१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सानो छँदा : पम्फा भुसाल

भाइ जन्मेको सुनाउँदै हिँडें

पम्फा भुसाल नेकपा—माओवादीकी प्रवक्ता हुन्। पार्टी प्रमुख हुने पहिलो नेपाली महिला पनि हुन्। उनी २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको संयोजक भएकी थिइन्।

सानो छँदा : पम्फा भुसाल
पम्फा भुसाल नेकपामाओवादीकी प्रवक्ता हुन्। पार्टी प्रमुख हुने पहिलो नेपाली महिला पनि हुन्। उनी २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको संयोजक भएकी थिइन्। त्यतिबेला संसद्मा तेस्रो ठूलो पार्टी थियो जनमोर्चा। पार्टी प्रमुख हँुदा उनी ३२ वर्षकी मात्र थिइन्। १४ वर्षमै कम्युनिस्ट राजनीतिमा लागेकी हुन्। २०३३ सालमा ८ कक्षा पढ्दै उनले विद्यार्थी राजनीतिमा लागेकी हुन्। २०३७ सालमा पार्टीकै सदस्यता लिएकी थिइन्। २०३७ सालमा जनमत संग्रह भयो। त्यसमा पनि सक्रिय भइन्। साहित्यकार पारिजात अखिल नेपाल महिला संघको अध्यक्ष छँदा उनी महासचिव भइन् २०३९ सालमा। त्यसयता पार्टीको विभिन्न भूमिका निभाउँदै पार्टी प्रमुख भएकी हुन्। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि उनले पार्टीका विभिन्न मोर्चामा रहेर काम गरिन्। उनी माओवादी शान्तिप्रक्रियामा आएपछि बनेको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएकी थिइन्। २०६४ सालमा भएको पहिलो संविधानसभा निवार् चनमा ललितपुर क्षेत्र नं ३ बाट सभासद निर्वाचित भएकी थिइन्। २०६९ सालमा माओवादी फुट्यो। उनी मोहन वैद्य अध्यक्ष भएको नेकपा माओवादीको प्रवक्ता भएकी हुन्। २०१९ सालमा अर्घाखाँचीको किमडाँडा गाविसमा जन्मेकी उनले आफ्नो बाल्यकाल यसरी सम्झना गरिन् :


छोरीलाई पठाउनु हुँदैन भन्ने मान्यताले जरा गाडेको थियो त्यतिबेला। छोरी पढाउनुपर्छ भन्ने सामाजिक जागरण भएकाले मैले स्कुल जान पाएको होइन। हाम्रो घरमा छोरा थिएनन्। हामी पाँच छोरी मात्रै थियौं। गाउँका कुनै पनि छोरी स्कुल नगएको बेला मेरी दिदी स्कुल जानुभयो। तर पढ्दापढ्दै विवाह भयो। म र माइली दिदीसँगै स्कुल जान थाल्यौं। माइली दिदीको पनि दुई कक्षा पढ्ना साथ विवाह भयो।
छोरीको विवाह गरिदियो भने छोरा हुन्छ भन्ने मान्यता थियो। त्यही भएर माहिली दिदीको ८ वर्षमै विवाह भएको थियो। त्यतिबेला बालविवाह प्रचलित थियो। विवाह गरेर पनि दिदीले पढ्नुभयो। ५ कक्षाभन्दा माथिचाहिँ पढ्नुभएन। त्यति पढ्नु पनि ठूलो थियो त्यति बेला। हाम्रो समकक्षी भएर पनि अरू दाजुभाइको छोरीले पढेनन्। किनकि, छोरी पढाउनुपर्छ भन्ने मान्यतै थिएन। हाम्रो आमामा चाहिँ छोरी भए पनि पढाउनुपर्छ भन्ने सोचाइ थियो। मावलीमा लेखेपढेका थिए। त्यसको प्रभाव थियो आमामा। बुबाले पनि आमाको सोचाइमा सहयोगी भूमिका खेल्नुभयो।
घरछेउको जनता प्राविमा ५ सम्म पढाइ हुन्थ्यो। प्रावि पढ्दा स्कुलभरिमा म, दिदी र रमा गरी जम्मा तीनजना केटी थियौं। हाई स्कुलमा ९ जना थियौं। २०३१ सालमा नयाँ शिक्षा लागू भयो। त्यसपछि छोरीको संख्या अलि बढ्न थाल्यो। छोरी पढाउनुपर्छ भन्ने चेतना बढ्न थाल्यो।
५ पास गरें। ५ पढेपछि छोरीको पढाइ सकियो भन्ठान्थे। त्यति पढाउँदा पनि छोरी पढाएका छन् भन्दै समाजको आक्षेप खेप्नु पथ्र्याे बुबाआमाले। छोरी मात्रै छन्, त्यो पनि
पढाएका छन् भन्थे
समाजमा। छोरा नहनु ठूलो अपराधजस्तो
मानिन्थ्यो। ५ कक्षामाथि पढाइ हुँदैनथ्यो गाउँमा। अब योभन्दा माथि पढ्नु पर्दैन भन्नेतर्क हुन्थ्यो। स्कुलै नभएपछि कहाँ पढ्ने? टाढा जाने कुरा भएन। छोरी नपढाउने यो राम्रो तर्क हुन्थ्यो गाउँमा। तर मैले जिद्दी गरें। मावल गएँ पढ्न। तीन महिना त्यहाँ पढें। मावल बस्नै मन लागेन। घरकै स्वतन्त्रता मन पर्यो। र्फकेर घरै आएँ। मावल गएपछि यसले पढाइ छोड्छे भन्ने सोचाइ थियो घरमा। तर मैले छाडिनँ। जिद्दी गरें। २ घन्टा लाग्थ्यो जनज्योति मावि पुग्न। हिँडेरै गएँ।
पढाइ अघि बढ्यो। ७ कक्षामा पढ्दाको कुरा हो। घरमा हजुरबाको श्राद्ध थियो। स्कुल जान तयार भएको थिएँ। बाहुन आइसकेका थिए। आमालाई सुत्केरी व्यथा लागेछ। कोठामा जानुभयो। जेठीआमालाई बोलाउन गएँ। जेठी आमालाई बोलाएर आउँदा आमाले भाइ पाइसक्नुभएछ। म धेरै खुसी भएँ। हामीलाई भाइको अभाव थियो। स्कुल पनि गइनँ। भाइ पाएको कुरा अरूलाई सुनाउन मन थियो। अब कसलाई सुनाउ, कसलाई सुनाउ भयो। मेरो सानो गाग्री थियो। त्यसलाई टिपेर पँधेरोमा गएँ पानी लिन। त्यहाँ पनि आमाले भाइ पाउनुभयो भनेर सुनाउन मन थियो पँधेरामा जम्मा भएकालाई। के भनेर सुनाउने? सुनाउन निहुँ त चाहियो। कसैले पनि सोधेनन्। घरमा पानी भई भई पनि पँधेरो आएकी थिएँ। पानी भरें। डोकोमा हालें। अझै भाइ जन्मेको सुनाउन पाइएनँ। के भनेर सुनाउने? डोको बोक्ने बेलामा मलाई कस्तो हतार छ आज भनिदिएँ। माया दिदीले भन्नुभयो, तँलाई सधैं हतार हुन्छ। आज केको हतार छ? मैले भनंे, आमाले भाइ पाउनुभयो। माया दिदीले आश्चर्य मान्दै सोध्नुभयो, साँच्चै हो? मैले भनिदिएँ, साँच्चै हो। विद्या नाश हो। भाइ जन्मेको दिनमा जति खुसी कहिल्यै भएको थिइनँ। छोरा नहुँदा गाउँलेले बुबाआमाको कुरा काटेको देख्दा दिक्क लाग्थ्यो। त्यही कारण पनि भाइ जन्मेकोमा औधि खुसी भएकी थिएँ।
स्कुलबाट आएपछि खाजा अनिवार्य चाहिन्थ्यो। म घरछेउमै आएको बुबा देख्नुहुन्थ्यो। तर नदेखे जसरी मलाई सुनाउँदै भन्नुहुन्थ्यो, ओहो पम्फा आउने बेला भयो। खाजा पनि छैन। त्यति सुनेपछि आँगनमा झोला फ्याँक्थें। दलिनमा जान्थंे। अनि पल्टेर रुन थाल्थें। आमा गाली गर्नुहुन्थ्यो, तैंले पढेकोेत्यही हो? बुबाले भनेको हो कि होइन, बुझ्ने। भित्र जाने। झोला राख्नुपर्छ। हेर्नुपर्छ। बुझ्नुपर्छ। सुन्दै रुने? तैले पढेको के काम?
नयाँ कपडा ल्याइदिनुहुन्थ्यो। सिउने मान्छे घरमै आउँथे। पहिले मेरै सिलाइदिनुपथ्र्याे। अरूको सिलाइदिए भने रोइकराइ गरेर प्रतिरोध गर्थें। ठूली भएपछि पनि यही बानी गएन। टेलरमा कपडा दिन्थें। समयमा दिएनन् भने त्यहीं रोइदिन्थें।
गाउँको सम्पन्न परिवार थियो हाम्रो। मान्छेको आउनेजाने थलो थियो घर। परिवार बैंकजस्तै थियो। ऋण लिन आउँथे गरिबहरू। बुबा ब्याज लिएर पैसा दिनुहुन्थ्यो। गरिब दुःखी समस्या सुनाउँथे। बुबा पैसा दिनै खोज्नुहुन्नथ्यो। अनेक बिन्ती गर्थे। तैपनि दिनुहुन्नथ्यो। मलाई माया लाग्थ्यो तिनको बिन्ती देख्दा। दिए हुन्थ्यो नि जस्तो लाग्थ्यो। धेरै बिन्तीभाउ गरेपछि बल्ल तमसुक लेखेर दिनुहुन्थ्यो। तमसुक लेख्दै राख्दै गरिएको थियो। गरिबले ऋण लान्थे। एक मुष्ट साँवा तिर्न सक्दैनथे। ब्याज बुझाइरहन्थे। ब्याज तिर्दातिर्दा साँवाको कयौं गुणा बढी पैसा तिरिसकेका हुन्थे। तैपनि ऋणमुक्त हँुदैनथे। यस्तो प्रवृत्ति मलाई चित्त बुझेन। बुबालाई ऋण मिनाहा गरिदिन आग्रह गरें। एक हजार दिएको यिनीहरूले १० हजार तिरे होलान्। बुबाले मान्नुभयो। लिनुपर्नेसँग मागेनौं। लिँदैनौं भनेर घोषणा पनि गरेनौं। उनीहरू तिर्न पनि आएनन्। प्रपोगान्डा गरेनौं। त्यतिकै मिनाहा गरिदियौं।
भुसाल परिवार आफ्नो संस्कारमा कडै थियो। दसैं मान्ने बेग्लै चलन थियो। भित्र जानु हँुदैनथ्यो। छोरी पनि पस्न नपाउने। दसैंमा पूजाकोठामा बत्ती बलेको थियो। बत्तीबाट गाजल बनाएको देखेको थिएँ। ओहो ! गाजल बन्ने बत्ती खेर गयो भन्ठानें। खुसुक्क भित्र छिरिदिएँ। अब गाजल बनाउने योजना बनाएँ। बत्ती प्लेटले छोपिदिएँ। प्लेट सिरामिक्सको रहेछ। तातोले प्याट्टै फुट्यो। अब के गर्ने? आपत् पर्यो। त्यसलाई हत्तपत्त निकालें। प|mकले समातें। बारीमा लगेर फ्याँकिदिएँ। मैले बिगो गरेको कसैले पत्तै पाएनन्। छोरी पूजाकोठामा पसिहोला भन्ने अनुमानै गरेनन्।
छोराछोरीमा धेरै विभेद थियो। मैले पाइला पाइलामा त्यो विभेद महसुस गरें। म कक्षा प्रथम भएँ। सबै भन्थे, ए यो कस्तो छोराजस्तो। पूरै स्कुलभरिमा पहिलो भएँ। सबै भन्थे, ए कस्तो छोराजस्तो। सामाजिक काममा सक्रिय हुन्थें। सबै भन्थे, ए कस्तो छोरा जस्तो। यता उती सक्रिय हुन्थे। अनि भनिहाल्थे, ए कस्तो छोरा जस्तो। त्यो मलाई मन पर्दैनथ्यो। छोरीले गरेको छोरीकै रूपमा किन नस्विकार्ने? म यस्तै सोच्थें। त्यसले ममा विद्रोही चेतना थियो।
गाउँभरिमा हाम्रो घरमा रेडियो थियो। घोडा थियो। रेडियो सुन्थें। घोडा चढ्थें। रेडियोमा नेपाली मात्रै बुझ्थें। अल इन्डिया रेेडियो सुन्थें। पछि गएर हप्तामा एकपल्ट बीबीसीमा नेपाली सेवा आउन थाल्यो। त्यो सुन्थें। गतिविधि बुझ्थें। छोरी मान्छेले कहाँ के गरेछन् भने ध्यान दिएर सुन्थें। इजरायलमा गोल्डा मेयर, श्रील ंकामा बन्डरानायके, इन्डियामा इन्दिरा गान्धी, बेलायतमा महारानी एलिजाबेथ । यस्ता समाचार सुन्थें। कुन ठाउँमा महिला के भएका छन् खुब चासो दिन्थें। अहिले त्यो बेलाको मेरो सोचाइलाई सैद्धान्तीकरण गर्दा म त्यतिबेला बढी नै महिलावादी थिएँ। म कुनै सिद्धान्त बुझेर त्यस्तो भएको चाहिँ होइन। त्यो बेलाको सामाजिक परिवेशले मलाई महिलावादी बनाइदिएको थियो। विद्रोही बनाइदिएको थियो।
हाम्रो स्कुल वामपन्थी विचारधाराको प्रभाव थियो। स्कुल व्यवस्थापनमा कम्युनिस्टको प्रभाव थियो। जातभात नमान्ने। छोराछोरी विभेद नगर्ने भन्ने विचारको प्रभाव थियो। पुष्पलाल, मोहन वैद्य, मोहनविक्रम सिंहको पनि प्रभाव थियो। प्युठान नजिक पर्ने। मोहन वैद्यको ससुराली पनि अर्घाखाँचीमै। प्रभाव थियो उहाँहरूको।
म संयोगले मोहन विक्रम, मोहन वैद्यको पार्टी चौथो महाधिवेशनको प्रभावमा परें। त्यो पार्टीको सम्पर्कमा पुगें। ८ कक्षामा पढ्दा अनेरास्ववियुको सदस्यता लिएँ। त्यो सदस्यता लिने भनेको पार्टी प्रतिबन्धित थियो। राति घरबाट स्कुल, स्वास्थ्य चौकीमा लगियो। सावित्रा भुसाल हुनुुहुन्थ्यो। उहाँले सदस्यता दिनुभयो।
हामीलाई पढाउन तेह्रथुमबाट रामचन्द्र मैनाली आउनुभएको थियो। उहाँले किताब पढ्न दिनुभयो। किताबको पनि प्रभाव पारेको थियो। माक्र्सवादबारे पहिलो पुस्तक टंक भुसाल दाइले दिनुभएको थियो। त्यसमा समाज विकास क्रमबारे छ। त्यसले मलाई यथार्थवादी र भौतिकवादी बनाइदियो। असमानताको अन्त्य राजनीतिले मात्र गर्ने रहेछ भन्ने चेतना त्यसले सिर्जना गराइदियो। त्यसले मार्गदर्शन दियो। मैनाली सरले मोदनाथ प्रश्रतिको पुस्तक नारी, बन्धन र मुक्ति भन्ने किताब पढ्न दिनुभयो। त्यसमा समाज विज्ञानको व्याख्या छ। महिलाको स्थिति र समस्याको मुख्य कारण राज्य देखाइएको छ। समानता साम्यवादले दिन्छ भन्ने निष्कर्ष छ त्यसमा। जीवनभर कम्युनिस्ट बन्ने बाटोमा लागें। ९ र १० कक्षामा पढिएको हो पुस्तक। यी पुस्तक प्रतिबन्धित थिए।
पढ्न हरेक कक्षामा संघर्ष गरियो। ५ कक्षामै छोडाउन लागेका थिए। टाढै गएर पढें। ६ पास गरें। अब छोड भन्थे। ७ पास गर्यो, अब छोड भन्थे। ८ पास गर्यो, अब छाड भन्थे। हरेक कक्षा सक्नासाथ अब छाड भनिन्थ्यो। यस्तै बीचबाट १० कक्षा पुगें। २०३६ सालमा एसएलसी दिएँ। पास गरें। पढाइ अझै छोड्न मन छैन। घर छाडेर जानु मुस्किल थियो छोरीका लागि। काठमाडौं कसरी जाने? जान्छु भनें। परिवारले टेरेनन्। रोएँ। कराएँ। खानै खाइनँ। भोकहडताल गरें। अनेक प्रतिबद्धता जनाएँ। पढाउन कठिन भएर होइन, समाजले के भन्छ भनेर डराएका थिए। मैले जितें। संघर्ष गरेरै काठमाडौं आएँ। इन्जिनियरिङ क्याम्पस भर्ना भएँ। जिल्लाबाट इन्जिनियरिङ पढ्न आउने म एक्ली छोरी थिएँ। छोरी मान्छे इन्जिनियरिङ? फेरि बहसको विषय थपियो। विद्यार्थी संगठन खुला भइसकेको थियो। जनमतसंग्रह २०३७ असारमा भयो। त्यसमा पनि सक्रिय सहभागी भएँ। त्यही वर्ष असोजमा महँगीविरोधी आन्दोलन भयो। महँगीको कारण दरबार हो भनेर बोलिदिएँ। त्यही बोलेबापत भोलिपल्ट बिहानै गिरफ्तार भएँ। जेल हालियो। अब परिवारका निम्ति ठूलो प्रतिष्ठाको विषय बन्यो। छोरी जेल परेको सामाना गर्न कठिन भयो परिवारलाई। समाजले कुरा काट्न थाल्यो, कसै नभाको छोरी, पढ्न पठाको। त्यही पनि जेल परी।

प्रकाशित : माघ १८, २०७१ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?