मकवानपुरमा बाख्राका लागि ‘स्विमिङपुल’

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरूले ‘स्विमिङपुल’ (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् ।

पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणका लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी–३ मक्रान्चुलीमा क्रियाशील एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा/बोकाका लागि स्विमिङपुल निर्माण गरेको हो ।

गाउँमा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न ‘स्विमिङपुल’ बनेको हो ।

उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाठीलाई पौडी खेलाउने गरिन्छ । ती चौपायाका शरीरबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक–फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरूलाई चुर्लम्म डुबाउने गरिएको छ ।

औषधिमिश्रित पुलमा बाख्रा र बोका एवं पाठापाठीहरूलाई डुबाएपछि तिनीहरू स्वस्थ र फुर्तिलो हुने गर्छन् । यस्तो गर्दा चौपायामा भएका बाह्य परजीवी हट्छन् । प्राविधिक भाषामा यसलाई डिपिङ भन्ने गरिन्छ । डिपिङ गर्ने उक्त स्थानलाई ‘डिपिङ ट्यांक’ भनिन्छ । उक्त ट्यांक झट्ट हेर्दा मानिसले प्रयोग गर्ने स्विमिङपुलझैं देखिन्छ ।

बाख्रापालक कृषक र सहकारी संस्थाहरूले बाख्रा, खसी र बोकामा लाग्ने किर्ना र जुम्रालगायत रोगहरूबाट बचाउन डिपिङ ट्यांक अर्थात् स्विमिङ पुल निर्माण गरिएको हो । खसी, बाख्रा, पाठापाठीलाई डिपिङ ट्यांक गर्दा बाह्य परजीवीको सहन क्षमता न्यून गर्ने उद्देश्यले फरक प्रकारका औषधिमिश्रित पानी प्रयोग गर्ने गरिएको छ । मालाथिन, नोभान र लाइजटिक औषधि पानीमा घोलेर डिपिङ ट्यांकमा चौपायालाई पालैपालो डुबाउने गरिन्छ । ‘डिपिङ ट्यांक पार गरेपछि मात्र चौपाया बाहिर निस्कन सक्छ ।

डिपिङ गरेपछि चौपाया मानसिक र शारीरिक तनावमा रहने भएकाले उनीहरूलाई कम्तीमा एक साता तनावमुक्त अवस्थामा राख्नुपर्छ,’ प्रधानले भने, ‘ खसी र बाख्रालाई स्विमिङपुलमा डुबाएपछि शरीरका बाहिरी भागमा रहेका परजीवीहरू सबै मर्छन् ।’ स्विमिङपुलमा डुबाएपछि खसी र बाख्रालाई जुका र नाम्लेजस्ता आन्तरिक परजीवी हटाउन औषधि खुवाउने गरिन्छ । उक्त कार्यलाई प्राविधिक भाषामा ‘ड्रेन्चिङ’ भनिन्छ ।

उक्त कार्यक्रमअन्तर्गत प्राजिक्विन्टल, फेभेन्डाइजोल र अक्सिक्लोजानाइड औषधि खुवाएर आन्तरिक परजीवी हटाउने प्रयास गरिने पशु प्राविधिकहरूले बताए । गत आवमा पशुसेवा कार्यालयले बकैया गाउँपालिकाको धियालमा ५ वटा, मकवानपुरगढी गाउँपालिका ५ र थाहा नगरपालिकामा ५ वटा र ५ वटा ५० वटाभन्दा बढी बाख्रा पालेका कृषकहरूलाई स्विमिङपुल निर्माण गर्न सहयोग गरेको थियो । मकवानपुरमा बाख्रापालक कृषकका संख्या बर्सेनि बढ्दो छ । जिल्लामा ८८ वटा बाख्राका फार्महरू छन् ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गुणस्तरहीन काम गर्ने ठेकेदारलाई उन्मुक्ति

मध्यपहाडी लोकमार्ग आयोजनाको लापरबाहीले पुलमा भ्वाङ
सुशासन समितिको निर्देशनसमेत पालना भएन
ज्योति कटुवाल

