यार्सा सिजन

सुरविन्द्रकुमार पुन

आजकाल हिमाली जिल्लाहरूमा यार्सा खोज्ने सिजन सुरु भएको छ । वैशाख, जेठ र असार महिना यार्सा संकलन गर्ने सिजन हो । यति बेला यार्सा पाइने जिल्लाका लेकनजिक क्षेत्रका विद्यालय बन्द हुन्छन् । मानिस गाउँ नै रित्तो पारेर लेकतिर जान्छन् । विद्यालयका छात्रछात्रा पनि पैसा कमाउन आफ्ना अभिभावकसँगै जान्छन् । गाउँलेहरू दूधेबालकसमेत बोकेर यार्सा संकलन गर्न लेक उक्लिन्छन् ।

डोल्पाको ठाँगे, रामचौर, लुंखोर्लो, बाघडाँडा, धो, तिञ्जेजस्ता लेकमा स–साना बालबालिका अस्थायी बासस्थानमा बग्रेल्ती भेटिन्छन् । उनीहरू परिवारै उठेर पाटन उक्लेका हुन्छन् । ठूला मानिस बिहानै खाना खाएर यार्सा खोज्न निस्किन्छन् । बालबालिका भने दिनभरि बास रुँगेर बस्छन् । घाम लागेका बेला बासवरपर जम्मा भएर खेल्छन् । कसैले जर्किनमा पानी भरेर बासमा ओसार्छन् । ८/९ वर्षमाथिका केटाकेटीहरू बा–आमासँगै यार्सा खोज्न तम्सिन्छन् । स्थानीय विद्यालय वैशाख र जेठ दुई महिना बिदा हुन्छ । असार लागेसँगै यार्साको सिजन पनि निख्रिँदै जाने भएकाले उनीहरू क्रमश: घर फर्किन थाल्छन् । अनि स्कुल जान र पढ्न लेख्न सुरु गर्छन् ।
यार्सा निकै महँगो मूल्यमा बिक्री हुने भएकाले पाका उमेरदेखिका बालबालिकासम्म यसको संकलनमा जाने गरेका हुन् । हाल गुणस्तरीय यार्साको लेकमै प्रतिगोटा ५ सयदेखि १ हजार रुपैयाँसम्म हातहातै किनबेच हुने गरेको छ । यार्साको प्रयोग केमा हुन्छ भन्ने अधिकांश संकलकलाई पत्तै हुन्न ।
उनीहरू केवल यार्सा बेचेर पैसा कमाउने ध्याउन्नमै हुन्छन् ।
नेपालमा बर्सेनि ठूलो संख्यामा संकलकहरू यार्सा खोज्न लेकतर्फ उक्लन्छन् । हिमाली पाटनमा यार्सा खोज्नु निकै चुनौतीपूर्ण छ । लेक उक्लँदा २/३ देखि ५/६ रातसम्म बीच बाटोमै बास बस्नुपर्छ । लेकमा कम्तीमा १५/२० दिन बस्ने गरी सरसामान र मालमत्ताको भारी बोकेर जानुपर्छ । चिसोमा लापरबाही गर्दा ज्यानै जान सक्छ । लेकतर्फको यात्रा जति कठिन छ उत्तिकै रमाइलो पनि हुन्छ ।
यार्सा खोज्न शारीरिक कष्ट गर्नु नपरे पनि ठूलो मिहिनेत र धैर्य चाहिन्छ । हिमालनजिक ठूल्ठूला लेकाली मैदान हुन्छन् । यार्सा संकलकहरू त्यहाँ एक इन्च ठाउँ पनि खाली नराखी घस्रिएर खोज्छन् । यार्सा खोज्नु भनेको फोहोरको थुप्रोमा सियो खोज्नुजस्तै हो । सबैजना घेरिएर एक ठाउँ भएर खोज्दा निकै रमाइलो पनि हुन्छ । कोभन्दा को कम जस्तो गरी खोज्नुपर्ने हुन्छ । कोहीले दिनको १०/१५ ओटा भेट्छन् भने कतिले ५/६ वटा मात्रै । अझ कोही त एउटामै चित्त बुझाउँछन् । कोही भने रित्तै बास फर्कन्छन् ।
खुला लेकाली पाटनमा त्रिपाल टाँगेर बास बस्छन् । अक्सर यार्सा पाइने उपयुक्त समय भनेको बिहानको ८ बजेदेखि दिउँसोको १ बजेसम्म हो । दिन ढल्दै गएसँगै यार्सा पाइने सम्भावना पनि कम हुँदै जान्छ ।
१२ बजेपछि चिसो बतास चल्ने हुनाले जाडोले बाहिर निस्कन मुस्किल हुन्छ । एक/दुई दिन बिराएर पानी पनि पर्छ । कहिलेकाहीँ असिना पानीसँगै हिउँ नै पर्छ । हिउँ पर्दा बालबच्चालाई निकै गाह्रो हुन्छ ।
यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, तिब्बत, भारत र भुटानमा मात्र पाइने रैथाने जैविक–वनस्पति हो । नेपालमा यो डोल्पा, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, बझाङ, मुगु, दार्चुला, रुकुम, गोरखा, संखुवासभासहित २७ जिल्लामा पाइन्छ । तीमध्ये पनि सबैभन्दा बढी यार्सा पाइने जिल्ला डोल्पा हो । नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पाबाटै उठ्छ । डोल्पा र रुकुमका सीमावर्ती क्षेत्रमा पाइने यार्सा सबैभन्दा गुणस्तरीय हुने गरेको संकलकहरू बताउँछन् ।
चिनियाँ धनी मानिस आफूसँग यार्सा हुनुलाई निकै प्रतिष्ठाको रूपमा लिन्छन् । त्यसैले उनीहरू महँगोमा किन्न पनि हिच्किचाउँदैनन् । जानकारहरूका अनुसार चीनमा हाल उच्च गुणस्तरको यार्सा सुनभन्दा पनि महँगो छ । चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ । त्यसैको प्रभावका कारण छिमेकी मुलुक नेपालका लेकाली पाटनहरूमा यार्सा संकलन गर्नेको संख्या र यसको भाउ बर्सेनि बढ्दो छ । यार्सा सिजन पैसा कमाउने अवसर मात्र नभई त्यस क्षेत्रमा मनाइने एकखाले आर्थिक, सामाजिक र सांस्कृतिक पर्व पनि हो ।
यार्सा ठाउँ हेरी समुद्री सतहदेखि ३ देखि ५ हजार मिटर उचाइसम्म पाइन्छ । औसत वर्षा ४ सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुटयान क्षेत्रमा पाइन्छ ।
तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ अपभ्रंश भई यार्सागुन्बु, यार्सागुम्बा वा यार्सा मात्रै भएको हो । ‘यार्सागुन्बू को शाब्दिक अर्थचाहिँ आधा ‘कीरो र आधा घाँस’ भन्ने हो । यार्सालाई चिनियाँ भाषामा ‘डङ्छङ् सियाकाओ’ भनिन्छ जसको अर्थ ‘हिउँदे कीरो, बर्खे झार’ हो । त्यसैले पनि यो धेरैका लागि कौतुहलको विषय बनेको छ । वैज्ञानिकहरूले चाहिँ यसलाई कर्डिसेप्स साइनन्सिस नाम दिएका छन् । नेपालीमा सबैले बुझ्ने साझा शब्दका रूपमा हामी ‘यार्सा’ मात्रै पनि भन्न सक्छौं ।
तिब्बतीहरूले यो हिमाली जैविक–वनस्पतिलाई ईशाको १५ शताब्दीदेखि नै शक्तिबद्र्धक औषधिको रूपमा प्रयोगमा ल्याएका थिए । नेपालका हिमाली क्षेत्रमा भने विसं २०३० को दशकताका यार्सा पत्ता लागेको हो । यहाँ पनि सबैभन्दा पहिले तिब्बतीहरूले नै यार्सा पत्ता लगाएका हुन् ।
बागलुङको ढोरपाटनमा बसोबास गर्ने तिब्बती शरणार्थीले घोडापालन गर्ने सिलसिलामा रुकुमको पुपाल लेकमा पत्ता लगाएका थिए । त्यसपछि डोल्पालगायत जिल्लामा पनि पत्ता लागेको हो ।

Yamaha

प्रकाशित : जेष्ठ २१, २०७४ १०:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ज्याकारान्डा !

सुरविन्द्रकुमार पुन

काठमाडौंका मुख्य सडक, पार्क र बगैंचामा आजकल बैजनी हो कि नीलोजस्तो देखिने फूलले ढपक्कै ढाकिएका रूख देखिन्छन् । यी रूखलाई अंग्रेजीमा ज्याकारान्डा भनिन्छ । यो फूललाई काठमाडौंका नेवारी समुदायका स्थानीय मालीहरू ‘चखुँचा स्वाँ’ भन्दछन् ।

चखुँचा स्वाँको नेपाली अर्थ भँगेरी फूल हो । ज्याकारान्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेरोजस्तै देखिने भएकाले भँगेरी फूल भनिएको हो । 
ज्याराकान्डाको रूख ६६ देखि ९८ फिटसम्म अग्लो हुन्छ । धेरैजसोले यसलाई शिरीषको फूल पनि भन्ठान्छन् । वास्तवमा अंग्रेजीमा माइमोसा सिरिसा भनिने शिरीषको फूल ज्याकारान्डाभन्दा नित्तान्त रूपमा फरक हो । तैपनि यसको पात शिरीषको पातसँग धेरै मेल खाने हुँदा वैज्ञानिक नाम ज्याकारान्डा माइमोसिफोलिया (Jacaranda mimosifolia) राखिएको हो । 
वैशाखको तातोमा ज्याकारान्डा बेस्सरी बौरिएर फुल्छ । घाम चर्केका बेला यसको छहारीमा शीतल लिँदा निकै आनन्द लाग्छ । यी रूख त ढकमक्क नीलो हुन्छन् नै, झरेका फूलले रूख वरिपरि पनि नीलै हुन्छ । 
ज्याकारान्डा आयातीत वनस्पति हो । यो नेपालको रैथाने फूल होइन । वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठका अनुसार काठमाडौंका सडकछेउलाई ज्याकारान्डाले ढाकेको धेरै वर्ष भएको छैन । ‘६० वर्षभन्दा पहिले काठमाडौं सहरमा ज्याकारान्डा फूल यसरी फुलेको मलाई सम्झना छैन,’ उनले भने । विशेषत: यसलाई दक्षिण अमेरिकी मुलुक ब्राजिलको रैथाने वनस्पति मानिन्छ । यो ब्राजिलको पाराना नदी उपत्यकाबाट संसारका अन्य भागमा विस्तार भएको हो । अति आकर्षक र अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकाले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिकांश सहरका पार्कहरूमा यसले स्थान पाएको छ । नेपालमा पनि काठमाडौंबाहिर समेत यसको विस्तार हुन थालेको छ । 
ज्याकारान्डा निकै गुनिलो वनस्पति मानिन्छ । यसले हावाको नाइट्रोजन खिँचेर माटोलाई मलिलो बनाउन मद्दत गर्छ । वसन्त ऋतुमा ज्याकारान्डा फुलेको बेला आसापासको क्षेत्रसमेत रमणीय देखिन्छ । यसले पर्यावरण हराभरा बनाउन सघाउ पुर्‍याउनुका साथै जैविक विविधता कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । 

प्रकाशित : वैशाख ३१, २०७४ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT