कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुरोहितलाई आचारसंहिता जारी

मोबाइलबाट तन्त्रमन्त्र बन्देज
धूमपान तथा मद्यपान गर्न रोक

लमजुङ — यहाँका पुरोहितले मोबाइल फोनबाट तन्त्रमन्त्र पाठ गर्न नपाइने नियम बनाएका छन् । धूमपान तथा मद्यपान गर्नसमेत बन्देज लगाइएको छ ।

पुरोहितलाई आचारसंहिता जारी

पुरोहितको भेलाले आफूलाई सुधार्न आचारसंहिता बनाएका हुन् । भेलाले गर्न हुने १३ र गर्न नहुने ९ वटा आचारसंहिता वैदिक कर्मकाण्ड संघले जारी गरेको छ ।


पण्डितले जो कसैको निन्दा नगर्ने, सुर्ती तथा मदिराजन्य पदार्थ सेवन गर्न नपाइने, अपवित्र भइसकेका कपडा लगाएर पूजापाठ तथा यज्ञमा सहभागी नहुने, हिंसा नगर्ने, आशौच (जुठो, सुतक) पर्दा यज्ञादिमा वरणी नहुने, जुठोमा काम गर्दागर्दैको ब्राह्मण शुभ यज्ञमा नजाने आचारसंहिता बनाएको विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष पण्डित घनश्याम सुवेदीले बताए ।


उनका अनुसार शास्त्रले निषेध गरेको समयमा विवाह, व्रतबन्ध, घरवास्तुलगायतका यज्ञादि नगर्ने र गर्न नदिने, विश्व हिन्दु महासंघ र वैदिक कर्मकाण्ड महासंघले स्वीकृत गरेका पुस्तकबाट मात्र कर्मकाण्ड गर्ने गराउने र अन्य पुस्तकबाट गर्न नपाउने आचारसंहिता बनाइएको छ ।


पुरोहित शुद्ध वस्त्रसहित हुनुपर्ने, सत्य बोल्ने, अनुशासनको पालना गर्ने, मीठो भाषा बोल्ने, प्रसन्न रहने, रीतिरिवाज र कर्मकाण्डको महत्त्व बुझ्ने र बुझाउने, धर्मशास्त्रको प्रमाण राखेर मात्र धर्मशास्त्रको निर्णय दिने आचारसंहिता बनाइएको वैदिक कर्मकाण्ड संघका जिल्ला अध्यक्ष कमल अधिकारीले बताए । उनका अनुसार कर्मकाण्ड सुरु गर्दा ईश्वर साक्षी राखेर मात्र गर्ने, पुरोहितको ब्राह्मण पोसाक, टीका, टुप्पीशिखा अनिवार्य हुनुपर्ने, कर्मकाण्डको राम्रो अध्ययन गर्ने र प्रशिक्षण लिने, तिथि नक्षत्रको राम्रो विचार पुर्‍याउनुपर्ने, सबैको भलो चिताउने र सामाजिक कार्यमा अग्रसर रहने, कर्मकाण्डलाई एकरूपता ल्याउन र शुद्ध कर्मकाण्ड गर्न प्रशिक्षण दिने र सबै ओमकारको घरमा ओमकारको झण्डा राख्नुपर्ने आचारसंहिता बनाइएको छ ।


पुरोहितलाई आचरण, मर्यादा, अनुशासन र राम्रो चालचलनमा राख्न विश्व हिन्दु महासंघको जिल्ला समिति र वैदिक कर्मकाण्ड संघले संयुक्तरूपमा आचारसंहिता जारी गरेको हो । उनीहरूले खानपिन, लवाइखवाइ, बानीव्यहोराजस्ता कुरामा आचारसंहितालाई जोड दिइएको छ ।


‘पछिल्लो समय पुरोहितहरूले आफ्नो आचारण बिर्सन थालेपछि आचारसंहिता बनाएर लागू गर्नुपरेको हो,’ पण्डित सुवेदीले भने, ‘आचारसंहिता पालना नगर्नेले आफ्नो समितिमा ठाउँ पाउने छैनन् ।’

प्रकाशित : वैशाख २०, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?