सिम्लेका कथा

नगर्मी न जाडो। माथितिर अग्लो माझखण्ड समस्थली र तल समथर प्युटार। दक्षिण ललितपुरको बाग्मती नदी किनारसँगै ‘ललितपुरको कर्णाली’ भनेर चिनिने एउटा गाँउ छ– सिम्ले।

सिम्लेका कथा

सिम्ले निकै रमाइलो र रमणीय छ। यहाँ तामाङ समुदाय बसोबास रहेको छ। हरियाली र मनोरम यो ठाउँमा खानेपानी र यातायातको भने साह्रै समस्या छ। कतै जानुपर्‍यो भने गाडी चढ्ने ठाउँसम्म पुग्नै चार घण्टा जंगलको बाटो हिँड्नुपर्छ। गाउँमा बेला–बेलामा पहिरो पनि खसिरहन्छ। खानेपानी लिन पनि डेढ घण्टाको ओरालो ओर्लिनुपर्छ। विद्यालयमा पनि खानेपानी नहुँदा विद्यार्थीहरूलाई पनि समस्या छ। यातायातको समस्याले यहाँका भाइबहिनीहरू बजार घुम्न आउन पनि पाउँदैनन्। 

यस्तो समस्या भए पनि यहाँका भाइबहिनीहरू नाटकमा अभिनय गर्न खप्पिस छन्। सिम्लेको चण्डेश्वरी माविमा कक्षा ७, ८, ९ र १० मा पढ्ने २३ विद्यार्थीले बुधबार राजधानीको शिल्पी (गोठाले) नाटकघरमा आएर पहिलोपटक ‘एकादेशको कथा’ नाटक देखाए। उनीहरूको अभिनयले हेरेर ठूला दर्शक पनि रोए। पहिलोपटक काठमाडौंमा नाटक देखाउन आएकी ७ कक्षामा पढ्ने विपना ब्लोनले विद्यालयमा खानेपानी नपाउँदा समस्या भएको बताइन्। उनले भनिन्, ‘कहिलेकाहीं त विद्यार्थीहरू पानी खान नपाएर बेहोस नै हुने गरेका छन्।’ 

कक्षा १० मा पढ्ने केल्साङ जिम्बाले दुई वर्षदेखि नाटकमा अभिनय गर्दै आएकी छिन्। यो नाटकमा उनले विद्यार्थीको भूमिका निभाएकी छन्। उनलाई पहिलोपटक बाहिर सुविधासम्पन्न नाटकघरमा विभिन्न लाइट र साउन्ड राखेर नाटक देखाउन पाउँदा खुसी लागेको छ। ‘हामी गाउँमा थोरै मानिसको अगाडि बिनालाइट र साउन्डको नै नाटक गर्‍थ्यौँ,’ उनले भनिन्, ‘साउन्ड चाहियो भने आफंै मुखैले निकाल्थ्यौँ। बाहिरी आवाजले पनि डिस्टर्ब गथ्र्याे। बन्द कोठाभित्र विभिन्न लाइटले फोकस गरेर नाटक गर्दा भिन्नै लाग्यो।’ 
चण्डेश्वरी विद्यालयमा गणित पढाउन पुगेका शिक्षक रतनबहादुर देवकोटा साहित्यमा पनि रुचि राख्छन्। उनी गणित विषयप्रतिको डर हटाउन र रुचि बढाउन गीत र नाटकमार्फत बुझाउँथे। एक दिन उनले विद्यार्थीलाई ‘हामी सबै मिलेर नाटक बनाऔं है त’ भनेर सोधेपछि विद्यार्थर्ीको खुसीको सीमा नै रहेन। त्यसपछि रतनले नै यहाँका भाइबहिनीलाई नाटकमा अभिनय गर्न सिकाए। विद्यार्थीहरू गाउँघरकै समस्यालाई विषयवस्तु बनाएर नाटक खेल्न थाले। देवकोटा र उक्त विद्यालयका प्रिन्सिपल दूधराज जिम्बाको आग्रहमा शिल्पीका अनिल सुब्बाले ती विद्यार्थीको अभिनय सीपलाई थप टल्काए। सुब्बा पनि चार घण्टा हिँडेर सिम्ले गाउँ पुगेका थिए। ‘मैले त ललितपुरमा पनि त्यस्तो ठाउँ छ भनेर सोचेकै थिइनँ,’ विकास नपुगेको सिम्लेमा चिसो भुइँमा सामान्य ओछयान बनाएर सुत्न परेको सुनाउँदै सुब्बाले भने, ‘तर त्यहाँ विद्यार्थीले गरेको अभिनय देखेर चकित भएँ।’ उनी पुगेको भोलिपल्ट ६ टोलका ५० विद्यार्थीले आफ्नै गाउँको समस्यालाई विषयवस्तु बनाएर तयार पारेको ६ वटा नाटक देखाए। उनलाई एकदमै राम्रो लाग्यो। त्यसपछि सुब्बाले पनि विद्यार्थीहरूले नाटकमा देखाएको समस्यालाई नै जोडजाड पार्दै ‘एकादेशको कथा’ नाटक बनाएको बताए। नाटकबाट उठेको रकमले विद्यालयसम्म पानी ल्याउन पाइप किन्ने उनले बताए। 
कक्षा ८ मा पढ्ने शान्ति घलानले ‘रतन सरकै कारण यसरी नाटक गर्न सक्ने भएको’ सुनाइन्। ‘सरले नाटक खेल्दा जीवनको लागि रामै्र हुने बताउनुहुन्छ,’ उनले भनिन्, ‘पहिले कसरी सबैको अगाडि अभिनय गर्ने होला भनेर लाज लाग्थ्यो। तर अहिले लाग्दैन। जस्तो रोल पनि गर्न सक्छु भन्ने कन्फिडेन्स छ।’ उनलाई गायक, नाटककार र शिक्षक बन्न मन रहेछ। ८ जनाको उनको परिवारलाई सघाउन उनी घाँस काट्ने, बाख्रा चराउने, दाउरा काट्ने गर्छिन् र बाँकी समय पढ्छिन्। उनले भनिन्, ‘पढ्नको लागि थोरै समय बच्छ। कहिलेकाहीं त विद्यालय नै जान पाउँदिनँ।’ नाटकले आफ्नै गाउँको समस्या बोकेको उनले बताइन्। 
यी विद्यार्थीहरू नाटक मात्र नभई आफ्नो गाउँ स्वच्छ बनाउन आफैं फोहोर सफा गर्छन्। ‘आफ्नो घर वरिपरिको फोहोर सरहरूदेखि हामी आफंै बढार्छौं,’ १२ वर्षीय लाप्साङ ब्लोनले भने, ‘नाटक, अभिनयका साथै एकले अर्कालाई नजानेका कुरा सिकाउन, पढाउन एउटा छुट्टै घर पनि बनाएको छ। यसले पढ्न सजिलो हुन्छ।’ उनी बिहान बाख्रा चराएर खाना खाएपछि मात्रै विद्यालय जान्छन्। उनलाई पढ्न मन लाग्छ। 
साथै उनी गायक सुगम पोखरेलको फयान नै हुन्। सुगमको ‘म यस्तो गीत गाउँछु’ भन्ने गीत उनलाई मनपर्ने गीत हो। ‘पहिले राम्रोसँग पढ्छु,’ उनले भने, ‘अनि भोलिपर्सि नाटक पनि खेल्छु। अनि ठूलो गायक पनि बन्छु।’

- सुनीता साखकर्मी 

प्रकाशित : श्रावण ८, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?