कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिणा के गर्छौ ?

करुणा देवकोटा

काठमाडौं — दसैंको रौनक सबैतिर छाइसकेको छ । तिमीहरूको स्कुल पनि बिदा भइसक्यो होला । बिदामा पिङ खेल्ने, नयाँ लुगा किन्ने, घुम्न जाने योजना पनि होलान् । मान्यजनबाट टीका, जमरासँगै पाइने दक्षिणाचाहिँ केमा उपयोग गर्ने विचार गरेको छौ त ? दक्षिणाको पैसा फाइदा नहुने काम र खानेकुरामा खर्च गर्दै छौ भने त्यो खासै राम्रो योजना भएन । मान्यजनले दिनुभएको दक्षिणा हामी धेरै राम्रा काममा उपयोग गर्न सक्छौं ।

दशैँको रौनक सबैतिर छाइसकेको छ । भाईबहिनी, तिमीहरुको स्कुलहरुमा दशँैको विदा पनि भइसक्यो होला । विदा हुन बाँकी रहेका भाइबहिनीको पनि छिट्टै विदा हुने तयारी भइरहेको होला । दशैँ विदामा पिङ खेल्ने, नयाँ लुगा किन्ने, घुम्न जाने, आदि योजनाहरु पनि होलान् । अनि दशैँमा मान्यजनहरुले टिका, जमरा लगाइदिएर आर्शिवादसँगै दिनुभएको दक्षिणा के कामको लागि उपयोग गर्ने, निर्णय गर्यौ कि नाई ?

कि दशैँमा दिनुभएको पैसा फाइदा नहुने काम र खानेकुरामा खर्च गर्ने योजना बनाएको छौ ? यदि त्यस्तो निर्णय गरेको छौ भने, त्यो एकदमै गलत हो है । दशैँमा मान्यजनले दिनुभएको दक्षिणा हामीले धेरै राम्रो कामहरुमा उपयोग गर्न सकिन्छ ।
मलाई पनि तिमीहरुलाई जस्तै दशैँ एकदमै मनपर्छ । सानो छँदा दशैँको छुट्टी सुरु हुने दिन गनेर बस्थेँ । स्कुल विदा हुने, नयाँ लुगा लगाउन पाइने, पिङ खेल्ने, चंगा उडाउने, टिका लगाएर दक्षिणा कमाउने कुराहरु सम्झेर नै खुसी लाथ्ग्यो । अनि दशैँ विदाका लागि स्कुलले दिएको छुट्टी रमाइलो र यादगार बनाएर बिताउथँे ।

म सानो छँदा, दशैँ विदा सकिएपछि पढाई हुने पहिलो दिन पनि बढो उत्सुकतासाथ प्रतिक्षा गर्थेँ । कारण थियो, दशैँमा टिका लगाएर कसले कति पैसा कमायो भन्ने थाहा पाउन । साथिहरुसँग भन्दा पनि सर/मिसहरुले “दशैँ कस्तो भयो, कति रुपैयाँ कमायौ ?” भनेर सबैलाई पालैपालो सोध्ने प्रश्नको बेग्र प्रतिक्षा हुन्थ्यो मलाई । कुनै वर्ष धेरै कमाएको सुनाउन पाउँदा गर्वले छाति फराकिलो हुन्थ्यो, अनि कुनै वर्ष अलि थोरै कमाई हुँदा “यसपाली खासै धेरै ठाउँमा जान पाइएन” भन्ने बाहाना बनाएर मनमनै खिन्न हुन्थेँ ।

त्यो भन्दा अझ बढि आनन्द त्यत्तिबेला आउँथ्यो, जब खाजा खाने छुट्टीमा पैसाको नयाँ नयाँ नोट दिएर पसलबाट खाजा किनिथ्यो । अनि मनमनै हिसाब लगाउथेँ, यो पैसालाई मैले स्कुलमा खाजा खान मात्रै प्रयोग गरे भने त अर्को दशैँसम्मका लागि पुग्छ । तर, तिहारपनि आइनपुग्दै आधाभन्दा बढि पैसा खै के के खाएर र किनेर खर्च गर्थँे, अहिलेसम्म मेसो पाएको छैन ।

बाबा/ममी र सर/मिसहरुले त्यो पैसालाई जतन गर, सही काममा उपयोग गर भनेर सिकाउनुहुन्थ्यो, मनमा हो जस्तो पनि लाग्थ्यो । तर बजारको खानेकुरा देखेपछि मन त्यत्तै रमाउँथ्यो । सानो छँदा त्यसरी दशैमा टिका लगाएर कमाएको पैसा व्यर्थ खर्च गरेको सम्झदा अहिले भने पछुतो लाग्छ । अझैपनि दशँै आइरहँदा आफैसँग प्रश्न गर्छु, “बेकारमा फाइदा नगर्ने खानेकुरा किनेर किन त्यत्ति धेरै पैसा खर्च गरे होला ?”

तर, जब स्कुले जीवनकै अलिक ठूलो कक्षाहरुमा पुगेँ, दशैँमा कमाएको पैसाहरु सही कामका लागि उपयोग गर्ने बानी बसालेँ । दशैँमा कमाएको पैसाहरुले विभिन्न पुस्तकहरु खरिद गर्न थालेँ । बालबालिकाका लागि लेखिएका पुस्तकहरु मेरा रोजाईमा पर्थे । अरुले लेखेको कथा, कविताहरु पढ्दा आाफैपनि केही लेख्ने प्रयत्न गर्थँे । त्यही बेलादेखी सृजनात्मक लेखहरु प्रति सम्मानको भाव जागृत भएको थियो ।

अझै पनि बालबालिकाका लागि तयार गरिएका पुस्तक तथा कथा/कविता पढ्दा समय बितेको पत्तो पाउँदिन । लाग्छ, फेरि बच्चा हुन पाए, फेरि त्यस्तै धेरै पैसा कमाउनेगरी दशैँ मनाउन पाए बालबालिकाका लागि लेखिएका कत्ति धेरै पुस्तकहरु खरिद गरेर पढ्ने थिए अनि अरुलाई पढ्न सुझाउने थिएँ ।

हिजोआज धेरै पुस्तक खरिद नगरेपनि पुस्तकहरु पढ्नुपर्छ भन्ने मान्यता बनाएको छु । दशैँ नजिकै आइरहँदा दशँैमा टिका लगाएर कमाएको पैसा सृजनात्मक पुस्तकहरु किन्नका लागि उपयोग गर्न भाइबहिनीलाई पनि सुझाव दिन मन लाग्छ । नयाँ पुस्तकहरु पढ्ने बानीले हामीलाई धेरै ज्ञानगुनका कुराहरु सिकाउँछ । पुस्तक बाटै के कुरा ठीक हो, के कुरा बेठीक हो भनेर पनि सजिलै छुट्याउने ज्ञान पाईन्छ । पुस्तकहरु पढ्ने बानीले कुनैपनि विषयवस्तु विश्लेषणात्मक ढंगले गहन गर्नसक्ने क्षमताको विकास पनि हुन्छ ।

दशैँमा मान्यजनले दिनुभएको दक्षिणा अन्य काममा पनि तिमीहरुले खर्च गर्न सक्छौ । आफ्नो पढाईका लागि आवश्यक सामग्रीहरु खरिद गर्न, आफ्नो व्यक्तित्व र बौद्धिकतालाई मद्दत पुग्ने सामग्रीहरु किन्नका लागि पनि उपयोग गर्न सक्छौ । स्कुलमा आँफुलाई आवश्यक पर्ने कापी, कलम किन्नका लागि पनि पैसा उपयोग गर्न सक्छौ । त्यो पैसा विभिन्न सामाजिक कामहरुमा सहयोग गरेर, दिनदुखीहरुको मद्दत गरेर पनि तिमीहरुले उपयोग गर्न सक्छौ ।

अरुलाई सहयोग गर्ने बानीले मान्यजनबाट तिमीले धेरै माया र प्रशंसा त कमाउँछौ नै, तिमीजस्तै साथिहरुका लागि प्रेरणाको पात्र पनि बन्छौ । दशैँमा मान्यजनले दिनुभएको पैसा बचत गरेर राख्नु पनि राम्रो काम हो । तिमी आफैले खुत्रुकेमा पैसा जम्मा गर्न पनि सक्छौ वा बाबा/ममीलाई राख्न दिन पनि सक्छौ ।

हिजो आज त विभिन्न बैंकहरुले बाल बचत खाता खोल्न सक्ने व्यवस्था गरेका छन् । त्यस्ता खाताहरुमा तिमीहरुले पनि आफ्नो पैसा जम्मा गर्न सक्छौ । यसरी बचत गरेको पैसा भविष्यमा कुनै गाह्रो अप्ठेरो पर्दा तिमीले सजिलै उपयोग गर्न सक्छौ । आफ्नो पढाईमा पछिसम्म प्रयोग गर्न सक्छौ । सानैबाट पैसा बचत गर्ने, सही कामका लागि प्रयोग गर्ने बानीले तिमी ठूलो भएपछि पनि पैसाको सही सदुपयोग गर्ने बानी तिमीमा विकास हुन्छ ।

छुट्टीको समयमा परिवारको सदस्यहरुसँग नयाँ ठाउँहरु घुम्न पनि दशैँको दक्षिणा उपयोग गर्न सकिन्छ । नयाँ ठाउँहरुमा घुम्दा नयाँ परिवेश, त्यहाँ बसोवास गर्ने स्थानीय मानिसहरुको जीवनशैली आदिको विषयमा जान्ने अवसर मिल्छ । त्यो पनि हाम्रो लागि सिकाई हो ।

आशा छ, यसवर्ष दशैँमा टिका लगाएर पाएको दक्षिणा र दशैँ विदा तिमीहरुले राम्रो कामको लागि उपयोग गर्नेछौ । सबैमा माया, प्रेम अनि सद्भाव बाँडेर दशैँ मनाउन सकियो भने, त्यो नै दशैँको सबैभन्दा ठूलो खुसी हुनेछ । एकआपसमा खुसी बाँड्दै, रमाइलो गरेर दशैँ मनाऊ । सबै भाइबहिनीहरुलाई बडा दशैँको धेरै धेरै शुभकामन ।

प्रकाशित : आश्विन ८, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?