिका महत्त्वपूर्ण रहेको बताए ।

 

प्रकाशित : आश्विन २४, २०७४ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?