१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१५ सहिदको थलो

घुमौं

काठमाडौं — बाबुनानीहरूले सहिदबारे थाहा पाउनुभएको होला । देश र जनताको लागि आफ्नो ज्यान गुमाउन तयार भएका व्यक्तिलाई सहिद भनिन्छ । अधिकारको माग राख्दै विभिन्न समयमा धेरैजनाले ज्यान गुमाउनुपरेको छ ।

१५ सहिदको थलो

बाबुनानीहरूले सहिदबारे थाहा पाउनुभएको होला । देश र जनताको लागि आफ्नो ज्यान गुमाउन तयार भएका व्यक्तिलाई सहिद भनिन्छ । अधिकारको माग राख्दै विभिन्न समयमा धेरैजनाले ज्यान गुमाउनुपरेको छ । १ सय ४ वर्षीय राणा शासनको विरोध गरेबापत हत्या गरिएका लखन थापालाई पहिलो सहिद मानिन्छ । त्यसैगरी राणा शासनको विरुद्ध आवाज उठाएका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई पनि मृत्युदण्ड दिइएको थियो । ३० वर्षे पञ्चायती शासनको विरुद्ध लागेका धेरैजनाले ज्यान गुमाउनुपर्‍यो । गणतन्त्र स्थापनाको लागि भएका युद्ध र आन्दोलनमा पनि धेरैले ज्यान गुमाए । तराई आन्दोलनको क्रममा पनि धेरैले ज्यान गुमाउनुपर्‍यो । यस्तै ज्यान गुमाउनेमध्ये धनकुटा छिन्ताङमा यस्तो घटना भयो, जहाँ एकै गाउँका १५ जनाको मृत्यु भयो । सहिदको नामले मात्रै धार्मिक स्थलको रूपमा पनि प्रसिद्ध छ छिन्ताङ । तपाईंहरूलाई त्यही ऐतिहासिक र धार्मिक थलो छिन्ताङतिर लैजाँदै छौं यो अंकमा ।

हिले बजारबाट २० किलोमिटर दक्षिण पश्चिमा पर्छ छिन्ताङ गाविस । पैदल यात्रा गरेर रमणीय ठाउँहरू हेर्दै जानुको मज्जा छुट्टै छ । हिले बजारबाट पैदल जाँदा हिले उत्तरपानीको चिया बगान हेर्न पाइन्छ । आँखीसल्ला र सुन्तलाका लागि प्रख्यात खोकु । यही खोकुको बाटो भएर पनि जान सकिन्छ यति बेला सुन्तला फल्ने सिजन हो । हिँडेर जाँदा खोकुको डाँडो पहलेरपुर भएका छन् । खोकु डाँडाबाट भोजपुर, खोटाङसम्मका डाँडाकाँडा मनमोहक देखिन्छन् । अचेल मोटर बाटो पनि पुगेकाले मोटरमा पनि जान सकिन्छ ।
खोकुबाट अगाडि बढेपछि पञ्चकन्या पुगिन्छ । यो ठाउँमा पुगेपछि केही भावविह्ल भइन्छ । यही ठाउँमा गोली हानेर १५ जनाको हत्या गरिएको थियो । २०३६ कात्तिक २५, २६, २७, २८ र २९ मा गोली हानी हत्या गरिएको थियो । उनीहरूलाई एउटै चिहान बनाइएको थियो । यो हत्याकाण्ड छिन्ताङ काण्डको नामले देशविदेशका चर्चित छ । पञ्चायती व्यवस्थाको विरोध गर्नेहरूलाई यसरी हत्या गरिएको थियो । त्यतिबेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । हत्या भएकामध्ये एकजना महिला थिइन् । गोपाल आनन्द राई, बलबहादुर खत्री, भैरवबहादुर राई, धनवीर दर्जी, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, गंगाबहादुर राई, लाखमान राई, रणध्वज राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, हाखिमा राई (साहिली), झगेन्द्र राई, पुत्रमान राईको हत्या भएको थियो । यो ठाउँमा उनीहरूको स्मारक देख्दा
नरमाइलो लाग्छ ।
त्यहाँबाट १५/२० मिनेटको यात्रापछि देवीस्थल पुगिन्छ । यो ठाउँमा जाल्पा देवीको मन्दिर छ । छिन्ताङ गाविसमा भएकाले यी देवी छिन्ताङ देवीको नामले पनि चिनिन्छन् । यो गाविसमा राई जातिको बाहुल्य छ । यो मन्दिरमा पुजारी पनि राई नै छन् । अहिलेका पुजारी डगेन्द्र राई हुन् । उनी १९औं पुस्ताका हुन् । पुजारी वंश परम्पराका आधारमा चयन हुन्छन् । पुजारीका जेठो छोरा पुजारी हुने चलन छ ।
। जंगलभित्र ओसिलो भू–भाग पानी नै पानीको बीचमा रहेकी छन् देवी । महिनावारी भएपछि महिला गेटभित्र छिर्न पाइँदैन । बाहिर महिलाले पूजा गर्ने र भित्र पुरुषले पूजा गर्ने चलन छ । महिलाले पूजा गर्ने ठाउँ सय मिटर वरै छ । बाहिर स्थापना गरिएको प्रतिमामा सौभाग्य, फूल, अक्षता चढाएर महिलाहरू पूजा गर्छन् । म पनि २० वर्ष पहिला एकपल्ट मन्दिरभित्र पसेको थिएँ । त्यहाँकीे देवीको धमिलो चित्र अझै आइरहन्छ ।
मन्दिरमा बोका, कुखुरा, परेवा, हाँस बलि दिने गरिन्छ । पूजा साँझको ४ बजे पछिबाट सुरु गरिन्छ । यहाँ डेगेन्द्रका वंशले संखुवासभाको आँखीभइबाट ल्याएर यहाँ देवी स्थापना गरेको मानिन्छ । दिदीको पूजा गरेपछि बहिनीको पूजा गर्नुपर्ने चलन भएकाले दिउँसो मात्रै पूजा गर्ने चलन रहेको राईले बताए । मन्दिरमा छाना छैन । चालीले ढाकिएको छ । देवी स्थापना भएको ठाउँमा एउटा अचम्मको रूख छ । यो रूख केको हो भनेर कसैले पत्ता लगाउन सकेका छैनन् । संखुवासभाबाट तीन ओटा जलुको (माने) पातमा ल्याएर स्थापना भएकी हुन् देवी । त्यो मानेको तीन ओटा पात हालसम्म नसुकेको विश्वास छ । घना जंगलभित्र रहेकी
देवीको मन्दिर हेर्न आँगनमै पुग्नुपर्छ ।
आइतबार र औंसीको दिन पूजा हुन्छ । शुक्रबार र शनिबार भने भक्तजनको घुइँचो लाग्छ । केही वर्षअघिसम्म यातायातको असुविधा थियो । अहिले कच्ची बाटोमा मोटर चल्छन् । बस्न होटल पनि पर्याप्त छन् । त्यही भएर भक्तजनहरू ह्वात्तै बढेका छन् ।
सहिदको स्मृतिमा पार्क पनि बनेको छ । सबैको सालिक राखिएको छ । छिन्ताङ चर्चित बनेको थियो त्यति बेला । स्थानीय बासिन्दाका अनुसार एमाले नेता मोदनाथ प्रश्रितले लेखेको ‘पचास रुपियाँको तमसुक’ नामक नाटक मञ्चन भइरहेको थियो । त्यो नाटक हेर्न गाउँलेको भीड लागेको थियो । त्यो थाहा पाएर स्थानीय प्रशासनले हातहतियार सहितको प्रहरी पठायो । गाउँलेलाई घेरा हाल्यो । भागदौड मच्चियो गाउँलेको । कोहीलाई पक्राउ गरेर हत्या गरियो । कोही पिठुवा खोलामा डुबे । स्कुले विद्यार्थी मारिएका थिए । महिला बलात्कृत भएका थिए । कोहीलाई पहिल्यै पक्राउ गरिएको थियो । पक्राउ गरिएकोलाई पनि हत्या गरियो ।
पञ्चायतकालमा यस्ता हत्याकाण्ड धेरै ठाउँमा भए । ओखलढुंगाको टिमुरे, सिन्धुपाल्चोकको पिस्करजस्ता ठाउँमा पञ्चायतविरुद्ध लागेका सर्वसाधारणको हत्या गरियो ।
त्यति बेलाका घाइते अझै जीवित छन् । उनीहरूको राज्यसँग थुपै्र गुनासा छन् । सहिद परिवारलाई वास्ता नगरेको
गुनासो अझै छ । सहिदको भावनाअनुसार काम नभएको गुनासो सरकारले मेट्न सकेको छैन । जिल्लाबाहिरका बाबुनानीहरू पनि धनकुटा घुम्न आउँदा छिन्ताङ पनि जाने योजना बनाउनुस् है ।

प्रकाशित : पुस १२, २०७२ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?