१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुरुङभित्र सहारा

माधव सयपत्री

काठमाडौं — जाडो लागेसँगै शरीरमा चिसो रगत भएका जीवहरू जमिनमुनि पस्न थाले । गडयौलाहरू पनि माटामा छिरे । सर्पहरू ‘आछुछु ! बाबाको दुहाई !’ भन्दै चेपचाप र ढाँडखोरभित्र गुफा पसे । छेपारो पनि हरायो । सरीसृप, उभयचर र माछा वर्गको शरीरको तापक्रम अस्थिर हुने हुनाले उनीहरू जाडोमा टिक्ने कुरै भएन ।

सुरुङभित्र सहारा


भक्तबहादुर भ्यागुतो र उसकी श्रीमती भक्तिमाया धानखेतमा बस्थे । उनीहरू एकअर्कालाई खुबै माया गर्थे । धानको गाँजमा लुकामारी खेल्थे । खबटे गँगटो भित्ताबाट निस्केको मूलको पानीमा खेल्थ्यो । गँगटो भित्रभित्रै सुरुङ खनेर मूलको पानी यता र उता छिराइदिन्थ्यो ।
‘अखटो बखटो दस बाहाँ, आँखा छ टुलुटलु मुख कहाँ ?’ भनेर गँगटोले गाउँखाने कथाको उत्तर सोध्यो । भक्तबहादुर र भक्तिमायाले खबटेको गाउँखाने कथाको उत्तर दिन सकेनन् ।
खबटे एउटा क्लु दियो । भन्यो, ‘मेरो गाउँखाने कथाको उत्तर तिमीहरू नजिकै छ । यताउति हेरेर भन न । त्यति पनि भन्न सक्दैनौ ?’ भक्ते र भक्तिले वरिपरि हेरे ।
खबटे गँगटोले फरि भन्यो, ‘लौ, म तिमीहरूलाई अर्को क्लु दिन्छु । ल, सुन । त्यो तिमीहरूकै साथी हो । अब त भन्न सक्छौ होला नि !’ भक्ते र भक्तिले दोस्रो क्लुबाट पनि उत्तर पत्तो लगाउन सकेनन् । खबटले गिज्याएर भन्यो, ‘यस्तालाई स्वाँठहरूलाई के साथी बनाउनु ? अब
अर्को क्लु दिन्छु– मेरो मुख कता छ, पत्तो लगाऊ त ।’
भक्ते र भक्तिले खबटेको मुख खोजे । उनीहरूले खबटेको मुखै देखेनन् । निहालेर हेरेपछि मात्रै खबटेको मुख पत्तो लाग्यो । भक्तेले भन्यो भन्यो, ‘तेरो मुख मैले देखिसकेँ । भक्तिले गाउँखाने कथाको उत्तर अनुमान लगाई । उसले भनी, ‘तिमीले सोधेको गाउँखाने कथाको उत्तर तिमी नै हौ ।’
खबटे गँगटो बेस्मारी हाँस्यो । भन्यो, ‘ठीक । गाउँखाने कथाको उत्तर बल्ल मिल्यो । अप्ठेरो पर्दा पहिले आफ्नै वरपरको परिवेश नियाल्नुपर्छ । टाढाको कुरा हेरेर हुँदैन ।’ खबटेले उनीहरूलाई अर्तिउपदेश दियो अनि पानीको मूलभित्रै पस्यो । एक दिन बिहानै पाकेको धानखेतको पानी कटाउन खेतधनी खेतमा आयो । उसले जुत्ता फुकालेर खेतको आलीमा राख्यो । गँगटो पानीको मूलभित्रै अलप भएको थियो । घाम लागेको थिएन । जाडो बढी नै भएकोले भ्यागुताहरू एकअर्कामा टाँसिएर बसेका थिए ।
आलीमा कपडाका जुत्ता थिए । त्यसभित्र पस्दा उनीहरूलाई न्यानो होलाजस्तो लाग्यो । उनीहरू एकएकवटा जुत्ताभित्र पसे । जुत्ताभित्र न्यानो थियो । जाडोमा न्यानो भेटेपछि भ्यागुताहरू खुसी भए । खुसीले ट्वारट्वार गरी कराउन थाले । भक्तबहादुरले भन्यो, ‘कति न्यानो घर रैछ हगि ! यसपालिको हिउँद यिनै जुत्ताभित्र कटाउनुपर्छ । म पनि तिमीसँगै आउँछु है !’ भक्तिले भनी, ‘यसमा त मानिसको गन्ध आइरहेको छ । हामी लुकेको थाहा पायो भने मान्छेले हामीलाई ढुंगाले किचिपिची पारिदिन्छ ।’
सिमको पानी कटाइसकेपछि खेतधनी हिलो लागेका गोडा धुन पानीको मूलमा आयो । मानिस मसिनो स्वरले गीत गुन्गुनाउँदै खुट्टा मिच्दै थियो । भ्यागुताहरू जुत्ताभित्र बसेका थिए । नजिकै यति न्यानो ठाउँ पाएकोमा उनीहरू खुसीले दङ्ग परेका थिए । मानिसले नसुनोस् भनेर उनीहरू साउती गरेर बातचित गर्दै थिए ।
मानिसले ख्वाक्क खोक्यो । जुत्ता भएतिर आयो । जुत्ता समात्यो । आफू बसेको घरै उचालिएको थाहा पाएर भक्ते र भक्तिको सातोपुत्लो उड्यो । मानिसले देब्रे गोडा जुत्ताभित्र घुसार्‍यो । मानिसको गोडाले ठेलिएर भक्तिको झन्डै भुँडी निस्केको ! भक्तिलाई अब चैँ मरियो जस्तो लागेको थियो । उसले खबटेले भनेको सम्झी । वरिपरिको परिवेश विचार गरी । जुत्ताको सानो प्वाल परेको रहेछ । ऊ त्यै प्वालबाट निस्केर भागी । जुत्ताबाट भ्यागुतो निस्कँदा मानिसको सातो गयो । बल्ल मानिसले आफ्नो जुत्ता फाटेको चाल पायो ।
मानिस रिसले मुर्मुरियो । भक्ति उफ्रेर पर पुगिसकेकी थिई । भक्तिले भक्तेलाई संकेत गरिसकेकी थिई । मानिसले दाहिने जुत्तामा गोडा हाल्नै नपाई भक्ते जुत्ताबाट फुत्त निस्केर कुलेलम ठोक्यो । भ्यागुताको त्यो दिनको संकट टर्‍यो ।
मानिस काम सकेर घरतिर लाग्यो । भ्यागुताहरू कान्लामा ढुंगाको चेपमा लुकेर बसेका थिए । डरले बाहिर आउन सकेका थिएनन् । मानिस हिँडेपछि उनीहरूको सास पलायो । बाहिर निस्किए ।
घाम निकै माथि आइसकेको थियो । घामले जमिन अलि तातेको थियो । उनीहरू गँगटा पसेको मूलमा आए । एकछिनअघिको आपत् गँगटालाई भन्न मन लागेको थियो । त्यसैले भक्तेले खबटेलाई बोलायो, ‘ए, दाजु ! एकैछिन बाहिर आऊ न है !’
गँगटो बाहिर आयो । उसले भन्यो, ‘तिमीहरू कति कराउन सकेका हँ ? अनि मलाई किन बोलाएको नि ! के काम छ, छिटो भन ।’ भक्तिले बिन्ती बिसाई, ‘दाजु, जाडो बढ्न थाल्यो । सबै साथीहरू हामीलाई खबरै नगरी दुला पसे । को कता गए, हामीलाई थाहै भएन । यो हिँउदमा हामीलाई तपाईंले सहारा दिनुपर्‍यो ।’ भक्तेले पनि सहारा माग्यो ।
भ्यागुताको बिलौना सुनेर गँगटाको मन पग्लियो । उसले भन्यो, ‘तिमीहरू मैले खनेको सुरुङभित्र बस्न सक्छौ ?’ भक्तेले भन्यो, ‘सक्छौँ दाइ ।’ गँगटोले भक्तबहादुरको जोडीलाई सुरुङभित्र लिएर गयो । उनीहरू त्यो हिँउद गँगटोकै सुरुङभित्र बस्ने भए । साथीलाई सहयोग गर्न पाएकोमा खबटे पनि खुसी भयो ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?