क्रिसमस कथा: उपहार

रोजा सरल र ज्ञानी नानी हुन्। उनी पोखराको घान्दु्रक गाउँमा आफ्नी बजैसँग बस्छिन्। बज्यैले च्यांग्राको रौंबाट न्यानो मोजा, टोपी पन्जा बनाउनुहुन्छ।

रोजा सरल र ज्ञानी नानी हुन्। उनी पोखराको घान्दु्रक गाउँमा आफ्नी बजैसँग बस्छिन्। बज्यैले च्यांग्राको रौंबाट न्यानो मोजा, टोपी पन्जा बनाउनुहुन्छ। रोजाले पनि बज्यैलाई घाममा ऊन सुकाउन, धागो बेर्न र टोपी, पन्जा बुन्न सघाउँछिन्। रोजाकी आमा उनी सानैछदाँ बितिन्। रोजालाई उनको याद आइराख्छ। उनलाई अमेरिकाबाट आएकी स्वयंसेविका सुजन गुरुआमाले अंग्रेजी पढाउनुहुन्छ। रोजा ३ कक्षामा पढ्छिन्। सधैं स्कुल छट्टी भएपछि सुजन गुरुआमालाई कक्षाकोठा सफा गर्न, किताब कापी मिलाएर राख्न सघाउँछिन्। ‘मैले आज सपनामा आमालाई देखेकी थिएँ,’ काम सघाउँदै रोजाले आफ्नी आमाको कुरा सधैं सुजन गुरुआमासँग गर्छिन्।

‘अब क्रिसमस आउन कति दिन बाँकी रहेछ?’ गएको साता रोजाले बिहान भित्तेपात्रो पल्टाउँदै दिन गनिन्। विद्यालय छुट्टी हुन साथ दौडँदै घर गइन्। स्कुलपछि गुरुआमालाई सघाइनन्। गुरुआमा छक्क परेर रोजाको पछिपछि दौडँदै घरतिर लागेको हेरिरनुभयो।
‘तिमी हिजोआज मलाई सघाउन किन बस्दिनौ, रोजा?’ गुरुआमाले बाटो छेकेरै सोध्नुभयो। जबाफमा रोजाले भनिन्, ‘म क्रिसमसको उपहार बनाउन व्यस्त छु।’
क्रिसमसको दिन पुस १० गते बिहान घरको आँगनमा रोजालाई देखेर गुरुआमा छक्क पर्नुभयो। ‘भित्र आऊ रोजा। बाहिर धेरै चिसो छ। तिमीलाई देखेर धेरै खुसी लाग्यो।’ रोजाले हत्तपत्त हातको सानो बाकस गुरुआमालाई दिँदै एकै सासमा ‘मेरी क्रिसमस’ भनिन्। ‘म हजुरलाई क्रिसमस उपहार दिन आएकी हुँ, हजुरले मन पराउनुहुन्छ कि?’ रोजाले सानो बाकस दिँदै गुरुआमालाई भनिन्। गुरुआमाले जतनसाथ विस्तारै बाकस खोल्नुभयो, ‘आहा, कति राम्रो न्यानो पन्जा, धन्यवाद’ भन्दै गुरुआमाले रोजाको निधारमा म्वाई खानुभो। सोध्नुभयो, ‘यो तिमीले बुनेकी हौ?’
‘हो, म र बजै मिलेर’ रोजाले मुसुक्क हाँस्दै भनिन्। ‘ए, पख पख’ भन्दै गुरुआमा कोठाभित्र पसेर हातमा रातो टिलिक्क टल्कने कागजमा बेरेको उपहार ल्याउनुभयो। अनि ‘मेरी क्रिसमस’ भन्दै रोजालाई दिनुभयो।
रोजाले सोधिन्, ‘यहाँ के छ गुरुमा?
‘माया छ, माया’ गुरुआमाले बिस्तारै भनिन्।
बज्यैले पर्खिरहनुभएको होला, म घरै गएर खोल्छु हैभन्दै रोजा दगुर्दै घरतिर लागिन्।

- रोमा प्रधान

प्रकाशित : पुस १०, २०७३ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?