कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सफा भित्तो, विद्यार्थीको प्रतिष्ठा

कथा

काठमाडौं — एकादेशको पूर्वतिर एउटा सानो सहर थियो । त्यस सहरमा थुप्रै विद्यालयहरू पनि थिए । तीनै विद्यालयहरूमध्ये कुनै विद्यालयका कक्षाकोठा र कक्षाकोठाका भित्ताहरू सफा र सुन्दर थिए । त्यसमाथि विद्यार्थीहरूले भित्तामा राम्राराम्रा चित्रहरू र सिर्जनाहरू टाँसेका कारण कक्षाकोठा झन् आकर्षक देखिन्थे ।

कहिलेकहीं विद्यालयमा बाहिरबाट विभिन्न मानिसहरू विद्यालय अवलोकनका निम्ति आइरहन्थे । सबै मानिसहरू विद्यालय र विद्यार्थीहरूबारे खुलेर तारिफ गर्थे । तारिफको कारण भने त्यही सफा कक्षाकोठा र सुन्दर भित्ताहरू हुन्थे । सबैजना भन्थे, ‘कति मिहिनेती र लगनशील विद्यार्थीहरू, कक्षाकोठालाई सुन्दर बनाउन त यति मिहिनेत गर्छन् भने पढ्दा कति मिहिनेत गछन् होला ?’

तर केही विद्यालयहरूका कक्षाकोठा र भित्ताहरू भने निकै फोहोर थिए । विद्यार्थीहरूले भित्ताहरूमा कोर्नुसम्म कोरेर भित्ताहरूको स्वरूप भयांकर बनाएका थिए । शिक्षकहरूले पनि यस विषयमा केही गर्न सकेका थिएनन् । किनकि कसले कति बेला भित्तामा कोर्छ भन्ने कुरा कसैलाई थाहा हुँदैनथ्यो । त्यसपछि कसैलाई सजाय दिन सक्ने त कुरै भएन । शिक्षकहरू त चिन्तित थिए नै, त्यससँगै भित्ताहरू पनि निकै निराश थिए । विद्यार्थीहरूले सधैं आफ्नो शरीरमा राम्राराम्रा चित्रहरू टाँसून् भन्ने चाहन्थे भित्ताहरू । तर त्यसो नभई उल्टो विद्यार्थीहरूले दिनहुँ आफ्नो सुन्दरता खोसेको देखेर भित्ताहरूलाई यो गुनासो कसलाई पोखौं जस्तो भएको थियो । भित्तामा कसले फोहोर गर्छ भन्ने भित्ताहरूलाई राम्रोसँग थाहा भए तापनि तिनीहरूले चाहेर पनि केही गर्न सक्दैनथे । विद्यार्थीहरूको अपमान सहदा सहँदै धेरै 
समय बित्यो । 
एक दिनको कुरा हो, छुट्टी भएको संकेत दिँदै विद्यालयमा टिन्......... घन्टी बज्यो । विद्यार्थीहरू खुसी हँुदै, रमाउँदै बाहिर निस्के । त्यस दिन विद्यार्थीहरू अन्य दिनभन्दा बढी खुसी देखिन्थे । विद्यार्थीहरूभन्दा बढी भित्ताहरू झन् खुसी थिए । विद्यार्थीहरू र भित्ताहरू दुवै खुसी हुनुको कारण भने एउटै थियो– मिनपचास । त्यस दिनको भोलिपल्टदेखि मिनपचास सुरु हुँदै थियो । विद्यार्थीहरू अब पचास दिन विद्यालय आउनु पर्दैन भनेर खुसी थिए भने भित्ताहरू अब पचास दिन विद्यार्थीहरूको अपमान सहनुपर्दैन भनेर । विद्यालयमा कोही पनि थिएनन् त्यसैले दिनभर मिठामिठा गफ गरेर दिन बिताउँथे भित्ताहरू । एक दिन गफ गर्ने क्रममा उत्तरी भित्ता (उत्तरतिरको भित्ता) को अनुहार अचानक अँध्यारो भएको देखेर सँगै टाँसेर बसेको पूर्वी भित्ताले जिज्ञासु पाराले सोध्यो, ‘साथी, के भयो तिमीलाई ? आज मलाई के भयो के,आफैं 
देखेर आफैंलाई डर लागिरहेको छ ?’ उत्तरी भित्ताले मलिन हुँदै भन्यो । पूर्वी भित्ताले केही भन्न आँटेको थियो, पश्चिमी भित्ता बीचैमा प्याच्च बोल्यो, ‘आफैं देखी डर लाग्यो रे १ तर किन ? के भयो त्यस्तो आफैं देखी डर लाग्ने गरी ?’ ‘एकचोटि मलाई हेर त, म कस्तो फोहोरी भइसकेको छु । पहिला म अलिअलि मात्र फोहोर हुँदा त मान्छेहरू मलाई छ्याछ्या र छिछि: भन्थे । अब मलाई के भन्लान् ?” यति भन्नासाथ उत्तरी भित्ताको आँखाबाट एक थोपा आँसु तुरुक्क झर्‍यो । उत्तरी भित्ताको कुरा सुनेर सबै भित्ताहरूले एकपटक आ–आफ्नो रूप हेरे । सबैले आफ्नो रूप उत्तरी भित्ताको भन्दा कम देखेनन् । सबै भित्ताहरू उत्तिकै फोहोरी थिए । त्यसपछि चारै भित्ताहरूको अनुहार एकैसाथ अँध्यारो भए । केही क्षण त कोही बोलेनन् । त्यतिकैमा दक्षिणी भित्ताले सबै साथीहरूलाई आफूतिर सतर्क बनाएझैं गरी भन्यो, ‘साथीहरू, तिमीहरू बेकारमा यति धेरै चिन्ता लिन्छौ । हेर, विद्यार्थीहरूले हामीलाई फोहोर बनाएर हाम्रो मन त दुखायो तर सबैभन्दा बढी बेइज्जत त हाम्रो होइन, विद्यार्थीको पो हुन्छ । हाम्रो यस्तो हालत विद्यार्थीहरूले नै त बनाएका हुन् नि १ कोही मान्छे विद्यालयमा आए भने पनि उनीहरूले विद्यार्थीहरूलाई नै नराम्रो भन्छन् । भएन त विद्यार्थीको बेइज्जत ?’ उत्तरी भित्ताले पनि दक्षिणी भित्ताको कुरा बुझेझैं गरी भन्यो, ‘साँच्चै, मैले त यो कुरा सोचेकै थिइनँ । म बिनाकारण भावुक भएछु । म दक्षिणी भित्तासँग शतप्रतिशत सहमत छु । के छ तिमीहरूको विचार साथीहरू ?’ दक्षिणी र उत्तरी भित्ताको कुरामा पश्चिमी र पूर्वी भित्ताले पनि सहमति जनाए । ‘सुन्दर र सफा भित्ता, विद्यार्थीको प्रतिष्ठा’ भन्ने कुरा हामी निर्जीव भित्ताले मात्र बुझेर के काम ? विद्यार्थीहरूले पो बुझ्नुपर्छ । उही विद्यार्थीहरूले नबुझे कसले बुझोस् ?’ भित्ताहरूले मनमनै सोचे । 
 मञ्जु लामा
कक्षा–८, नमुना मच्छिन्द्र माध्यमिक विद्यालय
लगनखेल, ललितपुर ।

प्रकाशित : पुस १२, २०७२ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?