३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

ज्याकारान्डा !

काठमाडौंका मुख्य सडक, पार्क र बगैंचामा आजकल बैजनी हो कि नीलोजस्तो देखिने फूलले ढपक्कै ढाकिएका रूख देखिन्छन् । यी रूखलाई अंग्रेजीमा ज्याकारान्डा भनिन्छ । यो फूललाई काठमाडौंका नेवारी समुदायका स्थानीय मालीहरू ‘चखुँचा स्वाँ’ भन्दछन् ।

ज्याकारान्डा !

चखुँचा स्वाँको नेपाली अर्थ भँगेरी फूल हो । ज्याकारान्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेरोजस्तै देखिने भएकाले भँगेरी फूल भनिएको हो । 
ज्याराकान्डाको रूख ६६ देखि ९८ फिटसम्म अग्लो हुन्छ । धेरैजसोले यसलाई शिरीषको फूल पनि भन्ठान्छन् । वास्तवमा अंग्रेजीमा माइमोसा सिरिसा भनिने शिरीषको फूल ज्याकारान्डाभन्दा नित्तान्त रूपमा फरक हो । तैपनि यसको पात शिरीषको पातसँग धेरै मेल खाने हुँदा वैज्ञानिक नाम ज्याकारान्डा माइमोसिफोलिया (Jacaranda mimosifolia) राखिएको हो । 
वैशाखको तातोमा ज्याकारान्डा बेस्सरी बौरिएर फुल्छ । घाम चर्केका बेला यसको छहारीमा शीतल लिँदा निकै आनन्द लाग्छ । यी रूख त ढकमक्क नीलो हुन्छन् नै, झरेका फूलले रूख वरिपरि पनि नीलै हुन्छ । 
ज्याकारान्डा आयातीत वनस्पति हो । यो नेपालको रैथाने फूल होइन । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काठमाडौंका सडकछेउलाई ज्याकारान्डाले ढाकेको धेरै वर्ष भएको छैन । ‘६० वर्षभन्दा पहिले काठमाडौं सहरमा ज्याकारान्डा फूल यसरी फुलेको मलाई सम्झना छैन,’ उनले भने । विशेषत: यसलाई दक्षिण अमेरिकी मुलुक ब्राजिलको रैथाने वनस्पति मानिन्छ । यो ब्राजिलको पाराना नदी उपत्यकाबाट संसारका अन्य भागमा विस्तार भएको हो । अति आकर्षक र अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकाले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिकांश सहरका पार्कहरूमा यसले स्थान पाएको छ । नेपालमा पनि काठमाडौंबाहिर समेत यसको विस्तार हुन थालेको छ । 
ज्याकारान्डा निकै गुनिलो वनस्पति मानिन्छ । यसले हावाको नाइट्रोजन खिँचेर माटोलाई मलिलो बनाउन मद्दत गर्छ । वसन्त ऋतुमा ज्याकारान्डा फुलेको बेला आसापासको क्षेत्रसमेत रमणीय देखिन्छ । यसले पर्यावरण हराभरा बनाउन सघाउ पुर्‍याउनुका साथै जैविक विविधता कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । 

प्रकाशित : वैशाख ३१, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?