१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

डर लाग्छ कि ?

कान्तिपुर संवाददाता

काठमाडौं — ओ हो... यो बाबु त कस्तो डरपोक १
लौ है यो नानी त साँच्चै निडर रैछ ।
हैन के सारो काँतर भएको हँ ?
बच्चा भएर अलि अलि डर त हुन पर्छ कि के सारो जिद्दी के ?

डर लाग्छ कि ?

ओ हो... यो बाबु त कस्तो डरपोक १

लौ है यो नानी त साँच्चै निडर रैछ ।
हैन के सारो काँतर भएको हँ ?
बच्चा भएर अलि अलि डर त हुन पर्छ कि के सारो जिद्दी के ?

बालबालिकालाई ठूलाले बेला बखत यस्तो भन्ने गर्छन् । अझ कति त बालबालिकालाई त भनेको टेरेनन् भने भूत र राक्षसका कुरा सुनाएर तर्साउँछन् पनि । यस्तोमा के साँच्चै तिमीहरू डराउनु आवश्यक छ ? कि कसैसित पनि कहिल्यै नडराए हुन्छ ? आऊ अब डरबारे बुझौं ।
डरबारे केही वर्षअघि अमेरिकामा एउटा सर्वेक्षण गरिएको थियो । त्यो सर्वेक्षणबाट धेरैजसो मानिसमा हुने डरका १५ प्रकार पत्ता लगाइएको थियो । तीमध्ये केही डर बालबालिकासँग पनि सम्बन्धित छन् ।
कस्तो बेलामा डर लाग्छ ?
तिमीहरूजस्ता धेरैजसो बालबालिका अँध्यारोमा डराउँछन् । एक्लै पर्दा पनि डर लाग्छ । रिसाएको मानिस देख्यो भने डर लाग्छ । अरूले आफूलाई हेपे वा हेला गरे भने त्यस्तो बेला पनि डर लाग्दो रहेछ । कहिलेकाहीं आफूले भनेको कुरा ठूलाले नमान्ने हुन् कि भन्ने पिरले पनि बालबालिका डराउँछन् । अनि खेलकुद वा अन्य कुनै प्रतिस्पर्धामा आफू असफल हुने हो कि भन्ने पिरले डराउने पनि उत्तिकै हुन्छन् ।
डर लाग्ने अर्को कारण हो– आफूबाट गल्ती हुनु । तिमीजस्ता कतिपय स–साना नानीहरू कुकुर, माकुरा, अस्पताल, डेन्टिस्ट र प्रहरीसँग समेत डराउने हुन्छन् । कतिलाई चाहिँ धेरै मानिसको अगाडि बोल्नुपर्‍यो भने डर लाग्छ । परीक्षादेखि त झनै धेरै डराउँछन् ।
यी र यस्तै विभिन्न डरबाट समयमै जोगिन सकिएन भने वयस्क जीवनमा गम्भीर फोबिया हुने खतरा रहन्छ । फोयिबा भनेको कुनै कुरा खप्नै नसक्ने गरी डराउने समस्या हुनु हो ।
अँध्यारोको डर : अँध्यारोमा नडराउने कमै हुन्छन् । सुत्ने कोठा अँध्यारो हुँदा होस् कि मध्यरातमा अचानक ब्यँुभिँmदा होस् । त्यस्तो बेला डरले तिमीहरूको मुटुको धड्कन पक्कै बढेकै हुनुपर्छ ।
हल्का अँध्यारोमा कुनै वस्तुको छाया परिदियो भने त्यो त्यसै तर्साउने भूतजस्तो देखिन्छ । त्यस्तोमा धेरै बालबालिका अत्तालिन्छन् । तर अँध्यारो हुँदैमा डरानुपर्ने खासै कारण हुँदैन । किनभने प्रकाशमा कुनै पनि वस्तुको छाया बन्ने गर्छ । अचानक उठ्दा त्यस्ता छायाहरू अरू नै केके न हुन् जस्तो लागेर हामीलाई डर लाग्ने हो । यस्तो डर भगाउन सकेसम्म कोठाचोटा उज्यालो राख्ने प्रबन्ध गर । अँध्यारो हुने ठाउँमा छाया नपर्ने गरी बत्ती बाल्ने व्यवस्था मिलाउन आफ्ना अभिभावकलाई भन ।
बत्ती नगएका बेला आफैंले बत्ती निभाएर कोठामा केही मिनेट बस्ने बानी गर्नुपर्छ । अँध्यारो वा कम प्रकाशमा त्यहाँ रहेका विभिन्न वस्तुहरूलाई कसरी हेर्न सकिन्छ भनेर सोच्दा पनि अँध्यारोका कारण हुने डर हटेर जान्छ । हावामा पर्दाहरू हल्लिँदा दिउँसोको तुलनामा राति फरक देखिन्छन् । पर्दा हल्लिएको छायाले त कतै तिमी बिथ्थामा डराइरहेका छैनौ ? यस्तो कुरामा ध्यान दिन सक्यो भने डर आफैं भाग्छ ।
अँध्यारोमा डराउने समस्या छ भने, आफ्नो सुत्ने कोठामा धेरै सामान थुपार्नुहुन्न । सक्दो खुला राख्नुपर्छ ।
मध्य रातमा निद्रा टुट्यो र डर लाग्न थाल्यो भने डरछेरुवाझैं बनेर आमाबुबाको ओछ्यानमा गएर सुत्ने बानी छोड्नुपर्छ ।
मनमनै सोच्नुपर्छ– अब त म पनि निकै ठूलो भैसकें । म मात्रै के कम । किन त्यसै डराउने ? आफूप्रति आफैंले गर्व गर्न थाल्नुपर्छ ।
आफ्नो व्यवहारबारे अभिभावकलाई राम्ररी बुझाउन सक्नुपर्छ । यसले पनि तिमीमा डर हट्छ ।
जनावरहरूको डर : जनावरहरूको डरले अधिकांश बालबालिका प्रभावित हुने गर्छन् । यस्तो डर उमेर बढेसँगै आफंै कम हुन्छ । बाल्यकालमा जनावरबाट डराउने समस्या हटाउन जनावरको वरपर गएर तिनका व्यवहारहरू अध्ययन गर्नुपर्छ । त्यसबाट धेरै कुराहरू सिकिन्छ । उदाहरणका लागि यदि तिमी कुकुरदेखि डराउँछौ भने नभाग । बरू उसको अगाडि टक्क उभिऊ । तिमीलाई त्यसले पहिले हेर्छ, त्यसपछि पुच्छर हल्लाउँदै तिम्रो हात सुघ्नेछ । अनि के कारण डराउनु त ?
तिमीलाई कुनै खास जनावरबाट डर लाग्छ भने त्यसको कारण खोतल । त्यस्तो जनावरका बच्चालाई सोच जो तिमीभन्दा पनि सानो छ । त्यसलाई हेर । तिमीसँगै उसको पनि वृद्धि र विकास भइरहेको छ । यो तथ्य ख्याल राख र बुझ्ने प्रयास गर । त्यसलाई तिमीले खान दियौ र रेखदेख गर्‍यौ भने त्यो तिम्रो डरको कारण हैन, बरु मिल्ने साथी बन्न सक्छ ।
तर एउटा कुरा कहिल्यै नभुल, कुनै पनि परिस्थितिमा जनावरलाई जिस्क्याउने काम गर्नु हुँदैन । यसो गरियो भने जुनसुकै जनावरले पनि तिमीमाथि आक्रमण गर्न सक्छ । कुनै पनि जनावर पाल्नका लागि अभिभावकलाई बाध्य नबनाऊ । आफैं बुझ्ने र सक्ने भएपछि त्यसका लागि प्रयास गर्न सकिन्छ ।
जनावरलाई कहिले पनि हातैले खाना दिने बानी लगाउनुहुन्न । यस्तो गर्दा कहिलेकाहीँ टोकेर ठूलो घाउ बनाइदिन सक्छ । यसप्रति सचेत हुनुपर्छ ।

विद्यालयको डर : तिमीहरूमध्ये कतिलाई विभिन्न कारणले स्कुल–फोबिया हुन सक्छ । स्कुल–फोबिया भनेको विद्यालय जान मन नलाग्ने वा डराउने समस्या हो । यस्तो डरका वास्तविक र काल्पनिक दुवै कारण हुन सक्छन् । कारण जे भए पनि समस्याको समाधान गर्नतिर तिमी आफैं अग्रसर हुन सक्नुपर्छ । तिमीमा स्कुल जान मन नलाग्नुको कारण घर छाड्न मन नलाग्नु पनि हुन सक्छ । स्कुलकै डर हो भने त्यसका पनि विभिन्न कारण हुन सक्छन् । पढाइमा कमजोर हुने डर, साथीले गिज्याउने डर वा गृहकार्य नसकिएकाले शिक्षकबाट पिटिने डर ? यी सबै तिम्रा डर अभिभावक र शिक्षकको सहयोगमा सजिलै समाधान गर्न सकिन्छ । यस्ता डर हटाउन असल साथी बनाऊ जोसित सँगै हिँड्न, बोल्न र आफ्ना मनका सबै कुरा भन्न सकियोस् । त्यस्तो साथीले तिमीलाई होमवर्क सघाउन सक्छ । कुनै समस्या परे समाधानको उपाय सुझाउन सक्छ । तिमीले भन्न नसकेका कुरा शिक्षक वा अभिभावकलाई अनुरोध गरिदिन पनि सक्छ ।
स्कुलको डर हटाउन आफ्ना अभिभावकहरूका स्कुले–जीवनका प्रेरक र सुखद अनुभवहरू सोध्ने र सुन्ने गर । यसबाट तिमीलाई भयरहित वातावरणमा विद्यालय जान प्रेरणा मिल्न सक्छ । निडर र
पढाइमा पोख्त साथीका अनुभव पनि सुन्ने गर । यसले तिम्रो पढाइप्रतिको चाख बढ्नेछ । साथै, आत्मविश्वास पनि बढ्नेछ ।
डाक्टरको डर : तिमीहरू बेला–बखत बिरामी परिरहन्छौं । डाक्टरकहाँ जाँदा इन्जेक्सन लगाइदिने वा चिरफार गरिदिने डर हुन्छ । दाँत हल्लिएको छ भने फुकाल्दा दुख्ने डर पनि उत्तिकै हुन्छ । तर अस्पताल र चिकित्सक तिमीलाई दुखाउनका लागि होइनन् । उनीहरू त तिम्रो दुखाइ निको गर्नका लागि हुन् । यो कुरा बुझ्न सक्यौ भने कहिल्यै यस्तो डर लाग्ने छैन ।
अर्को कुरा, डाक्टरसँग डराउनुभन्दा पनि रोगसँग डराउनुपर्छ । रोगसँग डराउने भनेको स्वस्थ र सफा रहने आनीबानी बसाल्ने हो । सानैदेखि तिमी आफूलाई दन्तचिकित्सकसँग परीक्षण गराउन आफ्ना अभिभावकलाई आग्रह गर । दाँतलाई सुरक्षित कसरी बनाउन सकिन्छ भन्नेबारे बुझिराख । चकलेट धेरै खाए दाँत बिग्रिन्छ । धेरै गुलियो र जंक फुडहरूमा प्रयोग गरिएका सामग्रीले शरीरमा भएको क्याल्सियमको बढी उपयोग गरेर दाँत कमजोर बनाउन सक्छ । यो अवस्था आउनै नदिनका लागि सावधानी अपनाउनुपर्छ ।
०००
बाल्यकालमा कोही सामान्य रूपमा डराउने गर्छन् भने कोही फिटिक्कै डराउँदैनन् । हामीलाई नसुनेको नदेखेको भन्दा सुनेको र देखेकै घटनामा ज्यादा डर लाग्छ । त्यसैले हाम्रो मनोविज्ञानमै दीर्घकालीन असर पार्ने खालका डर वा भयका कुरा सुन्नबाट टाढै रहनु राम्रो हुन्छ । विभिन्न कारण वा घटनाबाट मनभित्र कुनै डर त्रास पसेको छ भने त्यसलाई तत्कालै हटाउनुपर्छ ।
भनिन्छ, ‘वनको बाघले भन्दा मनको बाघले बढी खान्छ’ । यसको आशय के भने, डर भनेकै मानसिक समस्या हो । यसबाट जोगिन हामीले आफू डराउनुको खास कारण खोतल्नुपर्छ । तिमी निडर भयौ भने मात्र भावनात्मक रूपमा सुरक्षित महसुस गर्दै आफूलाई अघि बढाउन सक्छौ । उसो त डरले कतिपय अवस्थामा हामीमा सकारात्मक प्रभाव पनि छोडेको हुन्छ । यसले हामीलाई गलत र आफंैलाई नोक्सानी हुने मार्गमा जानबाट जोगाउँछ । व्यस्त सडकमा हिँड्दा गाडीले किच्न सक्ने डरले हामीलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गर्छ । अपरिचितले दिएको खाद्यवस्तुले हानि गर्न सक्ने डरले ठूलो समस्यामा पर्नबाट जोगिन सकिन्छ ।
कुनै पनि अप्रिय घटना हुनबाट जोगाउनका लागि घरमा तिम्रा अभिभावक र विद्यालयमा शिक्षकले तिमीलाई डर देखाउने गरेका हुन्छन् । यो तिमीहरूलाई सावधानी अपनाउनका लागि गरिने उपाय मात्र हुन् । फेरि यो काल्पनिक हो भनेर बुझ्न सक्नुपर्छ । डरको पनि सीमा हुन्छ । अनावश्यक डर, त्रास र भय मनमा पालेर बस्दा दैनिक गतिविधिहरू नै अनियमित बन्न सक्छन् । यसप्रति पनि तिमीहरूले ध्यान दिनैपर्छ ।
‘टाइगर क्याननट स्लिप’ जस्ता पुस्तक तिमीहरूकै लागि लेखिएका हुन् । यस्ता पुस्तकले पनि तिमीलाई निडर बनाउन मद्दत गर्न सक्छन् ।
(अमेरिकी संस्था चाइल्ड डेभलपमेन्ट इस्न्टिच्युटको अनलाइन सामग्रीमा आधारित)

प्रकाशित : कार्तिक १२, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?