वनको चरी

जानुका खतिवडा

काठमाडौं — काठमाडौंबाट फर्किएपछि रामु केही दिन कसैसँग बोलेनन् । जति बेला पनि उनी कुनै गहिरो सोचमा डुबेझैं देखिन्थे । सायद साथीहरूसँग पनि कम बोल्न थालेछन् क्यारे ।

‘काठमाडौं पुगेर आउँदैमा यति ठूलो भाको ?’ घनश्यामले प्वाक्क भनिहाल्यो । उसको कुराले रामुलाई नरमाइलो लाग्यो । अँध्यारो अनुहार लगाएर घनश्यामलाई अँगालो हाल्दै उनले भने, ‘त्यसो नभन् न ?’
‘एक हप्ता बसेर आउँदैमा बोल्न छाडिस्, उतै बसेर पढ्न थालिस् भने त हामीलाईचिन्दैनस् होला हगि ?’ घनश्यामले तिखो वचन प्रयोग गर्‍यो ।
‘सँगै हुर्केको, खेलेको साथी पनि कसैले भुल्न सक्छ र ?’ रामुको स्वर रुन्चे भयो ।
‘कुन्नि, के थाहा ?’ हिँड्दाहिँड्दै निहुरिएर घनश्यामले खेतको गराबाट माटोको डल्ला उठायो र पर धान बारीमा पुग्ने गरी हुत्यायो । पाकेको धानका बाला टिप्दै गरेका एक हुल चरा भुर्र उडे । रामुले आँखा झिम्म नगरी आकाशमा कावा खाँदै उडेका चरालाई टुलुटुलु हेरिरहे । घनश्यामले खेतको आलीबाट पाकेको भटमासको एउटा बुटो उखेल्यो र कोसा चुँड्दै टोक्न थाल्यो । एकछिन दुवै चुपचाप अघि बढे ।
‘साँच्चै अर्को वर्षदेखि त ता उतै बसेर पढ्छस् रे होइन ?’ मौनता भंग गर्दै उसले आधा बुटो भटमास रामुतिर बढायो । भटमास लिएर रामु पनि कोसा चुँड्दै खान थाले । केही बोलेनन् । उनको अनुहारमा खुसीका कुनै रेखा नदेखेर घनश्यामलाई उदेक लाग्यो ।
‘स्कुल पनि हेरिसकिस् ?’ टोल्हाइरहेका रामुलाई घनश्यामले फेरि घच्घचयायो ।
‘अहँ,’ रामु भटमास टोक्दै अघिअघि हिँडे । आली साँघुरो थियो । दुवै जना एकसाथ हिँड्न नमिल्ने भएकाले घनश्याम पछिपछि लाग्यो ।
‘तँ त सहरमा बस्न पाउने भइहालिस्, आफू त यो गाउँबाट कतै जान पाउने होइन ।’ घनश्यामले अँध्यारो अनुहार बनायो । उसका आँखामा सहरको रमझम, फराकिला सडक, बडेबडे घर फन्का मार्न आए । उसले इष्र्यालु पाराले रामुतिर हेर्‍यो । रामु आफ्नै सुरमा खुरुखुरु हिँडिरहेका थिए । केही बेर हिँडेपछि उनीहरू मूल बाटोमा आइपुगे । अब एकैछिन हिँडेपछि घनश्यामको घरतिर जाने बाटो छुट्टिन्थ्यो ।
‘सहरमा बस्नुको मजै बेग्लै, हगि रामु ?’ घनश्याम लामा–लामा फड्का मारेर रामुलाई अँगालो मार्न आइपुग्यो ।
‘के कुरा गरेको ? चारो खोज्नु पर्दैन, मीठो खान पाइन्छ भन्दैमा वनको चरीलाई पिँजडामा राख्दा मजा हुन्छ र ?’ रामुका कुरा नबुझेर घनश्याम ट्वाल्ल पर्‍यो ।
‘तँलाई थाहा छैन घनु, सहरमा त वल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाईचिन्दैन । वल्लो घरमा शोक पर्दा पल्लोघरमा भोज चलिरहेको हुन्छ । दिनभरि कोठामा थुनिएर बस्नुपर्छ ।’
घनश्यामले एकादेशको कथा सुनेझंै गरी एकाग्र भएर रामुको कुरा सुन्यो । बोल्दाबोल्दै रामुका आँखामा पानी भरिएर आएको थियो ।
‘फुर्सदका बेला पनि सबैजना मोबाइल लिएर आ–आफ्नो कोठामा बस्छन् । एक हप्तामै मलाई उकुसमुकुस भइसकेको थियो । त्यसमाथि धूलो, धुवाँ, प्रदूषण ....बाफ् रे १’
छुट्ने बेला उनीहरूले भोलि नौ बजे यही चौतारीमा भेटिएर सँगै स्कुल जाने सल्लाह गरे अनि घनश्याम हात हल्लाउँदै बाटो लाग्यो ।
रामु घरपुग्दा बुवा पनि घाँसको भारी लिएर टुप्लुक्क आइपुग्नुभयो । एकछिन बुवाले थकाइ मारुन्जेल रामु लुगा फेरेर आए अनि गबुवामा अलिकति पानी र बिटमा नौनी टाँसेर ल्याई बुवाको हातमा दिए । बुवा उठेर दूध दुहुनलाई गुहालीतिर पस्नुभयो । बाख्रा कराइरहेका थिए । बुवाले भर्खरै ल्याएको भारीबाट बकैनो र टाँकीका स्याउला झिकेर बाख्राको टाट्नोमा हालिदिएर हातगोडा धोइवरि उनी भान्सामा आमालाई काम सघाउन गए ।
‘पढ्न जा, राम्रो अंक ल्याइनस् भने सहराँ स्कुलले भर्ना नलेलान् ।’
‘म सहर जान्न आमा । म यहीं पनि राम्रोसँग पढ्दै छु ।’ ‘यतै बसिराखिस् भने जंगली होलास् क्यारे..,’ आमा रिसाएझैं गर्नुभयो ।
‘दिदी पनि बिहे भर जानुभो । म पनि सहर गए तपाईंहरूको हेरचाह कसले गर्छ नि ?’
‘सारसौँदै छौँ क्यारे हामी । तेरै लागि त भन्या हो नि । वाँ मामाले सबै बेबस्था मिलाको छ,’ आमा सम्झाउन खोज्दै हुनुहुन्थ्यो ।
‘म बस्न सक्दिनँ त्यहाँ ।’ रामु ठसक्क परेर बाहिर निस्किए ।
मामाले मिलाई दिएको घर त्यति नराम्रो पनि छैन । बिहानभरि घरको काम गरेर स्कुल जान पाइन्छ । साँझमा घरको काम सकेर पढ्न पनि पाइन्छ । भने जति नै पैसा दिन पनि राजी नै छन् । आफ्नै उमेरका दाजु र बहिनी पनि छन् । तर रामुलाई कृषियुगको मान्छे भनेर चिढयाउँछन् । जति बेला पनि आआफ्नो कोठामा बसेर कहिले मोबाइल त कहिले ल्यापटपसँग खेलिरहन्छन् । एक दिन मोबाइल ओछयानमै त्यतिकै रहेछ । ओछयान मिलाउन जाँदा उनले भेटेर यसो हेरेका मात्रै थिए, दाइले आएर उनको हातबाट मोबाइल थुतेर ‘तिम्रो गाउँको ढिकी, जाँतोजस्तो होइन नि’ भनिदिए ।
‘कसैको नभएको सुनको मोबाइल, छुँदा पनि खिइजाला जस्तो,’ रामुका आँखा रसाएर आए ।
‘ला है बाबु, यो पुर्‍याएर आइज ।’ बुवाले दूधको गबुवा रामुतिर बढाउनुभयो । रामु गबुवाबाट सिलबरे टयामीमा दूध खन्याउन थाले । काठमाडौंबाट फर्किएपछि गाउँको डेरीमा बिहान बेलुका दूध पुर्‍यााउने गरेका छन् उनले । टयामी लिएर उनी आँगनमा निस्किए ।
‘सहराँ पढ्न नजाने रे,’ आमालेपोल सुनाउनुभयो ।
‘नगए नजाओस्... । छोराछोरी भन्या आफ्नै बाउआमासँग लड्दै पढ्दै हुर्केका बलिया । यो नभा हाम्रो हातै भाँच्चेजस्तो हुन्छ ।’
‘घरै राखेर बिग्रने पो हो कि ?’
‘सप्रन सहरै जानु पर्दैन । यहीं पनि राम्रै पढेकै छ । पोहोर पनि सात किलासमा फस्टै भाको हो क्यारे,’ बुवाका कुरा सुनेर रामुको मन फुरुंग पर्‍यो । उनी मुसुमुसु हाँस्दै बाटो लागे ।

