खुल्यो एयरक्राफ्ट म्युजियम

सुरज कुँवर

काठमाडौं — ठूला जेट विमानले एउटा देशबाट अर्को देशका लागि घण्टौंको उडानमा मालसामान (कार्गो) बोक्ने गर्छन् । यस्तो कार्गो बोक्न धेरै विकसित देशहरूमा छुट्टै विमान हुन्छन् । तर, ठूला कमर्सियल जेट विमानभित्र यात्रुका साथै कार्गो पनि बोक्ने फरक स्थान बनाइएको हुन्छ ।

ठूला जेट विमानले एउटा देशबाट अर्को देशका लागि घण्टौंकोउडानमा मालसामान (कार्गो) बोक्ने गर्छन् । यस्तो कार्गो बोक्न धेरै विकसित देशहरूमा छुट्टै विमान हुन्छन् । तर, ठूला कमर्सियल जेट विमानभित्र यात्रुका साथै कार्गो पनि बोक्ने फरक स्थान बनाइएको हुन्छ । तीनलाई कार्गो कम्र्पाटमेन्ट भनिन्छ । कार्गो कम्पार्टमेन्टभित्र मालसामान, मोटर, कार, खाद्यान्न, चौपाया आदि राखेर एउटा देशबाट अर्को देशमालैजान सकिन्छ ।

तर, काठमाडौंको सिनामंगलमा राखिएको एउटा जेट विमानको कार्गो कम्र्पाटमेन्टमा भने हरेक दिन विद्यार्थीको भीड लाग्छ । उनीहरू त्यहाँस्थित एभिएसन म्युजियम कसरी बन्यो भन्नेबारे वृत्तचित्र हेरेर आनन्द लिइरहेका हुन्छन् । जहाजमा सबैभन्दा महँगो टिकट पर्ने अघिल्तिरको बिजनेस क्लासमा ४०/५० जना विद्यार्थी हुन्छन् । उनीहरू पनि आरामले कुर्चीमा बसेर
हवाईजहाज विज्ञानसँग सम्बन्धित वृत्तचित्र हेरिरहेका भेटिन्छन् ।
हवाईजहाजका विभिन्न पक्षहरूबारे धेरैभन्दा धेरै ज्ञान दिने उद्देश्यले धनगढीस्थित वेद उप्रेती ट्रस्टले सिनामंगलमा स्थापना गरेको दोस्रो विमान संग्रहालय गएको सोमबारदेखि सबैका लागि खुला भएको छ । सर्वसाधारणका लागि खुला गरिनुभन्दा ३ साताअघि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि मात्रै खुला गरिएको थियो । यी २१ दिनमा काठमाडौं उपत्यका र काभ्रेका गरी ५० हजार विद्यार्थी यो संग्रहालय हेर्न आएका थिए ।

‘२१ दिनमा जति विद्यार्थी आए उनीहरूले निकै अभिरुचि र उत्सुकताका साथ अवलोकन गरे,’ क्याप्टेन वेद उप्रेतीले भने, ‘सबैले फोटो खिचे । अनि जहाजबारे सक्दो जानकारी लिए ।’
धेरै विद्यार्थीले यो म्युजियम विद्यार्थीका लागि निकै उपयोगी र जानकारीमूलक रहेको भनेर कमेन्ट बुकमा लेखेका पनि छन् । कतिले त भविष्यमा आफू पनि उड्डयन क्षेत्रमै करिअर बनाउने सोचसमेत व्यक्त गरेका छन् । राजधानीकै एक विद्यालयमा कक्षा १० मा अध्ययनरत ऐश्वर्या राईले लेखेकी छन्, ‘म भविष्यमा एयरहोस्टेस बन्नका लागि यहाँबाट प्रेरित भएँ ।’ त्यस्तै अर्की छात्रा रक्षा राजवंशीले लेखेकी छिन्, ‘ सिकाइका लागि यो धेरै राम्रो थलो रहेछ । म आशा गर्छु, भविष्यमा थुप्रै नेपाली विद्यार्थीले उड्डयन क्षेत्रमा आफ्नो करिअर बनाउने छन् ।’ अनि समिक सुब्बाले आफ्नो भविष्यको पेसा जहाजसँगै सम्बन्धित हुने धारणा राखेका छन् ।
ऐश्वर्य, रक्षा र समिकजस्तै धेरै विद्यार्थीले यो संग्रहालयबाट आफूमा हवाई यातायातप्रति रुचि जागेको आशय व्यक्त गरेका छन् ।
केहीले भने यो संग्रहालयको सुधारका लागि सकारात्मक सुझावहरूसमेत दिएका छन् ।
त्यसो त जहाजभित्र सक्कली सिट छैनन् । किनभने यसको इन्जिन, ककपिटभित्र रहेका यन्त्र उपकरण, सिट आदि निकै महँगो हुन्छ । त्यसैले विमान खरिद गर्ने टर्किस टेक्निक नामको कम्पनीले संग्रहालयका लागि विमान लिनुअघि नै ती उपकरण इस्तानबुल लगिसकेको थियो ।
त्यसैले केही विद्यार्थीले जहाजका सिटहरूजस्तो हो त्यस्तै हुनुपर्ने विचार राखेका हुन् । इन्जिनलगायत ककपिटमा सक्कली नेभिगेटरहरू जडान गरिए जहाज विज्ञानबारे अझ धेरै जानकारी पाइने उनीहरूको भनाइ हो ।
तर, एउटा बिग्रेको विमानभित्र जेजति बनाइएको छ, त्यो पनि आफैंमा कम भने छैन । क्याफे, वृत्तचित्र हल र फोटो ग्यालरी हेर्न लायक छन् । युद्धकालमा प्रयोग गरिएका जहाजका मोडल, हाल संसारभर उडानमा रहेका जेट कमर्सियल विमान, नेपालको हवाई इतिहासमा प्रयोग भएका पुराना जहाज आदिका नमुना यहाँ देख्न पाइन्छ । चिडियाखाना, नारायणहिटी, दरबार, मठमन्दिरलगायत स्थानमा शैक्षिक भम्रणमा जाने विद्यार्थीका लागि यो विमान संग्रहालय (एभिएसन म्युजियम) छुट्नै नहुने गन्तव्य हो ।
जहाजबारे रुचि राख्ने र भविष्यमा पाइलट, एरोनटिकल इन्जिनियर, एयरहोस्टेस, फ्लाइट एटेन्डेन्ट, एयर ट्राफिक कन्ट्रोलरलगायतका इन्जिनियरिङ पेसा अपनाउनेका लागि पनि यो पहिलो प्रेरणाको स्रोत हुन सक्छ ।
संसारभरका नागरिक उड्डयन संस्थाहरूको छाता संगठन अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले विश्वभर यस्तै जनशक्ति बढाउन ‘आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रम’ (एनग्याप) चलाइरहेको छ । यसै अभियानअन्तर्गत यो संग्रहालय सञ्चालन गरिएकाले नेपालभरका माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीका लागि टिकट शुल्क छुट दिइएको छ ।
यहाँभित्र अवलोकन गर्न सर्वसाधारणले २ सय ५० रुपैयाँ तिर्नुपर्छ । अपांगता भएकाले १ सय २५ रुपैयाँ तिरे पुग्छ । ५ वर्षसम्मका बालबालिकालाई टिकट लाग्दैन । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई विद्यालयको सिफारिसपत्रका आधारमा नि:शुल्क प्रवेश दिइन्छ । अन्य विद्यार्थीले परिचयपत्र देखाएर १ सय २५ रुपैयाँ तिरे पुग्छ ।
यो संग्रहालय नागरिक उड्डयन प्राधिकरणको करिब १८ रोपनी जग्गामा छ । यहाँभित्र सानो हेलिकप्टर पनि राखिएको छ । ट्रस्टले मासिक करिब ५ लाख रुपैयाँ भाडा तिर्ने गरी यो ठाउँ १० वर्षका लागि लिएको हो । ट्रस्टले संग्रहालय बनाउन करिब ७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।
टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौंका लागि उडेको टर्किस ध्वजाबाहक यो विमान २०७१ फागुन २० गते काठमाडौंमा अवतरणका क्रममा धावनमार्गमै दुर्घटनामा परेको थियो । आठ महिना मात्रै उडेको एयरबस कम्पनीको ३३०–३००सिरिजको यो विमान विश्वभर कतै पनि संग्रहालयमा प्रयोगमा छैन ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

सुरुङभित्र सहारा

माधव सयपत्री

काठमाडौं — जाडो लागेसँगै शरीरमा चिसो रगत भएका जीवहरू जमिनमुनि पस्न थाले । गडयौलाहरू पनि माटामा छिरे । सर्पहरू ‘आछुछु ! बाबाको दुहाई !’ भन्दै चेपचाप र ढाँडखोरभित्र गुफा पसे । छेपारो पनि हरायो । सरीसृप, उभयचर र माछा वर्गको शरीरको तापक्रम अस्थिर हुने हुनाले उनीहरू जाडोमा टिक्ने कुरै भएन ।

जाडो लागेसँगै शरीरमा चिसो रगत भएका जीवहरू जमिनमुनि पस्न थाले । गडयौलाहरू पनि माटामा छिरे । सर्पहरू ‘आछुछु ! बाबाको दुहाई !’ भन्दै चेपचाप र ढाँडखोरभित्र गुफा पसे । छेपारो पनि हरायो । सरीसृप, उभयचर र माछा वर्गको शरीरकोतापक्रम अस्थिर हुने हुनाले उनीहरू जाडोमा टिक्ने कुरै भएन ।
भक्तबहादुर भ्यागुतो र उसकी श्रीमतीभक्तिमाया धानखेतमा बस्थे । उनीहरू एकअर्कालाई खुबै माया गर्थे । धानको गाँजमा लुकामारी खेल्थे । खबटे गँगटो भित्ताबाट निस्केको मूलको पानीमा खेल्थ्यो । गँगटो भित्रभित्रै सुरुङ खनेर मूलको पानी यता र उता छिराइदिन्थ्यो ।
‘अखटो बखटो दस बाहाँ, आँखा छ टुलुटलु मुख कहाँ ?’ भनेर गँगटोले गाउँखाने कथाको उत्तर सोध्यो । भक्तबहादुर र भक्तिमायाले खबटेको गाउँखाने कथाको उत्तर दिन सकेनन् ।
खबटे एउटा क्लु दियो । भन्यो, ‘मेरो गाउँखाने कथाको उत्तर तिमीहरू नजिकै छ । यताउति हेरेर भन न । त्यति पनि भन्न सक्दैनौ ?’ भक्ते र भक्तिले वरिपरि हेरे ।
खबटे गँगटोले फरि भन्यो, ‘लौ, म तिमीहरूलाई अर्को क्लु दिन्छु । ल, सुन । त्यो तिमीहरूकै साथी हो । अब त भन्न सक्छौ होला नि !’ भक्ते र भक्तिले दोस्रो क्लुबाट पनि उत्तर पत्तो लगाउन सकेनन् । खबटले गिज्याएर भन्यो, ‘यस्तालाई स्वाँठहरूलाई के साथी बनाउनु ? अब
अर्को क्लु दिन्छु– मेरो मुख कता छ, पत्तो लगाऊ त ।’
भक्ते र भक्तिले खबटेको मुख खोजे । उनीहरूले खबटेको मुखै देखेनन् । निहालेर हेरेपछि मात्रै खबटेको मुख पत्तो लाग्यो । भक्तेले भन्यो भन्यो, ‘तेरो मुख मैले देखिसकेँ । भक्तिले गाउँखाने कथाको उत्तर अनुमान लगाई । उसले भनी, ‘तिमीले सोधेको गाउँखाने कथाको उत्तर तिमी नै हौ ।’
खबटे गँगटो बेस्मारी हाँस्यो । भन्यो, ‘ठीक । गाउँखाने कथाको उत्तर बल्ल मिल्यो । अप्ठेरो पर्दा पहिले आफ्नै वरपरको परिवेश नियाल्नुपर्छ । टाढाको कुरा हेरेर हुँदैन ।’ खबटेले उनीहरूलाई अर्तिउपदेश दियो अनि पानीको मूलभित्रै पस्यो । एक दिन बिहानै पाकेको धानखेतको पानी कटाउन खेतधनी खेतमा आयो । उसले जुत्ता फुकालेर खेतको आलीमा राख्यो । गँगटो पानीको मूलभित्रै अलप भएको थियो । घाम लागेको थिएन । जाडो बढी नै भएकोले भ्यागुताहरू एकअर्कामा टाँसिएर बसेका थिए ।
आलीमा कपडाका जुत्ता थिए । त्यसभित्र पस्दा उनीहरूलाई न्यानो होलाजस्तो लाग्यो । उनीहरू एकएकवटा जुत्ताभित्र पसे । जुत्ताभित्र न्यानो थियो । जाडोमा न्यानो भेटेपछि भ्यागुताहरू खुसी भए । खुसीले ट्वारट्वार गरी कराउन थाले । भक्तबहादुरले भन्यो, ‘कति न्यानो घर रैछ हगि ! यसपालिको हिउँद यिनै जुत्ताभित्र कटाउनुपर्छ । म पनि तिमीसँगै आउँछु है !’ भक्तिले भनी, ‘यसमा त मानिसको गन्ध आइरहेको छ । हामी लुकेको थाहा पायो भने मान्छेले हामीलाई ढुंगाले किचिपिची पारिदिन्छ ।’
सिमको पानी कटाइसकेपछि खेतधनी हिलो लागेका गोडा धुन पानीको मूलमा आयो । मानिस मसिनो स्वरले गीत गुन्गुनाउँदै खुट्टा मिच्दै थियो । भ्यागुताहरू जुत्ताभित्र बसेका थिए । नजिकै यति न्यानो ठाउँ पाएकोमा उनीहरू खुसीले दङ्ग परेका थिए । मानिसले नसुनोस् भनेर उनीहरू साउती गरेर बातचित गर्दै थिए ।
मानिसले ख्वाक्क खोक्यो । जुत्ता भएतिर आयो । जुत्ता समात्यो । आफू बसेको घरै उचालिएको थाहा पाएर भक्ते र भक्तिको सातोपुत्लो उड्यो । मानिसले देब्रे गोडा जुत्ताभित्र घुसार्‍यो । मानिसको गोडाले ठेलिएर भक्तिको झन्डै भुँडी निस्केको ! भक्तिलाई अब चैँ मरियो जस्तो लागेको थियो । उसले खबटेले भनेको सम्झी । वरिपरिको परिवेश विचार गरी । जुत्ताको सानो प्वाल परेको रहेछ । ऊ त्यै प्वालबाट निस्केर भागी । जुत्ताबाट भ्यागुतो निस्कँदा मानिसको सातो गयो । बल्ल मानिसले आफ्नो जुत्ता फाटेको चाल पायो ।
मानिस रिसले मुर्मुरियो । भक्ति उफ्रेर पर पुगिसकेकी थिई । भक्तिले भक्तेलाई संकेत गरिसकेकी थिई । मानिसले दाहिने जुत्तामा गोडा हाल्नै नपाई भक्ते जुत्ताबाट फुत्त निस्केर कुलेलम ठोक्यो । भ्यागुताको त्यो दिनको संकट टर्‍यो ।
मानिस काम सकेर घरतिर लाग्यो । भ्यागुताहरू कान्लामा ढुंगाको चेपमा लुकेर बसेका थिए । डरले बाहिर आउन सकेका थिएनन् । मानिस हिँडेपछि उनीहरूको सास पलायो । बाहिर निस्किए ।
घाम निकै माथि आइसकेको थियो । घामले जमिन अलि तातेको थियो । उनीहरू गँगटा पसेको मूलमा आए । एकछिनअघिको आपत् गँगटालाई भन्न मन लागेको थियो । त्यसैले भक्तेले खबटेलाई बोलायो, ‘ए, दाजु ! एकैछिन बाहिर आऊ न है !’
गँगटो बाहिर आयो । उसले भन्यो, ‘तिमीहरू कति कराउन सकेका हँ ? अनि मलाई किन बोलाएको नि ! के काम छ, छिटो भन ।’ भक्तिले बिन्ती बिसाई, ‘दाजु, जाडो बढ्न थाल्यो । सबै साथीहरू हामीलाई खबरै नगरी दुला पसे । को कता गए, हामीलाई थाहै भएन । यो हिँउदमा हामीलाई तपाईंले सहारा दिनुपर्‍यो ।’ भक्तेले पनि सहारा माग्यो ।
भ्यागुताको बिलौना सुनेर गँगटाको मन पग्लियो । उसले भन्यो, ‘तिमीहरू मैले खनेको सुरुङभित्र बस्न सक्छौ ?’ भक्तेले भन्यो, ‘सक्छौँ दाइ ।’ गँगटोले भक्तबहादुरको जोडीलाई सुरुङभित्र लिएर गयो । उनीहरू त्यो हिँउद गँगटोकै सुरुङभित्र बस्ने भए । साथीलाई सहयोग गर्न पाएकोमा खबटे पनि खुसी भयो ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्