नयाँ कक्षा

गणेश राई

आहा नयाँ कक्षा । नयाँ साथीहरू । कति नयाँ सर अनि म्यामहरू । सबैले माया गर्ने । कत्ति रमाइलो १ नयाँ कक्षामा पुग्दा बेग्लै रमाइलो । नयाँ ड्रेसमा सजिन पाइने । झोला पनि नयाँ । त्यसभित्रका किताब–कापी सबै नयाँ । खाजा पनि नयाँ टिफिन बक्समै । मनै त्यसै त्यसै फुरुङ्ग ।

बाबाले राम्रो पढ्नुपर्छ छोरी भन्नुहुन्छ । आमाले ज्ञानी बन्नुपर्छ छोरा भन्नुहुन्छ । सर, म्यामले पनि कत्ति ज्ञानी छौ भन्नुहुन्छ । नयाँ साथीसित भेट भएको छ । सर, म्यामसँग कसरी बोल्ने होला ? साथीहरूसँग के भनेर खेल्न होला ? मनमनै अनेक कुरा लागिरहन्छ । नयाँ ठाउँमा सबैलाई यस्तै लाग्छ नि ।
यस्तै साथी हुन्, रिजिमो र रितुम राई । यी दिदी–बहिनी जुम्ल्याहा हुन् । कक्षा १ मा पढ्ने तयारीमा छन् । उनको बुवा–आमाले यसैपालिदेखि गोदावरीको सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिनुभएको छ । वैशाखदेखि नयाँ स्कुल जानुछ । नयाँ ड्रेस त अहिल्यै तयार भइसकेको छ । ‘खुसी लागेको छ,’ रिजिमो भन्छिन् । नयाँ कक्षामा पुग्ने भनेको नयाँ कुरा सिक्नका लागि हो । कक्षा बढ्दै जाँदा ज्ञानको दायरा पनि फराकिलो हुन्छ । नयाँ साथीहरूसित चिनाजानी हुन्छ । नयाँनयाँ बानीव्यहोरा पनि सिकिन्छ । फरक फरक स्वभावका व्यक्तिहरूसित कसरी सम्बन्ध राख्ने भन्ने थाहा हुन्छ ।
जीवनमा सिक्नुपर्ने कुरा धेरै छन् । कति कुराहरू पढेर जानिन्छ । कति कुराहरू अनुभवबाट जानिन्छ । सुरुमा थोरै कुरा मात्र सिकिन्छ । कक्षा बढ्दै जाँदा नयाँनयाँ जानकारी थपिन्छ । सरलबाट जटिल कुराहरू सिक्दै जानुपर्छ । एकैचोटि सबै जानिँदैन । त्यसैले दोहोर्‍याएर पढ्नुपर्छ । बिहान उठ्नेबित्तिकै शरीर र मस्तिष्क दुवै थाकेको हुँदैन । यस्तो बेलोअप्ठ्यारो लागेको पाठ पढ्नु राम्रो हुन्छ । दिउँसो स्कुल गइन्छ । कक्षामा सर, मिसले पढाउनुहुन्छ । साथीसित खेलिन्छ । हिँडिन्छ । बोलिन्छ । त्यसैले थकाइ लाग्छ । साँझ थकाइ लागेको बेला सजिलो लाग्ने पाठ पढ्नुपर्छ । होमवर्क गर्नुपर्छ ।
पढ्ने दुई तरिका छन् । कोही मन मनै पढ्छन् । कोहीचाहिँ आवाज निकालेर पढ्छन् । यसरी नै पढ्नुपर्छ भन्ने कुनै नियम छैन । आ–आफ्नो स्वभावमा भर पर्छ । जसो गर्दा आफूलाई सहज हुन्छ त्यसरी नै पढ्न सकिन्छ । तर जसरी पढे पनि बुझेर पढ्नुपर्छ । शुद्धसँग पढिएको छ/छैन भन्ने हेक्का राख्नुपर्छ । अभिभावक वा आफूभन्दा जान्नेको अगाडि आवाज निकालेर पढ्नुको चाहिँ थप फाइदा पनि हुन सक्छ । कुनै गल्ती भयो भने पनि उहाँहरूले सच्याइदिन सक्नुहुन्छ । केही विद्यार्थीको बानी लेखेर सम्झने हुन्छ । पढेको भन्दा लेखेको कुरा अझ राम्ररी मस्तिष्कमा बस्न सक्छ । लेखेर पढ्नुको अर्को फाइदा पनि छ । यसो गर्दा अक्षर राम्रा हुन्छन् । सफा, शुद्ध र राम्रा अक्षर लेख्नेलाई सबैले चिन्छन् ।
अक्षर विद्यार्थीको व्यक्तिगत सम्पत्ति सरह हो । त्यसैले माथिल्लो कक्षामा चढ्दै जाँदा अक्षरहरू अझ राम्रा र परिष्कृत हुँदै जानुपर्छ । त्यसका लागि शैक्षिक सत्रको सुरुदेखि नै मिहिनेत गर्‍यौ भने कुनै गाह्रो हुन्न ।
तिमीहरू स्कुल पुगेलगत्तै कस्तो साथी बनाउने र कोसित बस्ने भनेर कहिलेकाहीं अलमलमा पर्न पनि सक्छौ । शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइरालाका अनुसार तिमीजस्तै स–साना केटाकेटीहरूमा साथी चिन्ने क्षमता हुन्छ । तिम्रो जस्तै तिम्रा हरेक साथीको आनीबानी र चालचलन फरक फरक हुन्छ । कतिपय साथी जसलाई पनि साथी बनाइहाल्ने स्वभावका हुन्छन् । उनीहरू जोसुकैसँग मिल्न सक्छन् । अर्कोथरी साथी अलिकति टाढा बस्ने हुन्छन् । त्यस्तालाई भोकल केटाकेटी भनिन्छ । अरूमार्फत आफू परिचित हुने । जस्तो साथी भए पनि सबैसँग मिलजुल गर्नुपर्छ । कसैको पनि खिसिटेउरी गर्नुहुन्न । आफूसँग मन मिल्ने साथीसँग बस्न, खेल्न, खान र पढ्न सकिन्छ । तर कसैलाई पनि होच्याउने, मन दुखाउनेचाहिँ गर्नु हुँदैन । तिमीलाई नयाँ साथीसित घुलमिल हुन समय लाग्न सक्छ । छिट्टै घुलमिल हुन संवाद महत्त्वपूर्ण हुन्छ । संवाद भनेको कुराकानी हो । साथीका कुरा सोध्ने र आफ्ना कुरा साथीलाई भन्ने बानीले ऊसित नजिक भइन्छ । यो तरिका स्कुलमा मात्र नभई घर परिबारमा पनि उत्तिकै काम लाग्छ ।

प्रकाशित : चैत्र २७, २०७३ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्

स्याउ खस्दा...

रुखको स्याउ बोटबाट चुडिएपछि माथि नउडेर किन तल झर्‍यो ? यही प्रश्नको उत्तर खोज्दै जाँदा उनले वस्तुलाई आफूतिर तान्ने गुरुत्त्वाकर्षणको शक्ति पृथ्वीमा भएको पत्ता लगाएको मानिन्छ ।

सन् १६४३ को ४ जनवरीमा बेलायतको विलस्थ्रोपमा जन्मिएका आइज्याक न्युटन १७ औं शताब्दीको वैज्ञानिक क्रान्तिका सबभन्दा महान् वैज्ञानिक मानिन्छन् । पृथ्वीको गुरुत्त्वाकर्षण शक्तिबारे व्याख्या गर्ने न्युटनको जन्ममितिबारे विवाद भने छ । कतिले उनको जन्म २५ डिसेम्बर १६४२ मा भएको पनि बताउने गरेका छन् । भौतिकशास्त्री र गणितज्ञ न्युटनको मृत्यु मार्च ३१, १७२७ मा लन्डनमा भएको थियो । उनको सबभन्दा प्रसिद्ध किताब ‘म्याथम्याटिकल प्रिन्सिपल अफ नेचुरल फिलसफी १६८७ मा प्रकाशित भएको थियो । महान् वैज्ञानिक न्युटनको बाल्यकाल भने खासै सुखद थिएन ।
न्युटन एक निरक्षर किसानका एक्लो सन्तान थिए । उनका पिताको नाम पनि आइज्याक न्युटन नै थियो । न्युटन जन्मिनुभन्दा तीन महिनाअघि नै उनका पिताको मृत्यु भएको थियो ।
न्युटन समय नपुगी जन्मिएका थिए । यसैले उनी निकै साना र कमजोर थिए । कसैले पनि न्युटन बाँच्छन् भनेर सोचेका थिएनन् ।
उनी तीन वर्षको हुँदा आमा हन्ना अस्क्युग न्युटनले त्यसबेलाका मन्त्री (कसै कसैले चर्चका पादरी पनि भनेका छन्) बर्नाबस स्मिथसँग दोस्रो बिहे गरिन् । आमा विवाह गरेर सहरमा गएपछि न्युटन आफ्नी मामाघरकी हजुरआमाको जिम्मामा रहे । हजुरआमासँग मावलमै उनको बाल्यकाल बित्यो । आमा र बुबासँग अलग भएकाले उनमा असुरक्षा र एक्लो भावना बढ्न थाल्यो । न्युटन धेरैजसो एक्लै बस्ने गर्न थाले । दोस्रो पतिबाट उनकी आमाले तीनजना सन्तान जन्माएकी थिइन् ।
न्युटन १२ वर्षको हुँदा उनकी आमाले बिहे गरेका दोस्रो पतिको मृत्यु भयो । अनि बल्ल न्युटन आमासँग सहरमा बस्न थाले । उनी सहरको किंग्स कलेजमा भर्ना भए । यहाँ उनले पहिलोपटक केमेस्ट्री विषयबारे थाहा पाए । यसको अध्ययनमा उनी रमाइरहेका बेला आमाले उनलाई स्कुलबाट निकालिन् । उनी छोरालाई कृषक बनाउन चाहन्थिन् । तर, न्युटन राम्रो कृषक बन्न सकेनन् । उनले खेतबारीमा राम्ररी काम गर्न सकेनन् किनभने उनलाई यो काम कत्ति पनि मन परेको थिएन । त्यसपछि उनलाई फेरि आधारभूत शिक्षा पूरा गर्नका लागि किंग्स स्कुल फर्काइयो ।
१८ वर्षको उमेरमा उनी क्याम्ब्रिजको ट्रिनिटी कलेजमा भर्ना भए । यो कलेजमा पढ्न सुरु गर्दा उनको आर्थिक अवस्था गतिलो थिएन । यसैले उनले पैसाका लागि कलेजका धनी विद्यार्थीको सहयोगीको काम गरे । न्युटन उनीहरूको काम गर्थे र आफ्नो पढाइ गर्थे । उनी धनी साथीहरूका सामानको हेरविचार गर्ने, उनीहरूका सामान मिलाउने र कोठा सफा गरिदिनेजस्ता काम गर्थे ।
ट्रिनिटीमा तेस्रो वर्षमा पुग्दा उनी नेचुरल फिलसफी (त्यसबेला फिजिक्सलाई नेचुरल फिलसफी भनिन्थ्यो) तिर आकर्षित भए । न्युटन कलेजमा आइपुग्दा १७ औं शताब्दीको वैज्ञानिक क्रान्ति आफ्नो चरमतिर पुग्दै थियो । कपरनिकस र किप्लरजस्ता वैज्ञानिकको पृथ्वी गोलो छ भन्ने सिद्धान्तलाई अर्का वैज्ञानिक ग्यालिलियो ग्यालिलीले सिद्ध गरेका थिए ।
कलेजको पहिलो तीन वर्षमा न्युटनले कलेजको पाठयक्रमबाहेक अरू किताबहरू पनि टन्नै अध्ययन गरे । यसमा धेरैजसो आधुनिक दर्शनशास्त्र र विज्ञानका किताब हुन्थे । परीक्षामा न्युटनले साधारण नतिजा पाए । तैपनि उनले अरू चार वर्ष अध्ययनका लागि छात्रवृत्ति भने पाए । तर, त्यसैताका सन् १६६५ मा युरोपमा प्लेग रोगको महामारी फैलियो । प्लेग फैलिँदै क्याम्ब्रिजमा पनि आइपुग्यो । यसले गर्दा कलेज बन्द भयो ।
न्युटन आफ्नो घर फर्किए । त्यसबेला उनी डेढ वर्ष घरमा बसे । यो अवधिमा उनले व्यक्तिगत रूपमा आफैं अध्ययन गरिरहे । यही बेला उनले रंग र प्रकाशसम्बन्धी आफ्ना सिद्धान्तहरूको आधार तयार गरे । गतिसम्बन्धी नियमहरू पत्ता लगाए ।
यही अवधिमा गरेका अध्ययनहरू संकलन गरेर उनले १६८७ मा ‘प्रिन्सिपिया’ पुस्तक प्रकाशित गरे ।
न्युटनले गुरुत्त्वाकर्षण पत्ता लगाएको सम्बन्धमा एउटा प्रख्यात किस्सा छ । एक दिन स्याउको रूखमुनि बसिरहेका बेला रूखबाट झरेको स्याउ देख्दा उनलाई जिज्ञासा भयो– रूखको स्याउ बोटबाट चुडिएपछि माथि नउडेर किन तल झर्‍यो ? यही प्रश्नको उत्तर खोज्दै जाँदा उनले वस्तुलाई आफूतिर तान्ने गुरुत्त्वाकर्षणको शक्ति पृथ्वीमा भएको पत्ता लगाएको मानिन्छ । कलेज बन्द भएर घर बसेको यही अवधिमा यो घटना भएको मान्ने गरिन्छ ।
सहरमा प्लेगको महामारी समाप्त भएपछि सन् १६६७ (दुई वर्षपछि) न्युटन फेरि कलेज फर्किए । यति बेलासम्म पनि उनलाई विशिष्ट प्रतिभा मानिएको थिएन । उनी माइनर फेलोका रूपमा ट्रिनिटी कलेजमा छानिए । यसपछि भने उनको राम्रो समय सुरु भएको मानिन्छ । कलेज फर्किएको दुई वर्षपछि (१६६९) मा न्युटनले आर्टसमा मास्टर्स डिग्री प्राप्त गरे । त्यतिबेला न्युटन २७ वर्षका थिए । यसैबेला उनले विभिन्न विद्वान्हरूका सिद्धान्त र आविष्कार बारे सोधखोज र लेखपढ गर्न थाले । उनले आफ्नै सिद्धान्तहरूलाई लेखेर आफ्ना गुरु आइज्याक बरोलाई देखाए । यसमा उनले आफ्नो नाम लेखेका थिएनन् ।
१६६९ को जुनमा बरोले त्यो पाण्डुलिपि बेलायतका प्रसिद्ध गणितज्ञ जोन कलिन्सलाई देखाए । अनि, अगस्टमा बरोले न्युटनलाई त्यो पाण्डुलिपिको लेखकका रूपमा चिनाए पनि । न्युटनको त्यही पाण्डुलिपिले पहिलोपल्ट गणितज्ञ र वैज्ञानिकको समूहमा न्युटनलाई चिनियो । उनलाई विशिष्ट प्रतिभाका रूपमा गणना गर्न थालियो । यसको केही समयमा नै बरोले क्याम्ब्रिजको प्राध्यापकबाट राजीनामा दिए, उनको ठाउँमा न्युटन प्राध्यापक भए ।

प्रकाशित : चैत्र २७, २०७३ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्