२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

साइकलमा सुन्दरीजल

अघिल्लो साताको शुक्रबारको कुरा हो । हामी साथीसाथी मिलेर शनिबारको दिन सुन्दरीजल जाने योजना बनायौं । गाडीमा जानुभन्दा साइकल–यात्रा गर्न पाए अझै रमाइलो होला भन्ने हामीलाई लाग्यो । त्यसैले साइकलमै जाने निधो गर्‍यौं । भोलिपल्ट बिहान ठीक १० बजे भेट्ने निधो गरेर साथीहरू सफल, सुजल, सन्जील, अलिश, रस्बिन र आयुश आ–आफ्नो घरतिर लागे ।

साइकलमा सुन्दरीजल

म पनि घर गएँ । सुन्दरीजल पहिलो पटक जान लागेकोले केही उत्साहित थिएँ । 

घरमा गएर मामुलाई साइकलमा सुन्दरीजल जाने कुरा सुनाएँ । उहाँले लामो बाटो साइकलमा नजान भन्नुभयो । तर मैले हामी निक्कै जना भएको र विस्तारै जाने भनेर अनुरोध गरे । मेरो आग्रहको अगाडि उहाँले नाइँ भन्न सक्नुभएन । 
शनिबारको दिन म १० बजे नै तयार भइसकेको थिएँ । सन्जील हाम्रै घरमा आइपुग्यो । क्रमश: हामी सबै भेला भयौं । तर रस्बिन आइपुगेन । ऊ घरमा पनि थिएन । ऊ त साइकल बिग्रेर पो बनाउन गएको रहेछ । हामी त्यहीँ गयौं । अब हामीलाई आपत् पर्‍यो । साइकल त बनाउनै पो थालेको रहेनछ । त्यहीँ बस्ता बस्तै दुई घण्टा बित्यो । दुई घण्टामा बल्ल साइकल बन्यो । १२ त त्यहीं बज्यो । 
जाने भनेर हिँडिसकेपछि फर्किन मन लागेन । हामीले पैसा जम्मा गरेर केही खानेकुराहरू किन्यौं र त्यहाँबाट हिँड्यौं । अलिश पहिले पनि गइसकेकोले ऊ अगाडि लाग्यो । घाम मज्जाले लागेको थियो । आहा कति राम्रो ∕ कति सुन्दर हाम्रो देश हाम्रो । मैले मनमनै सोचेँ– अनि किन देशविदेशबाट पर्यटकहरू नआऊन् त हाम्रो देशमा ?
बाटोमा बेला बखत आराम गर्दै फोटोहरू खिच्तै हामी अगाडि बढिरहेका थियांै । अचानक रस्बिनको साइकल पम्चर भयो । साइकल डोहोर्‍याउँदै हामी अगाडि बढ्यौं । सारै गाह्रो भयो । केही पर पुगेपछि साइकल मर्मत गर्ने ठाउँ भेटियो । हामी खुसी भयौं । 
हामी दुई घण्टामा बल्ल सुन्दरीजल पुग्यौं । भोक र थकानले लखतरान भइसकेका थियौं । तर त्यहाँ पुगेपछि पहिले फोटो खिच्न मन लाग्यो । त्यहाँको प्राकृतिक सुन्दरताले हाम्रो आधा थकान मेटियो । केहीबेर रमाइलो गरेपछि हामीले लगेको खानेकुरा खायौं । ‘रक क्ल्याइमिङ’ पनि गर्‍यौं । रमाइलो 
गर्दागर्दै ४ बजेको पत्तै भएन । सबैको घरबाट फोन आउन थालिसकेको थियो । त्यसैले हामी फर्किने सुरसारमा लाग्यौं । 
फर्किंदा गीत सुन्दै आउँदै थियौं । अचानक मेरो साइकलको टयुब माथिको सस्पेन्स नै भाँचियो । कुदाउन पनि, डोर्‍याउन पनि नमिल्ने भयो । घाम अस्ताउन थालिसकेको थियो । त्यति बेला मैले मामुले भनेको सम्झिएँ– साँच्चै हामी लामो बाटो ठूलाको साथ नलागी यसरी हिँड्नु हुने थिएन कि ?
घरबाट बारम्बार फोन आइरहेको थियो । अब हामीले एक जुक्ति लगायौं– सस्पेन्समा हात राखेर अर्कोले साइकल तान्ने । ७ जनाले पालैपालो साइकल तान्न थाल्यौं । रात पर्न लागिसकेको थियो । फोटोर भिडियो खिच्नुका साथै गीत सुनेकाले मोबाइलको पनि ब्याट्री सकिएर स्विच अफ भयो । दुई घण्टा जति साइकल तान्दै हिँडेपछि बल्ल एउटा पसल भेटियो । त्यहीँबाट फोन गरेर हामीले आ–आफ्नो घरमा आउन ढिला हुने कुरा जानकारी दियौं । बीचमा बाँसघारीको बाटो थियो । हामीलाई केही डर पनि लागेको थियो । त्योभन्दा बढी चाहिँ घरमा सबै जना कति चिन्तित हुनुभयो होला भन्ने लागेको थियो । 
सवा ८ बजे बल्ल हामी आफ्नो एरियामा पुग्यौं । सुजल र मेरो घरनजिकै भएकोले हामीले अरू सबैलाई पुर्‍याएर अन्त्यमा हामी आआफ्नो घर गयौं । घरमा सबैजना मेरै बाटो हेरिरहनुभएको थियो । मैले एक सासमा दिनभरका सबै कुरा सुनाएँ । 
यसरी सुन्दरीजलको हाम्रो साइकल यात्रा धेरै खुसी र केही दु:खका साथ टुंगियो । सुत्ने बेला मैले ओछयानमा पल्टेर सम्झेँ– यदि हामीले राम्रो तयारी गरेको भए यात्रामा कुनै समस्या झेल्नुपर्ने थिएन । दुई घण्टा अगाडि हिँडेका थियौं र आ–आफ्नो साइकल अघिल्लो दिनै ठीकठाक पारेका थियौं भने त्यस्तो सास्त बेहोर्नुपर्ने थिएन । अबका यात्रामा म यो कुरा कहिले बिर्सने छैन । समयको पनि ख्याल गर्नेछु । 
-एन्जल अधिकारी, कक्षा ९
नेक्सस स्कुल, काठमाडौं

प्रकाशित : मंसिर १७, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?