२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

ग्रेटवाल चढ्दा...

कक्षा ४ को वार्षिक परीक्षा सकिएपछि केही सयम विद्यालय बिदा थियो । त्यही समयलाई सदुपयोग गर्दै चैत १० देखि २३ गतेसम्म मैले चीनको भ्रमण गर्ने अवसर पाएँ । मेरो बाबा चीनको राजधानी बेइजिङमा काम गर्नुहुन्छ । उहाँले आमा, भाइ र हजुरबासँगै मलाई पनि बोलाउनुभएको थियो ।

ग्रेटवाल चढ्दा...

लामो समयपछि बाबासँग भेट्न पाउँदा र चीनको भ्रमण गर्न पाउँदा म निकै खुसी थिएँ । भाइ अनमोल पनि उत्तिकै उत्साहित थियो । हामी काठमाडौँबाट विमान चढेर चीनको खुन्मिङमा पुग्यौँ । त्यहाँ होटलमा एक रात बसेर अर्को दिन हामी बेइजिङ पुग्यौँ । चीनको राजधानी बेइजिङ विशाल सहर रहेछ । अग्लाअग्ला घरघरै र सडकलाई गाडीले पूरै ढाकेको देखेर हामी छक्क प‍र्‍यौँ । चोकचोकमा सडकमाथि अर्को सडक हुँदै सडकको तलैतला बनाइएको रहेछ । बाटोमा अनगिन्ती गाडीहरू गुडिरहे पनि सडक पार गर्न काठमाडौँभन्दा धेरै सजिलो लाग्यो । आकाशे पुल नभएको ठाउँमा पनि ट्राफिक बत्ती हेरेर बाटो काट्नका लागि छुट्टै व्यवस्था हुँदो रहेछ । यसरी बाटो काट्दा सुरक्षित र व्यवस्थित भएपछि डराउनुपर्ने रहेनछ ।
मैले सामाजिक शिक्षामा चीनका बारेमा केही पढेकी थिएँ । चीनमा हेर्ने मुख्य कुरा ग्रेटवाल मात्र हो भन्ने मलाई लागेको थियो । त्यही भएर बेइजिङको विमानस्थलबाट बाहिर निस्कनासाथ ग्रेटवाल कहाँ छ भनेर मैले बाबालाई सोधेकी थिएँ । मेरो प्रश्न सुनेर बाबा हाँस्नु मात्र भयो ।
बेइजिङ आएको भोलिपल्ट हामी थिआन आन मन क्षेत्रमा गयौँ । फराकिलो चोकमा पर्यटकहरू भरिभराउ थिए । यो चोकको उत्तरतिर चीनको पुरानो दरबार रहेछ । पश्चिममा चिनियाँ जनबृहत् सभा भवन । दक्षिणतिर चीनका नेता माओको शव राखेको भवन रहेछ । चोकको पूर्वमा चीनको राष्ट्रिय संग्रहालय । विश्वकै सबैभन्दा ठूलो संग्रहालयका रूपमा रहेको यो संग्रहालयको अवलोकन गर्दा नेपाली नेताहरूले चिनियाँ नेताहरूलाई दिएको मयूर झयाल, बुद्धको मूर्तिलगायत विभिन्न उपहारहरू पनि सजाइएको देख्दा मलाई गौरव लाग्यो ।
बेइजिङ आइपुगेको केही दिनपछि मात्र हामी ग्रेटवाल चढ्न गयौँ । मैले किताब र फोटोमा देखेको ग्रेटवाल प्रत्यक्ष हेर्दा भिन्न लाग्यो । डाँडाका टाकुराबाट वारपार लमतन्न पर्खालहरू चारैतिर देखिन्थे । ग्रेटवाल चढ्न टिकट काट्नुपर्ने रहेछ । 
टिकट काटेपछि ठूलो गेटबाट प्रवेश गरी हामी ग्रेटवाल चढ्न थाल्यौँ । दुवैतिर पर्खाल बीचमा हिँड्ने ठाउँमा इँटा र चाक्ला ढुंगाबाट बनेको ग्रेटवालमा केही उचाइ पार गरेपछि आकर्षक बुर्जाहरू बनाइएको रहेछ । भिरालो परेको पर्खाल र सिँढी नभएको ठाउँबाट हिँड्नुपर्दा भाइ केहीबेर डरायो । भाइलाई बाबाले हातमा समाएर डो‍र्‍याउनुभयो । केहीबेर हिँडेपछि य पनि डराउन छोड्यो । ग्रेटवालमा विभिन्न पोजमा फोटो खिच्दै हामी एक घण्टाभन्दा बढी उकालो चढ्यौँ । चढ्न त अझै बाँकी थियो तर थकाइ लागेकाले हामी फर्किएर फेरि पहिलेकै ठाउँमा झ‍र्‍यौँ । ग्रेटवालबाट फर्केपछि बाबाले हामीलाई ‘चराको गुँड’ देखाउने भन्नुभयो । यत्रो विशाल चीनमा आएर पनि के चराको गुँड हेर्ने भनेर हामी मुखामुख गरिरहेका थियौँ । बाबाले एउटा विशाल रंगशालाको बाहिर लगेर भन्नुभयो ‘यही हो चराको गुँड ।’ फलामलाई जोडेर बनाइएको अत्यन्त ठूलो रंगशाला पो चराको गुँड रहेछ । सन् २००८ मा ओलम्पिक खेलकुद समारोह आयोजना गर्नका लागि बनाइएको रंगशालालाई नै ‘चराको गुँड’ भनिँदोरहेछ । चराको गुँडबाहिर परम्परागत चिनियाँ नृत्यको भिडियो छायांकन भइरहेको थियो ।
चराको गुँड हेरेर हामी नेपाली कलाकार अरनिकोले बनाएर श्वेत चैत्य हेर्न गयौँ । त्यहाँ नेपालीलाई नि:शुल्क प्रवेश रहेछ । हामी पासपोर्ट देखाएर भित्र पस्यौँ । भित्र बुद्ध र बुद्धसम्बन्धी विभिन्न मूर्ति सजाएर राखिएका थिए । श्वेत चैत्यको ठीक अगाडि नेपाली पोसाक दौरासुरुवाल लगाएको अरनिकोको सालिक रहेछ । हामी गएको केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि त्यहाँको अवलोकन गर्नुभएको रहेछ । श्वेत चैत्य चीनमा नेपाललाई चिनाउने एउटा महत्त्वपूर्ण स्तम्भको रूपमा उभिएको पाउँदा मलाई निकै खुसी लाग्यो ।
बेइजिङ भ्रमणको क्रममा हामी चिडियाखानाको पनि अवलोकन गर्न गयौँ । दिनभर घुम्दा पनि नसकिने धेरै ठूलो क्षेत्रफलमा फैलिएको चिडियाखानामा हामीले पाण्डा देख्न पायौँ । चिडियाखानामा जिराफ, कंगारु, जेब्रा, उँट, दुईसिंगे गैंडाजस्ता जनावर पनि थिए । 
बेइजिङमा हामी एक ठाउँबाट अर्को ठाउँमा जाँदा कहिले बस त कहिले भूमिगत रेल चढेर गयौँ । मैले रेल विभिन्न हिन्दी चलचित्रमा मात्र देखेकी थिएँ । साँच्चिकै चढ्न पाउँदा मनै गदगद भयो । कस्तो अचम्म जमिनमाथिबाट बस, टयाक्सी, साइकल कुदिरहेका थिए भने सडकमुनिबाट सहरका विभिन्न ठाउँमा पुग्ने रेलको सञ्जाल बनाइएको रहेछ । त्यति लामो रेलमा पनि मान्छेहरू खाँदाखाँद थिए । मैले दुईतले बस पनि चढ्ने मौका पाएँ । बस र रेल चढ्दा यात्रुहरूले पैसा दिनुको सट्टा प्लास्टिकको कार्ड मेसिनमा छुवाउँदा रहेछन् ।
बेइजिङदेखि दक्षिण–पूर्वमा पर्ने अर्को सहर थिआनचिनको यात्रा हाम्रा लागि अर्को अनौठो अनुभव रहयो । बेइजिङबाट तीव्र गतिको बुलेट रेल चढेर हामी आधा घण्टामै थिआनचिन पुग्यौँ । १ सय ५० किलोमिटरको दूरीको यात्रा आधा घण्टामै पूरा भएपछि बाबाले भन्नुभयो ‘यो दूरी काठमाडौँदेखि नाराणघाटसम्मको हो ।’ तीव्र गतिको बुलेट रेल प्रतिघण्टा ३ सय किलोमिटरको गतिमा गुड्दो रहेछ । रेलभित्र हामी हल्लिएका पनि थिएनौ तर झयालबाट बाहिर हेर्दा घरहरू उडिरहेको जस्तो देखिन्थ्यो ।
थिआनचिनको थांकु भन्ने ठाउँमा हामी समुद्री किनार हेर्न गयौँ । पानी जहाज चढेर लगभग एक घण्टाको यात्रा गर्दा साँच्चै आनन्द लाग्यो । काठमाडौँबाट इलाम घर जाँदा बाटोमा भेटिने कोसी नदीलाई नै म समुद्र मान्थेँ । पहिलो पटक थांकुमा समुद्रको एकछेउ देख्दै मलाई अचम्म लाग्यो । समुद्रको किनारमै अग्लाअग्ला घरहरू बनाइएका रहेछन् । त्यो चीनको एउटा प्रख्यात बन्दरगाह रहेछ । अर्को अचम्म लाग्दो कुरा के थियो भने, बन्दरगाहको एउटा किनारबाट अर्को किनार जोड्ने पुल पानी जहाज आउँदा बीचमा छुट्टिएर आकाशतिर ठाडो पर्दो रहेछ । जहाज गएपछि फेरि तेर्सिएर जोडिँदो रहेछ । 
हामीले थुप्रै चिनियाँहरूसँग रेस्टुरेन्टमा सँगसँगै खाना खायौँ । एउटै भाँडोबाट सबैले चपस्टिक्सले झिक्दै खाँदा कसैले पनि जुठो मान्दा रहेनछन् । मलाई भने जे कुरामा पनि अचम्म लागिरहयो । पहाडको चुचुरामा तेर्सिएको ग्रेटवाल, जमिनमुनि कुद्ने रेल, तीव्र गतिको बुटेल रेल, चुँडिने र जोडिने समुद्रमाथिको पुल अनि चपस्टिक्सले खाने चलन ।

अमूल्य आचार्य
कक्षा–५, सेन्ट मेरिज स्कुल, जावलाखेल

प्रकाशित : वैशाख ३, २०७४ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?