दैलेख — राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्ने दैलेखको पादुकाखोला पुलमा निर्माण सम्पन्न भएकै वर्षदेखि भ्वाङ परेको छ । तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भ्वाङ मर्मत–सुधार नगरेरै ठेकेदारले आयोजनालाई पुल हस्तान्तरण गरेका छन् । ०६८ देखि निर्माण सुरु गरेको महालक्ष्मी/जयदेवी/एसएस जेभीले ०७१ भदौमा आयोजनालाई हस्तान्तरण गरेको हो ।

पुलको दायाँ–बायाँ परेका ठूल्ठूला भ्वाङका कारण यातायात सञ्चालन हुन नसकेपछि त्यति बेलै स्थानीयवासीले विरोध गरेका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको संयोजकत्वमा रहेको जिल्ला सुशासन, अनुगमन तथा सुपरिवेक्षण समितिसमक्ष बारम्बार गुनासो गरिएको थियो । गुनासाका आधारमा व्यवस्थापिका संसद्को सुशासन समितिका सदस्य एवं दैलेख–१ का सांसद अम्मरबहादुर थापासहितको टोलीले स्थलगत अनुगमन गरी पुलमा देखिएका त्रुटि तत्काल सच्याउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनसमेत आयोजना र निर्माण कम्पनीले अझै पालना गरेका छैनन् । यसले यातायात सञ्चालन प्रभावित भएको छ । ‘अनौठो कुरा भ्वाङ परेकै अवस्थामा पुल हस्तान्तरण गरियो,’ स्थानीय सञ्चारकर्मी मदन विकले भने, ‘ठेकेदार स्थानीय भएकाले कसैले चर्को विरोध गर्न सकेनन् । मध्यपहाडीका इन्जिनियरहरूले पनि वास्तै गरेनन् ।’ त्यस क्षेत्रका बासिन्दाले निर्माण कम्पनीका प्रतिनिधि दिक्पाल शाही र आयोजनाका प्राविधिककै मिलेमतोमा गुणस्तरहीन पुल निर्माण भएको आरोप लगाए । शाही चामुण्डा बिन्द्रासैनी नगरपालिकाअन्तर्गत पर्ने जम्बुकाँधका बासिन्दा हुन् ।

दैलेखबजार, वडलम्जी, पादुका हुँदै पश्चिम जम्बुकाँध जोड्ने यो पुल पादुकाखोलामा पर्छ । तीन वर्षदेखि उक्त पुल दयनीय अवस्थामा छ । पुलमा ठूलाठूला भ्वाङका कारण यात्रुहरूले मोटरसाइकल वारपार गर्नसमेत कठिनाइ भोग्नुपरेको छ । कमसल निर्माण सामग्री प्रयोगका भ्वाङ परेको, पर्खाल भत्केको बताइएको छ । दुई करोड १९ लाख ८६ हजार ६७ रुपैयाँ लागतमा निर्माण भएको उक्त पुल हाल प्रयोगविहीनझैं बनेको छ । स्थानीय तहका जनप्रतिनिधिले समेत मध्यपहाडी आयोजना र ठेकेदारलाई पुल सुधार गर्न दबाब दिन नसकेको आरोप छ । ठेकेदार स्थानीय भएकै कारण सबै डराएको अर्का स्थानीय महेन्द्र शाहीले बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले मध्यपहाडी लोकमार्ग आयोजनाको स्थानीयस्तरमा अनुगमन संयन्त्र नहुँदा निर्माण गुणस्तरहीन भएको स्विकारे । फिल्ड कार्यालय नहुँदा ठेकेदारहरूबाट लापरबाही हुने गरेको उनको भनाइ छ । आयोजनाको पश्चिम खण्ड कार्यालय तुल्सीपुर दाङमा छ ।

ठेकेदार दिक्पाल शाहीले प्राविधिक इस्टिमेट नै गलत हुँदा पुलमा भ्वाङ परेको बताए । तत्कालीन इन्जिनियर शेखर योगीले त्रुटिपूर्ण डिजाइन गरेको बताइएको छ । उक्त खण्डमा हाल कार्यरत इन्जिनियर तुलाराम पाण्डेले नालाहरूको मर्मत नहुँदा पानीको भार थेग्न नसकेर पुलमा असर पर्न गएको बताए । उनले अघिल्ला प्राविधिकहरूबाट गल्ती भएको स्विकार्दै आफूले सुधारका लागि आयोजनाको कार्यालयमा प्रक्रिया अघि बढाइसकेको जनाए ।

प्रकाशित : आश्विन २९, २०७४ ०८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT