कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नयाँ अठोट

विक्रम सम्वत्अनुसार हामी नयाँ वर्ष २०७४ मा प्रवेश गरेका छौं । हाम्रो देशमा नेपाल सम्वत्, लोसार (तमु, सोनाम र ग्याल्बो), माघी, मुहर्रम र ईस्वी सम्वत्लाई पनि विभिन्न समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । तर सबैभन्दा प्रचलित र धेरैले मनाउनेचाहिँ वैशाख १ को नयाँ वर्ष नै हो ।

नयाँ अठोट

नयाँ वर्षको यो समय वसन्त ऋतुको मनोरम मौसम पनि हो । यतिबेला जाडो सकिएर भर्खर न्यानो सुरु भएको हुन्छ । बोटबिरुवाले यसै याममा नयाँ पालुवा फेर्छन् । गुराँस र सुनाखरी फुल्छन् । सिरसिर हावा चल्छ । घरघरका भित्ताहरूमा नयाँ क्यालेन्डर फेरिन्छन् । त्यसमा हामी वर्षैभरि कुन कुन चाडबाड कहिले पर्दा रहेछन् भनेर हेर्दै दङ्ग पर्छौं । यस्तै यस्तै रमाइलोबीच आपसमा शुभकामना आदानप्रदान गर्छौं ।
नयाँ वर्ष बालबालिकाका लागि अझ महत्त्वपूर्ण हुन्छ । मुलुकका धेरैजसो विद्यालयहरूमा नयाँ वर्षबाटै अर्को शैक्षिक सत्र सुरु हुन्छ । तिमीहरू माथिल्लो कक्षामा प्रवेश गर्छौ । नयाँ ड्रेसमा नयाँ किताब र नयाँ झोला लिएर स्कुल जान्छौ । वास्तवमा नयाँ वर्ष सबैका लागि एउटा राम्रो अवसर हो । धेरैले यसलाई जीवनमा नयाँ कामको थालनी गर्ने अवसरका रूपमा पनि लिन्छन् । बितेका वर्षका गल्ती र कमजोरी हटाउने वाचा गर्छन् । अनि असल कामहरू थाल्ने प्रतिज्ञा गर्छन् ।
नयाँ सालमा बोटबिरुवाले पालुवा फेर्छन् । अनि नयाँ रूपले विकसित हुँदै जान्छन् । त्यसरी नै हामी पनि प्रत्येक नयाँ वर्षलाई एउटा अवसरको रूपमा लिँदै केही प्रण गर्न सक्छौं । त्यसका लागि सकारात्मक सोचले अघि बढ्नुपर्छ । केही यस्ता अठोट गरौं जसले आफ्नो भविष्य उज्ज्वल बनोस् । नयाँ वर्षको अवसरमा तिमीले गर्न सक्ने केही अठोटहरू

१. के तिमी कुनै पाठ पढ्नुभन्दा पहिल्यै कति पेज रहेछ भनेर गन्न थाल्छौ ? कि पढ्नभन्दा पनि पढ्ने रुटिन बनाउनमै बढी समय जान्छ ? परीक्षा दिनुअघि नै मेरो कति नम्बर आउला भनेर सोच्ने बानी छ कि ? त्यसो हो भने तिमीमा राम्रो काम गर्ने इच्छा छ तर जाँगरको कमी देखिन्छ । त्यसैले तिमी अठोट गर– महत्त्वपूर्ण कामका लागि कहिल्यै भोलि भन्दिनँ । सकेसम्म आजै र अहिल्यै गर्छु । यो अठोट लागू गर्न सक्यौ भने तिमी कहिल्यै पनि परीक्षाको अघिल्लो दिन आइपुगेपछि आत्तिनुपर्ने छैन । हरेक काम आफूले भ्याउनुपर्ने समयभन्दा अगाडि नै गरिसकेको हुनेछौ ।

२. आफूलाई विगतको भन्दा व्यवस्थित बनाउन तिमी कार्यतालिका बनाउन सक्छौ । कति बेला उठ्ने, कति बेला होमवर्क गर्ने त्यसमै लेख । कति बेला खाना खाने, कति बेला स्कुलका लागि तयार हुने भन्नेजस्ता सबै कामको तालिका तयार पार । तालिका बनाउन तिमी अभिभावक र शिक्षकको सहयोग लिन पनि सक्छौ । अनि प्रत्येक दिन तालिका अनुसार काम गर्छु भन्ने अठोट गर । कुनै दिन विशेष परिस्थिति आइपर्दा तालिकाअनुसार काम नहुन पनि सक्छ । तर फेरि अर्को दिनदेखि त्यसअनुसार नै काम गर्न नछोड । यसले तिम्रो दैनिकी सन्तुलित बनाउन सघाउँछ । सधैं एकैनासको रुटिनबाट बच्न बिदाका दिनहरूचाहिँ आफूखुसी बिताउन पनि सक्छौ ।

३. पाठयपुस्तकबाहेक पनि तिमीले जीवनमा पढ्नुपर्ने धेरै किताब हुन्छन् । यो वर्ष म कम्तीमा यतिवटा असल पुस्तक पढ्छु भन्ने अठोट गर । फ्रान्सिस बेकनको एउटा चर्चित भनाइ छ– ‘कुनै किताब चाख्नका लागि मात्र हुन्छन् । कुनै किताब निल्नका लागि हुन्छन् । अनि कुनैचाहिँ पूरै चपाएर पचाउनका लागि हुन्छन् ।’ यसो भन्नुको मतलब के हो भने, सबै किताब उत्तिकै महत्त्वका हुँदैनन् । कुनैलाई सरसर्ती हेरे पुग्छ । कुनैलाई एकपल्ट खररर्र पढे हुन्छ । अनि साँच्चिकै महत्त्वका कुनै किताबलाई चाहिँ राम्ररी बुझेर पढ्नुपर्छ । आफ्नो उमेर र क्षमताअनुसार कुन पुस्तक पढ्दा ठीक होला भन्ने निर्णयचाहिँ अभिभावक र शिक्षकको सल्लाहमा गर्दा झनै राम्रो हुन्छ ।

४. शैक्षिक क्षमता पहिचानको एउटा आधार तिम्रो हस्तलेखन पनि हो । किनकि तिम्रा अक्षरले तिमी कुन खालको विद्यार्थी हो भन्ने बताइरहेका हुन्छन् । त्यसैले अठोट गर– म अझै आफ्ना अक्षर राम्रा पार्छु । प्राथमिक शिक्षा पूरा गरेर माथिल्लो कक्षामा पुगिसकेका छौ भने तिमी हरेक दिन डायरी लेख्न सक्छौ । डायरी लेख्ने बानीले तिम्रो लेखन क्षमता बढ्छ । दिनहुँ लेख्ने बानीले हस्तलेखन पनि सुधार हुन्छ । आफूले टिपोट गरेका कुराहरू पछिसम्म काममा आउन सक्छन् ।

५. भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । तर हामी जानी नजानी कैयौं यस्ता काम गरिरहेका हुन्छौं जसले स्वास्थ्यमा नराम्रो असर पुर्‍याइरहेको हुन्छ । तीमध्ये जंकफुड पनि एक हो । प्लास्टिक वा डब्बामा बन्द गरिएका बिस्कुट, चाउचाउ, चिजबल, चुइङगम, तितौराजस्ता पदार्थ खाँदा मिठो भए पनि स्वास्थ्यका लागि हितकर हुँदैनन् । त्यसैले नयाँ वर्षको उपलक्ष्यमा तिमी अबदेखि स्वास्थ्यलाई हानि गर्ने जंकफुड खान्न भन्ने अठोट गर्न सक्छौ । चटक्कै र पूरै छोड्न नसके पनि यस्ता खानेकुरा कम गर्न भने पक्कै सक्छौ । सट्टामा ताजा फलफूल र विषादी प्रयोग नभएको सागसब्जी खायौ भने स्वस्थ्य र तन्दुरुस्त रहनेछौ ।

६. कैयौं बालबालिका होमवर्क गर्ने बेलामा चिच्याउँछन्, ‘ममी मेरो पेन्सिल–इरेजर खोई ?’ स्कुल जाने बेलामा मोजा नै भेटिन्न । कहिले कुन सामान हराउँछ, कहिले कुन । स्कुलबाट घर फर्किंदा कहिले किताब साटिएको हुन्छ त कहिले टिफिन बक्स नै । यी सब आफ्नो सामान आफैंले नसम्हाल्ने बानीको परिणाम हो । यदि तिम्रो पनि यस्तै बानी छ भने आजैदेखि अठोट गर– म आफ्नो सामान आफैं सम्हाल्छु । आफ्नो काम आफैं गर्नुलाई आत्मनिर्भरता भनिन्छ । आत्मनिर्भर भयो भने ठूलो भएपछि पनि जीवन सहज हुन्छ । परनिर्भर व्यक्तिले सधंै अरूको भर परिरहनुपर्छ ।

७. कुनै काम आफूले भनेजस्तो भएन भने झनक्क रिस उठ्छ । चाहेजस्तो सामान पाइएन भने पनि त्यस्तै हुन्छ । रिस उठ्नु भनेको हाम्रो मस्तिष्क र शरीरमा नकारात्मक भवना पैदा हुनु हो । मस्तिष्कमा सकारात्मक भावना आउँदा प्रेम पैदा हुन्छ भने नकारात्मक भावना आउँदा रिस । ‘रिस खा आफू बृद्धि खा अर्को’ भन्ने उखान सुनेका छौ ? यसको अर्थ हो– बुद्धिबाट हुने फाइदा अरूले पनि लिन सक्छन् । तर रिसबाट हुने परिणामचाहिँ हामी आफैंले भोग्नुपर्छ । त्यसैले नयाँ वर्षमा प्रण गर– रिसाउने बानी छोड्छु । केही गरी रिस उठिहाल्यो भने तिमी सम्झ– यसले अरूलाई हैन मलाई नै हानि पुर्‍याउन खोज्दै छ । त्यसपछि तिमी आफैं शान्त भइहाल्छौ । दिनहुँ योग र ध्यानको अभ्यास गर्‍यौ भने यसले पनि तिम्रो रिस नियन्त्रण गर्न सघाउँछ ।

८. काम गर्नु र व्यस्त रहनु राम्रो हो । तर के काम गरिएको छ र कस्तो कुरामा व्यस्त भइएको छ भन्ने कुरा त्योभन्दा पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले काम गर्दा सबैभन्दा महत्त्वपूर्ण काम पहिले सक्नुपर्छ । त्यसपछि कम महत्त्वका र त्यसभन्दा पनि पछाडि झनै कम महत्त्वका काम गर्नुपर्छ । यसलाई प्राथमिकता निर्धारण भनिन्छ । यदि कुनै विषय वा पाठ धेरै गाह्रो लाग्छ भने पहिलो प्रथमिकता त्यसैलाई दिनुपर्छ । यसो गर्दा त्यो विषय पनि सजिलो लाग्दै जान्छ । तर कम प्राथमिकतामा राखेर पन्छाउँदै गइयो भने त्यो कहिल्यै नआउने हुन सक्छ । प्राथमिकता निर्धारण गरेर काम गर्ने बानी बसाल्यो भने महत्त्वपूर्ण काम कहिल्यै छुट्दैनन् । त्यसैले अठोट गर– अबदेखि म पनि प्राथमिकता निर्धारण गर्छु । त्यसपछि समय पुगेन र गर्न भ्याइएन भने पनि कम महत्त्वका काम मात्रै छुट्छन् ।

९. सहरमा बस्ने बालबालिकाले गाउँका साथीको भन्दा निकै सुविधा पाएका हुन्छन् । उनीहरूले पढ्ने, जान्ने, सिक्ने र खेल्ने अवसर पनि बढी पाएका हुन्छन् । त्यसो हुनुको मुख्य कारण टेलिभिजन, कम्प्युटर मोबाइलजस्ता सञ्चार उपकरण सजिलै पाउनु पनि हो । एकातिर यी साधन अवसर हुन् । बढी भयो भने यिनैले नकारात्मक असर पनि पार्छन् । आजभोलि कतिपय बालबालिका टेलिभजन, कम्प्युटर र मोबाइलमै मात्रै झुम्मिने खालका पनि छन् । घण्टौंसम्म टीभी, कम्प्युटर वा मोबाइलको स्क्रिन हेर्दा आँखा कमजोर हुन्छ । मस्तिष्क ज्यादा थाक्छ । यसले पढाइ र दैनिकीमा असर पार्छ । यदि तिम्रो पनि यस्तो बानी बस्दै छ भने बेलैमा ध्यान देऊ । आवश्यकताभन्दा बढी टेलिभजन र मोबाइलमा ज्यादा झुम्मिन्नँ भन्ने निश्चय गरिहाल है ।

१०. तिमी आफ्ना आमा, बुबा र अभिभावकलाई कत्तिको सघाउँछौ ? कि सताउँछौ ? आफूलाई आवश्यक परेको काममा ठूलाबाट मद्दत लिनै पर्छ । तर स–साना र नचाहिँदा कुरामा जिद्दी गरेर उहाँहरूलाई सताउनु राम्रो होइन । आफू सानोछँदा अभिभावकको दु:ख बुझ्न सकिन्न । ठूलो हुँदै जाँदा विस्तारै महसुस हुँदै जान्छ । पढाइ लेखाइ सकेर बचेको समयमा आमा बुबालाई सानोतिनो काममा मद्दत गर्न सक्यौ भने उहाँहरू खुसी हुनुहुन्छ । तिमीले पनि नयाँ काम सिक्ने अवसर पाउँछौ । जानेकै काम पनि अझ कसरी राम्ररी गर्न सकिन्छ भन्ने हेक्का हुन्छ । त्यसैले नयाँ वर्षमा तिमी अर्को एउटा अठोट पनि गर– म अबदेखि आफ्ना अभिभावकलाई सघाउँछु । सघाउन सकिने भने पनि कम्तीमा अनावश्यक कुराहरूलाई लिएर उहाँहरूलाई कहिल्यै सताउनेछैन ।

प्रकाशित : वैशाख ३, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?