२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

किताब घर

अनन्त वाग्ले

हाम्रा रुचि फरकफरक हुन्छन् । कसैलाई विज्ञानका कुरामा चाख हुन्छ । कसैलाई संगीत, कलामा । कसैलाई साहित्यमा । जुन विधामा रुचि भए पनि त्यसबारे धेरैभन्दा धेरै जानकारी चाहिन्छ । यसका लागि पढाइ पहिलो स्रोत हो । अनि पढाइको माध्यम हो किताब । हामीले चाहेका सबै किताब हामीसँग हुँदैनन् । यसका लागि पुस्तकालय हाम्रो भरपर्दो साथी हुन सक्छ ।

किताब घर

पुस्तकालय भनेको किताब घर (पुस्तक–आलय) हो । अर्थात् पुस्तक संग्रह गर्ने घर । तर पुस्तकालयमा पुस्तक थुपार्ने काम मात्र हुँदैन । यहाँ पढ्ने सुविधा हुन्छ । पुस्तक लान पनि सकिन्छ । यहाँ पुस्तकको संरक्षण गरिन्छ । मिलाएर राखिन्छ । पुस्तक मात्र होइन पत्रिका, पाण्डुलिपि र पढाइलाई सघाउने विभिन्न श्रव्यदृश्य सामग्री पनि यहाँ पाइन्छन् ।
बालबालिकाका लागि विद्यालयमा सबै विषयका किताब पढाइन्छ । तर कोर्सका किताब मात्र पर्याप्त हुँदैनन् । त्यसैले हामीले कोर्सबाहिरका किताब धेरैभन्दा धेरै पढ्नु जरुरी छ । यसले हामीमा सिर्जनशीलता विकास हुन्छ । भाषाको ज्ञान बढ्छ । खोजी तथा अनुसन्धान कला सिकिन्छ । विभिन्न सीप जानिन्छ । अभिव्यक्ति कलामा परिष्कार आउँछ । कोर्सको पढाइमा टेवा पुग्छ । सानैदेखि पढ्ने बानी बसाल्दा ठूलो कक्षाका साथै आफ्नो करिअरमा पनि राम्रो गर्न सक्छौं ।
पुस्तकालय हाम्रो अभिन्न साथी हो । पुस्तकालयमा हामी हाम्रो रुचिअनुसारका पुस्तक तथा श्रव्यदृश्य सामग्री पाउन सक्छौं । यसले हामीलाई हाम्रो क्षेत्रमा सफल हुन सघाउँछ । हामी आफ्नै स्कुलको पुस्तकालयबाट पनि विभिन्न किताब पढ्न सक्छौं । स्कुलमा पुस्तकालय छैन भने हामी किताब संग्रह गरेर पुस्तकालय खोल्न पनि सक्छौं ।
सहर तथा गाउँमा पनि कुनै ठाउँमा सार्वजनिक पुस्तकालय पनि हुन्छन् । बिहान–बेलुका वा बिदाको समयमा हामी यस्ता पुस्तकालयमा पनि जान सक्छौं । राम्रा पुस्तकालयमा बेग्लै बाल शाखा या चिल्ड्रेन कर्नर पनि बनाइएको हुन्छ । ललितपुरको पुल्चोकमा नेपाल राष्ट्रिय पुस्तकालय छ । ९५ हजारभन्दा बढी पुस्तक रहेको यो पुस्तकालय ६० वर्षअघि स्थापना भएको हो । सुरुमा राजगुरु हेमराज पाण्डेको निजी पुस्तकालय किनेर राष्ट्रिय पुस्तकालयको सुरु गरिएको थियो । राष्ट्रिय पुस्तकालयमा २२ वर्षअघिदेखि बाल शाखा पनि सञ्चालनमा छ । यहाँ ९ हजार ५ सय बालपुस्तक छन् । तर २०७२ वैशाख १२ को भूकम्पले पुस्तकालय भवन भत्किएपछि धेरै किताब पुरिएका छन् । भएका किताब पनि बिग्रिएका छन् । भूकम्पपछि बेग्लै बाल शाखा चलाउन नसकिएको पुस्तकालय अधिकृत प्रेमराज अधिकारी बताउँछन् ।
काठमाडौंको भृकुटीमण्डपमा रहेको काठमाडौं सार्वजनिक पुस्तकालयमा पनि चिल्ड्रेन कर्नरको व्यवस्था छ । २ हजारभन्दा बढी बालपुस्तक रहेको यस पुस्तकालयको सदस्य बनेपछि १५ दिनमा ४ वटा पुस्तक घरमै लगेर पढ्न पाइन्छ । पुस्तकालयमा पनि पढ्न सकिन्छ । यहाँ हरेक शनिबार कथा वाचन पनि गरिन्थ्यो । भूकम्पपछि यहाँको कथा वाचन पनि रोकिएको पुस्तकालय व्यवस्थापक जुजुभाइ डंगोलले बताए ।
काठमाडौंको लैनचौरमा नेपाल–जापान बाल पुस्तकालय रहेको छ । यहाँ १० हजार बालपुस्तक छन् । जापानको जोहो रोरेन कम्पनीको सहयोगमा यसको स्थापना भएको हो । यो कम्पनी २ लाख ७० हजारभन्दा बढी सदस्य भएको औद्योगिक युनियन हो । ओसाका अन्तर्राष्ट्रिय क्लब तथा काठमाडौं महानगरपालिकाले पनि यसको सञ्चालनमा सहयोग पुर्‍याउँदै आएका छन् । नेपाल–जापान बाल पुस्तकालयमा हरेक हप्ता कथावाचन, चित्रकला लगायत विभिन्न बाल प्रतियोगिताहरू पनि आयोजना गरिन्छ । यसैगरी पाल्पाको तानसेनमा पढ्ने दलान हुँदै विकास भएको धवल पुस्तकालयमा पनि सञ्चारकर्मी एवं लेखक विनय कसजूको सक्रियतामा बाल शाखा स्थापित छ । देशका विभिन्न भागमा रहेका सार्वजनिक पुस्तकालयहरूमा पनि बालबालिकाका लागि बेग्लै कक्ष स्थापना हुनु आवश्यक छ ।
पहिले पहिले मठमन्दिर, गुम्बा तथा विहारहरूमा धार्मिक तथा आध्यात्मिक अध्ययनका लागि पुस्तकालय चलाइन्थ्यो । विस्तारै टोलबस्ती, विद्यालय तथा ठूला कम्पनी तथा कार्यालयहरूमा पनि पुस्तकालय राख्न थालियो । यसबाट पुस्तकालय मानिसको ज्ञान, सीप तथा सूचना प्रवाहको अभिन्न अंगका रूपमा स्थापित भएको छ । जुन देश जति धनी छ, त्यहाँ त्यति नै धेरै पुस्तकालयको विकास भएको पाइन्छ । त्यसैले पुस्तकालय मानव सभ्यता, कला संस्कृति एवं विज्ञान प्रविधिको आधार पनि हो ।
हामीले पनि आफूलाई मन परेका किताब संग्रह गर्ने बानी बसाल्नुपर्छ । यसरी पुस्तक जम्मा गर्दै जाँदा केही वर्षमा हामी आफैं आफ्नो घर, कोठामा निजी पुस्तकालय स्थापन गर्न सक्छौं । यसबाट हामीलाई जुनसुकै बेला मन परेका अध्ययन सामग्रीको आनन्द लिन सहज हुन्छ । वास्तवमा पुस्तक पढ्नुको बेग्लै रमाइलो छ । हरेक सफल र असल मानिस कुनै न कुनै तरिकाले पुस्तकको प्रेममा परेका हुन्छन् । हामी पनि पुस्तकमा रमाउन, पुस्तकालय धाउन र पुस्तकालयको विकास गर्न आफैं लागि परौं ।

प्रकाशित : फाल्गुन १५, २०७३ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?