फरक खुसी

हिमेश

काठमाडौं — वैशाख १२ मा गएको भूकम्पको दिन बंगलादेशका किशोरी फुटबल खेलाडीहरू काठमाडौंमै थिए । उनीहरू एएफसी यू–१४ गल्र्स रिजिनल च्याम्पियनसिप खेल्न आएका थिए । त्यस दिन प्रतियोगिताको फाइनल थियो।

फरक खुसी

वैशाख १२ मा गएको भूकम्पको दिन बंगलादेशका किशोरी फुटबल खेलाडीहरू काठमाडौंमै थिए । उनीहरू एएफसी यू–१४ गल्र्स रिजिनल च्याम्पियनसिप खेल्न आएका थिए । त्यस दिन प्रतियोगिताको फाइनल थियो । फाइनलमा नेपाल र बंगलादेश पुगेका थिए । फाइनल अगाडि ती सबै खेलाडी त्यो दिनको खेल कसरी खेल्ने भनेर बैठक बसिरहेका थिए ।

बैठक उनीहरू बसेको भृकुटी होटलमा चलिरहेको थियो । प्रशिक्षक गोलम रब्बानी आफ्ना खेलाडीलाई योजना सुनाइरहेका थिए । त्यो दिन सम्झना गर्दै बंगलादेशी टिमका कप्तान श्रीमोती कृष्ण रानीले भनिन्, ‘एक्कासि सबै हल्लिन थाले । हामीलाई धेरै डर लागेको थियो । तर के भइरहेको थियो, थाहा थिएन । भूकम्प गएको थाहा पाएपछि सम्हालिएर बस्यौं ।’
त्यसपछि उनीहरू तल आए र सुरक्षित स्थानमा जम्मा भए । भूकम्पपछि फाइनल स्थगित भयो । लामो समयसम्म फाइनल हुने नहुने टुंगो थिएन । यस्तोमा बंगलादेशी फुटबल संघले नेपालसामु फेरि फाइनल आयोजना गर्ने प्रस्ताव राख्यो । अखिल नेपाल फुटबल संघले पनि मानिहाल्यो । फाइनल हुने भनेपछि बंगलादेशी खेलाडीको खुसीको सीमा थिएन ।
यसै साता जुरेको फाइनल खेल्न ती सबै खेलाडी र टिमका पदाधिकारी आएका थिए, जसले भूकम्पको अनुभव गरेका थिए । फाइनल अगाडि कप्तान रानीले भनेकी थिइन्, ‘हाम्रो पहिलो उद्देश्य फाइनल जित्नु हो । दोस्रो उद्देश्य पूरा विश्वलाई भन्न चाहन्छौं, नेपाल अब भ्रमणका लागि सुरक्षित भइसकेको छ ।’ नेपाली टिमकी कप्तान पूजा राना पनि फाइनल खेल्न पाएकोमा उत्तिकै खुसी थिइन् ।
फाइनलमा बंगलादेशी टिम नै विजयी रह्यो । लगनखेलको आर्मी फिजिकल ट्ेरनिङ एन्ड स्पोर्टस् सेन्टरमा भएको फाइनलमा बंगलादेशका लागि मारजियाले १६ औं मिनेटमा निर्णायक गोल गरिन् । त्यसका लागि कप्तान रानीले नै पास उपलब्ध गराएकी थिइन् । नेपाली टिमको प्रदर्शन राम्रो रहे पनि त्यो बंगलादेशी टिमलाई हराउन पर्याप्त रहेन् । बंगलादेशी किशोरीको प्रदर्शन जितका लागि योग्य थियो ।
नेपाली प्रशिक्षक किशोर केसीले पनि मान्नुभयो– बंगलादेशी टिम नेपालको तुलनामा वास्तवमै राम्रो छ । बंगलादेशी प्रशिक्षकले भने नेपाल फाइनल आयोजना गर्न तयार भएकोमा धन्यवाद दिनुभयो । फाइनल विजेता बंगलादेशी किशोर खेलाडीको खुसीको सीमा थिएन् । सबै एकअर्कालाई बधाई दिइरहेका थिए । नेपालका प्रधानमन्त्रीको हातबाट पुरस्कार थाप्न पाएकोमा पनि उत्तिकै हर्षित थिए उनीहरू ।
फाइनल सकेलगतै बंगलादेश फर्कन अगाडि कप्तान रानीले भनिन्, ‘हाम्रो लागि यो सफलता फरक खुसीको रूपमा रह्यो । जब हामी बंगलादेश पुग्ने छौं, त्यति बेला नेपालबारे आफ्ना साथीहरूलाई राम्राराम्रा सम्झना सुनाउने छौं ।’ बंगलादेशी फुटबल इतिहासमा महिलातर्फ कुनै पनि उमेर समूहमा उपाधि जितेको यो नै पहिलो थियो । त्यसैले पनि यो विशेष रह्यो ।

प्रकाशित : पुस १२, २०७२ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?