कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'वान–डे मान्यताको टयागबाहेक खासै केही फरक पाइनँ': ज्ञानेन्द्र मल्ल, उपकप्तान 

विनोद पाण्डे

काठमाडौँ — नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, जो १२ वर्षदेखि टोलीमा छन् । नेपालले गत साता एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै वान–डे अन्तर्राष्ट्रिय क्रिकेटको ढोका उघार्दा यिनै ज्ञानेन्द्रले पहिलो खेलमा अर्धशतक बनाएका थिए । जुन नेपाली क्रिकेटको एउटा इतिहास भएको छ ।

'वान–डे मान्यताको टयागबाहेक खासै केही फरक पाइनँ': ज्ञानेन्द्र मल्ल, उपकप्तान 

उनै ज्ञानेन्द्रसँग नेपालले सुरु गरेको वान–डे अन्तर्राष्ट्रिय यात्रा, आफ्नो अर्धशतक, फर्किएको फर्म र नेपाली क्रिकेटबारे कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानी :


वान–डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दा र क्याप पाउँदाको क्षण कस्तो रह्यो ?


सबै उत्साही थिए । नेदरल्यान्ड्स जानुअघि लर्डसमा पनि खेल्न पाएकाले टोलीभित्र छुट्टै उत्साह थियो । नेदरल्यान्ड्ससँग पहिला पनि खेलिरहेका थियौं, खेलिरहँदा खासै त्यस्तो केही अनुभव त भएन । यसपालि खेलिसकेपछि भने नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेलेको टोली सदस्य हुनु पाउँदाको खुसी अर्कै थियो । पहिला हाम्रोमा खासै त्यस्तो क्याप लगाइदिने परम्परा त थिएन । तर त्यो अविस्मरणीय क्षण हो । आफ्नो देशको प्रतिनिधित्व गर्दै त्यो वान–डे अन्तर्राष्ट्रिय खेलेको क्याप लगाउनु ठूलो विषय हो । हाम्रोमा पनि त्यो संस्कारको सुरुआत भएको छ । त्यसमा पनि उपकप्तानको हैसियतमा मलाई २ नम्बर लेखिएको क्याप दिइएको थियो, यो मेरो जीवनको एउटा हाइलाइट्स नै हो ।


वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउनु र नपाउनुमा फरक के हो जस्तो लाग्यो ?


मैले केही फरक पाइनँ । खाली ट्यागमात्र पाएँ । मैदान त्यही थियो, भौतिक पूर्वाधार त्यही थियो । अझ पनि त्यही पीडाले सबैलाई पिरोलिरहेको छ । हाम्रो क्याम्प राम्रोसँग सञ्चालन हुन सकेको छैन । अझै धेरै विषय छन् । वान–डे अन्तर्राष्ट्रिय मान्यता त पायौं तर त्यो खेलेर मात्र पाइराख्ने होइन । खेलेर वान–डे मान्यता ल्यायौं, त्यसको पछाडि पक्ष हेर्न जरुरी छ । युरोप जानुअघि अभ्यास गर्दा पानी पर्दा निकै समस्या परेको थियो । इन्डोरको हालत पनि त्यस्तै छ, व्यवस्थित छैन । जिम आफ्नो छैन । मैदानको अवस्था त्यस्तै छ । वान–डे मान्यताको टयागबाहेक मैले खासै केही फरक पाइनँ । यो विषय हामीले आईसीसीलाई व्यक्तिगत रुपमा भन्न जान मिल्दैन । प्रशिक्षक, कप्तान वा कसैको माध्यमबाट भनाइ राख्दा ‘अहिलेलाई यही हो, क्यान बन्न लागिसकेको छ, क्यान बनिसकेपछि सबै समाधान हुन्छ’ भन्ने जवाफ आउँछ । समाधान कहिले हुने त्यो चाहिँ थाहा छैन । नेपालमा आधिकारिक निर्णय लिने स्थिति कसैको छैन ।


नेपालले पहिलोपल्ट वान–डे खेलेको त्यसमा पनि ब्याटिङमा स्ट्राइक आफैले राखेको त्यो क्षणलाई कसरी सम्झनुहुन्छ?


पिच फास्ट बलिङमैत्री थियो । लक्ष्य थियो १ सय ९० रन । विकेटमा जाँदा कम्तीमा १०–१२ ओभर नयाँ बल खेल्नुपर्छ भनेर मैले र अनिलकुमार (शाह) ले सल्लाह गरेका थियौं । उनीहरूको देव्रेहाते स्पिनर चाइनाम्यान रिप्पोनबाहेक अरु राम्रा बलियो बलर छैनन् भनेका थियौं । लक्ष्य ठूलो थिएन, कन्डिसनले गर्दा मात्र अलिकति अप्ठयारो भएको थियो । कप्तान र उपकप्तान लगालग बलमा आउट हुँदा नै खेल बिग्रिए जस्तो लाग्छ । त्यो कन्डिसनमा सेट पनि भइसकेकाले मैले अझ जिम्मेवारी लिनुपथ्र्यो जस्तो लाग्छ । कुनै पनि साझेदारी लामो भएन, त्यसमा दुर्भाग्य शरद (भेषावकर) पनि घाइते हुनपुगे । लक्ष्य सजिलो पनि हुनसक्थ्यो, राम्रैसँग जित्न सक्थ्यौं । हामी आफैंले कमजोर खेलेर हार्न पुगेका हौं । अर्धशतक बनाएपछि खेल आफैं मजाले सिध्याउँछु जस्तो लागेको थियो । पारस र म सँगै ब्याटिङ गर्दा लक्ष्य पनि त्यही थियो । अर्को १२–१५ ओभर ब्याटिङ गर्ने र खेल ३० ओभरसम्म लिएर जाने ।


नेपालको क्रिकेट यो स्तरमा आइपुग्दा मानसिक रूपमा फिट हुन कतिको जरुरी छ लाग्छ ?

क्रिकेटमा जस्तोसुकै स्तरमा खेल्न पनि मानसिक रूपमा बलियो हुनैपर्छ । माथिल्लो स्तरमा यो झन् जरुरी छ । टेस्ट क्रिकेटमै राम्रो टेक्निक हुँदाहुँदै पनि कति खेलाडी मानसिक रूपमा आफूलाई ठीक नराख्दा करिअरकै बीचमा संन्यासमा बाध्य लिन बाध्य भएका धेरै उदाहरण अस्ट्रलिया र इंग्ल्यान्डको क्रिकेटमा देखेका छौं । यो उनीहरूले स्विकार्छन् । त्यसमध्येका एक इंग्ल्यान्डका जोनाथन ट्रोटले एमसीसीबाट हामीसँग लर्डसमा खेलेका थिए । एउटा खेलाडी जुनसुकै खेलमा पनि मेन्टली टफ हुनैपर्छ, क्रिकेटमा विशेष हुनुपर्छ ।


युरोप भ्रमणअघि तपाईं विगतलाई हेर्दा राम्रो लयमा हुनुहुन्थेन । त्यस हिसाबमा तपाईंमाथि यसपालि राम्रो प्रदर्शन गर्नैपर्छ भन्ने दबाब कतिको थियो ?


राष्ट्रबाट खेल्नु भनौं नेपालबाट खेल्नु दबाब नै हो, किनभने प्रदर्शन देखाउनुपर्ने हुन्छ । सबैले राम्रो खेल्छ भनेर आस गरिरहेका हुन्छन् । एउटा वरिष्ठ खेलाडी भएकाले मबाट धेरै आस गरेका पनि हुनसक्छन् । ब्याटिङ भएन भनेर धेरैले आलोचना गरिराखेका हुन्छन् । त्यसमा राम्रो गर्नुपर्ने छुट्टै खालको दबाब हुन्छ । त्यसो भयो भन्दैमा दबिने होइन, त्यो दबाबले एउटा फुर्ति दिन्छ । सकारात्मक सोचाइले हेर्दा कसैले समर्थन गरिरहेको त छ भन्ने हुन्छ । हामीलाई धेरैले फलो गरिरहेका हुन्छन्, हामीले गर्नुपर्छ जिताउनुपर्छ भन्ने हुन्छ । क्रिकेटमा सधैं एकैनास हुँदैन । शतक हानेको भोलिपल्ट अर्को शतक लाग्दैन । आज शून्यमा आउट भयो भने भोलि शून्यमै आउट हुन्छ भन्ने निश्चित हुँदैन । हरेक दिन नयाँ हुन्छ, त्यसमा सकारात्मक सोच लिनु जरुरी हुन्छ ।


नेपाली टिमबाट खेल्नु नै दबाब हो भन्ने भनाइ टोलीका प्राय: सबैले बोलिरहेका हुन्छन् । नेपाली टिमको थेगो नै हो यो ?


अँ..अँ.अँ.अँ.. (हाँस्दै) । सबैको चाहिँ थाहा भएन । मलाई चाहिँ जिम्मेवारी अनुभव हुन्छ । त्यो जिम्मेवारी हो, त्यसलाई यसरी लिन सकिन्छ । दबाबभन्दा पनि जिम्मेवार हुने विषय हो ।


लर्डसमा एमसीसीसँग खेल्दा तपाईंले दुई सुन्दर बाउन्ड्री हान्नुभएको थियो । त्यो शटमा तपाईंको छुट्टै क्लास देखियो । त्यसले पनि तपाईंलाई नेदरल्यान्ड्समा दबाबमुक्त बनाउन सजिलो गरेको हो ?

दबाबमुक्त नै भन्ने हुँदैन । तर नम्बर आउनु एकदमै जरुरी छ । क्रिकेटमा महत्त्व राख्ने भनेकै नम्बर हो । कहिलेकाहीं कसरी खेल्नुहुन्छ भन्दा पनि कसरी बनेको रनले तपाईंको आत्मविश्वास बढ्न सक्छ । लर्डसमा मैले प्रहार गरेका ती शट वा त्यो बाउन्ड्रीहरू भन्दा पनि हुनसक्छ त्यसभन्दा अघिको अभ्यास खेलमा जसरी मैले खेलेको थिएँ, रन बनाएको थिएँ त्यसले पनि फरक पारेको थियो । किनभने नम्बर पछाडि हुँदाको आत्मविश्वास अर्कै हुन्छ । प्रत्येक दिन फरक हुन्छ । कहिलेकाहीं नम्बरको गणना हुँदैन ।


अरु बेला सधैं अभ्यास खेलमा राम्रो खेल्नुहुन्थ्यो, तर प्रमुख प्रतियोगितामा तपाईंले प्रदर्शन दिन सक्नुहुन्थेन । यसपालि अभ्यास खेलमा मात्र अर्धशतक बनाएकाले महत्त्वपूर्ण खेलमा राम्रो खेल्नु भएको हो ?


जुनसुकै म्याचमा पनि म स्थिति हेरेर नै खेल्छु । मान्छेले हेर्ने तरिका फरक हुनसक्छ । अभ्यास खेलमा आएर कसैले अन्डरआर्म बलिङ गरेर लौ चौका हान्, छक्का हान् भनेर भन्ने होइन । त्यहाँ पनि रन हान्नैपर्छ । रन हान्न सकेन भने पनि हाम्रो मानसिकता कस्तो छ भने अभ्यास खेल र एउटा क्लबसँग पनि रन बनाएन भन्ने चलन छ । रन हान्यो भने पनि एकदमै झुर बलर थियो होला, मैले शतक हान्ने खालको टिम थियो होला भन्छन् । वान–डे मान्यता त हामी भयौं तर त्योअनुसारको हाम्रो मानसिकता कहिले आउने त । खेलाडीले त एउटा स्टाटस पायो । हाम्रो अप्रोच चाहिँ कहिले परिवर्तन हुने भन्ने विषय पनि महत्त्वपूर्ण छ ।


तपाईं एउटा स्टाइलिस ब्याट्सम्यान, फर्ममा नभएको समयमा आफ्नो खेल्ने शैली परिवर्तन गरौं लाग्थ्यो कि लाग्थेन । वा प्रशिक्षकले नै केही परिवर्तन गर्दा राम्रो हुन्छ भनेर भन्नुभएन ?


कहिलेकाहिं मैले खेल्ने शटमा प्राविधिक त्रृटि पनि हुनसक्छ । हामीले खेल्ने कन्डिसन प्राय: फरक हुन्छ । नेपालमा खेल्दा एउटा टेक्निक हुन्छ । एसियाली महाद्वीपको स्पिन ट्रयाकमा खेल्दा एउटा टेक्निक हुन्छ । फास्ट विकेटमा कसरी खेल्ने, सिमिङ विकेटमा कसरी खेल्ने यो सबै विषयको गाइडेन्स राम्रो हिसाबमा भइरहनुपर्छ । हामीमा त्यो खाले अनुभव हुँदैन । अहिले बल्ल हामी विभिन्न देशमा गएर खेल्न लाग्यौं । युरोपसहित अफ्रिका सबैको अनुभव हुन लाग्यो । त्यो भन्दा अगाडि हामी एसियाली महाद्वीप बाहिर खासै कतै जादैनथ्यौं । त्यसले गर्दा त्यो ठाउँमा गएर खेल्ने कसरी भनेर हामीसँग एक्सपोजर नै हुँदैनथ्यो । रन नहान्दा त्यस्तो लाग्छ । मलाई यो शुट नगरेको हो कि, मेरो शैलीमा परिवर्तन गर्नुपर्ने हो कि । क्रिकेटमा जहिले पनि सुधार भन्ने हुन्छ । कन्डिसन नै फरक भएपछि आफूलाई पनि त्यहीअनुसार ढाल्नुपर्छ ।


