कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्राणी उद्यान

अब्दुल्लाह मियाँ

जुलोजिक पार्क २४५.१६५ हेक्टर वन क्षेत्रमा फैलिएको हुनेछ । जावलाखेलको चिडियाघर ६ हेक्टरमा मात्र छ । जुलोजिकल पार्कका वन्यजन्तुले आफ्नो स्वतन्त्र अनुभव गर्न पाउने छन् ।

प्राणी उद्यान

वन्यजन्तु हेर्न जानेले पनि प्राकृतिक रूपमै हेरेको आनन्द लिन सक्नेछन् ।

तिमीहरूमध्ये धेरैले चिडियाघर त देखेकै छौ होला । चिडियाघरमा गैंडा, बाघ, चितुवा, हात्ती, भालु लगायत धेरै किसिमका चराचुरुंगी छन् । तैपनि सबै जन्तुजनावर र चराचुरुंगीका लागि ललितपुरको जावलाखेलस्थित चिडियाखान सानो छ । यो बस्तीको बीच भागमा पनि छ । थोरै समयमै सबै वन्यजन्तु हेर्न र चिडियाघर घुम्न भ्याइन्छ । 


खुसीको कुरा, अबका केही वर्षमा तिमीहरूले अहिलेको भन्दा कैयौं गुणा ठूलो जुलोजिक पार्क (प्राणी उद्यान) देख्न पाउनेछौ । यस्तो पार्कमा संरक्षण शिक्षा, मनोरञ्जन, प्रजनन, वंशाणु स्रोतको संरक्षण, अध्ययन–अनुसन्धानलगायका लागि जीवजन्तु राखिनेछन् । सरकारले भक्तपुरको सूर्यविनायकमा नेसनल जुलोजिक पार्क (राष्ट्रिय प्राणी उद्यान) बनाउन लागेको हो । अहिले यसको काम भइरहेको छ । जुलोजिकल पार्कमा अहिलेको चिडियाघरमा नभएका वन्यजन्तु र चराचुरुंगी पनि हुनेछन् । त्यो पनि अहिलेको जस्तो सानो खोरमा थुनिएको अवस्थामा होइन । हरेक वन्यजन्तुका आ–आफ्नै ब्लक हुनेछन् । 


त्यहाँ बाघले कसरी सिकार गर्छ भनेर हेर्न र बुझ्न पाइनेछ । सिकार गरेर मासु खाएको पनि देख्न सकिनेछ । अहिले जावलाखेल चिडियाघरका बाघलाई खोरभित्रै मासु ख्वाइन्छ । 
जुलोजिकल पार्कमा हरिण, मृग, जरायो, चित्तल, हुँडार आफ्नै बासस्थानमा चरिरहेका हुनेछन् । गैंडा, हात्ती, चितुवा, भालुजस्ता वन्यजन्तु पनि त्यहीं हुनेछन् । हाम्रै निकुञ्ज तथा विदेशबाट समेत वन्यजन्तु ल्याइनेछन् । हामीकहाँ नभएको सिंह पनि नजिकबाट हेर्न सकिनेछ । सबैजसो जन्यजन्तुलाई खोरभित्र नभई स्वतन्त्र छाडिनेछ । मानिसलाई आक्रमण नगरोस् भनेर वन्यजन्तु अवलोकनका लागि निश्चित ठाउँ तयार गरिनेछ । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार सकेसम्म प्राकृतिक बासस्थानमै वन्यजन्तु हेर्न सकिने गरी पार्क बनाउन लागिएको छ । 


पार्कभित्र वन्यजन्तु हेरेर आनन्द लिने मात्र होइन, ती जीवजन्तुबारे अध्ययन–अनुसन्धान पनि गर्न पनि सकिनेछ । पार्क, वन्यजन्तु र चराचुरुंगीबारे जानकारी दिन कर्मचारी उपलब्ध हुनेछन् । पार्कमा ४१ जना कर्मचारी राख्ने योजना छ । 


‘जाउलाखेलको चिडियाघर सानो भएकाले अर्को विकल्प खोजिएको हो,’ उपमहानिर्देशक भट्टराईले भन्नुभयो, ‘जुलोजिकल पार्क अहिलेको चिडियाघरभन्दा फरक र ठूलो हुनेछ ।’ जावलाखेलको चिडियाघर सानो क्षेत्रमा रहेको र मानवीय बस्तीसँगै भएकाले धेरै वन्यजन्तु राख्न, अध्ययन अनुसन्धान केन्द्रका रूपमा अघि बढाउन नसकिएकाले फराकिलो क्षेत्रमा प्राणी उद्यान केन्द्रको अवधारणा ल्याइएको हो । 


अब बन्ने वन्यजन्तु हेर्न जानेले पनि प्राकृतिक रूपमै हेरेको आनन्द लिन सक्नेछन् । यो पार्क वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने केन्द्रका रूपमा समेत विकास गर्ने सरकारको उद्देश्य छ । 
भक्तपुरस्थित गुन्डु, सिपाडोल र कटुञ्जे गाविस (सूर्यविनायक नगरपालिका) मा रहने जुलोजिक पार्कको २०७३ को असार ९ मा शिलान्यास भएको थियो । सरकारले २०७१ माघ २९ मा यो पार्क बनाउने निर्णय गरेको थियो । 


पार्क सूर्यविनायक, सीतादेवी, मन्थली, बालकुमारी, लिखानारायण, सञ्जीवनी सामुदायिक वनसहित सरकारद्वारा व्यवस्थित वन क्षेत्रमा बनिरहेको हो । अहिले पार्कको सीमांकन गर्ने र तारबारले घेर्ने काम सकिएको छ । यो वर्ष भौतिक संरचनाको काम हुनेछ । भट्टराईका अनुसार अबका चारदेखि पाँच वर्षमा पार्क तयार हुनेछ । 

प्रकाशित : श्रावण २९, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?