कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरी क्रिसमस

सजना बराल

आज क्रिसमस डे। हरेक वर्ष डिसेम्बर २५ का दिन इसाई धर्मावलम्बीको यो प्रमुख चाड पर्छ।

मेरी क्रिसमस

हिन्दुले दसैं–तिहार, कृष्णाष्टमी, रामनवमी तीज आदि मनाएजस्तै क्रिस्चियनले क्रिसमस मनाउँछन्। मुसलमानहरूको ठूलो पर्व इद हो। बौद्धमार्गी बुद्ध जयन्तीलाई विशेष मान्छन्। सबै जातजाति वा धर्मावलम्बीको आ–आफ्नै चाडबाड हुन्छन्। 

त्यसो त आजकल इसाई समुदायकाले मात्र नभई अन्यले पनि आ–आफ्नै तरिकाले क्रिसमस मनाउन थालेका छन्। साथीभाइसँग भेटघाट र नाचगान गर्ने वा रेस्टुरेन्टहरूमा स–परिवार खाना खान गएर पनि यो पर्व मान्न थालिएको छ। सपिङ सेन्टरहरूमा राखिएका एक्समस ट्री वरिपरि झुम्मिनेको संख्या निकै हुन्छ। राजधानीको दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर वा विश्वज्योति मलतिर गएका बेला तिमीहरूमध्ये कतिले एक्समस ट्री छेउ उभिएर फोटो खिच्यौ होला। राजधानी बाहिर पनि मुख्य सहरमा पुग्नेहरूले त्यसै गर्‍यौ होला। 
कतिपय केटाकेटीले चाहिँ अहिले बजारमा पाइने सान्टा क्लस लुगा किनिमाग्न थालेछन्। सान्टाले लगाउने रातो, झुम्के टोपी त फेसन नै बनिसकेको छ। क्रिसमसका दिन थुप्रै युवायुवतीले टोपी लगाउने गरेका छन्। भर्खर एलकेजीमा पढ्ने छोरा, सूर्यांशुले समेत सान्टा टोपी किनिमागेपछि उनकी ममी, सुशीला अधिकारीले छोराका लागि एक सेट सान्टा क्लस लुगा नै खरिद गर्नुभएछ। ‘रहर गरिहाल्यो, किन्दिएँ,’ हिन्दु अनुयायी सुशीलाले भन्नुभयो, ‘त्यही लुगा लगाएर फोटो 
खिचिदिएकी छु। ऊ दङ्ग छ।’ यसरी एक–अर्काको चाडपर्वमा सरिक हुनु आफ्ना लागि मात्रै नभएर देशका लागि समेत गजबको कुरा हो। यसले धार्मिक सहिष्णुता कायम राख्न मद्दत गर्छ। कतिपय देशमा जात र धर्मकै कारण जनताबीच मनमुटाव र हिंसा भइरहेको हुन्छ। उनीहरूका लागि हाम्रो जातीय र धार्मिक एकता उदाहरण बन्न सक्छ। 
बाँकी पढ्न पृष्ठ ‘ख’ पल्टाऊ
ज्ञानोदय रेसिडेन्सियल स्कुलको कक्षा ७ मा पढ्ने दीक्षिता कार्कीलाई पनि क्रिसमस निकै रमाइलो लाग्छ। यो दिन बाबा–ममीले उनलाई केही न केही उपहार दिनुहुन्छ। होस्टल बसेर पढ्ने उनले बाबालाई शनिबार नै लिन बोलाएकी थिइन्। ‘उसलाई गीत गाउन खूब मन पर्छ,’ दीक्षिताका बाबा चेतन कार्कीले भन्नुभयो, ‘चर्चको ग्रुपमा गाउन खोज्दै थिइन्। तर, होस्टल बस्ने भएकाले त्यो सम्भव भएन।’ 
दीक्षिताका अभिभावकले उनलाई यसपालि आइप्याड उपहार दिने योजना बनाउनुभएको छ। अघिल्लो क्रिसमसमा उनले भिडियो गेम हात पारेकी थिइन्। चेतनले प्राय: छोरीकै इच्छाअनुसार उपहार किनिदिने गरेको बताउनुभयो। इमाडोलकी १४ वर्षीया प्रिस्पा र १२ वर्षका प्याट्रिक धिताल पनि प्रत्येक क्रिसमसमा उपहार पाउँछन्। उनीहरूलाई सान्टा क्लसले बाबा–ममीका तर्फबाट उपहार दिनुहुन्छ। सान्टा क्लससँग केटाकेटीलाई दिने उपहारको पोको नै हुन्छ। 
‘यसपालि बाबु–नानीले गिटार, एम्लिफायर के–के हो के–के मागेका छन्,’ प्रिस्पा र प्याट्रिककी ममी, प्रिया धितालले भन्नुभयो, ‘आश गरेर बसेका छन्। किन्दिनै पर्‍यो।’ सेन्ट जेभियर्स स्कुलमा पढ्ने उनीहरूले विद्यालयले शुक्रबार आयोजना गरेको क्रिसमस कार्यक्रममा क्यारोल गाएका थिए। क्रिसमस डेमा प्याट्रिकले जिसस क्राइस्टको जन्म कथालाई नाटकमा उतार्ने भएका छन्। कक्षा ८ मा पढ्ने प्रिस्पा नृत्य देखाउँदै छिन्। 
ललि
भक्तपुरका १३ वर्षे दिपेन उप्रेती यो वर्ष घरछेउको चर्चमा गएर क्रिसमसको रमिता हेर्ने मुडमा छन्। यसबाट पक्कै केही न केही नयाँ जानकारी प्राप्त हुनेछ उनले अपेक्षा गरेका छन्। फरक संस्कृति र चालचलनबारे थाहा पाइराख्नु राम्रो कुरा पनि हो। 
‘मेरो एउटा साथी क्रिस्चियन हो,’ सूर्यविनायक इंग्लिस सेकेन्डरी स्कुलका छात्र, दिपेनले भने, ‘उसले मलाई पनि बोलाएको छ। मैले ममीलाई सोधेको, जाऊ भन्नुभयो।’ चर्चमा नाचगान हुन्छ भन्ने थाहा पाएदेखि नै आफूलाई त्यहाँको माहोल नियाल्न मन लागेको उनले बताए। हिन्दु परिवारमा हुर्किएका दिपेनलाई क्रिसमस ठयाक्कै के हो र कसरी मनाइन्छ भन्ने उति साह्रो जानकारी छैन। उनले भने, ‘हाम्रो दसैंजस्तै हो रे। मलाई दसैंमा पिङ खेल्न, घुम्न जान र फुटसल खेल्न मन पर्छ। क्रिसमसमा चाहिँ गीत गाउन पाइन्छ रे।’
ललि
स्मिर्ण चर्चका सदस्य आमोस विष्ट महिना दिन अघिदेखि नै क्रिसमसको तयारीमा व्यस्त भए। बेलुका स्कुलबाट फर्किनेबित्तिकै उनी धापासीस्थित चर्च पुगिहाल्थे। आफ्नै बुबा पास्टर रहेको चर्चमा उनले साँझ ९/१० बजेसम्म क्रिसमसमा प्रस्तुत गरिने नाटक र गीतहरूको पूर्वाभ्यास गरेका छन्। ‘म जुनियर टिमको लिड गिटारिस्ट हुँ नि,’ सिद्धार्थ वनस्थली स्कुलमा पढ्ने १६ वर्षे आमोसले भने, ‘हामी यसपालि थुप्रै गीत सुनाउँदै छौं।’ अरू बेला पनि चर्चमा सांस्कृतिक प्रस्तुति दिने गरेका उनी र उनको समूह क्रिसमस आउँदा ज्यादै उत्साहित छ। यो दिन राम्रो प्रस्तुति दिनेलाई पुरस्कृत गरिने भएकाले उनीहरू मिहिनेतसाथ अभ्यास गर्छन्। वर्षमा एकचोटि आउने चाड भएकाले क्रिसमसका दिन चर्चको माहोल नै भिन्न हुने उनले बताए। ‘चर्चका सदस्यले आफन्तहरूलाई पनि ल्याउनुहुन्छ,’ उनले भने, ‘धेरैजना मिलेर कार्यक्रम गर्दा मज्जा आउँछ।’
ललि
क्रिसमस इभको दिनसम्मै विद्यालयमा परीक्षा भएकाले साउथ प्वाइन्ट बोर्डिङ स्कुलका १२ वर्षे पिटर ग्रेस चौधरी भने यसपालि खासै उत्साही भएनन्। बागबजारमा रहेको चर्च अफ क्राइस्टको जुनियर टिमले आइतबार देखाउन लागेको नाटकमा भाग लिन खोजे पनि जाँचका कारण नाटक छोड्नुपरेपछि उनी दु:खी भएको पिटरकी दिदी साराले बताइन्। ‘आज रिसाउँदै स्कुल गएको छ,’ बिहीबार कोपिलासँगको कुराकानीमा साराले भनिन्, ‘शनिबार जाँच दिएर आएपछि रमाइलो गर्छु भन्दै थियो।’ 
साराले भाइलाई जुत्ता उपहार दिएर खुसी पार्ने योजना बनाएकी छन्। आफू पनि काममा व्यस्त भएको र भाइको जाँच परेकाले क्रिसमसको गतिलो तयारी गर्न नपाएको उनले बताइन्। ‘घर सजाउने विचार छ,’ शंखमूल बस्ने साराले भनिन्, ‘दिदी–भाइ मिलेर एक्समस ट्री डेकोरेट गर्नुपर्ला।’ क्यारोल ग्रुपको स्वागत–सत्कारमा पनि आफूहरू नै लागिपर्ने उनले बताइन्।

प्रकाशित : पुस १०, २०७३ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?