नेपालको पहिलो वान–डे अन्तर्राष्ट्रिय खेल त्यसमै तपाईंले अर्धशतक बनाउनुभयो, यसलाई कहाँ राख्नुहुन्छ आफ्नो इनिङ्सहरूमा ?


राम्रो इनिङ्सभन्दा पनि ठीकै स्कोर गरेको हो । अझ पनि सन्तुष्ट किन छैन भने नेदरल्यान्ड्ससँगको त्यो पहिलो वान–डे खेल हामीले सजिलै जित्न सक्थ्यौं । मैले अझ राम्रो गर्न सक्थे, टिमलाई नै जिताएर आउन सक्थे होला । कम्तिमा नेपाललाई सुरक्षित स्कोरमा लैजान सक्थे होला । त्यो गर्न नसकेकाले अलिकति निराश छु । बरु दोस्रो खेलमा नेपालले जित्दा, १ रनले होस् टिमले जित्दा रमाइलो लाग्छ ।


नेपालले नेदरल्यान्ड्ससँगको दोस्रो वान–डे अन्तर्राष्ट्रिय खेल जितेपछिको महोल कस्तो थियो ?


निकै रमाइलो थियो । हामीले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल जितेको हौं । नम्बर र रेकर्ड जहिले पनि त्यही भएर महत्त्व हुन्छ । दोस्रो खेलमै पहिलो जित हात पारेकाले खुसी हुनुपर्ने कारण थियो । खेल्न त अझ धेरै खेल्न बाँकी नै छ । तर पहिलो जित विशेष नै हुन्छ । त्यसमा त्यहा आउनुभएका दर्शक कोही जर्मनीबाट, कोही कहाँबाट त्यसले पनि त्यो जितलाई विशेष बनाएको थियो । विशेष यसकारण त्यो जित उहाँहरूसँग साट्न पाइएको थियो ।


नेपालले अन्तिम ओभर फाल्नु अगाडि तपाईंको कप्तान पारस खड्कासँग कस्तो खाले सल्लाह भएको थियो ?


त्यो भन्दा अगाडि देखि नै अन्तिम ओभर बलिङ कसलाई लगाउने भनेर हाम्रा कुराकानी भइरहेको थियो । अन्तिम ओभर अगाडि पनि पारस वा ललितसिंह भण्डारीले फाल्ने भनेर छलफल भएको थियो । मैले पारसलाई तिमी नै फाल भनेर सुझाव दिएको थिएँ । पारस भनेको धेरै राम्रो लिडर हो । ६ रन कसरी रोक्ने हो भन्ने थियो । १ विकेटमात्र बाँकी हँुदा रोक्छौं जस्तो पनि लागेको थियो, एउटा राम्रो बल आवश्यक थियो । त्यो सोचेर बलिङ गरिरहेका थियौं । खेल चाहिँ सोचेभन्दा धेरै क्लोज गयो ।


अन्तिम बललाई कसरी सम्झनुहुन्छ ?


एक रन रोक्न सक्छौं जस्तो लागेको थियो । सबै फिल्डर नजिक राखेका थियौं । मलाई चाहिँ उनीहरूले टयाप एन्ड रन गर्छ जस्तो लागेको थियो । पारसले जहाँसम्म मलाई योर्कर फाल्छ जस्तो लागेको थियो । अनि त्यही अगाडिबाट टयाप एन्ड रन गर्ने चान्स हुन्छ भनेर हामी नजिक बसेर फिल्डिङ गरिरहेका थियौं, त्यसैले रनआउट हुने सम्भावना छ भनेर चाहिँ लागिरहेको थियो । पारस अरुभन्दा स्मार्ट नै छ । एउटा बेल्स झरिसकेकाले उसले अरु जोखिम नलिकन स्टम्प नै उखाल्ने निर्णय गरेको हो । जित्नलाई त्यही विकल्पमात्र जस्तै थियो ।


प्रकाशित : श्रावण २४, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?