प्रकाशित : मंसिर २४, २०७४ ०८:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हुप रोलिङ रेस

खेल खेलौं
कान्तिपुर संवाददाता

काठमाडौं — यो खेलमा एक पटकमा जति पनि बालबालिका सहभागी हुन सक्छन् । यसरी सहभागी हुने खेलाडीहरूले निर्धारित दूरीसम्म निश्चित नियमअन्तर्गत एउटा गोला रिङ (हुप) लाई हातको सहायताले धकेल्दै (चित्रमा देखाएजस्तै) एक्लै दौडिनुपर्छ ।

सहभागी खेलाडीको उमेर ८ देखि १० वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि १०० मिटर लामो मैदान आवश्यक हुन्छ ।


खेल्ने तरिका 
यो खेलमा सहभागी खेलाडीहरूलाई प्रत्येक समूहमा ४ जना पर्ने गरी विभाजित गर्नुपर्छ । प्रत्येक समूहको खेलमा पहिलो हुने खेलाडीलाई दोस्रो चरणमा प्रवेश गराउनुपर्छ । दोस्रो चरणमा पनि खेलाडीको संख्या हेरेर समूह विभाजन गरेर खेलाउन सकिन्छ । अन्तिम चरणमा ४ देखि ८ खेलाडीबीच एकै पटक प्रतिस्पर्धा गराएर विजेता छनोट गर्न सकिन्छ । यसरी दौडिने खेलाडीहरूले रिङ दौडाउने क्रममा रिङलाई ढाल्नु हुँदैन । यदि रिङ ढलेमा त्यो खेलाडी अयोग्य मानिन्छ । 

प्रकाशित : मंसिर २४, २०७४ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT