दुधालु गोरु !

अनिश तिवारी

इचोक (सिन्धुपाल्चोक) — भनाइ नै छ– ‘गोरु ब्याउँदैन, दूध पनि दिँदैन ।’ तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाइ झूटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई ‘प्रसाद’ बाँड्छन् । भन्छन्– ‘बिहान–बेलुकी गरेर एक मानाजति दिन्छ ।’

पहिले कहीँकतै नदेखेको–नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन् । अनि तामाङचाहिँ दंग । उनको घरमा गोरुले दूध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होइनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दूधको थोपा खस्न थाल्यो ।


‘गोरुको तन्तुबाट सेतो पदार्थ झर्न थालेपछि दूध हो कि भनेर दुहेको त हो रहेछ, चार थुनमध्ये दुईवटा बिहान–बेलुकै दुहुने गरेको छु,’ उनले भने, ‘सबैले भगवान् शिवजीको साढे नन्दी भनेर पूजा गर्न थालेका छन् ।’

Yamaha


गोरुको दूध गाईको भन्दा खासै फरक देखिँदैन । अरूभन्दा कैलो र अलग्गै देखिने गोरु एक वर्षअघि किनेर ल्याएको तामाङका जेठा बाजे म्वाइ लामाले बताए । ‘यसमा केही चमत्कार नै हुन सक्छ, त्यसैले माया गरेर राखेका छौं,’ उनले भने । गोरुले दूध दिएको देखेपछि अचम्म लागेको हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए ।
स्वास्थ्यकर्मीले भने गोरुबाट दूध आउनुको सम्बन्ध हर्मोनसँग जोडिएको अनुमान लगाएका छन् । ‘हर्मोनको गडबडीले गोरुको तन्तुबाट दूध आएको हुन सक्छ,’ हेलम्बु पशु
सेवा कार्यालयका प्रमुख टोपबहादुर बरालले भने ।


वरिष्ठ पशु चिकित्सक डा. शरदसिंह यादव भने गोरुले दूध दिनु विज्ञानसम्मत नरहेको बताउँछन् । ‘गोरुले दूध दिनु विज्ञानअनुसार सम्भव नै नभएको कुरा हो,’ उनले भने, ‘त्यस्तो हो भने सम्बन्धित निकायको विस्तृत अध्ययन–अनुसन्धानपछि मात्र केही भन्न सकिन्छ ।’

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ कलेवरमा ‘मुनामदन’

कान्तिपुर संवाददाता

काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज पनि मानिन्छ ।

झ्याउरे लयमा बुनिएको वियोगान्त प्रेमकथा यति बेला नाटकको रूपमा हेर्न पाइने भएको छ ।


बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बुधबारदेखि उक्त नाटकको नियमित मञ्चन सुरु भएको छ । विराटनगरको विराट आदर्श साहित्य मञ्च नाटकलाई मञ्चनमा ल्याएको हो ।


यसअघि गीति नाटकका रूपमा धेरै चर्चा पाएको ‘मुनामदन’ शिल्पीमा भने कथानक रूपमा प्रस्तुत छ । पछिल्लोपटक सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले गीति नाटकका रूपमा यसलाई देश–विदेशमा लगेको थियो । झयाउरे लय टिपेर लेखिएको खण्डकाव्यको नाटय रूपान्तरणले दर्शकको मन छुन्छ । विषयवस्तुको गम्भीरतालाई भने प्रस्तुतिले सघाएको छैन ।
नाटकले दर्शकलाई पुरानो समाजमा लैजान्छ । चरम गरिबीका कारण घर चलाउन धौधौ भएपछि पत्नी मुना र आमालाई छोडेर मदन पैसा कमाउन ल्हासा जान्छ । बाटोमा फर्किने क्रममा झाडापखाला लागेर थला पर्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर साथीहरू घर फर्किन्छन् र घरमा आमा र मुनालाई मदनको निधन भएको खबर सुनाइदिन्छन् । यो कुराले मुना शोकमा पर्छिन् र उनको निधन हुन्छ । उता बिरामी परेको मदनलाई एक तिब्बतीले स्याहार गरी बचाउँछ । निको भएर घर फर्किएपछि न मदनले मुनालाई भेट्छ, न आमालाई । उनकी दिदीले यसको बेलीविस्तार लगाउँछिन् । कथा यत्ति हो ।


सविन कट्टेल निर्देशित ‘मुनामदन’ लाई निम्नमध्यम वर्गीय परिवारको प्रतिनिधिमूलक नाटक मान्न सकिन्छ । नाटकमा ‘मुनामदन’ को सारलाई देखाउने प्रयास गरिएको छ । मदनलाई साथीहरूले अलपत्र पारेर छोडेको दृश्य, जातभात छाडेर भोटे (तिब्बती) को खुट्टा समाउँदाका दृश्यहरूले दर्शकलाई भावुक बनाउँछन् । घर आइपुगेपछि मुना र आमाको निधनले मर्माहत मदनको बिलौना र खण्डकाव्यका अंशहरूको तालमेल राम्रो लाग्छ । यसले दर्शकलाई रुवाउँछ । भोट जाने क्रममा पार गर्नुपरेका उकाला–ओराला, सुरुङका बाटाहरू देखाउन मदन र उनका साथीहरूले स्टेजमा एकले अर्कालाई प्रप्सबिना नै गरेको प्रस्तुति पनि प्रशंसनीय लाग्छ ।


‘मुनामदन’ विछोडको कथा मात्रै हैन, यो आदर्श प्रेमकथा पनि हो । तर नाटकमा प्रेमको पृष्ठभूमि छैन, सिधै विछोड भएको देखाइएको छ, जसले गर्दा मुनामदनको आदर्श प्रेमको पाटो दर्शकलाई खडकिन्छ । नाटकलाई समसामयिक बनाउने ठाउँ पनि प्रशस्तै देखिन्छ । अहिले पनि नेपाली समाजमा निम्न वर्गीय परिवारको कथा उस्तै छ । स्थान र आवश्यकताका प्रकृतिहरू बदिलएका छन् । अहिलेका मदनहरू ल्हासाका सट्टा कतार मलेसिया जान्छन् ।


कटवाल दीपकले नाटय रूपान्तरणकै क्रममा यस्ता सामयिकता जोड्न सकेको भए यो नयाँ र मौलिक बन्न सक्थ्यो । उनले खण्डकाव्यका हरफमा लुकेका कथानक मात्रै प्रस्तुत गरे छन् । यस हिसाबबाट हेर्दा मुना असल र कोमल स्वभावकी हुनुपर्ने हो, तर मुना बनेकी दीपा पोखरेलको अभिनय र हाउभाउ मुनाको स्वभावसँग मेल खाँदैन । मदन बनेका सविन र आमा बनेकी सुषमा निरौलाको पनि संवाद र अभिनय माझिन सकेको छैन । तर भोटे बन्ने मानहाङ लावती, लावा बन्ने जिना राई, फुच्चा बन्ने सञ्जीव राई र नैनी बन्ने सरिता ढुंगानाको छोटो भूमिका भए पनि उनीहरूको अभिनय र संवाद प्रस्तुतिले दर्शकलाई भावुक बनाउनुका साथै हँसाउँछ ।


राम्रा प्रप्सहरूको प्रयोग गरे पनि तिनको उचित व्यवस्थापन नहुँदा नाटकको कलात्मक पक्ष कमजोर भएको महसुस हुन्छ । संगीत र प्रकाश परिचालनमा पनि मिहिनेत पुगेको देखिँदैन ।


नाटकमा पवित्रा खडका, लकेश राई, सञ्जन पौडेल, सरिता ढुंगानाको पनि अभिनय छ । नाटकको संयोजन कमल पोखरेलले गरेका छन् भने मञ्च परिकल्पना र निर्माण जीवन बराल, निर्मल साउद, आर्यन सुर्देले र प्रकाश परिचालन मनोज तामाङले गरेका छन् ।
नाटक भदौ २६ सम्म नियमित मञ्चन हुनेछ ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT