ठूलो काम, ठूलै सम्मान

नरेन्द्र रौले

काठमाडौं — तपाईंहरू शनिबार कसरी मनाउनुहुन्छ ? घुमघाम गरेर, खेलेर वा अन्य तरिकाले ? हेटौंडाको हातेमालो बाल क्लबका भाइबहिनीहरू भने फरक ढंगमा समयको सदुपयोग गर्छन् । समूहमा भेला भएर बजार, मन्दिर, बसपार्क, सार्वजनिक स्थल र टोलटोल पुगेर सरसफाइ गर्छन् ।

 

 

दुई वर्षदेखि उनीहरूले गर्दै आएको यो काम यतिबेला धेरैका लागि उदाहरणीय बनिसकेको छ ।

 

 

त्यही क्लबमा आबद्ध छिन्, मनकामना चोक, सिंचाइटोल ५ हेटौंडाकी ११ वर्षे अरबिना महर्जन । कक्षा ५ मा अध्ययनरत रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलकी अरबिना क्लबमा आबद्ध भएको धेरै भएको छैन । मात्र दुई महिना भयो । पहिला पहिला उनको समय खेलेरै बित्थ्यो । अहिले हरेक शनिबार सरसफाइ गरेर बित्छ । उनलाई यसैमा रमाइलो लाग्न थालेको छ । ‘अरू देशका मानिसहरू यहाँ घुम्न आउँदा कस्तो राम्रो भनून्,’ उनले भनिन्, ‘हाम्रो कामको सिको अरूले पनि गरून् ।’ 

 


उमेर सानो भएर के भयो ? हातेमालो क्लबका भाइबहिनीहरूको सोच र सपना भने ठूलो छ । हरेक शुक्रबार क्लबका सबैजना सदस्यहरू भेला हुन्छन् । शनिबार के गर्ने, कहाँ सरसफाइ गर्ने, कहाँ जम्मा हुने, कसले के जिम्मेवारी पूरा गर्ने ? त्योबारे छलफल गर्छन् । त्यहीअनुसार नियमित आफ्नो काम अघि बढाउँछन् । यति मात्र होइन, उनीहरूले यहाँका स्कुल–स्कुलमा पुगेर वातावरण क्लब खोलेका छन् । त्योसँगै विद्यार्थी, शिक्षक र समुदायका मानिसलाई वातावरण जगेर्ना र संरक्षणको सन्देश बाँड्छन् । ‘हामी नयाँ तरिकाले सोच्ने चेतना बाँड्छौं,’ उनले भनिन्, ‘यसरी ती स्कुलमा खोलिएका क्लबहरूले वातावरण सरसफाइ गर्न स्कुल र समुदायमा विभिन्न क्रियाकलाप गर्ने गर्छन् ।’


हेटौंडालाई सफा राख्न यहाँको हातेमालो बाल क्लबले गरेको कामलाई भर्खरै मात्रै एउटा अन्तर्राष्ट्रिय अवार्डसमेत मिलेको छ । विश्वका १ सय ७७ देशका दुई हजार सहभागीहरूमध्ये अनलाइनमा भएको प्रतिस्पर्धाका आधारमा हातेमालो इनर्जी ग्लोब अवार्ड पाउन सफल हो । हेटौंडाको स्थानीय सँंथा एडुभिजन फाउन्डेसनले हातेमालोको कामलाई इन्टरनेटमा राखेपछि अस्ट्रियास्थित इनर्जी ग्लोब फाउन्डेसनले यो अवार्ड दिएको हो । दिगो विकाससम्बन्धी यो संसारकै सबैभन्दा ठूलो पुरस्कार मानिन्छ ।

संसारमा फरक काम गर्ने बालबालिका, युवा र समुदायको कामलाई फाउन्डेसनले पुरस्कृत गर्छ । इरानकी उपराष्ट्रपति मसोमेह एब्तेकारले सो अवार्ड प्रदान गरेकी हुन् । आफूले गरेको कामलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान पाएपछि हातेमालो क्लबका भाइबहिनीहरू खुसी छन् । भुटनदेवी उच्च माविमा अध्ययनरत सुनीता जमकट्टेलले भनिन्, ‘हामी निकै खुसी छौं । घरपरिवार र समाजले पनि तारिफ गर्न थालेका छन् ।’ सबैले समाजसेवी भनेर बोलाउँदा आस्था खनाललाई पनि गर्वको महसुस हुन्छ ।


हातेमालो बाल समूह बन्नुभन्दा अगाडि स्थापना भएको एडुभिजन युवा क्लबले भाइबहिनीहरूलाई अघि बढ्न प्रेरणा दिने र सहयोग पुर्‍याउने काम गर्दै आएको छ । ‘हेटौंडालाई सफा सुग्घर राख्ने हाम्रो अभियान हो,’ सुस्मिता अधिकारीले भनिन्, ‘फोहोर जथाभावी नफाल्न डस्टबिनमा मात्र फाल्न अभियान नै चलाउनुपर्‍यो ।’ कोषाध्यक्ष, सचिब हुँदै उपाध्यक्ष बनिसकेकी क्लबकी सविता घिमिरे सरसफाइबारे साथीहरूलाई सचेत गराउँदै आएकी छन् । ‘चकलेट, बिस्कुटका खोल, फलफूलका बोक्रा बाटोमा नफाल्न भन्छौं,’ उनले भनिन्, ‘हामीसँग हिँड्नेहरू परिवर्तन भइसके ।’ पढाइ, घरायसी काम र सामाजिक क्रियाकलापमा उनीहरू अरूभन्दा अगाडि छन् । क्लबमा आबद्ध भएपछि आफूमा झन् ठूलो परिवर्तन पाएका छन् ।


दुवैलाई क्लबलाई हेटौंडाको स्थानीय संस्था एडुभिजन फाउन्डेसनले उत्प्रेरणा र तालिम दिएको थियो । फाउन्डेसनले कक्षा १ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत सबैलाई सरसफाइ अभियानमा लाग्न उत्प्रेरणा दिन्छ । काठमाडौं, ललितपुर, कास्कीका विद्यालयका करिब १५ हजार विद्यार्थीहरूलाई कक्षा दिइसकेको छ । काठमाडौंको बूढानीलकण्ठ स्कुल, प्राइम कलेज र एन्ड्रियु जे वाइल्ड कलेजसँग पनि सहकार्य गर्ने तयारी गरेको छ ।


‘अबको योजना यसलाई ७५ जिल्लामा नै पुर्‍याउने छ,’ फाउन्डेसनका सुरेन्द्र शाक्य भन्छन्, ‘नेपालको वातावरण सफा र स्वच्छ राख्नु नै पर्यटन विकासको आधारभूत आवश्यकता हो ।’

प्रकाशित : चैत्र ७, २०७२ ११:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

झम्पल

परम्परा/प्रविधि

काठमाडौं — भाइबहिनी हो, तपाईंहरूले खन्ती भन्ने सुन्नुभएको छ ? छैन भने गल नि ? त्यो पनि छैन ? अनि, झम्पल नि ? यीमध्ये कुनै पनि शब्द नसुन्नुभएका र नदेख्नुभएका भाइबहिनीहरूका लागि आज हामी जानकारी दिने छांै है । तपार्इंहरूलाई थाहै छ हामीले परम्परागत सामग्रीहरूबारे यो स्तम्भमा चर्चा गर्ने गरेका छौं ।

हो, त्यस्तै परम्पराग एक सामग्री खन्ती, गल, झम्पल हो ।

फरकफरक शब्द भए पनि यो सामग्री भने एकै हो । विभिन्न भूगोल र फरक भाषाअनुसार यसको नाम फरक पर्न गएको हो । यो सामग्रीको मुख्य काम भनेको जमिनमा खाल्डो पार्नु हो । यसका अलाबा ढुंगा फुटाउने, ठूलाठूला सामग्री सार्नका लागि सहयोगी भूमिका निर्वाह गर्नका लागि प्रयोग गरिख्छ । तर, भाइबहिनी हो, पहिले पहिले हिजोआज जस्तो आधुनिक घर निर्माण हँुदैनथ्यो । ढुंगा, माटो र काठका सामग्री प्रयोग गरेर घर बनाइन्थ्यो । घर बनाउनका लागि विभिन्न भागमा घरको आकार अनुसार खाँबाहरू ठड्याउनुपथ्र्यो ।
खाँबा अड्याउनका लागि जमिनमुनि गहिरो पारेर गाड्ने र ठड्याउने काम गरिन्थ्यो । हो, यसरी खाँबा अड्याउन जमिनमा गहिलो खाल्डो पार्नका लागि नै यो सामग्रीको आवश्यकता पर्छ । हिजोआज पनि गाउँमा घर बनाउँदा होस् वा अन्य कामका लागि खाल्डो खन्न यो अनिवार्य सामग्री हो । गत वैशाख 
१२ को भूकम्पपछि धेरै घर क्षति भएकाले स–सानो टहरा बनाउनका लागि पनि यो सामग्रीको प्रयोग निकै भयो नि । गाउँघरमा बस्ने भाइबहिनीले यो सामग्री त देख्नु पनि भएको छ । तर नदेख्ने भाइबहिनीहरूले चित्रमा हेर्नुहोला । यो फलामबाट बनेको सामग्री हो । लामो र गोलाकार हुन्छ । खन्ने भाग भने चेप्टो तर चुच्चो हुन्छ । जसले सारो भूभाग समेत खन्न सजिलो होस् भनेर चेप्टो र चुच्चो बनाइएको हो । यो मानिसले चलाउँछन् । आवश्यकताअनुसार यसको आकार सानो ठूलो हुन्छ ।

प्रकाशित : चैत्र ७, २०७२ ११:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT