खितिती.... खितिती....

गाउँले ग्राहक : साहुजी ! यहाँ खाने कुरा कसरी छ ?

साहुजी : तातो खाए पाँच रुपैयाँ, चिसो खाए दस रुपैयाँ ।
ग्राहक : त्यसो भए तातै खाऊँ ।
साहुजी : ए केटा ! उहाँलाई एक कप चिया दे ।
(ग्राहक चिया छिटो छिटो खान थाल्छ ।)
साहुजी : हैन, त्यस्तो तातो चिया किन त्यति छिटो खाएको ? बिस्तारै खाए भइहाल्छ नि !
ग्राहक : अँ, साहुजी बाठा छौ, सेलाएर खाएपछि दस रुपैयाँ लिने सुर कस्छौ ?
०००

(एउटा जँडयाहाले राति इनारभित्र चियाउँदा त्यहाँ जूनको छाया देखेछ ।)
ल, इनारभित्र कसले जून हाल्यो भनेर उसले जून झिक्न नजिकै रहेको काँटा इनारभित्र खसालेछ । काँटा इनारभित्रको कुनै इँट्टामा गएर अड्किएछ । जोडले तान्दा डोरी चुँडिएछ । जँड्याहा पछारिएछ ।
यसरी पछारिँदा उसले आकाशमा जून देखेछ । ‘आफू पछारिए पनि मैले इनारको जून झिकिछाडेँ’ भन्दै ऊ घरतिर लागेछ ।

प्रकाशित : चैत्र ६, २०७३ १०:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आफैं बनाऔं खेलौना

प्रदीप मेन्याङ्बो

काठमाडौं — आफूले खेल्ने खेलौना आफैं बनाउने । त्यो पनि रिमोट कन्ट्रोले चल्ने । गाउँका बालबालिकाले यस्तो गर्न सक्लान् त ? सुनसरीको भरौलस्थित कालाबन्जारका बालबालिका यसमा सफल भए । त्यो पनि प्रयोगविहीन कागजका कार्टुन, साना ब्याट्री, सिरिन्ज, तामाको तार, अरूले फालेका रिमोट कन्ट्रोल, प्लास्टिक, पाइप र काठका टुक्राको भरमा ।

उनीहरूले बनाएको रोबोट शैलीका खेलौना देखेर शिक्षक र अभिभावकहरूसमेत चकित छन् । 

कालाबन्जारको सिद्धार्थ मेमोरियल स्कुलमा ५ कक्षा अध्ययनरत १२ वर्षीय सन्देश बस्नेतले युटयुबमा हेरेर खेलौना ट्रक बनाए । ‘मलाई खेलौना किन्न पर्दैन । जस्तो मन लाग्छ आफैं बनाएर चलाउँछु’ उनले भने । यस्ता खेलौना बनाउनुअघि उनी आफ्नो बाबुको ल्यापटप खोलेर युटयुबमा सर्च गर्छन् र बनाउने तरिका सिक्छन् । भविष्यमा वैज्ञानिक इन्जिनियर हुने सपना लिएका उनले भने, ‘मजस्तै अरु साथीहरू पनि आफ्नो खेलौना आफंै बनाउन सक्छन् ।’ उनका साथीहरू ११ वर्षीय सगम बस्नेतले रिमोटले चल्ने कार बनाएका छन् । उनी कक्षा चारमा पढ्छन् । १० वर्ष अर्का बालक प्रतीक नेपालीले मरुभूमिका कुद्ने डेजर्ट सफार कारको नमुना बनाएका छन् । कक्षा ६ मा पढ्ने उनीहरूकै दौंतरी सुमित साहले खेलौना हेलिकोप्टर बनाएका छन् । साहले भने, ‘अलि पावरफुल मोटर फेला नपरेकाले उड्ने हेलिकोप्टर बनाउन सकिएन ।’ 
एउटै गाउँका बालबालिकामध्ये ७ कक्षामा अध्ययरत १४ वर्षीय अविरल थापाले ९ भोल्टको सानो ब्याट्री प्रयोग गरेर खेलौना रेल बनाए । उनको रेल तारको लिकमाथि कुद्छ । ‘यो रेलको चक्का मैले छिमेकी अंकलको फर्निचर हाउसमा गएर बनाएको हो,’ उनले भने, ‘बाँकी गाउँघरमा पाइने सामान्य कार्टुन, तार र अरुले फयाँकेका रिमोट कन्ट्रोललाई उपयोग गरेको छु ।’
सुदीप सुवेदी, सुदन बुढाथोकी र पारस साह मिलेर फोहोर सफा गर्ने भ्याकुम क्लिनर बनाएका छन् । ६ सय ५० मिलिलिटरको सिसाको बोतल, फालिएको मोटर–ब्याट्री, जीआई पाइप, प्लास्टिक, गम आदि प्रयोग गरेर भ्याकुम क्लिनर बनाएको उनीहरूले बताए । रोहन साहले सिटी सफारी, छुनासाथ साइरन बज्ने उपकरण र पानीमा चल्ने सानो बोट बनाएका छन् । सुदन साहले आर्मी टयांक बनाएर खेलाउने गरेको बताए । 
वायरलेस रिमोट कन्ट्रोल बनाउन एन्टेना खोजेको तर नपाएको उनीहरू बताउँछन् । रोहनले भने, ‘अब त्यो एन्टिना पनि आफैं बनाउने सोचिरहेका छौं । सकिन्छ होला ।’ कालाबन्जारका शिक्षक प्रकाश दिप्सालीले यी बालबालिकाको प्रयास एकदमै सराहनीय भएको बताए । ‘विज्ञान र प्रविधिप्रति उनीहरूको आकर्षण कति छ भन्ने यसले देखाउँछ,’ उनले भने । सिद्धार्थ मेमोरियल स्कुलका प्रिन्सिपल कृष्ण तामाङले पनि सहरका बालबालिकालाई बजारमा पाइने महँगा खेलौना किन्न बानी परेकाले परनिर्भता बढेको बताए । ‘यस्ता स–साना बालबालिकाको सीप, कला र रुचिलाई सघाउन सकियो भने उनीहरूले भविष्यमा ठूलो योगदान गर्न सक्नेछन्,’ उनले भने । 

 

प्रकाशित : चैत्र ६, २०७३ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT