कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पौडीवाज राशिका

नरेन्द्र रौले

राशिका पौडयालको स्वभाव अचम्मको छ । उनलाई पानी ‘आफन्त’ र ‘साथी’ जस्तो लाग्छ । तीन कक्षा पढ्दाखेरी नै पौडी भनेपछि हुरुक्क हुने उनी पौडी सिक्नकै लागि राजधानीका फरक–फरक ठाउँ पुग्थिन् । स्कुल छुट्टी भयो कि स्पा र स्विमिङ पुलको सुविधा हुने ठाउँतिर दौडिन्थिन् ।

पौडीवाज राशिका

पाठशाला नेपाल फाउन्डेसनमा कक्षा १० मा अध्ययनरत तिनै राशिका यतिबेला पौडीका क्षेत्रमा बेग्लै पहिचान बनाइसकेकी छन् । पौडी सम्बन्धीका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरूमा उनले हात पारेको सफलता लोभ लाग्दो छ । उनले झन्डै एक सयभन्दा बढी मेडल पाइसकेकी छन् ।
सातौं राष्ट्रिय खेलकुद–२०७२ मा मध्यमाञ्चलबाट भाग लिएकी राशिकाले १६ वर्ष पुरानो कीर्तिमान तोडेकी छन् । चार सय मिटरको स्विमिङ दौड सबैभन्दा छोटो समयमा पार गरेकी उनले गोल्ड मेडलसहित नगद १५ हजार रुपैयाँ हात पार्न सफल भइन् । राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उनले अहिलेसम्म २ वटा स्वर्ण, २ वटा रजत, ३ वटा कास्य हात पारिसकेकी छन् । त्यस्तै नेपाल ओलिम्पक कमिटीले ‘ओलम्पिक डे २०१५’ मा आयोजना गरेको प्रतियोगितामा ४ वटा स्वर्ण, ७ वटा रजत, एक कास्य जितेकी छन् । पौडी प्रशिक्षक रवीन्द्र पौडयाल उनका बुबा नै प्रेरणाका स्रोत हुन् ।
राजधानीको रोजबड स्कुल पढ्दै गर्दा तेस्रो माछापुच्छ्रे स्विमिङ च्याम्पियन राष्ट्रव्यापी प्रतियोगितामा दुइटा मेडल हात पारेपछि राशिकामा हौसला थपियो । त्यसपछि पौडीका कुनै प्रतिस्पर्धा उनले छुटाइनन् । र, भाग लिए जति कुनैमा हार पनि खानुपरेन । ‘स्विमिङमै मेरो रहर छ,’ उनले भनिन्, ‘ओलम्पिकमा जाने सपना छ ।’ कोर्सको पढाइका अतिरिक्त उपन्यास पढ्न रुचाउने उनी चलचित्रमा पनि उत्तिकै रुचि राख्छिन् । प्रेम कथामा आधारित ‘द फल्ट इन आवर स्टार्स’ उनको प्रिय पुस्तक हो । उनमा घुम्न पनि उत्तिकै रहर छ ।

प्रकाशित : चैत्र ६, २०७३ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?