बेहुलो भाग्दा ३५ लाख जरिवाना !

सुरेन्द्र भण्डारी/रासस

सुरुङ्गा (झापा) — कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिरेका छन् ।

बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिइन् ।

Yamaha


राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए । बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भने, “छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि रु ३५ लाख दिन्छु । ”

सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए ।

आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन् । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ ।

यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ । केटी भरणपोषणका लागि दिने भनेको रु ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको बताइएको छ ।

गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए । राकेश आफूमा यौन समस्या भएको भन्दै फरार भएका थिए । धुलाबारी इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीले जनाएको छ ।

सामान्य बोलचाल मात्रः बेहुली

दश महिना अघि फूलमाला गरेर गत फागुन २० गते विवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र टिकाटाले पछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताइन्।

उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको र त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा चाँडै सुतेको जानकारी दिइन् ।

गाउँपालिकामा भएको बहसमा केटा बेपत्ता भएलगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको र दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले भनिन् ।

राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए ।

Esewa Pasal

प्रकाशित : चैत्र ६, २०७४ १६:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ऊर्जामा आत्मनिर्भर सरकारको प्राथमिकता, आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्  

रमेश लम्साल/रासस

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । 

प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्‌मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ ।

प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ ।

यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ । आयोजनाको काम द्रुत रुपमा भइरहेको प्रवक्ता डा गणेश न्यौपाने बताए । यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भए पनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’ को काम रोकिँदै आएको छ ।

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भइसक्नु पर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ । काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण शुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पुर्‍याइएको छ ।

प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया शुरु भएको छ । प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाका रुपमा निर्माण गर्न लागिएको हो । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यस्तो छ निजी क्षेत्रको तयारी

यस्तै निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करीब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माण सक्ने गरी तयारी गरिरहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करीब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताए ।

ऊर्जामा आत्मनिर्भर–सरकारको प्राथमिकता

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिए । उनले वार्षिक रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताए । हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभई हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७४ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT