१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पेमा

अनन्त वाग्ले

पेमा तिमी प्रतापजीको छोरी हो?’ सुबोध माड्साबले सोध्नुभयो। ‘हो सर। किन होला?’ मैले भनेँ।

पेमा

पेमा तिमी प्रतापजीको छोरी हो?’ सुबोध माड्साबले सोध्नुभयो। ‘हो सर। किन होला?’ मैले भनेँ।

सुबोध माड्साब हाम्रो कक्षामा पढाउनुहुन्नथियो। तैपनि मलाई चिन्नुहुन्थ्यो। साहित्य, संस्कृतिका विविध कार्यक्रमको संयोजन सुबोध सरले गर्नुहुन्थ्यो। यस्ता कार्यक्रममा म पनि सहभागी भइरहने भएकाले मलाई राम्ररी चिन्नुहुन्थ्यो।
मसँगै पुनम, खिम, सूर्यमाला, समा, नोर्बु र एन्जिला पनि थिए। उनीहरूबाट छुटाउँदै सुबोध सरले मलाई अलि पर बगैँचामा लानुभयो।
सुबोध सर कल्की फूलको हाँगामुनि मैतिर फर्किएर उभिनुभयो। अनि घाँटी सफा गर्दै उहाँले सोध्नुभयो, ‘अनि प्रतापजी हिजो राति कति बेला घर पुग्नुभयो त, थाहा छ तिमीलाई?’
‘खोई १ बेलुका त कति बेला आइपुग्नुभयो, मैले थाहै पाइनँ सर,’ जवाफमा मैले भनेँ, ‘तर सञ्चो बिग्रियो भनेर बुबा बिहान म निस्कँदासम्म पनि सुतिरहनुभएको थियो।’
‘हुन त यो मैले नभने पनि हुने कुरा थियो तर तिमी र तिम्रो भाइको मायाले यो कुरा मैले भन्नुपर्ने ठानेँ।’ गम्भीर तर दयालु लवजमा सुबोध सरले यसो भनिरहँदा मलाई भने डर डर लागिरहेको थियो।
‘भन्नुस् न सर, भन्नुस् प्लिज,’ मैले आफूलाई अलि दह्रो बनाउने प्रयास गर्दै भनेँ।
‘प्रतापजीको रक्सी पिउने बानी रहेछ। हिजोको भोजमा म पनि थिएँ। त्यहाँ प्रतापजीको हालत असाध्यै नाजुक थियो,’ सरले भन्नुभयो, ‘उहाँ उभिनै नसक्ने अवस्थामा हुनुहुन्थ्यो। मानिस उहाँलाई गिल्ला गर्दै मजाक लिइरहेका थिए। मैले त्यसबेला तिमी दिदीभाइलाई खुब सम्झिरहेँ।’
सुबोध सर बोलिरहनुभएको थियो। मलाई भने बाबुको गल्तीको सजाय पाएझैं भित्रभित्रै ननिको लागिरहेको थियो। त्यही बेला भुर्र उडेर एउटा जुरेली आयो र कल्कीको टुप्पोमा बस्यो। कल्कीको डाली लच्काउँदै त्यो हावामा झुलिरहेको देखियो। त्यसले पनि हाम्रै कुरा सुनिरहेजस्तो लाग्यो मलाई। सुबोध सर भन्दै हुनुन्थ्यो :
‘अनि भोज सकेर मानिस फर्किरहेका थिए। प्रतापजी लिफ्ट माग्दै पार्किङमा लरबर लरबर गरिरहनुभएको थियो। मसँग पनि मोटरसाइकलमा लिफ्ट माग्दै हुनुहुन्थ्यो तर अडिएर बस्न सक्ने उहाँको अवस्थै थिएन। बान्ता गरेर कपडा पनि फोहोर भइसकेको थियो। राति निकै अबेर भइसकेको थियो र जाडो पनि त्यत्तिकै।’
सुबोध सरले यसो भनिरहँदा मैले टेकेको धरतीमा ठूलै भूकम्प आएझैं लाग्न थालिसकेको थियो मलाई। मेरो आँखाका चेप पनि रसाइसकेको पत्तो पाइरहेकी थिएँ र मलाई अरू कुरा सुन्न पनि गाह्रो गाह्रो भइरहेको थियो। सुबोध सर भने बोलिरहनुभएकै थियो :
‘राति कसरी घर पुग्नुभयो होला प्रतापजी १ तिमीहरू र तिम्री आमा पर्खेर बसिरहेका हौला भन्ने पनि लागिरहयो मलाई। बुबालाई रक्सी नपिउनू भनेर सम्झाउनुपर्‍यो नानीले पनि।’
‘हुन्छ सर म सम्झउँछु बुबालाई,’ मैले यत्ति मात्र भन्न सकेँ।
‘ल ल, दु:खी नहुनु है? मैले आफ्नै छोराछोरी सम्झेर भनेको,’ यति भनेर सर अफिसतिर लाग्नुभयो, म कक्षाकोठातिर।
कक्षामा त छिरेँ तर मेरो मनभरि सुबोध सरले भनेका कुरा नै खेलिरहेका थिए। अनि आँखाभरि अघिल्लो रातको त्यही भोजमा बुबाको हबिगतका तस्बिर नाचिरहेका थिए।
सुबोध सरले पो हिजो मात्र देख्नुभयो र भन्नुभयो। तर मेरो बुबाको यो बानी वर्षौंदेखि यही नै त छ नि। यही विषयले आमासँग बरोबर झगडा परिरहन्छ। कहिलेकाहीं त धेरै दिनसम्म पनि बोलचाल नै बन्द हुन्छ। त्ये बेला कत्ति नरमाइलो लाग्छ हामीलाई।
हामीलाई अरूबेला असाध्यै माया गर्ने उहाँ त्यस्तो बेला बोल्दै नबोली कोठातिर छिर्नुहुन्थ्यो। या त बोले पनि झर्कोफर्को गरी कर्कश स्वर निकाल्नुहुन्थ्यो। आमा यही कारणले धरधरी रोएको मैले कत्तिपटक देखेकी छु। बुबाको यो नराम्रो बानी छुटाउन आमाले कहिले मन्दिरमा त कहिले धामीझाँक्रीकहाँ पनि लानुभयो।
कहिलेकाहीं साथीहरूसँग खटपट भइहाल्यो भने सबैभन्दा कटूवचन मैले नै सामना गर्नुपर्छ। सीधै भन्छन्, ‘ठूला कुरा गर्छेस् १ तँ जँड्याहाकी छोरी।’ यसबेला मलाई साह्रै नरमाइलो लाग्छ। म एक्लै रुन्छु र मनमनै प्रश्न गर्छु– किन मेरा बुबालाई यसरी साँझहरूले अर्कै बनाइदिन्छन्। भोज र पार्टीहरूले बेग्लै पारिदिन्छन् र हामीसँग टाढा बनाउँछन्। अरूबेला त मेरो बुबा कत्ति असल हुनुहुन्छ।
सुबोध सरको कुराले मन साह्रै्र खिन्न भयो। मैले पटकपटक भन्दा पनि बुबाले टेरपुच्छर लाउनुभएको होइन। मैले सम्झाएर के नै गर्न सकुँला र १ अलि समयपछि एक दिनको कुरा हो, त्यस दिन पनि हामी स्कुल जाँदासम्म बुबा ओछयानमै घुरिरहनुभएको थियो। अबेर गरी उठेर खाना खाइवरी अफिस जान लाग्दा बुबा कोठामा घुँक्कघुँक्क गरेको आवाज आएछ। आमा र हजुरआमा कोठामा जाँदा बुबाको अघिल्तिर एक पाना कागज देख्नु भएछ। बुबा त्यसैलाई ओल्टाई पल्टाई हेर्दै रुँदै हुनुहुँदोरहेछ। कागजमा मेरा अक्षर देखेर आमा पनि छक्क पर्दै पढ्न थाल्नुभएछ :

‘प्यारो बुबा १,
तपाईं हाम्रो कत्ति प्यारो हुनुहुन्छ। कत्ति असल हुनुहुन्छ। मलाई तपाईंकी छोरी हुन पाएकामा गर्व लाग्छ। अरूले ‘प्रतापजीकी छोरी’ भन्दा कत्ति खुसी लाग्छ मलाई। तर तपाईं रातिराति मेरो बुबा नभएर अर्कै बनिदिनुहुन्छ। त्यसबेला कहाँ हराउँछ तपाईंबाट मेरो बुबा र अलप हुन्छ। मलाई त्यसबेला साह्रै दु:ख लाग्छ। म रुन्छु रातमा गायब भएको मेरो बुबा सम्झेर।
प्लिज बुबा १ तपाईंभित्र सधैंभरि मेरो त्यो मायालु बुबालाई जीवित राखिदिनुहोस्। त्यसलाई रातरात नमारिदिनुहोस्। तपाईंले रातिराति मेरो असली बुबालाई मारिदिँदा मेरो मुटु साह्रै दुख्छ बुबा। अनि राति तपाईंलाई देख्नेहरूले भोलिपल्ट ‘तिमी प्रतापजीको छोरी हो?’ भन्दा म आफैँ जिउँदै मरिरहेछुजस्तो लाग्छ। बुबा प्लिज १ मेरो मायालु बुबालाई कुनै रात पनि नमारिदिनुहोस्।
–पेमा

सुबोध सरसँग भेटेको केही दिनपछि मैले यो चिठी लेखेर बुबाको कोटको खल्तीमा हालिदिएकी थिएँ। यो चिठी पाएपछि त्यस दिन बुबा काममा पनि नगई दिनभर उदास भई बस्नुभएछ।
साँझ म घर पुग्नासाथ मलाई अँगालो हाल्दै बुबा फेरि बेस्सरी रुनुभयो। खुसीको कुरा त्यस दिनदेखि बुबाले रक्सी छुनुभएको छैन। धेरै समय भयो मलाई कसैले पनि बुबाको रात्रिकालीन अवस्थाबारे बयान गर्दै ‘तिमी प्रतापजीको छोरी हो’ भनेर प्रश्न गरेको छैन।

प्रकाशित : श्रावण ८, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?