बुइँगलको भूत

शाश्वत पराजुली

काठमाडौं — आमाले भन्नुभयो, ‘बुइँगलमा भूत छ ।’
‘म गएर हेरूँ ?’ मैले भनें ।
‘हुँदैन बा हुँदैन । माथि आउँदै नआऊ ।’ आमा एक घारी केरा बोकेर
बुइँगलतिर जानुभयो ।

बुइँगलको भूत

आमाले भन्नुभयो, ‘बुइँगलमा भूत छ ।’

‘म गएर हेरूँ ?’ मैले भनें ।
‘हुँदैन बा हुँदैन । माथि आउँदै नआऊ ।’ आमा एक घारी केरा बोकेर
बुइँगलतिर जानुभयो ।
‘आमा, भूतले धेरै केरा खान्छ हो ?’ मैले सोधें ।
‘हो बा हो, माथि नआऊ है,’ आमाले फेरि भन्नुभयो ।
अर्को दिन बा एक डालो आँप लिएर बुइँगलतिर लाग्नुभयो ।
‘बा, म पनि माथि आऊँ ?’
‘हुँदैन बा हँुदैन, बुइँगलमा त भूत छ,’ बाले पनि आमाले जस्तै लेघ्रो तानेर भन्नुभयो ।
‘बा, भूतले धेरै आँप खान्छ हो ?’
‘हो बा हो, तर माथि नआऊ है,’ बाले उसै
गरी भन्नुभयो ।
मलाई भूत हेर्न मन लाग्यो । फेरि कताकता डर पनि लाग्यो । सोच्न थालें, ‘हैन, यो भूत कस्तो होला १ केरा खान्छ, आँप खान्छ ।’ त्यसै बेला आमा एक ठेकी दही र एक हर्पे घ्यू बोकेर माथि जानुभयो ।
‘आमा भूतले दही पनि खान्छ, घ्यू पनि खान्छ ?’ मैले सोधें ।
‘हो बा हो । सबै खान्छ । तर तिमी माथि नजाऊ है,’ आमाले यसपटक पनि भन्नुभयो ।
मलाई भूत हेर्न चौपट्टै रहर लाग्यो । मनमा कुरा खेले, ‘हैन, साँच्चै भूत कस्तो होला ? आमा मलाई माथि नजाऊ भन्नुहुन्छ । आफूचाहिँ बुइँगलमा गइरहनुहुन्छ । बा पनि बुइँगलमा गइरहनुहुन्छ । के आमाबा भूतको साथी हो र ?’
मलाई भूत हेर्ने चौपट्टै रहर जाग्यो तर फेरि डर लाग्यो । बुइँगलमा जानै सकिनँ ।
एक दिन आमा छिँडीमै बसेर मेरो नेपाली किताब पढिरहनुभएको थियो । बा आँगनछेउको धारामा
आफ्नो भोटो धुँदै हुनुहुन्थ्यो । ‘लौ मौका यही हो’ भन्दै म बुइँगलतिर जान कम्मर कसें । तर फेरि डर लाग्यो, ‘आमा र बा दुवैजना बुइँगलमा भूत छ भन्नुहुन्छ । कसरी जानु ?’
निकै बेर भर्‍याङमै बसें । ‘आ, जे त पर्ला’ भन्दै ठूलो मान्छेजस्तै छाती तन्काएँ । अनि बिरालोको चालमा विस्तारै माथि गएँ । मुटु छिटोछिटो ढुकढुक गरिरहेको थियो । डराई डराई घरक्क घोप्टे उघारेँ । ‘आबुई १ भूत बाबै भूत...’ म त थरथरी भएँ ।
हत्तेरी, कहाँको भूत हुनु, एउटा परेवा भुर्र उडेर झयालतिर पुग्यो । मेरो मुटु भने जोडसँग हल्लिरहेको थियो । बुइँगल अँध्यारो थियो । फेरि मनले भन्यो, ‘बाफ रे १ भूत त छ कि क्या हो ?’
चाल मारेर बुइँगलको माझतिर पुगेँ । तर थाहा छ ? त्यतातिर त मगमग बास्ना पो आइरहेको थियो । बास्नाले भूतको कुरै बिर्सियो । मालभोग केरा पाकेको बास्ना आइरहेको थियो । भुँइमा चाङ मिलाएर राखिएका मालदह आँप मगमगाइरहेका थिए । अलि पर हर्पेको घ्यूको बास्ना झन् मीठो थियो ।
‘अहो १ त्यहाँ त खानेकुरै खानेकुरा पो रै’छन् त ।’ मैले केरा, आँप, दही, घ्यू मैले बाँकी राख्दिनँ भन्ने आमालाई थाहा थियो । बालाई पनि त थाहा थियो । त्यही भएर बुइँगलमा भूत छ भन्नु हुँदो रहेछ कि
क्या हो ?
अब समय किन खेर फाल्नु ? मैले चारवटा केरा खाएँ । दुइटा आँप सिध्याएँ । एक डाडु घ्यू पनि बजाएँ । मन थाम्न सकिनँ, ठेकीबाट हातैले दही निकालेर खाएँ । अनि ढयाउ गर्दै डकारें । लौ मार्‍यो, मेरो आवाजले भूत त भकारीबाट दौडँदै झ्यालतिर पुग्यो । ‘आबुई भूत १’ मेरो हंसले ठाउँ छोड्यो । अलि नियालेर हेरेको त केको भूत हुनु ? कालो बिरालो पो यता र उता गर्दै रहेछ ।
फेरि अलिकति दही खान मन लाग्यो । हातैले निकालेर खाएँ । अघाएपछि किन बसिराख्नु ? अब तल गएर भकुन्डो खेल्छु भनेर यसो भर्‍याङतिर जाँदै थिएँ । भर्‍याङको घोप्टे त आफैं घुरुक्क उघ्रियो बाबै । ‘आबुई भूत १’ त्यतिबेला म चौपट्टै डराएँ । घोप्टे उघारेर भूत त माथि पो आयो बाबै ।
हया, कहाँका भूत हुनु ? आमा पो हुनुहुँदो रैछ । तर अचम्म, आमाले आत्तिँदै भन्नुभयो, ‘भूत...भू...त..१’ आमा डराउँदै भर्‍याङबाट तलतिरै ओर्लन थाल्नुभयो ।
अब हाँस्ने पालो मेरो थियो । आमाले मलाई चिन्नुभएनछ । बुइँगलको अँध्यारोमा मेरो मुख मात्र देखिएछ त्यो पनि दही लतपतिएको, सेतै । मैले फेरि ठूलो आवाजमा ‘ढयाउ’ गर्दै डकारें । त्यतिबेला आमा आत्तिँदै छिँडीमा पुगिसक्नुभएको थियो ।

प्रकाशित : मंसिर ३, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?