१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

'हृदयघात भइसकेपछि पनि सामान्य जीवन बिताउन सकिन्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई विश्व मुटु दिवसको रुपमा मनाइन्छ । मुटुरोगबाट विश्वभरका मानिस पीडित हुने क्रम बढिरहेको छ । लन्डनस्थित अर्थ व्यवस्थापनका जानकार विकलचन्द्र आचार्यलाई ३४ वर्षको कलिलो उमेरमै अकस्मात हृदयाघात भयो ।

'हृदयघात भइसकेपछि पनि सामान्य जीवन बिताउन सकिन्छ'

तर हृदयाघातबाट उनी विचलित भएनन् । बरु आफूले भोगेको रोगको अध्ययन गरि मुटुरोगबारे जनचेतना फैलाउन अगाडि सरे । मुटुरोगबाट अरुलाई सावधान गराउन यस सम्बन्धि दुईवटा किताब लेखे उनले । ब्रिटिस मेडिकल जर्नालिस्ट एशोसिएसनका सदस्य तथा ‘लन्डनमा मुटु दुख्दा’ र ‘कोरोनरी मुटुरोग’ पुस्तकका लेखक आचार्यसँग लन्डनस्थित कान्तिपुरकर्मी नवीन पोखरेलले लन्डनमा गरेको कुराकानीको अंश प्रस्तुत छ :


विश्व मुटु दिवसको सान्दर्भिकता कस्तो छ ?

बढ्दो महत्वकांक्षा, कम क्रियाशील जीवन, स्वास्थ्य सम्बन्धि न्यूनतम ज्ञानको कमी तथा चिन्तालाई ब्यवस्थित गर्न नसक्नु नै मुख्य कारण भएर अहिले संसारभर मुटुरोगीको संख्या बढिरहेको छ । समयमा नै सतर्कता अपनाएर मुटुरोगबाट अकालमै कसैले पनि ज्यान गुमाउनु वा पीडित हुन नपरोस् भन्ने नै यस दिवसको मुख्य सन्देश हो । अहिले विश्व मुटु दिवसको सान्दर्भिकता झन् बढेको छ ।


अहिले युवाहरुमा मुटुरोग धेरै बढेको छ । यसको खास कारण के होला?

जीवनशैली, चिन्ता र ज्ञानको कमी नै युवाहरुमा मुटुरोग बढ्नुको मुख्य कारण हो जस्तो लाग्छ । महत्वाकांक्षा र चिन्तालाई समयमा ब्यवस्थित गर्न नसक्नु अहिले युवामा समस्या छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट टाढा भएको अवस्था नै चिन्ताग्रस्त परिवेश हो । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलापलाई प्रोत्साहित गर्न सक्छ । जस्तै : तनाव भयो भनेर धुमपान गर्नु, बढी रक्सी पिउनु, अल्छी लाग्यो भनेर धेरै सुत्नु आदिले स्वास्थ्यमा प्रतिकुल असर पार्छ ।


मदिरा सेवन युवा पुस्तामा बढ्दो छ । यसले मुटु अथवा हाम्रो स्वास्थमा के कस्तो असर गर्छ ?

मदिराले स्वास्थ्यमा पार्ने प्रभाव सम्बन्धि अनेकौं अनुसन्धान र खोज भएको छ । अनुसन्धानले कुनैपनि परिणामको मदिरा सेवनले स्वास्थ्यमा फाइदा नहुने बताएको छ । सधैं थोरै वा धेरै नियमित मदिरा सेवन गर्नेलाई मुख तथा घाँटीको क्यान्सर हुने जोखिम तीन गुणा बढी हुन्छ । सधैं मदिरा पिउने महिलालाई स्तन क्यान्सर हुने जोखिम करिब बीस प्रतिशतले बढ्छ । त्यस्तै नियमित मदिरा सेवनले स्ट्रोक, मुटुरोग, उच्च रक्तचाप, कलेजोको रोग, प्यान्क्रियाजको रोग, प्रजनन कम बन्नु आदि रोगको जोखिम बढाउँछ । यसका साथै नियमित मदिरा सेवनले पाचनक्रियामा समस्या, छालामा थोप्लाहरु आउनु, अनुहार फुलिनु, छाला चाउरिने, निन्द्रा कम पर्नु, डिप्रेसन हुनु, नपुंशक हुनु जस्ता रोगहरु निम्त्याउन सक्छ ।


हरेक दिन मदिरा पिउनु हानिकारक छ । दिनको तीन युनिट भन्दा बढी मदिरा सेवन गरे सिधा मुटुलाई असर पर्ने पाइएको छ । केही समयपछि धेरै मदिरा सेवनले रक्तचाप बढाउने, हार्ट फेलिएर हुने, स्ट्रोक हुने जस्ता जीवन नै जोखिममा हुने रोगको शिकार बन्न सकिन्छ । धेरै मदिरा सेवनले शरीरको बोसो शरीरका अरु अंगमा संचार पनि गराउँछ । मदिरामा धेरै क्यालोरी हुने हुँदा मोटो मानिस, मधुमेह भएकाले विशेष सावधानी अपनाउनुपर्दछ ।


अल्कोहलले शरीरले प्राकृतिक रुपबाट भाइरल संक्रमणसँग लड्ने क्षमतालाई ह्रास गर्छ । प्रजनन बारे गरिएको अध्ययनमा नियमित थोरै मात्रै मदिरा सेवन गर्ने महिलामा गर्भ बस्ने सम्भावना कम र धेरै मदिरा सेवन गर्ने पुरुषको प्रजनन शुक्रकीट कम हुने बताइएको छ । धेरै मदिरा सेवनबाट आसटेल्डाहाइड टक्सिकको सम्बन्ध जोडिएको छ जसले डीएनएलाई नोक्सान गर्ने पाइएको छ ।


त्यसैले गर्भवती हुँदा एकपटक मात्रै पनि अत्यधिक मदिरा सेवन गरेमा पेटमा भएको बच्चाको जीन नोक्सान हुन सक्छ । मदिरा सेवनले क्यान्सर हुने कारण थाहा भइसकेको छ । डीएनए परिवर्तन नभइकन क्यान्सर कोषहरू बन्दैन् । जब मदिरा सेवन गरिन्छ, आसटेल्डाहाइडले डीएनएको जीवनलाई खराब बनाउँछ र क्यान्सरको बाटोतिर धकेल्छ ।


प्रत्येक व्यक्ति मुटुरोगबाट कसरी सावधान रहन सक्छन् ?

मुटु रोग लाग्ने कुनै एउटा मात्र कारण छैन् तर हामीलाई थाहा छ कि केही जोखिमका तत्वहरू जस्तै: धूमपान, परिवारमा मुटुरोगको इतिहास, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, मधुमेह, मोटोपन, चिन्ता आदिले मुटुरोग लाग्ने सम्भावना बढाउँछ ।


तपाईलाइ आफ्नो नाम, ठेगाना थाहा भएजस्तै आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाहा पाउन जरुरी छ । यही अनुसार खानपान र क्रियाशीलता बढाई आवश्यक परे डाक्टरलाई भेट्नु पर्दछ । वर्षमा घटीमा एकपल्ट रगत जाँच्नुहोस् । यसले कोरोनरी मुटुरोगबाट बच्न वा सावधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ। जोखिमका तत्वहरुलाई समयमा नै ध्यान दिई उचित जीवनशैली अपनाए मुटुरोगबाट सावधान हुन सकिन्छ ।


स्वास्थ्यकर जीवनशैली भन्नाले ?

धुमपान त्याग्ने, मद्यपान छोड्ने या निकै कम गर्ने, प्रशस्त मात्रामा फलफुल र सब्जी खाने, होलग्रेन अन्नहरू, रातो मासुको बदलामा माछा खाने, जनावरबाट पाइने चिल्लो जस्तो बोसो, बटर, घीउ आदि कम गरि थोरै मात्रामा शुद्ध तोरीको तेल, सूर्यमुखी तेल आदि खाने बानी गर्नुपर्छ । स्याचुरेटेट फयाटले कोलेस्ट्रोल बढाउन महत्वपूर्ण भूमिका खेल्दछ जुन मुटुरोगको प्रमुख जोखिम हो । क्रियाशील जीवन, धुमपान त्याग्नु, चिन्ताको ब्यवस्थापन, उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको नियन्त्रण, पातलो शरीर, स्वास्थ्यकर खाना, दिनको आधा घन्टाको ब्यायाम आदिले कोरोनरी मुटुरोगबाट बच्न वा सावधान हुन महत्वपूर्ण भूमिका खेल्छ ।


बढी फलफुल र सब्जी खाँदा पोटासियम भन्ने रसायन पाइन्छ । जसले रक्तचाप कम गर्दछ । आफ्नो करेसाबारीमा तरकारी उब्जाउने तरिका अबलम्बन गर्नु बान्छनीय हुन्छ । साग सब्जी खेतीले एक त शारीरिक क्रियाकलाप बढ्ने, अर्को ताजा तरकारीको रसस्वादन गर्न पाइन्छ । बारी नहुनेले गमलामा राखेर तरकारी फलाएको उदाहरण पनि प्रशस्त छ ।


पछिल्लाे समय नेपालीहरुमा मधुमेहको समस्या बढ्दो छ । यसको कारण र मधुमेहले मुटुलाई कसरी असर गर्छ ?

डाइबेटिज यूकेको तथ्यांक अनुसार दक्षिण एसियाका मानिसलाई अन्यन्त्रकालाई भन्दा टाइप २ मधुमेह हुने जोखिम करिब चारगुणा रहेको देखिएको छ । दक्षिण एसिया मुलवासीलाई टाइप २ मधुमेह हुने जोखिममा उनीहरुको मांशपेशीले बोसो उपभोग गर्ने तरिकाले गर्दा बढी भएको अध्ययनले देखाएको छ ।

ग्लास्गो युनिभर्सिटीको अनुसन्धान टोलीले पत्ता लगाए अनुसार युरोपियन मान्छेहरुको तुलनामा दक्षिण एसियाका मानिसहरुको मांशपेशीले शक्ति कम प्रयोग गर्दा इन्सुलिन हार्मोनमा कम प्रतिक्रिया दिनाले मधुमेहको जोखिममा योगदान पुरयाउन सक्ने देखिएको छ ।


शरीरले बोसो उपभोग गर्ने एउटा तरिका अस्थिरपन्जी मांसपेशीहरु हुन् र अनुसन्धानकर्ताहरुले दक्षिण एशियाका र युरोपियन मानिसहरुको मांसपेशीहरुमा धेरै भिन्नता रहेको पाएका छन् । अर्को अर्थमा दक्षिण एशियाका र युरोपियन मानिससँगै एकै गतिमा हिँडे भने युरोपियन मानिसको शरीरले धेरै क्यालोरी उपयोग गर्छ । रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टाँसिने हुनपुग्छ । त्यसैले शरीर भरि रगत पम्प गर्न मुटुलाई भार पर्छ र यसले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ ।


मुटु रोगका जोखिमका तत्वहरू धुमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले थप बढाउँछ । टाइप २ मधुमेह भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र एचडिएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई उच्च रक्तचाप हुने बढी सम्भावना हुन्छ । मधुमेहले मुटुको मांशपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र ह्दयघात पत्तालगाउन ढिलो हुन सक्छ ।


शरीरका अंगहरू जस्तै आँखा, मृगौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्न जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावना बढाउँछ । मधुमेहको मुख्य जोखिमका तत्वहरूको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।


नेपालीहरुलाई मुटुरोगको अवस्था कस्तो छ ?

अध्ययनले यो देखाएको छ कि दक्षिण एशिया र अफ्रो क्यारिबियनका मान्छेहरुलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा बढी हुन्छ । यसमा वंशानुगत तथा जीवनशैलीले महत्वपूर्ण भूमिका खेल्दछ । बढ्दो शहरीकरण, प्रदूषण र अस्वथ्यकर जीवनशैलीले गर्दा नेपालमा कलिलै उमेर देखि मुटुरोगबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढिरहेको छ ।


ह्दयाघातका लक्षणहरू के के हुन् ?

छातीको बीच भागमा एकदम दुख्ने देखि छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाई चाहिं एकदम गरुंगो या कस्सिएको हुन्छ जुन दुखाइ पाखुरा, घाँटी, गर्धन, पछाडि या भुँडीमा पनि सर्न सक्दछ । घाँटी, बँगारा, पाखुरा वा भुँडीमा मात्रै असर गर्न सक्छ । ह्ृदयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने वा श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।


कहिलेकाँही हृदयघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जांदैनन् । अरू मेडिकल टेष्ट गर्दा धेरै समय पछि थाहा हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयघात भएको भन्ने पत्ता लाग्दछ ।

ह्दयाघातको अवधिमा जीवन नै जोखिम हुने गरि मुटुका रिदमहरुको विकास हुन सक्छ । त्यसैकारणले ह्दयाघातलाई मेडिकल अकस्मातको रूपमा उपचार गरिन्छ । कसैलाई हृदयघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स वा अस्पताल पुग्नुपर्दछ । धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा वा अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्दछन् । तसर्थ सक्दो चाँडो अस्पताल पुग्नुपर्दछ जसले जीवन बचाउँन सक्छ ।


तपाईंको अनुभवमा हृदयघात भइसकेपछि सामान्य जीवन बिताउन कतिको सहज हुन्छ ?

सहि उपचार गर्ने र जोखिम थाहा पाउने, त्यँही अनुसार जीवनशैली बदल्ने, डाक्टरको सल्लाहमा आफ्नो औषधि समयमा खाने, क्रियाशील बढाउने जस्ता गतिविधिले हृदयघात भएपछि पनि सामान्य जीवनयापन गर्न सकिन्छ । त्यो वातावरण घर परिवार लगायत सबैले बुझ्नुपर्छ । ह्ृदयघात भएको व्यक्तिलाई सधैं बिरामीको रुपमा हेरिनु हुँदैन । मुख्यकुरा स्वास्थ्यकर खाना र क्रियाशील जीवन हृदयघात भइसकेको व्यक्तिले मात्र गर्ने होइन, सबैले गर्नु जरुरी हुन्छ ।


नेपालमा मुटुरोगको उपचार के कस्तो देख्नु हुन्छ ?

खासगरी काठमाडौंमा मुटुरोगको उपचार राम्रो छ तर यो देश अनुसार महंगो छ । नेपाल जस्तो गरिब देशमा मुटुरोग लागेपछि धेरैले आर्थिक भार खप्नुपर्ने अवस्था भएकोले मुटुरोगबारे थप चेतना फैलाउन टड्कारो आवश्यकता हो । रोग लागिसकेपछि पनि सहि उपचार गरि सतर्कता अपनाउँदै सामान्य जीवन बिताउन सकिन्छ भन्ने मेरो अनुभव छ ।


तपाईंले विगतका दश वर्ष मुटुरोगको चेतना फैलाउने काममा लाग्दा कस्तो अनुभव पाउनु भएको छ ?

मुख्यकुरा हामीमा मुटुरोग सम्बन्धि ज्ञानको अभाव पाएको छु मैले । सामान्य रोगबारे लक्षण थाहा नपाउनु वा बेवास्ता गर्नु, अस्पताल जान वा अरुलाई भन्न संकोच मान्नु जस्ता कुरा मैले धेरैलाई भेटेपछि थाहा पाएको छु । रोग लागिसकेपछि पश्चाताप, भय, एक्लोपन आदि समस्या सामना गरिरहेको मैले देखेको छु । यसमा मैले सक्दो सहयोग गर्ने प्रयास जारी राखेको छु ।


मुटु दिवसलाई कसरी उपयोग गर्ने ?

आफ्नो स्वास्थ्यका लागि आफू स्वयं जागरूक होऔं । आफ्नो ज्यानको आफैंले हेरविचार गर्ने हो । स्वास्थ्यकर जीवनशैलीबारे जानकारी लिइ अपनाउने काम गरौं । मुटुरोगको कारणबाट ज्यान गुमाउने वा पीडित हुनुपर्ने क्षण कसैले पनि भोग्नु नपरोस् भन्ने मेरो कामना छ । स्वास्थ्य सम्बन्धि न्यूनतम जानकारी राखौं र अरुलाई पनि सिकाउने काम गरौं । आफ्नो स्वास्थ्यको ख्याल एक दिन मात्र होइन, हरेक समयमा दिनुपर्छ भन्ने कुरा मनन गरि यस दिनको उपयोग गर्न सकिन्छ ।

प्रकाशित : आश्विन १३, २०७५ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?